‘गेट पास’ले ल्यायो नयाँ बहस

Read Time:17 Minute, 4 Second

 –मनोज घर्तीमगर

 

पूरानो शिक्षा व्यवस्थामा कक्षा ४ बाट अंग्रेजी पढाई हुन्थ्यो । त्यतिबेला ‘मिस्टर गुरुङ इज सोल्जर’ भन्दै शिक्षकले पढाउँथे । त्यही कक्षाको पाठ्यक्रममा ‘मिस्टर शर्मा इज डक्टर’ भन्दै घोकाइन्थ्यो । आजभोली टिभीमा आउने कार्टुनजस्ता चित्र हुन्थे ति । तपाइ हामीमध्ये धेरैले यस्तै शिक्षा पढेको हुनुपर्छ । गुरुङ समुदायले एक त भर्ती परम्परालाई आफ्नो पूख्र्यौली पेशा ठान्थे । अझ विद्यालयमै यस्तो पढाइ भएपछि गुरुङ समुदायका कलिला बालकमा लाहुरे छापले जरा गाड्थ्यो । उनीहरुको बालमनोविज्ञानमै असर परेपछि एलएलसी पास हुन नपाउँदै गुरुङ युवा छाति नपाउन पुग्थ्यो । शर्मा युवा धम्मरधुस पढेर डक्टर हुने लाइन समाउँथ्यो । अहिले काल्पनिक जस्तै लाग्ने यस्ता दृश्य कम हुँदै गएको धेरै भएको छैन । कुनै समय विद्यालयमै पढाइने यस्तो विषयलाई शैक्षिक विभेदको संज्ञा दिने मनोज गुरुङले यहि कथालाई टिपेर फिल्म ‘गेट पास’ बनाएका छन् ।

पोखरामा शनिबार प्रर्दशन भएको फिल्म ‘गेट पास’ हेरेपछि फिल्मले नयाँ बहस उठाएको धेरैको प्रतिक्रिया थियो । पोखराको बराहि सिनेमा हलमा ३ शो प्रर्दशन गरिएको यो फिल्म हङकङगमा प्रर्दशन भइसकेको छ । फिल्मले हङकङमा १२ लाख आम्दानी गरेको थियो । समन फिल्म प्रोडक्सनको पहिलो प्रस्तुति ‘गेट पास’ बारे बहस भएपछि माघ २५ गते पनि फेरी प्रर्दशन गरिदैछ । ‘विद्यालयमै गुरुङ इज सोल्जर भनेर पढाउनु शैक्षिक विभेद हो’ निर्माता / निर्देशक मनोज गुरुङले भने,‘यहि यथार्थलाई पर्दामा उतारेको हुँ । फिल्मले गुरुङ लगायत आदिवासी जनजाति समुदायमाथी हुने शैक्षिक विभेदको फर्दाफास गरेको छ ।’

 गुरुङ समुदायमा रहेको लाहुरे सँस्कृति प्रतिविम्ब हुने फिल्म हो ‘गेट पास’ । निर्देशक मनोज पनि लाहुरे परिवारका एक सदस्य हुन् । गुरुङ समुदायामा अझै पनि कायम रहेको लाहुरे परम्परालाई दुरुस्तै उतारिएको छ फिल्ममा । जनजाति युवाहरु लाहुरे प्रथाले शिक्षा हा“सिल गर्न नसकेको यथार्थलाई पनि पर्दामा उतारिएको छ । गुरुङ समुदायमा अझै पनि छोरोको लाहुरे हुने इच्छा नहुँदा अभिभावकले भर्ती लाग्न दिने गरेको दबावलाई मुख्य रुपमा उठाईएको छ । गुरुङको सन्तानले पढाई राम्रो गर्न चहाओस् की डाक्टर बन्न खोजोस् । खेलाडी बन्न रहर पालोस की ईञ्जिनियर बन्ने प्रयास गरोस् । अभिभावकलाई कुनै मतलब हुँदैन । त्यसैले त होला गुरुङ समुदायका अभिभाकले आफ्ना सन्तानलाई घोक्रेठ्याक लगाएर लाहुरे हुनैपर्ने कहर गर्छन् । फिल्ममा यी यस्तै कथालाई दमदार रुपमा उतारिउको  छ । ‘फिल्मले एउटा नयाँ बहस ल्याएको छ’ थुप्रै फिल्म निर्देशन गरिसकेका माओत्से गुरुङले गेटपास हेरेपछि भने,‘यो हाम्रो समुदायले बुझ्न जरुरी छ ।’

फिल्म मुख्य गरि तीन परिवारको वरिपरि घुम्छ । पश्चिमी नेपालको गण्डकी अञ्चल, कास्की जिल्ला । भलाम गाविसको डाँडागाउँस्थित गुरुङ समुदायको वस्ती, जहाँ एउटा गुरुङ परिवार छ । बाबु (मनोज गुरुङ) र छोरो जीवन (सुरज गुरुङ)ले दुःखसुख दिन काटिरहेका हुन्छन् । श्रीमतीको मृत्यु भए पनि जीवनका बुवाले छोरो पढाउनकै लागि दोस्रो विहे गर्दैनन् । उनले दुःखजिलो छोरो पढाउँछन् । पढ्नमा जीवन अब्बल छ ।

अर्को एउटा भूपू ब्रिटिस आर्मीको परिवार छ । जसको पोखरामा बसोबास छ । भूपू आर्मी(राम गुरुङ)को एउटा छोरो मणी (प्रतिक गुरुङ)र श्रीमती छन् । भूपू सैनिकले छोरो मणीमाथी आफ्नो सैनिक शासन लागू गराउँछन् । उनले चाहेअनुसार छोरो भर्ती हुन मन गर्दैन । ती लाहुरेले आफ्नो पत्नीलाई फकाएर छोरोलाई भर्ती देखिन हौस्याउन लगाउँछन् । छोरो मणी भर्ती हुनलाई राजी भएर ट्रेनिङ सेन्टर जान्छ । तै पनि उसको मन लाहुरेतिर जाँदैन । अनि ट्रेनिङ सेन्टरबाट भागेर कताकता जान्छ । यो कुरा थाहपाएपछि बाबु बेहोस हुन्छन् । त्यसपछि छोरो मणी भर्ती हुनलाई तिखारिन नियमित तालिममा जान्छ । पटकपटक भर्ती नापिए पनि मणी छनौट हुँदैन । अन्तत : उ लागुऔषध सेवन गर्न थाल्छ ।

अर्को एउटा परिवार छ । उनीहरुको बसोबास पनि पोखरामै हुन्छ । बाबु विदेश गएकाले दुई छोरी कान्ति (रिना गुरुङ) र शान्ति (सोविन गुरुङ)सँगै आमा (प्रतिक्षा गुरुङ)पोखरामा बस्छिन् । कान्तिले लाहुरे देखाउँदै गरेको मणीसँग प्रेम गर्ने प्रयास गर्छिन् । मणी लाहुरे भइहाल्छ कि भनेर त्यसलाई फुस्काउन नहुने कान्तिकी आमाको राय हुन्छ । मणीलाई फकाउन चाहिने खर्च पानी पनि छोरी कान्तिलाई दिन पछि पर्दिनन् । जब, मणी लाहुरे नभएर लागुऔषध सेवनकर्ता हुन्छ तब, कान्तिले उसलाई प्रेम गर्न छाडिदिन्छे । यसले देखाउँछ–गुरुङ समुदायमा रहेको लाहुरे मोह । अनि ढाक्रेलाई गरिने तुच्छ व्यवहार ।

फिल्म तिन परिवारको वरिपरी नै घुमिरहन्छ । जसले गुरुङ समुदायमा रहेको लाहुरेप्रतिको मोह झल्काउँछ । फिल्मको कथा घुम्दै फेरी जीवनको परिवारकहाँ पुग्छ । जीवनले निकै मेहनत गरि पढ्छ । ‘मिस्टर गुरुङ इज सोल्जर’ भन्दै शिक्षकले पढाउँदा प्रावि तहमा पढ्दा जीवनले प्रश्न तेस्र्याएको थियो–‘सर के गुरुङ डाक्टर बन्न सक्दैन ?’ । त्यतिबेला शिक्षको मुखबाट गुरुङहरु लाहुरे बन्न मात्रै मरिहत्ते गर्ने भएकाले डाक्टर बन्न सक्दैनन् । उनीहरु लाहुरे बन्नमै गर्व गर्छन् भन्ने उत्तर पाएको थियो । शिक्षकको यस्तो उत्तर पाएपछि जीवनले त्यतिबेलै राम्रोसँग पढेर डाक्टर बन्ने अठोट लिइसकेको हुन्छ । उ एसएलसीमा डिस्टिङ्सन् ल्याएर पास हुन्छ । आइएस्सी पनि राम्रो नम्बर ल्याएर पास हुन्छ जीवन । अनि डाक्टर पढ्नलाई स्कलरसिपमा पनि नाम निकाल्छ ।

जीवन गरिब परिवारको भएकाले स्कलरसिप पाए पनि होस्टल खर्चको जोहो गर्न जीवनका बुवालाई हम्मे पर्छ । तीन लाख रुपैंया जुटाउन जीवनका बाबुले ऋण खोज्छन् । धेरै आफन्तीकहाँ जान्छन् । तर, पढ्ने भनेपछि कसैले पनि ऋण दिँदैनन् । वास्तवमै आदिवासी समुदायमा पढाइलाई महत्व नदिने गरेको तीतो यथार्थतलाई निर्देशकले यहाँ उतारेका छन् । विदेश जान खोजे लाखौं ऋण दिन तयार हुने हाम्रो समाजलाई गहिरो व्यङ्ग्य पनि हो यो । अन्तिममा जीवनका बाबुले बल्ल आफ्नै साला दले (डिबी गुरुङ)को सहयोग पाउँछन् । दलेले भाञ्ज पढाइ राम्रो हुन्छ भने यौ लैजानुस् भन्दै सुनको औठी भेनालाई दिन्छन् । निर्देशले यहाँ गुरुङ युवा पढाउन जस्तोसुकै दुःख पनि गर्नुपर्छ भन्ने सन्देश दिन खोजेका छन् । तर, यस्ता व्यक्तिहरु हाम्रो समुदायमा अझै पनि निकै कम छन् । जसले छोरो विदेश जाने भनेपछि कान च्यातेरै भए पनि सुन दिन तयार हुन्छन् । तर, पढ्ने भनेपछि ऋण दिन अनकनाउँछन् भन्ने झटारो पनि हान्न भ्याएका छन् निर्देशकले । यो कुरा कतिले बुझ्ने हुन् कुन्नी ?

फिल्ममा दले यस्तो पात्र हो जो विदेश कमाइ गर्न गएका बेला श्रीमती हराउँछ । उ विदेश भएकै बेला श्रीमती पोइल जान्छे । तेस्रो विहे गरेकी श्रीमती पनि पोइल गएपनि उसलाई खासै चिन्ता छैन । मानौं उ श्रीमती हराउन बानी परिसकेको छ । फिल्ममा दले पात्रले खुब हसाउँछ । उसले बेलाबेला प्रयोग गर्ने खल्लीवल्ली र पकलन्टु शब्दले दर्शकदिर्घामा हाँसोको बाढी ल्याउँछ । निर्देशकले यहाँनिर यस्तो चलाखी गरेका छन्, कथा बगिरहँदा बोर मान्ने दर्शकलाई दले पात्रमार्फत भरपुर हँसाएका छन् । दर्शकहरु दलेको अवस्था देखेर हाँसे पनि यसभित्र गहिरो अर्थ लुकेको छ । सँधै विदेश बस्नुपर्दा श्रीमतीले श्रीमानको अभाव झेल्छे । अन्ततः उ पोइल जान्छे । यसभित्र लुकेको यौने मनोविज्ञानलाई पनि उठाउन खोजिएको छ । निर्देशक मनोजले अन्य फिल्म निर्देशकले कल्पना गरेर बनाएजएस्तै पक्कै बनाएका छैनन् फिल्म । उनले त गुरुङ समुदायमा जरा गाडेको लाहुरे कथालाई ठ्याक्कै टिपेर फिल्मका उतारेका छन् । यो फिल्म निर्माण क्रममा हजारौं युवाहरु पोखरा रंगशालमा भर्तीका लागि दौडदै थिए । थुप्रै युवाहरु पोखराको बृटिस क्याम्प छाती तत्काउँदै थिए । तर, मनोजले यतिबेलै सकेसम्म आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ भन्ने सन्देश सहितको फिल्म बनाए । ‘पहिलै भईसकेको कुरालाई रोक्न सकिँदैन’ उनी भन्छन्, ‘अवको युवा पुस्ताले आफ्नै देशमा पसिना बगाएर, नेपालको सेवा गर्नुका साथै केही गरेर यहीँ रमाउन सिक्नुपर्छ ।’

फिल्ममा १४ वर्षकै उमेरमा पति दोस्रो विश्वयुद्धमा मरेपछि ब्रिटिसले पठाएको तक्मा हेरेर अहिलेसम्म बाँचेकी बज्यैको दुःखत कथा पनि अटाएको छ । यस्ता बज्यैहरु अहिले पनि कतैकतै भेटिन्छन् । यो दृश्यले दोस्रो विश्वयुद्धमा हराएका हाम्रा हजारौं बाजेबराजुको दुःखत कहानी बोल्छ । निर्देशक मनोज लाहुरे नभए पनि लाहुरे सँस्कार निकै नजिकबाट बुझेका छन् । त्यति मात्रै हैन लाहुर सँस्कारले बनाएको एक पीडित पात्र पनि हुन् उनी । त्यसैले पनि उनले लाहुरे सँस्कारले पारेको गलक कुरालाई फिल्ममा उतारेका हुन् । ‘गुरुङ समाजका युवाहरु अझै पनि बाध्यात्मक अवस्थामा लाहुरे बन्छन्’ मनोज भन्छन् ‘ढिडोखोले खाएर आफ्नै गाउँठाउँको सेवा गर्नु ठिक या धन–पैसाको धनी बनेर समाज गुमाउनु ठिक ?’

मनोजको फिल्ममा मणी यस्तो पात्र हो, उसले सँधै बाबुको अधिनमा बसेर काम गर्नुपर्छ । ऊ इन्कार गर्छ, अरुको लागि गल्लाको पछि नलाग्न, दिमागभन्दा शरीर बलियो नबनाउन । तर, आमा बाबुले मान्दैनन् । गुरुङ वस्तीको यो सामाजिक कथालाई मनछुने गरि उतारेकाछन् मनोजले । त्यतिमात्र नभएर लाहुरवाट गाउँघर आउँदै श्रीमती अर्कैको पोइल गएको कथा पनि फिल्ममा समेटिएको छ । 

विद्यार्थी राजनीति गर्दादेखि नै फिल्मले समाज परिवर्तनमा राम्रो भूमिका खेल्छ भन्ने थाहा पाएका मनोज आफ्नो समुदाय बदल्न गुरुङ फिल्मतर्फ हान्निएका हुन् । ताकि ‘गेट पास’ मा आफ्ना छोरोलाई लाहुरे बनाउन मरिहत्ते गर्ने आमा बाबु लाहुरे बन्न नसकेर लागुऔषध दूव्र्यसनीमा फसेको छोरो मणीको मृत्यू भएपछि मात्रै बदलिन्छ । अर्कोतिर जीवन डाक्टर भएर फर्किन्छ । गाउँघर कार्यक्रम गरेर आमा समूहले फूलमाला लगाएर स्वागत गर्छन् । त्यसको केही समयपछि उ आफूले एसएलसी पास गरेको विद्यालयमा पुग्छ । त्यतिबेला पनि उही पूराना शिक्षकले ‘मिस्टर गुरुङ इज सोल्जर…’ लेख्दै विद्यार्थी पढाइरहेका हुन्छन् । त्यतिबेलै जीवन शिक्षकसँग अनुमति मागेर कक्षामा छिर्छ अनि, सोल्जर मेटाएर ‘मिस्टर गुरुङ इज अ डक्टर…’ लेख्छ । र आफू डाक्टर भएको सुनाउँछ । त्यसपछि फिल्म सकिन्छ । मेहनत गरे गुरुङ पनि डाक्टर बन्न सक्छ भन्ने सन्देश फिल्मले दिएको छ । तर, मिस्टर शर्माजस्तै मिस्टर गुरुङले नेपालमै केही गर्ने हेतुले मेहनत गर्दैनन् भन्ने ब्य्ङ्ग्यबाण पनि फिल्मले हानेको छ । के फिल्मले भनेजस्तै अब गुरुङ युवा पनि धम्मरधुस लगाएर नेपालमै केही गर्ने मनासयले पढ्लान त ? यो पनि अर्को बहस हो ।

शान्ती गुरुङ, गौताम गुरुङको संयुक्त लगानीमा बनेको फिल्म गुरुङ स“स्कृतिमा अधारित रहे पनि नेपाली भाषाको प्रयोग भएकाले सबै दर्शकले हेर्न सक्छन् । गेट पासमा नव नायक सुरज गुरुङ, प्रतिक गुरुङ, र नवनायिका रिना गुरुङले डेब्वु गरेका छन् । त्यसैगरि फिल्ममा सोविन गुरुङ, प्रतिक्षा गुरुङ, डिवि गुरुङ, मनोज गुरुङ लगायतको अभिनय हेर्न सकिन्छ । फिल्मलाई गुरुङ फिल्ममा लामो समय निर्देशकको अनुभव बटुलेका माओत्से गुरुङले खिचेका हुन् भने जसु गुरुङले सहनिर्देशन गरेका छन् । फिल्मलाई दिपेश गुरुङले सम्पादन गरेका छन भने सगुन श्रेष्ठको कोरियोग्राफी रहेको छ । फिल्म पोखरा र अर्थर डा“डाखर्क गाविस पर्वतमा छायाङकन गरिएको हो । पोखरा लगत्तै फागुनमा काठमाडौ“, धरान, झापा, इलाम, सिक्किम, अमेरिका, बुटवल, नवलपरासी, चितवन लगायतका जिल्लाहरुमा प्रर्दशन हुदैछ । त्यसैले यस्तो गहन विषयलाई उठाएको फिल्म ‘गेट पास’ तपाईले पनि एक पटक हेर्ने की ?

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %