अशोक शुजन श्रेष्ठ
मकवानपुर
हेटौडा , १२ फागुन-नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को मध्यमाञ्चल क्षेत्रीय भेला १७ बुँदे हेटौडा घोषणापत्र जारी गर्दै आज(सोमबार) हेटौँडामा सम्पन्न भएको छ । घोषणापत्रमा जातीय पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्धारित समयमै निर्माण गर्न राजनीतिक दलहरुलाई फोनिजले आग्रह गरेको छ । सञ्चार माध्यमलाई समावेशी बनाउन गठित उच्चस्तरीय आयोगले प्रस्तुत गरेको प्रतिवेदन सार्बजनिक भइसकेकाले यसलाई तत्काल कार्यान्वयन गर्न जोडदार माग गरेको छ ।
त्यस्तै, संविधानको प्रस्तावनामै पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्न तथा नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधि, जिल्ला कार्यसमिति चयनमा नै पूर्ण समावेशी प्रक्रिया अवलम्बन गर्नपनि फोनिजले माग गरेको छ । साथै श्रमजिवी पत्रकार ऐन तत्काल लागू गरि सञ्चारकर्मीको पेशागत तथा भौतिक सुरक्षाको ग्यारेन्टी गर्दै आदिवासी जनजातिको मातृभाषामा सञ्चालित मीडियालाई प्रोत्साहन गगरि दिगोपन र प्रभावकारिताका लागि छुट्टै अधिकार सम्पन्न आदिवासी जनजाति तथा समावेशी सञ्चार विकास प्रतिष्ठान गठन गर्नपनि फोनिजले माग गरेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघको आउँदै गरेको अधिवेशन, समावेशी सञ्चारनीति, आम सञ्चारमाध्यममा आदिवासी जनजातिको प्रतिनिधित्व लगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा फोनिज केन्द्रका महासचिव गजुरधन राईले अवधारणापत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा मध्यमाञ्चल क्षेत्रका विभिन्न जिल्ला शाखा अध्यक्ष, सचिव र एकजना महिला प्रतिनिधी सहभागी भएका थिए । कार्यक्रम फोनिजका केन्द्रिय अध्यक्ष डण्ड गुरुङ्गको प्रमुख आतिथ्य तथा मध्यमाञ्चल संयोजक कुमार नेगीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा फोनिजका निवर्तमान अध्यक्ष मोहनसिं लामा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरु खिम घले र दिलिप थापामगर, थारु पत्रकार संघका अध्यक्ष लक्की चौधरी, फोजिका संगठन सचिब मनोज घर्तीमगर, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापा मगरलगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै, हेटौडा घोषणापत्र पत्रकार सम्मेलन तथा प्रतिबद्धता कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रताप बिष्ट, जिल्ला उपाध्यक्ष नरेन्द्र सापकोटा, प्रेस युनियनका जिल्ला अध्यक्ष रुपेश दुलाल, प्रेस चौतारीका जिल्ला अध्यक्ष शिवकुमार काशीलगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २०७० फागुन १२ गते ताम्सालिङ भूमि हेटौंडा, मकवानपुरमा सम्पन्न मध्यमाञ्चल स्तरीय क्षेत्रीय भेलाद्वारा जारी ‘हेटौडा घोषणापत्र–२०७०’
१.नेपाली सञ्चार जगतलाई पूर्ण समावेशी बनाउनका निम्ति सधैं कृयाशील रहन यो भेला प्रतिवद्घता जाहेर गर्दछ ।
२. जातीय पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्धारित समयमै निर्माण गर्न यो भेला राजनीतिक दलहरुलाई आह्वान गर्दछ ।
३. संविधानको प्रस्तावनामै पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्न यो भेला माग गर्दछ ।
४. सञ्चारमाध्यमलाई समावेशी बनाउन गठित उच्चस्तरिय आयोगले प्रस्तुत गरेको प्रतिवेदन सार्वजनिक भईसकेको अवस्थामा उक्त प्रतिवेदन तत्काल कार्यान्वयन गर्न यो भेला जोड्दार माग गर्दछ ।
