नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २०७० फागुन ११ गते थारुवान भूमि नेपागञ्ज, बाँकेमा सम्पन्न मध्य तथा सुदूरपश्चिमाञ्चल स्तरीय क्षेत्रीय भेलाद्वारा पारित ‘नेपालगञ्ज घोषणापत्र–२०७०’
पुर्णपाठ सहित तल राखिएकोछ , पढ्नुहोला ।
दीपा आले
नेपालगन्ज, ११ फागुन – १७ बुदे घोषण पत्र जारी गर्दे नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को मध्य तथा सुदुरपश्चिम स्तरिय क्षेत्रिय भेला आईतबार नेपालगन्जको बौद्ध गुम्बामा सम्पन्न भएको छ ।
फोनिज बाँकेको सहकार्यमा सम्पन्न एक दिने क्षेत्रिय भेलाले जातिय पहिचान सहित संविधान जारी गर्न, संविधानको प्रस्तावनामै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न, नेपाली संचारमाध्यमलाई पुर्ण समावेशी बनाउनु पर्ने, उच्च स्तरीय मिडिया आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नु पर्ने माग गरेको छ । फोनिजका केन्द्रिय सदस्य दिपा आलेमगरको संयोजकमा तयार भएको मस्यौदासमितिले तयार पारेको घोषणापत्रमा आदिवासी जनजाती तथा समावेशी संचार विकास प्रतिष्ठान गठन गर्नुपर्ने, संचारमाध्यममा आदिवासी जनजातिका संस्कृति, परम्परा, भाषा तथा राजनितिक मुद्दा उठाउन छुट्टै बजेट र समयको व्यवस्था गर्नुपर्ने, द्वन्द्वकालमा धव्स्त पारिएको कोहलपुर नेपाल टेलिभिजनको क्षेत्रीय प्रशारणलाई यथाशीघ्र संचालन गर्नुपर्ने, दुवै मृगौला फेल भई उपचारको क्रममा रहेका पत्रकार चुन बहादुर गुरुङ्गलाई सरकारले निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने र लखन थापा लाई नेपालको पहिलो शहिद घोषणा गर्नुपर्ने माग गरेको छ ।
मध्य र सुदुर पश्चिमका जिल्ला शाखाबाट अध्यक्ष, सचिब र एक महिला प्रतिनिधीको सहभागीता रहको क्षेत्रिय भेलाको उद्घाटन गर्दे नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डण्ड गुरुङ्गले सवै संचारमाध्यम तथा संघ संस्थाहरुमा समावेशी निति लागु हुनुपर्नेमा जोड दिनुभएको छ । आफुहरुको प्रमुख एजेण्डा नै पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघलाई समावेशी बनाउनु भएको भन्दै गुरुङ्गले त्यसको लागी आगामी अधिवेशनमा समावेशी निति पारित गराउन लागि पर्ने बताए।
महासंघको केन्द्रिय अधिवेशनको अवसरमा जिल्ला जिल्लामा हुन लागिरहेको अधिवेशनमा आदिवासी जनजाति पत्रकारहरुलाई स्थापित गर्दै केन्द्रिय तहमै फोनिजको पकड बनाउने उद्देश्यका साथ आयोजना गरिएको मध्य तथा सुदुरपश्चिमाञ्चल क्षेत्रीय भेलामा बोल्दै अध्यक्ष गुरुङ्गले एक जाती, एक भाषा एक संस्कृतिको कारण आदिवासी जनजाति पत्रकारहरु विस्थापित हुदै गएको बताउनु भयो । एक सय भन्दा बढी जातजाति रहेको देशमा समावेशी पत्रकारिता भएमात्र, नेपालको पत्रकारीता व्यवसायिकता तर्फ उन्मुख हुने अध्यक्ष गुरुङ्गको भनाई थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बांकेका सभापति शुक्रऋषि चौलागाई, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष जयनारायण शाह, प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र काफ्ले, प्रगतिशिल पत्रकार समूहका अध्यक्ष तिलक गाउँल, प्रेस मञ्च नेपालगन्जका अध्यक्ष आशिष गुप्ता, क्रियाशिल पत्रकार महिलाका केन्द्रिय सदस्य अछरी पोख्रेल, थारु पत्रकार संघका अध्यक्ष लक्की चौधरीलगायतका पत्रकारहरुले भेलाले पारित गरेका १७ बुदे नेपालगन्ज घोषणपत्र कार्यान्वयनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
फोनिज मध्यपश्चिमाञ्चलका संयोजक खेम बुढामगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सुदुरपश्चिमाञ्चल संयोजक मस्तविर कर्याकङगरहवाले र स्वागत फोनिज बाँकेका अध्यक्ष उमा मगरले गरेका थिए । कार्यक्रममा फोनिजका पुर्ब अध्यक्ष मोहन सिंह लामा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यहरु खिम घले र दिलिप थापा मगर, फोनिजका महासचिव गजुरधन राई, फोनिजका संगठन सचिब मनोज घर्ती मगर लगाएतले बोलेका थिए ।
भेलामा केन्द्रिय समितिको तर्फबाट फोनिजका महासचिब गजुरधन राईले अबधारण पत्र पेश गरेका थिए । महासचिव राईले प्रस्तुत गरेको अवधारणपत्रमा केन्द्रित रहेर आ-आफ्ना जिल्लाको तर्फबाट फोनिज बाँकेका अध्यक्ष उमा मगर, दाङका अध्यक्ष देविका घर्तीमगर, रोल्पाका अध्यक्ष अमरजीत पुनमगर, सुर्खेतका अध्यक्ष अशोक राजी, बर्दियाका अध्यक्ष जनक चौधरी, कञ्चनपुरका अध्यक्ष हेमन्ती चौधरी, कैलालीका सहसचिव सुमन चौधरीले बिचार प्रस्तुती गरेका थियो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २०७० फागुन ११ गते थारुवान भूमि नेपागञ्ज, बाँकेमा सम्पन्न मध्य तथा सुदूरपश्चिमाञ्चल स्तरीय क्षेत्रीय भेलाद्वारा पारित ‘नेपालगञ्ज घोषणापत्र–२०७०’
१. नेपाली सञ्चार जगत र सञ्चारसंग सम्बन्धित संघसंस्थालाई पूर्ण समावेशी बनाउन सधैं कृयाशिल रहन यो भेला प्रतिबद्घता जाहेर गर्दछ ।
२. समावेशी संविधान प्रस्तावना मै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्न यो भेला माग गर्दछ ।
३. सञ्चारमाध्यमलाई समावेशी वनाउन गठित उच्चस्तरिय आयोगले प्रस्तुत गरेको प्रतिवेदन सार्वजनिक भइसकेको अवस्थामा उक्त प्रतिवेदन तत्काल कार्यान्वयन गर्न यो भेला जोड्दार माग गर्दछ ।
४. जातीय पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्धारित समयमै निर्माण गर्न राजनीतिक दलहरुलाई आग्रह गर्दछ ।
५. नेपाल पत्रकार महासंघको गत वर्ष पोखरामा सम्पन्न राष्ट्रिय भेलामा प्रस्तुत भएको विधान कार्यान्वयनका लागि भेलाले जोडदार माग गर्दछ ।
६. नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधि, जिल्ला कार्यसमिति चयनमा नै पूर्ण समावेशी प्रक्रिया अवलम्बन गर्न यो भेला माग गर्दछ ।
७. द्वन्द्वकालमा आगजनी गरी ध्वस्त पारिएको कोहलपुरस्थित नेपाल टेलीभिजनको क्षेत्रीय प्रशारण तत्काल सञ्चालन गर्न भेलाले माग गर्दछ ।
८. विभिन्न राजनीतिक दल तथा समूहले गरेको आन्दोलनको रिपोटिङ्गका क्रममा घाईते भएका पत्रकारहरुको निःशुल्क उपचार तथा उचित क्षतिपुर्ति उपलब्ध गराउन भेला जोडदार माग गर्दछ ।
९. श्रमजिवी पत्रकार ऐन तत्काल लागु गर्न र सञ्चारकर्मीहरुको पेशागत तथा भौतिक सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दछ ।
१०. मोफसलमा कार्यरत जनजाति पत्रकारहरु पारिश्रमिक नपाएर पलायन भइरहेको घटनाप्रति गम्भिर ध्यानाकर्षण गराउंदै उनीहरुको पेशागत हकहितको ग्यारेन्टी गर्न भेला माग गर्दछ ।
११. नेपाल मगर विद्यार्थी संघको ८ औं राष्ट्रिय महाधिवेशनबाट फोनिजकी केन्द्रिय सदस्य दिपा आले मगर केन्द्रिय अध्यक्षमा निर्वाचित हुनु भएकोमा यो भेलाले हार्दिक बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना गर्दछ ।
१२. राज्यको सञ्चार नीति निर्माण तह, सञ्चार माध्यमहरु, सम्बन्धित संघसंथा, संघ संगठनहरुलाई पूर्ण समावेशी बन्न र बनाउन माग गर्दछ ।
१३. आदिवासी जनजातिको मातृ भाषामा प्रकाशित पत्रपत्रिका, प्रसारित रेडियो तथा टेलिभिजन कार्यक्रमलाई प्रोत्साहन गर्ने र त्यसको प्रभावकारिताका लागि छुट्टै अधिकार सम्पन्न आदिवासी जनजाति तथा समावेशी संचार विकास प्रतिष्ठान गठन गर्न यो भेला माग गर्दछ ।
१४. विभिन्न मातृभाषामा प्रकाशित पत्रपत्रिका तथा रेडियो, टेलिभिजन कार्यक्रमलाई निरन्तरता तथा दिगोपनका लागि स्थानीय निकायबाट छुट्याइएको बजेट, विज्ञापन तथा अनुदानलाई समावेशी सिद्धान्तमा आधारित रहेर समानुपातिक र समानताका आधारमा वितरण गर्न भेला माग गर्दछ ।
१५. दुवै मृगौला पिडित भई उपचारत रहनुभएका पत्रकार चुनबहादुर गुरुङ्गको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाल सरकार र अन्य सबै निकायलाई सहयोगको लागि अपिल गर्दछ ।
१६. नेपालका प्रथम सहिद लखन थापामगरलाई प्रथम सहिद घोषणा गर्न तत्काल सरकारसंग माग गर्दछ ।
१७. मध्यपश्चिमको केन्द्रबिन्दु मानिने नेपालगन्जमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को मध्य तथा सुदुरपश्चिमाञ्चल भेला सम्पन्न गर्न सयहोग गर्नुहुने विभिन्न संघ संस्था तथा महानुभावहरुलाई यो भेला हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
घोषणा पत्र प्रस्तुतकर्ताहरु :
संयोजक : दिपा आले मगर
सदस्यहरु : देविका घर्ती मगर
अमरजित पुन मगर,
अशोक राजी, र
हेमन्ति चौधरी