काठमान्डौ,
उपराष्ट्रपति परमानन्द झाले शनिबार १८ माघका दिन राजधानीमा आयोजित एक समारोहमा ‘मास्टर मित्रसेन र उनका सिर्जना’ पुस्तक सार्वजनिक गरे । त्रिलोकसिंह थापामगर र चन्द्र बहादुर श्रीसको संयोजनमा मास्टर मित्रसेन स्मृति प्रतिष्ठानद्वारा प्रकाशित उक्त पुस्तकमा मास्टर मित्रसेनद्वारा रचित गद्य र पद्य विद्याका विभिन्न रचनाहरु र उनका बारेमा विभिन्न प्रमाणहरु संग्रह गरिएको छ ।
मास्टर मित्रसेन थापाको सम्पुर्ण जीवनीलाई नै प्रश्तुत गरिएकोले उनलाई एक जना गायकको रुपमा मात्र चिन्नेहरुले पनि यस पुस्तकको प्रकाशन पछि उनको बहुमुखी प्रतिभाको बारेमा जानकारी पाउने विश्वास गरिएको छ ।
सभालाई सम्बोधन गर्दै उपराष्ट्रपति झाले मास्टर मित्रसेन स्मृति प्रतिष्ठानको यस प्रयासको सराहना गर्दै उनको छरिएर रहेका अरु गीत तथा पाण्डुलिपीहरु सङ्कलन गरी प्रकाशनमा ल्याउन र उनी सङ्ग सम्बन्धित सबै सामाग्रीहरु संरक्षण र सम्बद्र्धन गर्न पनि आग्रह गरे । सो अवसरमा उपराष्ट्रपति परमानन्द झाले साहित्यकार बिजय हितान मगर ,बिक्रम पाँडे , लिला राना तथा महेन्द्रसिं थापा हरूलाइ प्रशंसापत्र पनि प्रदान गरे ।
पुस्तकको बारेमा समिक्षा गर्दै साहित्यकार हरि अधिकारिले पुस्तकमा समेटिएका विभिन्न पक्षहरुको बारेमा प्रकाश पारेका थिए । मास्टर मित्रसेनको गायन, लेखन, अभिनय, समाज सुधारक, अध्यनसिलता जस्ता व्यक्तित्वमाथि चर्चा गर्दै श्री अधिकारीले उनको रचनामा समेटिएका लोकभाका, आध्यात्मिकता, दर्शन, समाज सुधारका सुत्रहरु, राष्ट्रियता, आफ्नो जाति र समाज प्रतिको चिन्ता आदिको बारेमा पनि प्रकाश पारेका थिए ।
सभापतिको आसनबाट अध्यक्ष त्रिलोक सिंह थापामगरले उनको जिवनीबारे प्रकाश पार्दै प्रतिष्ठानले हाल सम्म गरेका कामहरु र भावि कार्ययोजना पनि प्रश्तुत गरेका थिए ।
समारोहमा प्राध्यापक, नेपाल सरकारका बर्तमान तथा भुतपुर्व उच्च पदस्थ अधिकारीहरु, साहित्य तथा सङ्गीत क्षेत्रका मुर्धन्य व्यक्तित्वहरु, भुतपुर्व सैनिकहरु, सामाजिक अगुवाहरुको उल्लेख्य उपस्थिती रहेको थियो । प्रतिष्ठानका सदस्य ऋतु थापा मगरले सञ्चालन गरेको उक्त समारोहमा उपस्थित सबैलाई महासचिव तथा अधिबक्ता गौ बहादुर आले मगरले स्वागत गरेका थिए। पुस्तक विमोचन समारोह पछि अन्तरकृया कार्यक्रम सन्चालन भएको थियो । अन्तरकृया कार्यक्रममा मित्रसेनको योगदान बारे राष्ट्रिय , अन्तराष्ट्रिय स्तरमा गोष्ठि गर्ने साथै भारत बाट पनि संबन्धित साहित्यकारहरू बोलाउने निधो भएकोछ । साथै प्रतिष्ठानले आगामी दिनहरूमा गर्नुपर्ने कामहरुको बारेमा पनि अन्तरक्रियामा जानकारि गराएको थियो ।
चन्द्रबहादुर श्रीस मगर