मनोज घर्तीमगर
सानैदेखि उनलाई गीत गाउने रहर पलायो । मगर समुदायमा हुर्केकाले उनलाई नाच्न गाउन पनि सजिलो भयो । उमेर बढ्दै गएपछि गायिका बन्ने सोख पलायो । सोख पूरा गर्न गाउँघरमै आयोजना हुने विभिन्न सांगीतिक कार्यक्रममा गीत गाउन थालिन् । पाँच वर्षअघि आफ्नै गीत टेलिभिजनमा बजेपछि फोक्सिङकोट–१ झुकेदी पाल्पाकी वसन्ती थापामगरलाई साँच्चिकै आफू गायिका भएको महसुस भयो । दोहोरी गीत गाउन माहिर वसन्तीलाई त्यही कलाले गीदाङ्गे बनायो ।
गायिका बन्न संघर्ष गर्न उनी २०६५ सालमा पोखरा झरिन् । पोखरामै संगीत कक्षा लिएपछि उनले त्यहि साल ‘भन अब म के गर्ने ?’ नामक एल्बम निकालिन् । यसले राम्रै बजार लियो अनि वसन्तीलाई गायिकाको रुपमा चिनायो । पहिलो एल्बमले पाएको सफलताले उनलाई फेरी अर्को एल्बम ‘मेरै नाममा भगवान’ निकाल्न हौस्यायो । यो एल्बमले बजार तताएपछि उनी झन् उत्साहीत भइन् । ‘पहिलो एल्बमले मलाई थोरै चिनायो, दोस्रोलाई स्रोताले निकै मन मराईदिनु भो, यसबाट मलाई थप उत्साह जाग्यो’ वसन्ती भन्छिन् –‘त्यही उत्साहले मलाई संगीतमा लागिरहन हौसाला दियो ।’
पोखरामा बसेर संगीतमा संघर्ष गरिरहेकी उनले ‘यो दशैंमा…’ एल्बम निकालिन् । यसले पनि संगीत बजारमा राम्रै स्थान पायो । पोखराको विसौनी दोहोरी साँझमा गीत गाएर जम्मा गरेको रकम र घरबाट जोहो गरेर वसन्ती चौथो एल्बम निकाल्ने तयारीमा छिन् । यो क्षेत्रमा जमिरहन नयाँ कलाकारलाई निकै कठिन भएको सुनाउँछिन् । ‘नयाँ कलाकारलाई एल्बम निकाल्दा कम्पनीले झुलाउनेदेखि अग्रजले पनि खासै सहयोग गर्दैनन्’ उनी भन्छिन्,‘कला र गला राम्रो भए पनि विभिन्न स्टेज कार्यक्रममा नयाँलाई कसैले चान्स दिदैन ।’ मिडियाले पनि नयाँ कलाकारलाई बाहिर ल्याउन सहयोग नगरेको दावी गर्ने उनी अहिले मिडियामा जो धेरै आउँछ त्यही कलाकार मात्रै चर्चित हुने गुनासो गर्छिन् ।