दोहोरो नागरिकता लिने दोधारमा

Read Time:19 Minute, 5 Second

 -बी के पाण्डे 

एनआरएन आभियान सुरु भएपछि एनआरएन नेताहरु दोहोरो नागरिकता भरेभोलि नै भईहाल्छ भने झैँ गरी कुर्लने गर्दथे । राजनीतिक पार्टीका नेताहरु पनि विदेश आउँदा दोहोरो नागरिकता दिने सवालमा एकदम सकारात्मक रहेको भाषण ठोकेर थपडी खाने गर्दथे । तर अहिले समय बदलिएको छ । अहिले एनआरएन नेताहरु दोहोरो नागरिकताको सवालमा जिब्रो चपाएर कुरा गर्न थालेका छन् भने राजनीतिक दलका नेताहरु सिधै दोहोरो नागरिकता नदिइने बताउन थालेका छन् । भर्खरै बेलायतको एक कार्यक्रममा नेकपा एमालेका नेता भीम रावलले दोहोरो नागरिकता नदिने बारेमा राजनीतिक दलहरुबीच पहिले नै सहमति भईसकेको बताएपछि फेरि एकपटक यो सवाल डाइस्पोरामा चर्चाको विषय बन्न पुगेको छ । उनले भारतमा रहेका नेपालीलाई देखाएर यो माग पुरा नहुने तर्कसमेत गरेर यस सवालमा उनमा रहेको अल्पज्ञानको जानकारी पनि दिए ।

 

राजनीतिक पार्टीहरुले दोस्रो संविधानसभाको चुनावी घोषणा–पत्रमा दोहोरो नागरिकता बारेमा फरक फरक धारणा प्रस्तुत गरेका छन् । कांग्रेस र एमालेले दोहोरो नागरिकताको सट्टा ‘गैरआवासीय नागरिकता’को धारणा प्रस्तुत गरेका छन् भने एमाओवादीले दोहोरो नागरिकता प्रदान गर्ने धारणा राखेको छ । ‘गैरआवासीय नागरिकता’ भनेको घुमिफिरी रुम्जाटार नै हो अर्थात परिचय–पत्र नै हो ।

नेपालको कर्मचारीतन्त्र दोहोरो नागरिकता दिने सवालमा अत्यन्त नकारात्मक रहेको छ । नेपालका प्रायजसो नेताहरु भारतका इशारामा चल्ने गर्ने गरेको कुरा अलिकति पनि गोप्य रहन नसकेको यथार्थ हो । भारत नेपालले दोहोरो नागरिकता दिएको देख्न चाहदैन । त्यसैले भारतको इशारामा नेपालका नेताहरु पनि यस सवालमा नकारात्मक बन्दै गएका हुन् ।

नेपाली जनताले पनि दोहोरो नागरिकताको कारण हुने फाइदा बेफाइदा बारेमा खासै बहस गर्न चाहेका छैनन् । केही सतही ढंगले विश्लेषण गर्ने लेखकहरु र पूर्वागही सरकारी कर्मचारीहरुको धारणा अनुसार नै केही नेपालीहरु दोहोरो नागरिकताको विरुद्धमा देखिएका छन् । दोहोरो नागरिकताको लागि अभियानरत एनआरएन नेताहरु यस सवालमा बहस चलाउन पूर्णरुपले असफल भएका छन् । अहिले नेपालमा दोहोरो नागरिकतालाई देशलाई माया नगर्ने भगुवाहरुको माग, नेपाल आउँदा भिसा शुल्क बचाउन चाहने लुच्चाहरुको चालबाजी, नेपालमा भएका सम्पत्ति जोगाउने सजिलो उपाय, पैसाको बलमा नेपालको राजनीतिमा हाबी हुने कुटिल चाल आदिजस्ता हल्का किसिमको आरोप लगाउने गरिएको छ । तर यथार्थ यस्तो होइन र दोहोरो नागरिकताले नेपाल र नेपाली जनतालाई नै फाइदा पुग्छ भन्ने खालको कुराहरु अहिलेसम्म पनि आम जनतामा पुग्न सकेको छैन । त्यसैले दिनानुदिन यो सवाल बढी नकारात्मक बाटोतर्फ उन्मुख हुन पुगेको छ ।

