दीपा आले मगर
नेपालगन्ज , फागुन १५ – जातीय पहिचान सहितको संघीय संविधान निर्माणको पक्षमा ३२ औ मगर दिवस, आत्मनिर्णयको अधिकार सहितको स्वायत प्रदेश स्थापनाकालागि साझा सन्देश भन्ने मूल नारा सहित स्वदेश तथा विदेशमा आम मगर समुदायले आज फागुन १५ मगर दिवस भब्य रुपमा मनाए ।
उनीहरुले राज्यको मूलधारमा मगर समुदाय नसमेटिएको भन्दै अब बन्ने संविधान सभामा जातीय पहिचान सहितको संघीय संविधान बन्नु पर्ने माग समेत गरेका थिए । कार्यक्रममा बोल्दै आदिबासी जनजाति महासंघ बांकेका अध्यक्ष डम्मर थापामगरले आदिबासी जनजातिहरु राज्यको मूलधारमा नसमेटिएकोमा गुनासो पोखे । वर्षौ देखि राज्यले आदिबासी जनजातिमाथि विभेद गरेको बताउंदै अब बन्ने संविधानमा उनीहरुको पहिचान सहितको संविधान बन्नु पर्नेमा जोड दिए । मगर जाती जनसंख्याले ठूलो जाती भएको बताउंदै राज्यले उनीहरुको भाषा, संस्कृति, पहिचानलाई स्थापित गर्न तत्काल कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाल मगर विद्यार्थी संघका केन्द्रिय अध्यक्ष दीपा आले मगरले मगर जातीको इतिहास, भाषा, सांस्कृतिक संरक्षण र सम्बद्धनमा राज्यको गम्भीर ध्यानाकर्षण हुनु पर्ने बताए ।
राज्यले मगर समुदायको आवाजलाई अहिले पनि बेवास्ता गरेको बताउंदै राज्यको हरेक निकायमा मगर जातीको प्रतिनित्व हुने गरी संविधान बनाउनु पर्ने बताए । नेपाली कांग्रेसका प्रतिनिधि युग बहादुर गुरुङले आदिबासी जनजातिहरु आफ्नो अधिकारलाई स्थापीत गर्न एक जुट भएर अघि बढ्नु पर्ने बताए । पछिल्लो समय यता सबै जातजातिलाई राज्यको निकायमा समेटनु पर्छ भन्ने उद्देश्य आफ्नो पार्टीले आदिबासी जनजातिलाई स्थान दिएको बताए । राज्यको न्यायपालिका, कार्यपालिका र ब्यवस्थापिकामा जनजातिको पहुंच नभएको भन्दै राज्यको हरेक निकायमा समावेशी गर्न राज्यलाई आह्वान समेत गरे ।
नेकपा एमाले प्रतिनिधि मगन सिंह थापामगरले मगर जातीहरुको सोझोपन मेहनेती, इमान्दारितालाई राज्यले बेवास्ता गरेको बताए । त्यसै अब मगर समुदायहरु आफ्नो इमान्दारिताको मूल्य आफै खोज्नु पर्ने बताउंदै एकजुट भएर लाग्नु पर्ने तर्क गरे ।
एकिकृत नेकपा माओवादीका प्रतिनिधि कृष्णबहादुर रानामगरले मगर जातीको पहिचानलाई बनाई राख्न मगर अग्रजहरु गम्भीर हुनु पर्ने बताउंदै पहिचानको खोजिमा नयां पिढि झै सक्रिय भएर लाग्नु पर्नेमा जोड दिए । ३२ औ मगर दिवसको अवसरमा शुभकामना दिर्दै राष्टिय जनमुक्ति पार्टीका प्रतिनिधि बल बहादुर रानामगर, तमु हयुला छोंजधिका मान बहादुर गुरुङ्ग, बौध धर्म संघका अध्यक्ष संजिव लामा, थारु कल्याण कारिणी संघका प्रतिनिधि, थारु, शेर्पा संघका प्रतिनिधि, मैटहवा उच्चमाविका प्रधानअध्यापक जयलाल अधिकारी, नारी उत्थान केन्द्र अध्यक्ष झुकमाया घर्तिमगर,मगर महिला संघका प्रतिनिधि उमाथापामगर, नेपाल मगर संघ बांकेका पूर्व अध्यक्ष राम बहादुर थापामगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सदस्य सपना रानामगर लगायतले शुभकामना आदान प्रदान गरेका थिए ।
बांके जिल्लामा बसोबास गर्दै आएका मगर समुदायको झण्डै ४ हजारको हाराहारी उपस्थिति रहेको थियो । आफ्नै भेषभुषामा सजिएर कार्यक्रममा आएका थिए । मगर भाषाका नृत्य, सोरटी, टप्पा, झाउरे लगायतका गीत समेत प्रस्तुत गरेका थिए ।
बांकेको राधापुर गाविस मैटहवा उच्चमाविको प्रणागंनमा भएको ३२ औं मगर स्थापना दिवसको अध्यक्षता नेपाल मगर संघ बांकेका अध्यक्ष धनसिंह रानामगरले गरेका थिए । कार्यक्रममा लामो समय मगर समुदाय र सामाजिक क्षेत्रमा योगदान दिएका मगर समुदायका ब्यक्तित्वहरुलाई सम्मान पत्र र खादा लगाएर सम्मान गरिएको थियो भने कार्यक्रमको सहजिकरण संघका गोपाल पुनमगरले गरेका थिए ।