हङकङमा पत्रकारमाथि सांघातिक हमलाको राजनीतिक पाटो

Read Time:10 Minute, 22 Second

जेवी पुन मगर

बुधवार विहान हङकङको प्रमुख चिनिया दैनिक पत्रिका मिङ्पावका पूर्व प्रधान सम्पादक केभिन लाउ चून–टू माथि मोटरसाईकिलमा आएका दुई युवाले चक्कु प्रहार गरि गम्भीर घाईते बनाएकाछन् । स्थानीय सरकारका कडा आलोचक केभिन लोकतान्त्रिक मान्यता र प्रेस स्वतन्त्रताका सक्रिय नेता हुन् । कुनै बेला उनी सम्बद्ध पत्रिकामा पत्रकारलाई बिना कारण निकालेकोमा अस्ति आईतवार हङकङ पत्रकार संघको अगुवाईमा भब्य विरोध प्रदर्शन भएकोथियो । हङकङ सरकारको प्रेस स्वतन्त्रतता र नागरिक अधिकारमाथि हस्तक्षेप र सेन्सरसीप गर्न थालिएकोमा आलोचना गरि लेखिएको भरमा ति पत्रकारलाई निकालिएकोथियो । जसको सर्वत्र विरोध भैरहेकोछ । आईतवार गरिएको विरोधसभामा प्रेस स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता जाहेर गर्दे र्यालीमा सहभागी हजारौंको जनलहरले त्यो देखाउँथ्यो । केहि समययता हङकङमा प्रेस माथि सुनियोजित रुपले श्रृखंलाबद्ध रुपमा  आक्रमण भैरहेकोछ । त्यस्ता आक्रमणको स्वरुप विभिन्न प्रकृतिका छन् । स्वतन्त्रताका सक्रिय सिपाही केभिनमाथिको भौतिक आक्रमण त्यसैको पछिल्लो कडी थियो ।

हङकङमा सत्ताको विपक्षमा  आवाज मुखर गर्न सक्ने मध्ये चिनिया पत्रिका मिङ्पावलाई प्रमुख मानिन्थ्यो । त्यसैगरि अग्रेंजी दैनिक साउथ चाईना मर्निङ मोस्टलाई प्रतिपक्ष ठानिन्छ । यि बाहेक यहाँ भएका केहि चिनिया पत्रिकाले मीडियाले खेल्नुपर्ने प्रतिपक्षको भूमिका निभाएको विश्वास गरिन्छ । बेलायतको उपनिवेशबाट मुक्त भएपछिको हङकङमा शक्ति लुछाचुडीको जुन खेल शुरु भएकोछ, त्यसमा मीडिया पनि दुई धारमा विभक्त भएकोथियो । विशेषगरि अहिलेका सरकार प्रमुख सि वाई ल्युङ् सत्तासीन भएपछि हङकङमा राजनीतिक उभार उथलपुथलकै अवस्थामा पुगेको विश्वास गरिन्छ ।

अहिलेको सरकार बेईजिङको कठपुतली भएको र चाईनीज कम्युनिष्ट पार्टी ( सिसिपी) लाई रिझाउन हङकङका जनताको स्वार्थलाई तिलान्जली दिंदै मेन्ल्यान्डरहरुको पक्षमा धमाधम निर्णय गरिरहेको भन्दै विरोध प्रदर्शन भैरहेकाछन् । यस्ता कार्यक्रमको संख्या बढ्दो छ । त्यस्ता आन्दोलनमा युवा, विद्यार्थीहरुको आक्रमक सक्रियताले धेरैलाई चकित पार्ने गरेकोछ । यस्ता आन्दोलनमा भीड दिनवदिन बढ्दै गैरहेकोछ । सामान्यतः राजनीतिक रुपमा निरपेक्ष बस्ने भनिएको हङकङबासीको यस्तो राजनैतिक सक्रियताको कारणले चकित तुल्याएको हो । बेईजिङ समर्थक भनिएको सरकारको विरोधमा जनता सडकमा उत्रन थालेपछि यसलाई बेईजिङले आफ्नो प्रतिस्ठासंग जोडेर हङकङमा रणनीति  तय गर्न थालेकोछ । तिब्बति मुद्दामा नसकेपछि हङकङको मुद्दामा आफुलाई कर्नरमा पार्न अमेरिका लगायत पश्चिमाहरुले चलखेल गरेको बुझाईका कारण बेईजिङले हङकङमा हरेक हत्कण्डा अपनाउँदै आफ्नो पकड बलियो बनाउदै गैरहेकोछ । त्यसमा आफु समर्थक डिएभी पार्टी र उसको नेतृत्वको सरकारलाई उसले सक्दो सहयोग गरिरहेकोछ । त्यसले पनि विपक्षी र युवाहरुलाई आक्रोशित  तुल्याएकोछ । युवाहरु आफ्ना लागि रोजगारको ब्यवस्था नगर्ने तर मेनल्यान्डरहरुका लागि राम्रा नीति ल्याउने भन्दै विरोधमा उत्रिएकाहुन् ।मीडियाले स्वाभाविक रुपमा प्रतिपक्षहरुलाई समर्थन पुग्नेगरि रोल खेल्दै आईरहेकोछ । मीडियाको यस्तो रोलका कारण विरोधका स्वरहरु सघन हुन थालेको विश्वास गरिन्छ ।