विश्वभर दोहोरो नागरिकता वा बहु-नागरिकताको बारेमा विभिन्न मुलुकमा आ–आफ्ना आवश्यकता अनुसारको व्यवस्था गरिएको छ । भारतले दोहोरो नागरिकताको सट्टा गैर आवासीय नागरिकता लागु गरेको छ । पाकिस्तानले विश्वका १६ वोटा मुलुकमा रहेका आफ्ना नागरिकहरुलाई दोहोरो नागरिकताको सुविधा प्रदान गरेको छ । त्यस्तैगरी बंगलादेश र श्रीलंकाले दोहोरो नागरिकतालाई लागु गरिसकेका छन् । फिलिपिन्समा पनि दोहोरो नागरिकता लागु गरिएको छ र यसले फिलिपिन्सलाई हरेक क्षेत्रमा सहयोग पुगिरहेको छ । तर एसियामा चीन, भारत, जापान, इन्डोनेसिया, थाइल्याण्डलगायतका मुलुकले दोहोरो नागरिकता अझै लागु गरेका छैनन् । युरोपका प्रमुख मुलुकहरुमा दोहोरो नागरिकता दिने प्रावधानलाई व्यवस्थित गरिएको छ । तर पनि युरोपमा केही मुलुक अझै बाँकी छन् । त्यस्तैगरी दोहोरो नागरिकताको प्रावधान भएका केही मुलुकहरुमा केही सीमा र बन्देजहरु पनि रहेका छन् ।

नेपाली राजनीतिक दल र नेताहरुको दोहोरो चरित्र

नेपालका राजनीतिक दलहरु र तिनका नेताहरु दोहोरो नागरिकता दिन तयार नहुने तर विदेशको नागरिकता लिएका व्यक्तिहरुलाई पार्टी सदस्यता दिने, विदेशस्थित आफ्ना संगठनहरुको पदाधिकारी बनाउने, पार्टीको पार्षद, महासमिति जस्ता सांगठानिक निकायहरुमा पदस्थापन गर्ने, विभागहरुको सदस्य बनाउने काम गरिरहेका छन् । विदेशमा उनीहरुकै परिभाषा अनुसार नै गैर नेपाली नागरिक भइसकेकाहरुलाई समेटेर संगठन बनाउने मात्र होइन उनीहरुबाट लेभी, चन्दा, पार्टी सदस्यता शुल्क समेत उठाउछन् । विदेशमा घुम्न आउँदा उनीहरु यिनै विदेशी भइसकेका नेपालीको मेजमान बन्छन् र फोन, ल्यापटप, जुत्ता, कोट, अत्तर आदि उपहार बोकेर फर्कन्छन् । नेपालका यी नेताहरुको यो दोहोरो मापदण्डको चरित्र बारेमा कार्यकर्ता बनेका गैर नेपाली नागरिकहरुले अहिलेसम्म कुनै प्रश्न उठाएका छैनन् । उल्टै ती नेताहरुको वरिपरी घुमेर उनीहरु पनि आफूलाई स्वघोषित ‘ठूलो मान्छे’ ठान्ने गरेका छन् । त्यसैले नेताहरुको यो दोहोरो मापदण्डलाई मलजल गरी हुर्काउन यी ‘ठूला मान्छे’ बन्न चाहनेहरुको पनि ठूलो हात रहेको छ ।

के विदेशका नेपालीलाई दोहोरो नागरिकता जरुरी छ ?

विदेशमा रहेका नेपालीहरुलाई नेपालको नागरिकता नभई नहुने कुरा होइन । नेपालको नागरिकतासँग नेपालीको भावनात्मक सम्बन्ध रहेको छ । नेपालीहरु जाहाँ बसेपनि नेपालप्रति अत्यन्त जिम्मेबार छन् र नेपालको प्रगति हेर्न चाहन्छन् । विदेशमा बस्ने नेपाली प्रत्येकले आफ्नो क्षमताले भ्याएसम्म नेपालमा हरप्रकारको सहयोग पु-याई रहेका छन् । विदेशमा धेरैजसोले स्वइच्छाले वा रहरले विदेशी नागरिकता लिएका होइनन् । यसमा केही वाध्यताहरु पनि छन् । जस्तो बेलायतकै कुरा गर्ने हो भने बेलायती नागरिकता लिएपछि पाइने फाइदाहरु थुप्रै छन् र यस फाइदाको हिस्सा नेपालले पनि पाउने गरेको छ । नेपालले जानेमा भविष्यमा यसबाट हुने फाइदा आर्थिक रुपमा पनि निकै उल्लेख्यनीय हुने देखिएको छ । वास्तवमा विदेशी नागरिकता लिएका नेपालीको नेपाली नागरिकता कायम नराख्दा सम्बन्धित व्यक्तिले उल्लेखनीय रुपमा गुमाउने केही हुँदैन । तर नेपालले गुमाउने धेरै हुन्छ । विदेशी नेपालीहरुले विस्तारै आफ्नो भावनात्मक सम्बन्ध गुमाउँदै जानेछन् र उनीहरुका सन्तानहरुको पनि नेपालप्रतिको लगाव कम हुँदै जानेछ ।

आफ्नो कला र सँस्कृति जोगाएर राख्न विदेशस्थित नेपालीहरु सक्षम नै छन् । बेलायतमा बस्ने नेपालीहरुले आफूलाई नेपालमा नै बसे बराबरको हैसियतमा पु-याएका छन् । त्यसैले नेपालले दोहोरो नागरिकता नदिँदैमा विदेशमा बस्ने नेपालीलाई कुनै डरलाग्दो नोक्सान हुने देखिएको छैन तर नेपालले गुमाउने कुरा भने अति धेरै छन् ।

दोहोरो नागरिकताको प्रावधान कायम नगरिएमा नेपालले गुमाउने कुराहरु :

१. नेपालमा रहेका धन सम्पत्तिहरु विस्तारै आफू बसेको देशमा ल्याउन सुरु हुने छ । बेलायतको सन्दर्भमा भन्ने हो भने गोर्खाहरुलाई बेलायतले २०० वर्ष लगाएर दिएको सरसम्पति २० वर्षमा नै फिर्ता हुनेछ । गोर्खाहरुलाई बेलायतले बसोबासको अधिकार दिनुमा यो पक्षलाई पनि बेलायत सरकारले विशेष ख्याल गरेको थियो । धरान, पोखरा र ललितपुरमा यसको असर परिसकेको छ । त्यस्तैगरी गैर गोर्खाहरुले पनि नेपालमा रहेका आफ्ना सम्पत्तिहरु आफू रहेको देशमा ल्याउन बाध्य हुनेछन् । यस्ता सम्पत्ति ल्याउने काम हुण्डी मार्फत हुनेछ । जसले गर्दा नेपालको रेमिट्यान्समा सिधा असर पर्नेछ ।

२. दोहोरो नागरिकता दिइने हो भने कतिपय विदेशमा नागरिकता पाएका व्यक्तिहरु आफ्नो अवकाश प्राप्त जीवन बिताउन नेपाल जाने छन् । उनीहरुले पाउने पेन्सन रकम पनि नेपाल पुग्नेछ । तर दोहोरो नागरिकता नपाएमा उनीहरु पेन्सन खानको लागि पनि नेपालमा बस्न पाउने छैनन् । यो नेपालको लागि ठूलो घाटा हुने निश्चित छ ।

३. दोहोरो नागरिकता नदिइएको अवस्थामा विस्तारै विदेशिएका नेपालीहरुको भावनात्मक सम्बन्धमा पनि कुप्रभाव पर्दै जानेछ । जसले गर्दा विभिन्न चाडपर्वको समयमा तथा होलिडेको रुपमा नेपाल जानेहरुको संख्यामा क्रमशः असर पर्दै जाने छ । विदेशमा रहेका नयाँ पुस्ताहरुमा पनि नेपालप्रतिको लगाव घट्दै जाने छ । यसले नेपालको अर्थतन्त्रमा पनि दीर्घकालीन रुपमा पर्ने प्रभाव अतुलनीय हुँदै जानेछ ।

४. भारत नेपालमा दोहोरो नागरिकता नहोस् भन्ने चाहन्छ । यसमा उसकै आफ्ना स्वार्थहरु छन् । जसलाई अनौठो मान्नु जरुरी छैन । नेपालका राजनीतिक दलहरुले फुटकरमा मात्र होइन थोकमा नै लाखौँ लाख भारतीयहरुलाई नागरिकता दिएका छन् र यस्तो थोकमा भारतीयलाई नागरिकता दिने काम हरेक पाँच दश वर्षमा भई रहने छ । विदेशमा रहे पनि मन, वचन र कर्मले नेपाली नै रहेका व्यक्तिहरुलाई गैर नागरिक बनाउने र भारतीयलाई नागरिक बनाउने खेलले नेपाल दुई शताव्दीभित्रै भारतीयहरुको प्रत्यक्ष पकडमा पुग्ने छ । अप्रत्यक्ष पकड त अहिले नै छ ।

५. विदेशमा रहेका नेपालीहरु अहिले दोहोरो नागरिकता हुन्छ भन्ने विश्वासमा आफ्नो कमाई नेपालमा नै लगानी गर्ने गरेका छन् । तर दोहोरो नागरिकताको प्रावधान भएन भने यसरी नेपालमा घर–जग्गामा गरिने लगानीको मात्रामा व्यापक कटौति हुँदै जाने निश्चित नै छ ।

६. विदेशमा रहेका नेपालीहरुले नेपाल सरकारबाट कुनै खालको सुविधाको अपेक्षा गरेका छैनन् । उनीहरुले विदेशमा विभिन्न सीप र ज्ञान बटुलेका छन् । राष्ट्रियतालाई भूगोलको सीमामा थुनिन नसक्ने युगको रुपमा नेपाली जनताले लिन सकेनन् भने वा बुझ्न चाहेनन् भने यसले नेपालको अर्थतन्त्रमा दीर्घकालीन रुपमा ठूलो असर पु-याउने कुरा निश्चित छ । र, अहिलेको गलत निर्णयको कारण पछि पछुताउनु सिवाय केही बाँकी रहने छैन ।

७. नेपालले विदेशमा रहेका आफ्ना नागरिकको कमाईमा कर लगाउने व्यवस्था गर्न सक्छ । जसले गर्दा नेपालको अर्थतन्त्रमा सहयोग पुग्न सक्दछ ।

८. नेपाली नागरिकहरु अन्य देशमा रोजगारीको लागि जाँदा देशमा रहेका अन्य बेरोजगारले रोजगारी पाउने छन् । भुमण्डलीकरणको आँधीबेरी नै चलेको अहिलेको यो अवस्थालाई नबुझेर वा बुझ पचाएर केवल देश छोडेर जानेहरुको आलोचनामा नै समय खर्चिने गरेका बेरोजगारहरुको लागि र मुलुकलाई यो एक फाइदा हुनेछ ।

दोहोरो नागरिकताको कारण कसलाई बेफाइदा हुन्छ त ?

१. नेपालले भिसा शुल्क लिन पाउने छैन, यसबाट नेपाललाई बेफाइदा हुनेछ । तर पासपोर्ट बनाउँदा राम्रै असुली भने नेपालले गर्न सक्ने छ ।

२. विदेशमा बस्ने नागरिकलाई पनि भोट हाल्ने सुविधा दिने हो भने भ्रष्ट र नालायक नेताहरुलाई ठूलो घाटा हुनेछ ।

३. विदेशमा बसेर स्वस्थ पद्धती र आधुनिक जीवन शैलीसँग घुलमिल भएका नागरिकहरुले भ्रष्ट नेता, बेइमान कर्मचारी, जनता मारा तथा कर चोर व्यपारी–उद्योगपतिलाई पनि ठेगान लगाउन प्रयास गर्ने छन् । यसले उनीहरुलाई घाटा हुनेछ ।

४. आवश्यक प-यो भने विदेशमा बसेका नागरिक पनि देशमा राजनीतिमा उत्रन सक्छन् । यसले नेपालका भ्रष्ट नेताहरुको लागि कडा चुनौति खडा गर्ने छ ।

समग्रमा दोहोरो नागरिकता प्रदान गरेर नेपाली जनतालाई कुनै घाटा हुने देखिदैन । नेपालले यसबारेमा फिलिपिन्ससँग धेरै कुरा सिक्न सक्छ । तर नेपाली नेताहरु यी कुनै कुरा माथि विचार गर्ने पक्षमा छैनन् । किनकि उनीहरु भारतमुखी हुन् र भारत विदेशमा रहेका नेपालीलाई नेपालको गैर नागरिक बनाउने खेलमा सक्रिय रहेको छ ।

के गर्दैछन् त एनआरएन नेताहरु ?

एनआरएन नेताहरु र नेपालका नेताहरुमा कुनै फरक देखिएको छैन । संविधान बनाउनु पर्ने नेताहरु संविधानको कुरा छोडेर कसरी सिंहदरबारमा पुग्ने भन्ने खेलमा जसरी लाजै नमानी लागी रहेछन् त्यसरी नै एनआरएनका नेताहरु पनि विषयगत मुद्दा भन्द पर रहेर कसरी पद हत्याउने भन्ने खेलमा रमाउने गरेका छन् । एनआरएनको नेतागिरी अहिले पद, पैसा र प्रतिष्ठाको जगेर्ना गर्ने व्यपारी वर्गको एक सौखिनदार खेल बन्न पुगेको छ । एनआरएन आन्दोलन अहिले अत्यन्त संकटपूर्ण घडीमा पुगेको छ । सक्षम र इमान्दार मानिसहरु अहिले एनआरएन संस्थाबाट टाढा बस्न थालेका छन् । एनआरएन अन्तर्राष्ट्रिय समिति र विभिन्न देशमा रहेका राष्ट्रिय समितिका नेताहरु खादा ‘ग्रहण’ गर्ने खेतीमा नै व्यस्त छन् । अझ एनआरएन संस्थाको जननी मुलुक बेलायतमा त दुई दुई जना अध्यक्ष समेत छन् । र, अहिले फेरि आरोप–प्रत्यारोपको दोहोरी पनि सुरु भएको छ । सल्लाहकार हुन ३०० पाउण्ड बुझाए हुने भन्ने खालको चर्चाले दुनिया हसाउने काम पनि सुरु भएको छ ।

नेपालीहरु जुनसुकै मुलुकमा बसे पनि नेपाललाई अत्यन्त माया गर्छन् । उनीहरु जुनसुकै मूल्यमा पनि आफ्नो नागरिकता गुमाएर नेपालसँगको सम्बन्ध टुटाउन चाहँदैनन् । तर यस कुरालाई केही नेताहरु तथा केही उपबुज्रुकहरुले गलत अर्थमा बुझ्ने गरेका छन् । नेपाल सरकारले रोएल्टी खाएर बेचेका गोर्खाहरुलाई समेत विदेशी बनाउने कुरामा नेताहरु लागेका छन् । तर यस्तो गलत निर्णयले भोलि देशमा आउने संकट बारेमा कुनै दुरदृष्टि राखिएको छैन । विदेशमा बस्ने नेपालीहरुले नेपालको नागरिकता मात्र गुमाउने हो जसको भावनात्मक पक्ष नराम्रो होला तर आर्थिक रुपमा केही गुमाउने छैनन् । तर, नेपालले गुमाउने कुराहरु धेरै छन् । आशा गरौँ विदेशमा बस्ने नेपालीलाई भनेर होइन कि नेपालकै लागि यस मुद्दामा नेता तथा नेपाली जनताले वहस थाल्ने छन् ।

(लेखक:सत्यतथ्य मासिकका सम्पादक हुन । जनवरी २०१४ मा प्रकाशित ,बाट साभार गरिएको)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %