मनोज घर्तीमगर
१२ औं संस्करणको ‘आहा रारा गोल्डकप’ को उपाधि उचाल्दै आयोजक सहारा क्लबले इतिहास रचेको छ । पोखरा रंगशालामा शनिबार भएको फाईनलमा हेमन्त गुरुङको कर्नरमा सरोज दाहालले पेनाल्टी बक्सबाट गरेको आर्कषक गोल सहाराको लागि इतिहास रच्न काफी भयो । उसले डिफेन्डिङ च्याम्पियन मनाङलाई १–० हराउंदै उपाधि घरमै राख्न सफल भयो । मनाङ लिग बिजेता पनि हो ।
क्याराभान गोल्ड कपसहित ‘आहा रारा कप’ को इतिहासमा ३ उपाधि जितेको मनाङलाई घरेलु टिम साहाराले कडा चुनौती दियो । मनाङ ७ पटक फार्ईनल पुगेको छ । ट्रफि घरमै राख्ने सपना पुरा गर्न सहारालाई १२ औं संस्करणसम्म कुर्नुपर्यो । ट्रफिसंगै साहाराले ३ लाख ५१ हजार पुरस्कार पायो । सर्वोत्कृष्ट खेलाडिसहित अन्य चार उत्कृष्ट विधाको पुरस्कार पनि सहाराले नै राख्न सफल भएको छ ।
सर्वोत्कृष्ट खेलाडिको पुरस्कार साहाराका हेमन्त गुरुङले पाए । उत्कृष्ट मिडफिल्डको पुरस्कार समेत पाएका उनले टीभीएस मोटरसाइकल पाए । यसैगरी उत्कृष्ट गोलकिपर सहाराका सागर गुरुङ, डिफेन्डर सहाराका पिटर सेईगुल, उत्कृष्ट प्रशिक्षकको पुरस्कार किरण श्रेष्ठले पाए । उनीहरुले जनही १० हजार रुपैयां पाए । सहाराका प्रशिक्षक किरण श्रेष्ठले विपक्षी टिमको मध्य र अग्रपंक्तिको खेल बिगार्न सफल भएकाले जित भएको बताए । ‘हाम्रो लक्ष्य भनेकै मनाङलाई रोक्ने हो । डिफेन्स बलियो भएकोले मनाङ खेल्न सकेन’ उनले भने,‘जुन रणनीति लिएर मैदान उत्रिएका थियौ, त्यसमा सफल भएकाले जीत भयो ।’
उपबिजेता मनाङले २ लाख १ हजार र ट्रफी पायो । मनाङगले ०६०, ०६१ र ०६८ को उपाधि जितेको थियो । मनाङका स्ट्राईकर सुजल श्रेष्ठले उत्कृष्ट स्टाईकर र सर्वाधिक गोलकर्ताको पुरस्कार १० हजार पाए । उनले चार गोल गरेका थिए । यस्तै अनुशासित टिमको पुरस्कार मच्छिन्द्र क्लवले पायो । मनाङका प्रशिक्षक हरिओम श्रेष्ठले मध्य र अग्रपंक्तिका खेलाडिबीच तालमेल नमिल्दा पराजित हुनु परेको बताए । यस वर्È नेपालमा आयोजना भएका सर्वाधिक धन राशीदेखिका सम्पूर्ण फुटवल प्रतियोगितामा सहभागि जनाएको मनाङले सबै खेलमा जित हासिल गरेको थियो । २०७० वैसाखमा सम्पन्न गोर्खा कपबाट उपाधि यात्रा सुरुवात गरेको मनाङले एनसेल कप, सफल पोखरा कप, भुटानमा सम्पन्न भएको किङस कप र हालै सम्पन्न भएको सहीद स्मारक ‘ए’ डिभिजन लिगको समेत उपाधि कुम्ल्याइसकेको थियो । मनाङले यस सिजनमा एक करोड ३ लाख भन्दा बढी नगद पुरस्कार समेत पाएको छ ।
समुह ‘ए’मा रहेको सहाराले सेमिफाईनलमा सहीद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेता मछिन्द्र फुटवल क्लवलाई सडेन डेथमा पराजित गर्दै फाईनलमा यात्रा बनाएको थियो । समुह ‘बी’को मनाङले दोस्रो सेमिफाईनलमा विभागिय टोली नेपाल पुलिस क्लवलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरी फाईनलमा पुगेको थियो । विजेता टिमलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापा, मुख्य प्रयोजक हिमश्री फुड्सका अध्यक्ष सूर्यवहादुर केसीले पुस्कार वितरण गरेका थिए । प्रतियोगितामा मनाङ मस्र्याङदी, जावलाखेल, एपीएफ, मछिन्द्र, नेपाल पुलिस, सरस्वती युथ, त्रिभुवन आर्मी, संकटा, धरान फूटबल क्लव, एन्फा एकेडेमी यूथ १६ र सहारा क्लब सहभागी थिए ।