त्यसै कारण के विश्वास गरिन्छ भने मीडियाको यस्तो सक्रियतालाई भुत्ते बनाउन बेईजिङले ठूलो लगानी गरिरहेकोछ । त्यस्तो भन्ने आधार छन् । जस्तै, सरकार विरोधि छवि बनाएका केभिनले मिङ पाव दैनिकलाई उपयोग नगरुन भनि त्यहाँबाट उनलाई निकालिएकोथियो । उनको ठाँउमा चिनिया कम्युनिष्ट पार्टीका समर्थक चोङ टिएन सीङलाई पदवहाली गरिएकोथियो । उनी हङकङको नभई मलेशियान मूलका चिनिया थिए । मिङ पावका मालिक सिओङ हियू किङ स्वंय मलेशियन मूलका चिनिया हुन् । त्यति गरेपछि प्रतिपक्ष भूमिका खेलिरहेको स्थानीभाषाको पत्रिका आफु अनुकूल हुने बेईजिङ समर्थक सरकारको आँकलन देखिन्छ । केहि आलोचकको भनाईमा केभिनको बर्हिगमनपछि मिङपावको छवि भुत्ते हुँदै गैरहेकोछ ।  

त्यति मात्र होईन – साउथ चाईना मर्निङ पोस्टमा पनि प्रतिपक्षी भूमिका खेल्ने सम्पादक हटाई पहिलोचोटी मेनल्यान्डर तथा सिसिपी समर्थक प्रधान सम्पादक ल्याईएकोछ । उनको आगमनपछि चीनमा प्रभाव बढाउन पोस्टको चिनिया भाषा संस्करणको वेवपेज पनि शुरु गरिएकोछ र उनलाई त्यसैकारण ल्याइएको बताईन्छ । चीनमा सरकार नजिकका पत्रिकाहरुमा काम गरेको अनुभवी अहिलेका पोस्टका प्रधान सम्पादक ल्याईनुका पछाडि मीडियालाई भुत्ते बनाउने र आफु विरुद्ध उर्लिएको जनलहर रोक्ने प्रमुख कारण रहेको केहिको भनाई छ । पत्रकारलाई यस्तो पक्ष विपक्षमा विभक्त बनाईदिएपछि आन्दोलन कमजोर हुन्छ भन्ने ठाानिएपनि सत्ता र बेईजिङको यस्तो योजना सफल भएको थिएन । पत्रकारको अस्तिको आईतवारे विरोधसभाले सत्तालाई झस्काएकोथियो । त्यसैले दुई दिन भित्रै छद्दभेषमा प्रस स्वतन्त्रताका हिमायती केभिनमाथि आक्रमण गरेर सबैलाई तर्साउन खोजिएकोछ । यो आक्रमण राजनीतिक प्रेरित देखिन्छ । साम, दाम, दण्डले मीडियामाथि नियन्त्रण पाउन नसकेपछि अब भौतिक रुपमै आक्रमणमा उत्रन शुरु गरिएको यस घट्नाले खुलस्त देखाएकोछ ।

तर यस्तो कायरताले सिवाई ल्यूङ सरकार र बेईजिङ विरुद्ध झन विद्रोह र आक्रोश जन्माउने निश्चित छ । यसले हङकङमा युवालाई सडकमा उतार्न झन आगोमा तेल थपिदिएकोछ । ब्यावसायीकरणको नाममा ब्यापारिकरणमा फँस्दै गैरहेको आरोप लागिरहेको हङकङका मीडिया र तिनका कर्मीहरुलाई समेत यसले पेशागत एकजुटता हुन दवाव श्रृजना गरिदिएकोछ । हङकङ पत्रकार संघले आज सदस्यहरुलाई जारी गरेको सर्कुलरमा आजको कायर कृत्य विरुद्ध सडकमा उत्रन आब्हान गरिसकेकोछ । चाईनीज विश्वविद्यालयका मीडिया प्रोफेसर मित्र सिन्डी जोङ्ले घट्ना लगत्तै मेरो फेसबुकको भित्तामा गरेको ट्यागमा लेखेकिछन्– “ सन २००२ मा विश्व प्रेस स्वतन्त्रतता इन्डेक्समा हङकङ अठारौं नंवरमा थियो तर अहिले ६१ नंबरमा पुगेकोछ । बेईजिङ तिम्लाई धन्यवाद छ ।”

हङकङमा चर्किरहेको तर नेपालीले बुझ्न नखोजेको यो राजनीतिभित्र बाहिरियाहरुप्रति यहाँको स्थानीयमा चर्काे आक्रोश देखिन्छ । त्यसमा मेनल्यान्डर चिनियाहरुप्रति स्थानीय युवाहरुको घृणा अचाक्ली देखिन्छ । त्यसैले बेईजिङ समर्थक डिएभी पार्टी जसले सत्ता संचालनको  नेतृत्व गरिरहेकोछ, त्यसप्रति त्यहि अनुपातमा विरोध गरिरहेकाछन् । संयोग के छ भने त्यहि डिएभी पार्टीमा नेपाली बहुसंख्यक नेताहरु खुलेरै लागेकाछन् । पारिका आगन्तुकहरु विरुद्ध यसरी आईलागेका स्थानीयहरुले पारिको समर्थक दल र सरकारलाई समर्थन गर्ने नेपाली समुदायलाई कसरी हेरिरहेकाछन् र भोलि उनीहरुको हामीमाथि हुने ब्यावहार के कस्तो हुने हो कसैले सोंचको देखिदैन । भोलि नेपाली स्थानीय नेताहरुको राजनीतिक रोमाचंकताले यहाँ बसोबास गरिरहेका अल्पसंख्यक नेपालीले  मेनल्यान्डर जस्तो घृणा र दुब्र्यवहारको सामना गर्न नपरोस्, किनकी घृणाको राजनीति अत्यन्त डरलाग्दो हुन्छ जसको आँखा नै हुदैंन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %