हुम सुनारी मगर
“लखन थापा मगर स्मृति दिवस” नेपाल सरकारले मनाउने कि नेपाल मगर संघले मात्रै ? के मगरहरुका मात्रै प्रथम शहिद हुन् लखन थापा मगर ? नेपाल आदिवासी जनजाति महासंघलाई लखन थापा मगर प्रथम शहिद हुन् भन्ने कुरा जानकारी भएन कि चाँसो नराखेका त ?
प्रथम शहिद, लखन थापा मगरको १३७औ स्मृति दिवस हिजो फाल्गुन २ गते नेपाल मगर संघको आयोजनामा काठमाडौँमा मनाए । नेपाल सरकारका बहालवाला मन्त्री पनि प्रमुख अतिथि भएर सहभागी भएको देखियो । गर्व पनि लाग्ने, अति दुख पनि लाग्ने र सरकार प्रति घृणा पनि लाग्ने बहालवाला मन्त्री उक्त कार्यक्रममा सहभागी भएको देख्दा । गर्व यो मानेमा लाग्यो, सरकारको मन्त्री जस्तो व्यक्ति उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएको देख्दा । दुख यो मानेमा लाग्यो, लखन थापा मगरलाई राज्यले प्रथम शहिद घोषणा नगर्दा । घृणा यो मानेमा लाग्यो, राज्यले लखन थापा मगरलाई प्रथम शहिद नगरेको तर, सरकारको बहालवाला मन्त्री प्रमुख अतिथिको रुपमा उक्त “लखन थापा मगर स्मृति दिवस” मा सहभागी भएको देख्दा ।
एउटा तितो तर सत्य कुरो राख्न चाहन्छु । कसैलाई ठेंस पुग्न गए माफी चाहन्छु । नेपालको प्रथम शहिद, क्या. लखन थापा मगरलाई राज्यले “प्रथम शहिद” घोषणा गर्न हिच्किचाउनुको पछाडी के हुन सक्छ ? मगरहरुलाई मात्र लखन थापा मगर “प्रथम शहिद” हुन् भन्ने चाँसो किन ? सिङ्गो आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति नेता अनि बिज्ञहरुलाई किन चाँसो भएन ?
बर्षौ देखि मगरहरुले मात्रै लखन थापालाई “प्रथम शहिद” घोषणा गरियोस् भनेर आवाज उठाएका छन्, त्यो पनि बर्षमा एक दिन “लखन थापा स्मृति दिवस” मनाउने र त्यहिँ दिन मात्र उनलाई प्रथम शहिद घोषणा गरियोस् भनेर माग गर्दा कसले सुन्छ ? के लखन थापा मगरले मगरहरुको खातिर मात्रै जहानिया राणा शासकको बिरुद्धमा आवाज उठाएका थिए ? हाँस्यास्पद र बिडम्बना त यो पनि छ कि, “लखन थापा मगर स्मृति दिवस” मा सरकार कै बहालवाला मन्त्री प्रमुख अतिथिको रुपमा सहभागी हुन्छ । तर, सरकारले लखन थापा मगरलाई “प्रथम शहिद” घोषणा गर्न हिच्किचाउछ । क्लियर कट कुरा सरकारले किन गर्दैन, लखन थापालाई प्रथम शहिद मान्न सकिदैन भनेर ।
होइन भने किन सहभागी भएको सरकारको मन्त्री लखन थापा स्मृति दिवसमा प्रमुख अतिथि भएर ?