रमेश कनौजेमगर , कतार
कतार , १४ फेब्रुअरी-सधै झैं यस बर्ष पनि नेपालका प्रथम सहिद लखन थापामगरको सम्मानमा १३७ औं लखन दिवस नेपाल प्रवासी आदिवासी जनजाती महासंघ दोहा कतार र नेपाल प्रवासी मगर संघ दोहा कतारको संयुक्त आयोजनामा दिवस मनाईयो । मगर संघ कतारका अध्यक्ष शरण थापामगरको अध्यक्षता, महासंघका का. बा. अध्यक्ष सियाराम चौधरीको प्रमुख आतिथ्यमा मगर संघका केन्द्रिय महासचिव रमेश कनौजेमगरको सञ्चालनमा दोहाको होमल्याण्ड रेष्टुरेन्टमा ब्यापक जनसमुदायको सहभागीतामा २०१४ फेब्रुअरी १४ मा सम्पन्न भएको छ ।
कार्यक्रमको औपचारिक शुरुवात संगै बिशेष रुपमा प्रथम सहिद लखन थापामगर र अन्य ज्ञात अज्ञात सहिदहरु प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रथम सहिद लखन थापामगरको तस्विरमा खादा, पुष्प माला, पुष्प गुच्छा, अबिर लगायतले उपस्थितीद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा महासंघका कोषाध्यक्ष तथा मगर संघका प्रथम उपाध्यक्ष महेन्द्र थापामगरबाट स्वागत मन्तब्य तथा कार्यक्रम बारे जानकारी दिएका थिए । उक्त कार्यक्रममा बिशिष्ट अतिथीमा महासंघका बिशेष सल्लाहकार तथा संस्थापक अध्यक्ष अमृत गुरुङ थिए ।
अतिथीहरु महासंघ तथा मगर संघका सल्लाहकार सदस्य देव ब. रानामगर, किराँत राई यायोक्खाका सचिव एकराज राई, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष लोकेन्द्र तुम्रोक, तमु(गुरुङ) सेवा समाजका प्रथम उपाध्यक्ष कृष्ण तमु, नेपाल प्रवासी तामाङ समाजका सचिव तेज ब. मोक्तान तामाङ, थारु कल्याणकारिणी सभाका कोषाध्यक्ष सुर्य नारायण चौधरी, प्रवासी सुनुवार सेवा समाजका सल्लाहकार सदस्य भानु सुनुवार, नेपाली जनसम्पर्क समितीका केन्द्रिय सदस्य टंकनाथ भट्टराई, नेपाली प्रवासी मञ्चका सचिव छबिलाल बि.क. कतार नेपाली एकता समाजका केन्द्रिय सदस्य बाबुराम न्यौपाने मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका प्रवक्ता मिङसो सुहाङ, नेपाली महिला समाजका अध्यक्ष रेखा राई, मगर संघका दोहा एरिया समितीका अध्यक्ष विवेक पुलामीमगर लगायत थिए । अतिथीहरुलाई खादा लगाईदिएर मगर संघका केन्द्रिय सदस्यहरु खगी पुनमगर र लक्ष्मी घर्तीमगरले स्वागत गरेका थिए ।
अतिथीहरुले बोल्ने क्रममा महिला समाजका रेखा राईले राज्यबाट जाती, क्षेत्र, लिंग हेरेर विभेद गर्न नहुने बताइन भने एकता समाजका बाबुराम न्यौपानेले लखनको बारेमा हामी सबैले यस मुद्दालाई ब्यापक बनाउनु पर्ने आवश्यकता औंल्याए । त्यसैगरी प्रवासी मञ्चका छविलाल बिश्वकर्माले उहाँले ठाउँ र जाती बिशेषको लागी नभएर नेपाल र नेपालीको मुक्तीको लागी लड्नुभएकोले उच्च स्तरीय सम्मान राज्यबाट पाउनुपर्ने बताए भने जनसम्पर्कका टंक भट्टराईले जनताको लागी ज्यान दिने लखन थापामगरलाई नेपालको प्रथम सहिद घोषणा गर्नुपर्ने बताउए ।
मन्तव्यकै क्रममा थारु कल्याणकारिणीका सुर्य नारायणले २००७ सालको प्रजातन्त्र सँगै प्रथम सहिद घोषणा गर्नुपर्नेमा अझै राज्य पक्षले ढिलाई गरेको प्रती खेद व्यक्त गरे । त्यस्तै तामाङ समाजका तेज मोक्तानले लखन थापा लगायत धेरै सहिदहरुलाई राज्यले गुमनाम पारेको, उहाँको योगदानले नै अहिले हामी दासत्वबाट मुक्ती भएको बताएका थिए । तमु(गुरुङ) समाजका कृष्ण तमुले थापामगरलाई प्रथम सहिद घोषणा नगरेसम्म हाम्रो आन्दोलन नरोकिने स्पष्ट पारे भने चुम्लुङका