बलदीप प्रभाश्वर चामलिङ
४६ सालको जनआन्दोलन सफल भैसकेपछि अहिलेको काठमाण्डौको खुल्लामञ्चमा त्यो बेलाका नेपाली काग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले यसो भनेका थिए कि प्रजातन्त्रमा सबैको जीत हुनेभएकोले यो पञ्चहरुको पनि जीत हो । तर उनको यस्तो अभिव्यक्तिबाट आक्रोशित जनताहरुले धन्न ढुङ्गामुढा गर्न भ्याएनन् ।
तर यथार्थमा त्यो अभिव्यक्ति सही रहेछन् जो त्यो बेलाका निरंकुश एवं निर्दलीय व्यवस्थालाई बचाउन जोरजुलुम गर्ने पात्रहरुको अहिलेको तडकभडकले चरितार्थ गरिरहेका छन् । तीनै पात्रहुन जस्ले ३६ सालको जनमत संग्रहमा बहुदलीय प्रजातन्त्रलाई हराएर पञ्चायती निर्दलीय व्यवस्थालाई धादलीपूर्ण जिताएका थिए । तर आज उनैले प्रजातन्त्रको संविधानसभा तथा व्यवस्थापिका–संसदको बैठकको अध्यक्षता गरिरहेका छन् । तीनै पात्र हुन् जस्ले ६२/६३ को जनआन्दोलन दवाउन गृहमन्त्रीको भूमिका खेलेका थिए र उनी रायमाझी आयोगको प्रतिवेदन सूचिमा पनि परेका थिए । तर उनकै आज संविधानसभामा गर्जन ठूलो छ । सुर्यबहादुर थापाले संविधानसभाको अध्यक्षको हैसियतमा आफुलाई प्रगतिशील र क्रान्तिकारी भन्ने दलहरुका सभाषदलाई रुलिङ गरिरहेका छन् भने कमल थापाले चाहि आफुले भनेजस्तो नभए आधुनिक महाभारत निम्त्याइदिने चेतावनी दिइरहेका छन् । हिजो उनीहरुले वकालत गरेको राजतन्त्रमा प्रजातन्त्रवादीहरुलाई यस्तो स्पेस थियो कि थिएन तर आजको प्रजातन्त्रले उनीहरुलाई ठाउ दिएका छन् । तर औला दिदा डुडुल्नो निल्न मिल्छ कि मिल्दैन त्यो चाहि सोच्ने बेला आएको छ । संसारमा पुरानो व्यवस्थाका हिमायतीहरु क्रान्तिपछिको अर्को नया व्यवस्थामा पुनरागमन हुनसक्दैनन् । उनीहरु इतिहास बन्छन् । उनीहरु पढिन्छन् र सुनिन्छन् तर वर्तमानमा भोगिदैनन् । तर यो नेपालमा अपवाद रह्यो ।
राणा शासनको अन्तिम प्रधानमन्त्री र प्रजातन्त्र प्राप्ति पछिको पहिलो प्रधानमन्त्री उनै मोहन शम्सेर जवारा थियो । संसारमा कहि यस्तो हुन्छ कि पुरानो व्यवस्थाका नाइके नया क्रन्तिपछिको राजनीतिक व्यवस्थाको पनि प्रमुख होस् । हिजो पंचायत व्यवस्थालाई हरतवरले बचाउनु पर्छ भन्नेहरु प्रजातन्त्रको पुनस्र्थापना पछि पनि क्रमश हावी हुदै आएका छन् । वास्तवमा यसले नेपाली जनताहरुको मनोवृति कस्तो रहेको छ भन्ने कुरालाई इंगित गर्दछ । यसो हुनुमा उनीहरुको दोष होइन । दोष नेपाली जनताको नै हो । भनिन्छ जनताको स्मरण हुदैन । विगत भूलेर जनताले उनीहरुलाई भोट हाले । ती भोट हाल्ने पनि जनता नै हुन । जनताले नै चुनेकाहरुले संचालन गर्ने राजनीतिक व्यवस्था प्रजातन्त्र हो भन्ने कुरालाई मानिसके पछि उनीहरुलाई निषेध गर्नपनि मिलेन । के यहि नै प्रजातन्त्रको दुर्वल पक्ष होइनन् त ?
कमल थापाहरुले पहिलेको संविधानसभाले गरेका कतिपय कुराहरुलाई स्वामित्व नै गर्न हुन्न भनेर नीहु खोजिरहेका छन् । त्यसो गरिए आफुहरु विद्रोह गर्ने र नया महाभारत नै ल्याइदिने चुनैति दिएर बसेका छन् । उनीहरुको आसय यो मुलुकलाई पुन राजा सहितको हिन्दु अधिराज्य नै बनाउने हो । हो, कुरा यसमै जोडिएको छ । के उनीहरुको यस्तो अभिप्राय यो युगमा सान्दर्भिक छ त ?
हिजोको संविधानसभामा टुङ्गोमा पुगिनसकेको प्रमुख मुद्दा भनेको संघीयताको नामाकरण र शासकीय स्वरुप मात्र हो । तर अरु टुङ्गोमा पुगिसकेको मुद्दाहरु बेठीक नै हुन त ?
लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, मौलिक हकअधिकार तथा मानव अधिकार जस्ता कुरालाई पहिलो संविधानसभाले किनारा लगाइसकेको छ । जो जनआन्दोलनको जनादेश प्राप्त अन्तरिम संविधानले पनि निर्दिष्ट गरिसकेको कुरा हो । त्यसो भएको हुदा अघिल्लो संविधानसभाले गरेको कामको स्वामित्व नलिने भन्नुको तात्पर्य संघीय लोकतान्त्रिक गणतन्त्र नै नमान्ने भन्नु हो । के यो कुरालाई निषेध गरेर जान सकिने वस्तुगत आधारहरु छन् ?
वास्तवमा कमल थापाहरुलाई यो मुलुक धर्मनिरपेक्ष एव गणतन्त्रात्मक राज्य भएको कुरा अझै पचेको छैन । उनीहरुको आसय एकजातीय हिन्दुत्व जसरी पनि कायम गराउंने र त्यसको लागि भरपर्दो ढाल राजतन्त्र नै हो भन्ने निष्कर्षका साथ राजतन्त्रात्मक हिन्दुराज्य फिर्ता गराउने कसरतमा लागेका छन् । यसमा यथास्थितिवादीहरु छद्मरुपमा कमल थापाका सारथी भएका छन् । यसकै आडमा कमल थापाहरु आक्रमक बन्दै गएका छन् । तर अव पनि राजतन्त्र कसरी फिर्ता होला ? यस बारे आत्मपरक भन्दापनि बस्तुपरक हुन बढि जरुरी छ ।
नेपालमा राजतन्त्र व्युँतन नसक्ने आधार
जनताहरु नागरिककरणोन्मुख छन् । अबका जनताले हरेक कुरा तर्कसंगत खोज्छन् । राजतन्त्रमा हुने वंशानुगत राज्य हैसियत नै अमान्य विषय हो, नागरिकका लागि । राजतन्त्र मानेपछि “सरकारप्रमुख” नभए पनि “राज्यप्रमुख” त राजालाई नै मान्नुपर्ने हुन्छ । त्यो राज्यप्रमुखको हैसियत पनि कसैले जन्मँदै लिएर आउन सक्दैन भन्ने तर्क नागरिकले राख्न सक्छन् । त्यसकारण सचेत नागरिकको हैसियतमा रहेका जनताले कुनै पनि राजतन्त्र मान्न तयार हुँदैन । “गणतन्त्रात्मक लोकतन्त्र”मा सरकारप्रमुख र राज्यप्रमुख जनताको प्रतिनिधि हुन्छन् । त्यहाँ जनताले चुनेको व्यक्ति हुन्छन् । तर, “राजतन्त्रात्मक लोकतन्त्र”मा सरकारप्रमुख नभए पनि राज्यप्रमुख त राजा नै हुनुपर्ने हुन्छ । त्यो राज्यप्रमुखको हैसियत जन्मँदै लिएर आउने तर जनताले चुन्नु नपर्ने हुन्छ । जनसर्वोच्चतालाई सार्वभौम मान्ने जनताको चेतनागत संस्कृति विकास हुँदै गएको समाजमा त्यो राज्यप्रमुखको हैसियत पनि जनप्रतिनिधि नै हुनुपर्छ भन्ने मान्यताले उच्चस्थान प्राप्त गर्छ ।
गणतन्त्रको सुन्दर अवधारणा नेपाली जनतामा विकास हुदैछ । गणतन्त्रमा सिंगो राज्यलाई सार्वजनिक निधिका रूपमा लिइन्छ । राज्यका सबै वस्तु तथा व्यवस्था सार्वजनिक हुन्छ भन्ने मान्यता नै गणतन्त्रको सुन्दर अवधारणा हो । आफूलाई आधिकारिक रूपमा गणतन्त्रात्मक राज्य भनेर चिनाएका छन् । यसरी राज्यका हरेक अवयव जनताको सार्वजनिक महत्वको विषय हो भन्ने कुराको बोध जनतामा हुनुनै कुनै पनि प्रकारको राजतन्त्र रहन नसक्ने अवस्था हो । नेपालको विगतको राजतन्त्र राजनीतिसँग मात्र नजोडिएर यसलाई हिन्दुसम्प्रदायसंग जोडिएको छ । नेपालका श्री ५ राजा भन्नाले हिन्दु धर्म ग्रहण गरेको हुनैपर्ने र आर्य सम्प्रदायबाटै आएको ठानिनुपर्ने कुरालाई हिजो संवैधानिक मान्यता दिइएको थियो । आज त्यसैको विमर्शमा स्वयम् भूपू राजा ज्ञानेन्द्र शाह स्वयम् पनि आफू हिन्दु राजा भनेर हिँडिरहेको अवस्था छ । ज्ञानेन्द्र विशुद्ध हिन्दुहरुका नेताझै प्रस्तुत भएका छन् । यसरी हिन्दु धर्म र राजतन्त्र पर्यायवाचीझैं भएको पृष्ठभूमिमा नेपालको राजतन्त्र राष्ट्रिय एकताको प्रतीक कसरी हुन सक्छ ?
विविध धार्मिक आस्था र सम्प्रदाय रहेको मुलुकमा एक धर्म र सम्प्रदायको पारखी व्यक्ति राष्ट्रिय एकताको प्रतीक बन्न सक्दैन । यसले त झन् राष्ट्रिय एकतालाई एकीकृत गरिरहनै सक्दैन । आधुनिक सभ्य राज्यमा गणतन्त्रको विकल्प गणतन्त्र नै हो । नेपाली जनताले “गणतन्त्रात्मक लोकतन्त्र”भित्रै समाधान खोज्ने हो । “राजतन्त्रात्मक लोकतन्त्र”को अभ्यास भइसक्यो । यसले नेपालीलाई नफाप्ने कुरा इतिहासले देखाइसकेको छ । अहिले हामी गणतन्त्रात्मक लोकतन्त्रको अभ्यासमा लागेका छौ । यो लोकतन्त्रको अन्तिम परिष्कृत व्यवस्था गणतन्त्र नै हो । यस्तो अवस्थामा “राजतन्त्र” भन्ने शब्द लोकतन्त्रको विशेषण हुन सक्दैन ।
यस्तो बेला पनि राजतन्त्र फिर्ता गर्ने कुरा गर्नु भनेको मुलुकमा अस्थिरता निम्त्याउनु हो । मुलुकलाई झनै पछि धकेल्नु हो । यदि स्वयम कमल थापा राजा भएर थापा वंश स्थापना गर्ने भए अर्को कुरा हो । तर त्यो शाह वंशीय राजतन्त्र अब इतिहास भैसकेको अवस्था हो । अध्याय नै बन्द भैसकेको राजतन्त्रको लागि महाभारतको नया संस्करण मञ्चन गर्नुको कुनै तुक छैन । यो कुराको पनि हेक्का रहोस् कि माहाभारत युद्धका अभिभावक तथा परामर्शदाता श्री कृष्ण अन्त्यमा आफै विरक्तिएर एउटा सामान्य व्याधाको हातबाट मारिन पुग्छ । तर त्यो हविगत कसैको नहोस, अबको आधुनिक महाभारतमा ।