५. नेपाल पत्रकार महासंघको गतवर्ष पोखरामा सम्पन्न राष्ट्रिय भेलामा प्रस्तुत गरि फिर्ता गरिएको समावेशी विधान पारित गरी तत्काल कार्यान्वयन गर्न जोड्दार माग गर्दछ ।
६. नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधि, जिल्ला कार्यसमिति चयनमानै पूर्ण समावेशी प्रक्रिया अवलम्बन गर्न यो भेला माग गर्दछ ।
७. राज्यको सञ्चार नीति निर्माण तह, सञ्चार माध्यमहरु, सम्बन्धित संघ संगठनहरुलाई पूर्ण समावेशी बन्न र बनाउन भेला माग गर्दछ ।
८. श्रमजिवी पत्रकार ऐन तत्काल लागू गर्न र सञ्चारकर्मीहरुको पेशागत तथा भौतिक सुरक्षाको ग्यारेन्टी गर्न भेला माग गर्दछ ।
९. आदिवासी जनजातिको मातृ भाषामा प्रकाशित पत्रपत्रिका, प्रसारित रेडियो तथा टेलिभिजन कार्यक्रमलाई प्रोत्साहन गर्ने, त्यसको दिगोपन र प्रभावकारिताका लागि छुट्टै अधिकार सम्पन्न आदिवासी जनजाति तथा समावेशी सञ्चार विकास प्रतिष्ठान गठन गर्न यो भेला माग गर्दछ ।
१०. सरकारी तथा निजी सञ्चारमाध्यमहरुमा बहुलता र समावेशी समाचार कक्ष स्थापना गर्न माग गर्दै सञ्चार माध्यमहरुमा आदिवासी जनजातिको भाषा, संस्कृति–परम्परा र राजनीतिक मुद्दाहरुलाई प्राथमिकता दिई निष्पक्ष रुपमा प्रसारण र प्रकाशनको निम्ति उचित बजेट व्यवस्था गर्न सरकारसँग भेला माग गर्दछ ।
११. विभिन्न मातृभाषामा प्रकाशित पत्रपत्रिका तथा रेडियो, टेलिभिजन कार्यक्रम र आदिवासी जनजातिद्वारा सञ्चालित सञ्चारमाध्यमहरुलाई निरन्तरता तथा दिगोपनका लागि स्थानीय निकायबाट छुट्याइएको बजेट, विज्ञापन तथा अनुदानलाई समावेशी सिद्धान्तमा आधारित रहेर समानुपातिक, समावेशी र समानताका आधारमा वितरण गर्न भेला माग गर्दछ ।
१२. आदिवासी जनजाति पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि स्थानीयदेखि राष्ट्रियस्तरमै तालिम तथा अध्ययन भ्रमणको व्यवस्था गर्न नेपाल सरकारसँग यो भेला माग गर्दछ ।
१३. दुबै मृगौला पीडित भई उपचारत रहनुभएका पत्रकार चुनबहादुर गुरुङ्गको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाल सरकार र अन्य सबै निकायलाई सहयोगको लागि यो भेला अपिल गर्दछ ।
१४. मकवानपुर जिल्लाका सञ्चारमाध्यमहरुमा आदिवासी जनजातिको मातृभाषामै कार्यक्रम तथा समाचार प्रशारण प्रकाशन गर्न प्राथमिकता दिनको लागि यो भेला जोडदार माग गर्दछ । साथै मातृभाषामा पत्रकारिता गर्ने पत्रकारहरुलाई समान व्यवहार गर्न सम्बन्धित संघ संगठन र निकायलाई यो भेला अनुरोध गर्दछ ।
१५. काभ्रेको नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा भएको किचलो अन्त्य गरी रेडियो नमोबुद्धलगायत सञ्चारमाध्यममा क्रियाशील आदिवासी जनजाति पत्रकारलाई समावेशी ढंगले सदस्यता वितरण गर्न यो भेला जोड्दार माग गर्दछ ।
१६. नुवाकोट जिल्लामा आदिवासी जनजाति पत्रकारहरुलाई आदिवासी जनजाति पत्रकार भएकै कारण नेपाल पत्रकार महासंघले सदस्यता वितरणमा विभेद र रोक लगाउने कार्य गरेकोमा आपत्ति जनाउँदै आगामी दिनमा तत्काल सदस्यता वितरण गर्न आग्रह गर्दछ ।
१७. ताम्सालिङ भूमि हेटौंडा, मकवानपुरमा सम्पन्न भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को मध्यमाञ्चल भेला सम्पन्न गर्न सयहोग गर्नुहुने विभिन्न संघसंस्था तथा महानुभावहरुलाई यो भेला हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
घोषणा पत्र प्रस्तुतकर्ताहरु :
संयोजक : जीवन लामा
सदस्यहरु : शेरबहादुर भुजेल
सञ्चु ब्लोन तामाङ
जाड रक्तिम
कृष्ण सारु मगर