लोकेन्द्र तुम्रोकले बैचारिक संस्थाले भाषणमा मात्र नभएर यस्ता कुराहरु आ–आफ्नो संस्थामा पनि बहस गर्नुभएको छ कि छैन ? भन्दै प्रश्न गर्दै आदिवासी जनजातीहरुलाई बझाउने भन्दा मिलाउने मार्ग तयार गर्न आग्रह गरे । राई यायोक्खाका एकराज राईले थापामगर आदिबासी जनजाती भएकै कारणले प्रथम सहिद घोषणा नगरेको त होईन ? प्रजातन्त्रको जन्मदाता नै प्रथम सहिद लखन थापामगरलाई राज्य पक्षबाट किन हेला भइरहेको छ ? राज्य पक्षले यस कुरालाई हेलचेक्रयाई नगरी उचित सम्बोधन गर्नुपर्छ भन्दै जोड दिए ।
त्यस्तैगरी अतिथी देव ब. रानामगरले एकातिर फटाईं गरेर मर्नेहरुलाई पनि राज्यले सहिद मानेर सहिद शब्दको धज्जी उडाइरहेको छ र अर्कोतिर देशको विभेदकारी नितीले प्रथम सहिद लखन थापामगरले योगदानको सम्मान नै पाउनुभएको छैन उहाँलाई दयाको भावनाले हेरिएको छ, उनले थपे “यो संघर्षलाई हाम्रो मात्र नसोचि दिन विभिन्न क्षेत्रलाई आग्रह गर्दछु” । यस्तै क्रममा बिशिष्ट अतिथी अमृत गुरुङले बैचारिक संस्थाहरुलाई बिशेष ध्यानाकर्षण गराउदै यो मुद्दा राजनितीक पार्टीहरुले खोजी खोजी उठाउनु पर्नेमा हामीले उठाइरहेका छौं, अब यहाँदेखी तपाईंहरुले किन उनिहरू सम्म लानुहुन्न ? यहाँसम्म प्रथम सहिद मान्ने अनी नेपालमा किन प्रथम सहिद मान्नुहुन्न ? “नेपालको प्रथम सहिद लखन थापामगरलाई अविलम्ब प्रथम सहिद घोषणा गर्न यस मञ्चबाट सम्बन्धित पक्षसँग गम्भिर भएर आग्रह गर्छु ।” गुरुङले भने ।
कार्यक्रममा प्रमुख अतिथी सियाराम चौधरीले लखन थापामगर मगरहरुको मात्र होईन सम्पुर्ण नेपालीको भएकोले यसमा सम्बन्धित सबैको ध्यान जानुपर्ने, मगर भएर होईन देशभक्त भएर आवाज उठाउने ब्यक्तीको सम्मान गर्नुपर्ने र जब सम्म लखन थापामगर लगायत अन्य सहिदहरुले न्याय पाउँदैन तब सम्म आदिबासी जनजाती महासंघको संघर्ष र दबाब रहिरहने बताए ।
अन्तिममा सभाध्यक्ष शरण थापामगरले नेपाल मगर संघ केन्द्रिय समिती मार्फत दबाव स्वरूप प्रत्येक सरकारलाई प्रथम सहिद घोषणा गर्न ज्ञापन पत्र बुझए पनि सम्बन्धित पक्षले बेवास्ता गरेको जानकारी दिदै “राज्यले सत्य इतिहास किन लेखिन्दैन , अझ भएकोलाई पनि किन बङगाउँदैछ ? होईन भने काल गतिले मरेकोलाई सम्मान दिने अनी देशको लागी लडेको ब्यक्तीलाई चाहीँ रड्डीको टोकरीमा फ्याँकिदिने किन ?” उनले प्रश्न गर्दै भने “लखन थापामगर प्रथम सहिद नभएर अरु को हो त ? यदी उहाँले त्यो संघर्ष नगर्नु भएको भए राणाहरुको दासत्वबाट हामी अहिले पनि गुज्रिनु पर्ने पनि हुन सक्थ्यो ।
” उहाँको योगदानले नै अहिले सम्मको हरेक परिवर्तन सम्भव भएको बारे प्रष्ट पार्दै सभाध्यक्षले कार्यक्रममा उपस्थिती सबैलाइ धन्यवाद सहित समापन सँगै राज्य र राज्यसँग जोडिएका सबैसँग लखन थापामगरलाई सही सम्मान दिन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल पनि गरे । कार्यक्रमको अन्तमा सहभागहिरुलाई आयोजकको तर्फबाट खानाको ब्यवस्था गरिएको थियो ।
(नोट – लखन थापामगरको जन्म १८३४ मा गोरखाको बुङकोट–४ काहुले भंगार भन्ने गाउँमा भएको हो । बाल्यकालको नाम लक्ष्मण सिंह थापा मगर, सहादत १९३३ फागुन २ गते बुङकोटको मनकामना मन्दिरको अगाडी रहेको खिर्राको बोटमा झुण्डाएर सहादत प्राप्त गर्नुभएको हो । १२७ बर्ष पछी २०५६ सालमा तत्कालिन श्री ५ को सरकारले सहिदको मान्यता प्रदान गरेको थियो ।तर प्रथम शहिद दिन भने किन कन्चुसाइ ?)