– भावेश भुमरी
फेरि आज बासी सपनाहरू हिँडेका छन्
सपनाहरूसँगै ताँती लागेका छन्
अरू धेरै नयाँ सपनाहरू
म झ्याल किनारबाट हेरिरहेछु एकोहोरो
र, एकतमास बगिरहेछु मेरै सपनाहरूसँग ।
आज विदा छ
एकहुल नानीहरू कराइरहेछन् सडकमा
र, उल्लास पोखिरहेछन् —
देश रातो रङमा छ आज
अमर सहिदहरू जिन्दावाद ।
खोई कसले सिकाउँछ यी नानीहरूलाई
कुन स्कुलका विद्यार्थी हुन् यिनीहरू
ककसका छोराछोरी हुन् यिनीहरू
यिनीहरूका गुरु गुरुआमा सहिदगेट पुगे कि पुगेनन्
यिनका राजनेताले सहिदगेट चिने कि चिनेनन्
म सोचिरहेछु
यिनीहरूका प्रधानाध्यापकले
एउटा सूचना पठाएको हुनुपर्छ हिजो
या, यिनीहरूले विषय शिक्षकबाट
गृहकार्य पाएको हुनुपर्छ ।
नानीहरू इमान्दार छन्
भन्छन् आफूमा भएको कुरा
पक्कै सूचना या गृहकार्यमा हुनुपर्छ
म अब ओर्लनु छ सडकमा
र, एकपटक यी नानीहरूलाई सोध्नु छ
सहिदहरुलाई हरेक वर्ष डाम्दै
तर सपना बाँड्दै
देशैभरि हिँड्ने मानव को को हुन् ?
(मितिः २०७० साल माघ १६ गते, जयबागेश्वरी, काठमाडौँ)