नेपालको अन्यौलपूर्ण बर्तमान राजनीति

Read Time:13 Minute, 16 Second

टोप अस्लामी मगर  

  

संविधान सभाबाटै अग्रगामी संविधान निर्माण गर्ने र मूलुकको सम्बृद्धिका लागि संवैधानिक मार्ग प्रशस्त गर्ने उद्देश्य लिएर संविधान सभाको निर्वाचन र शान्ति प्रकृया हुँदै अगाडि बढेको नेपाली राजनीति फेरि पनि निराशाजनक हुने लक्षणहरु देखा पर्दै जान थालेका छन् । संविधान सभाको निर्वाचन (दोश्रो) सम्पन्न भएयता नेपाली राजनीतिमा छरपस्ट हुँदै आएका राजनीतिक गतिविधि र घट्नाक्रमहरुले यही संकेत गरेको छ । प्राप्त भए / गरेका उपलब्धीहरु संस्थागत हुन नपाई संविधान सभा (पहिलो) त्यसै त्यसै अवसान हुनु परेको थियो । ‘बिहानीले दिनको संकेत गर्दछ’ भन्ने आहानलाई आत्मसाथ गर्ने हो भने संविधानकै विषयलाई लिएर अझ कति समय नेपाली जनताको भविष्य राजनीतिक रुपमा दिशाविहिन भएर गुज्रने हो, शंसयको विषय भएको छ ।  

संविधान सभाको निर्वाचन (दोश्रो) को स्मरण :

 

कतिपय राजनीतिक खिचातानीको वाबजुद संविधान सभाको निर्वाचन (दोश्रो) शान्तिपूर्ण रुपमा सम्पन्न भएकै हो । तर निर्वाचनको सन्दर्भमा जे जस्ता दृश्यहरु नेपाली समाजमा अकल्पनीय रुपमा देखिन आए त्यसले भने मूलुकको भविष्यलाई निश्चय पनि थप अन्यौलपूर्ण र त्रासमय बनाएको छ । विशेष गरी कतिपय राजनीतिक दलहरु र तिनका उम्मेद्वारहरु मार्फत अपारदर्शी र अवाञ्छित सञ्जालको माध्ययमबाट जनताको मतलाई जबरजस्त एक कठ्ठा गर्ने जुन रणनीति लिईयो त्यो ज्यादै दर्दनाक र भयानक मान्नु पर्दछ । दृश्य अदृश्य यस्ता गतिविधिले सभ्य समाज निर्माण अभियानमा निश्चित रुपमा ठूलो आफशोच सृजना गरेको छ । किनभने मूल्य र मान्यताको राजनीतिमा सिङ्गो जवानी र जीवन आहुति गर्नेहरुका लागि त्यस शैलीका निर्वाचन थेग्न सक्ने अवस्था भविष्यमा पनि देखिदैन र त्यस्तो अवस्था एकाएक सम्भव हुने कुरा पनि भएन । समाज परिवर्तनशिल छ भने वा राजनीतिमा राम्राको पालो पनि अवश्य आउने हो भने आगामी दिनमा हुने निर्वाचनमा मूल्य र मान्यताको राजनीति मार्फत समाजमा परिवर्तन ल्याउन चाहनेहरुका लागि परिस्थिति जटील बनेकै हो । नयाँ पुस्ता या आस्थाका राजनीति गर्ने जोकोहीले यस गाम्भीर्यतालाई मनन गर्नै पर्दछ । यस अर्थमा नेपाली राजनीतिमा आमूल परिवर्तनको मुद्दालाई सम्बोधन गर्नका लागि होईन कि केही कथित ठूला जमातको हवाला दिई शक्तिको आडमा जनतालाई त्राहीमाम पार्ने र यथास्थितिवादी चक्रव्यूहमा देश र जनतालाई रुमल्ने काम पछिल्लो निर्वाचनले ग¥यो । शायद त्यसैका प्रतिविम्बहरु वर्तमान राजनीतिक परिवेशमा देखिदै जान थालेका छन् । निर्वाचनमा जित्नै पर्ने मानसिकताका साथ स–सानो इकाईमा पनि अवाञ्छित स्वार्थका खेलहरुले पकड राख्न सक्ने वातावरण बनाईए, फलस्वरुप यस्तो परिस्थिति निर्भय रुपमा सृजना हुन पुगेको हो ।  

आफु राम्रो , अरु नराम्रो :

सामान्यतया राम्रो हुन चाहनु मानवीय स्वभाव नै हो । तर जबर्जस्त राम्रो सावित हुन खोज्नु भनेको एक खालको मुर्खता नै हो । यस्ता मुर्खता र अस्वाभाविक पक्षहरु राजनीतिमा छताछुल्ल हुनु भनेको एक खालको निर्मम कमजोरी र विडम्बना नै मान्नु पर्दछ । किनभने राजनीति त आफैमा एक समष्टी हो जसले सिङ्गो समाजलाई नै मार्गदर्शन गरीरहेको हुन्छ । तर समाज निर्माणको गहन जिम्मेवारीलाई आत्मसाथ गर्ने सन्दर्भ अब टाढा भाग्ने प्रवल सम्भावनाहरुले चलमलाउन थाल्दैछन् ।

 नेपाली राजनीतिमा आफु बाहेकका राम्रा व्यक्तित्वहरु प्राप्त गर्न मुश्किल पर्दै गएको जस्तो परिस्थिति सृजना भएको छ । निर्वाचनकै समयमा पनि उम्मेद्वारको लागि ‘टिकेट’ प्राप्त गर्ने सन्दर्भमा यस्ता प्रवृत्तिहरु सतहमै देखिएको हो । उही मनोवृत्तिका मानिसहरु शक्तिमा व्याप्त रहीरहेको अवस्थामा त्यस्ता प्रवृत्तिहरु अहिलेको सन्दर्भमा पनि त्यत्तिकै बलियो रुपमा अगाडि रहेको छ ।  राजनीतिक संगठन र राजनीतिक जीवनमा राम्रो र नराम्रोको तुलना मुद्दाहरुमा, कार्यशैलीहरुमा एवं आचरण र व्यवहारसंग सम्बन्ध राख्नु पर्ने हो । तर त्यसो हुन सकीरहेको छैन । एउटै दल विशेषमा पनि पर्दा पछाडिको शक्तिको आडमा ‘फलानो भन्दा म राम्रो’, ‘म सिनियर भएकोले राम्रो’, ‘म द्रव्य खुबी भएकोले राम्रो’ भन्ने जस्ता प्रवृत्तिले नराम्ररी गाँजेको छ । एउटा जिम्मेवार राजनीतिक संगठनमा छरपस्ट भईरहेका यस्ता प्रहसनहरुले समग्र राष्ट्रलाई नै अनिर्णयको बन्दी बन्न बाध्य पारी राखेको छ । जनताले यस प्रकारका गतिविधिलाई क्षणक्षणमा मूलुकको राजनीतिमा सुनीरहन र देखीरहन बाध्य पारिएपछि नेपाली समाजमा त्यसको असर पर्नु स्वभाविक छ । ‘आफु राम्रो र अरु नराम्रो’ भन्ने संकीर्णता जुन ढङ्गबाट निरन्तर जकडीरहेको छ यसले मूलुकलाई सही गन्तव्यमा अवश्य पनि पु¥याउने छैन । यो खालको सोंच र चिन्तनले अन्तत्वगत्वा समाजमा सानो भन्दा सानो कुरामा पनि असमझदारी बढाउँदै जाने र त्यस्तो वातावरणलाई पक्षपोषण गर्ने बाहेक अर्को गतिलो केही गर्ने छैन ।  

प्राप्त उपलब्धीहरुको रक्षाको चुनौति :

परिवर्तनका पक्षधर र न्यायप्रेमी नेपालीहरुलाई अगवत भएकै कुरा हो — एक जातीय एकाधिकारका पृष्ठपोषक, संघीयता विरोधी र यथास्थितिवादीहरुको षड्यन्त्रको कारणबाट पहिलो संविधान सभाको अवसान गराईएको हो । पहिलो संविधान सभाले चार वर्षे कार्यकालमा जे जति उपलब्धी हासिल गरेको छ, त्यो नेपाली जनताहरुकै उपलब्धीहरु हुन् । संविधान सभा (दोश्रो)ले ती उपलब्धीहरुको स्वामित्व लिनै पर्दछ अन्यथा परिवर्तनको रथ गुड्ने अवस्थामा ठाडो व्यवधान हुनेछ । जुनसुकै राजनीतिक दलमा आवद्ध न्यायप्रेमी राजनीतिकर्मीहरुले यस सवालमा गम्भीर हुनु जरुरी र आवश्यक्ता दुवै छ ।

 यसो किन भनिएको हो भने नयाँ नेपालको संविधान निर्माणका लागि दोश्रो पटक निर्वाचन सम्पन्न हुँदाको समयदेखि कतिपय अभिव्यक्तिहरु प्राप्त उपलब्धीहरुको खिल्ली उडाउने गरी आईसकेका छन् । ‘यसो गर्नैपर्छ र यसो गर्नै हुँदैन’ भन्ने खालको अभिव्यक्तिलाई आधार बनाई मौका साँध्ने परिपाटीमा मूलुकको राजनीतिलाई लगिनै हुँदैन । यसो भन्दा ‘याचना’ नमानियोस् । नेपाली राज्यसत्ताको स्वरुप मात्र होईन व्यवहार पनि विभेदकारी रहदै आएको प्रति शायद कुनै पनि न्यायप्रेमी नेपालीले ‘नो’ भन्न सक्तैन । त्यस हुनाले जिम्मेवार पक्षबाट यस सम्बन्धमा बेलैमा सचेतता अपनाउन जरुरी छ ।

 अन्यथा, अब प्रश्न जोड्दार रुपमै उठाउनै पर्ने हुन्छ – के देश ‘म’वादीको संकुचित बपौती हो ? के कुनै ‘म’वादीको आकाँक्षा पूर्ति गर्न सारा देशले दुःख पाउनु पर्ने हो ? के कुनै एउटा ‘म’वादीको संकुचित / गुटगत कुण्ठालाई पुरा गर्नकै लागि जनताले जिम्मेवारी सुम्पिएका हुन् ? कथित ‘ठूला’ हुँदैमा त्यस्ता ‘म’वादीहरुले मूलुक प्रतिको कर्तव्य भुल्नै पर्ने हो ? के त्यस्ता हर्कतलाई जनता जनार्दनले पनि अमूक भएर सहेरै बस्ने हो ? परिवर्तनका ठेली बन्ने शब्द / वाक्याँश फलाक्न सक्ने त्यस्ता ‘म’वादीहरुले अलिकति पनि मानवीय नैतिकता अवलम्बन गर्न जरुरी छैन ? समाज परिवर्तनशिल छ भनीरहने तर यथास्थितिमै अल्झाईरहन मात्र प्रयत्न गरीरहने ? वा के हो ?

विभिन्न समस्याहरुको वाबजुद पनि मूल रुपमा सुल्झाउन पर्ने नेपाली विषय भनेको यहाँको विविधताको व्यवस्थापन नै हो । प्रजातन्त्रलाई विविधता व्यवस्थापनको राम्रो उदाहरण मानिएको छ । वर्तमानमा एक खाले सत्ताको परिवर्तन भएर जनताकै हातमा त्यो सत्ताको बागडोर आएको सन्दर्भमा यस प्राप्तिलाई हामीले सही ढङ्गले संस्थागत गर्ने परिपाटीमा ढाल्न सक्यौं भने मूलुक व्यवस्थापनको विषय खासै जटील विषय भईरहने छैन । आखिरमा खोजिएको कुरा मूलुकको सही व्यवस्थापन नै हो । त्यसमा आफ्नो या कुनै गुटको स्वार्थ सम्बोधन नहोला कि भन्ने त्रास भन्दा पनि सबैको राम्रो हुने सन्दर्भलाई आत्मसाथ गरी अगाडि बढ्नु नै सबै नेपालीको हितमा छ । यसका लागि बाहिरी एवं हामी भित्रकै नीच प्रवृत्तिको प्रभावलाई कम गर्ने, र आन्तरिक (राष्ट्रिय) स्वार्थलाई प्रवल बनाउंदै लैजानु अत्यन्त अपरिहार्य भईसकेको छ ।

भर्खरै मात्र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा डा.गोविन्द के.सी.ज्यूले आमरण अनसन मार्फत उठाउनु भएको तातो बहसले पनि मूलुकको सही व्यवस्थापनमै जोड दिएको छ । अस्पताल त एउटा प्रतिनिधि संस्था मान्दा फरक पर्दैन । यही प्रसंगलाई आधार मान्दा पनि देशमा ‘जथाभावी संस्कार’को जरो नराम्ररी गाडिएको छ भन्ने कुरा यथार्थ नै हो । तसर्थ अन्यौलताको परिस्थितिलाई सधैंको लागि दूर गराउन सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारपूर्वक पहल गरौं ।

अन्यथा हेर्दा हेर्दै एकले अर्कोलाई देखी नसहने अवस्था सृजना भई गञ्जागोलको स्थिति आउनबाट शायद कसैले रोक्न सक्ने छैन । वा जे हुन्छ त्यसलाई मनोमानी रुपमा पेल्दै जाने भन्ने हो भने कोही न कोहीबाट नयाँ किसिमको आन्दोलन गर्नै पर्ने कर्तव्यलाई पुरा गर्ने सन्दर्भ फेरि पनि नेपालीले थेग्नै पर्ने हुन सक्छ । आशा छ सल्लाहमै मूलुक निर्माण अभियान अगाडि बढ्नेछ ।

(लेखक: राष्ट्रिय जनमुक्ति पार्टीका उदियमान,युबा नेता तथा उपमहासचिव / केन्द्रीय प्रचार विभाग प्रमुख हुन)

 

 

 

 

 

 

 

 

 

 

Write a comment…

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %