मगर संघ अमेरिकाद्वारा माघे संक्रान्ती मनाइयो

Read Time:5 Minute, 12 Second

प्रदिप थापा मगर / फोटो :मानबहादुर राना मगर

 

न्यू योर्क , जनवरी २० , सोमबार । मगर संघ अमेरिकाद्वारा अमेरिकि मगरहरुले परम्परागत माघे संक्रान्ती पर्ब मनाएकाछन्।  न्यू योर्कको ज्याक्सन हाइट्सस्थित शेर्पा किदूग भवनमा मनाईएको उक्त पर्वमा मगर चेलीहरुले आ-आफ्नो घरमा बनाएर ल्याएको मासको दालबाट बनेको बारा रोटी, तरुल, सेल रोटी, मुलाको अचार, नेपाली खानाको परिकार उपस्थित पाहुनाहरुलाई खुवाईएको थियो। माघे संक्रान्ती मगरहरुको मौलिक पर्व हो।

तर यो पर्व नेपालका बिभिन्न जात जातिहरुले आ-आफ्नो संस्क्रितीअनुसार मनाउँदै आएको पाईन्छ। हिन्दू धर्मावलम्बी समाजले माघे संक्रान्तीलाई ‘मकर संक्रान्ती’ भनेर मनाउने प्रचलन छ। नेपाल सरकारले सन् २००९ मा मगरहरुले मनाउने ‘माघे संक्रान्ती’ र थारुहरुले मनाउने ‘माघी’ लाई उनीहरुको राष्ट्रिय पर्बकोरुपमा मनाउने घोषणा गरेको थियो।

न्यू योर्कमा सम्पन्न उक्त माघे संक्रान्ती पर्व मनाउने कार्यक्रममा संघका महासचिव मानबहादुर राना मगरले माघे संक्रान्ती पर्व सन् २००९ देखि अमेरिकामा बसोबास गर्ने मगरहरुले सामूहिकरुपमा मनाउन शुरु गरेको जानकारी दिदै यसपालीदेखि अमेरिकाको क्यालिफोर्निया, बाल्टिमोर, न्यू योर्क र न्यू जर्सी राज्यमा सबैलाई पाहिक पर्ने गरी मनाउन शुरु गरिएको बताए।

 

उता मगर संघ अमेरिकाका सल्लाहकार रहेका पत्रकार प्रदीप थापा मगरले माघे संक्रान्तीबारे जानकारी दिदै ढुङ्गे युगदेखि मगर पुर्खाहरुले खनिखोश्री खाँदै आएको तरुल, भ्याकुर खाने परम्परालाई कायम राख्नु आफ्नो पुर्खाको ईतिहासलाई सम्झनु हो भन्दै माघे संक्रान्ती पर्व समग्र नेपाली समाजमा प्रचलनकोरुपमा बिकसित हुनु गर्बको कुरा भएको बताए। कार्यक्रममा न्यू योर्कमा रहेका मगरहरुको सहभागीता रहेको थियो भने बिभिन्न समुदायका प्रतिनिधीहरु र पत्रकारहरुको उपस्थिती पनि रहेको थियो।

कार्यक्रममा गायक जगदीश समाल मगरले आधुनिक गीत प्रस्तुत गरेका थिए भने लोक गायकद्वय सुमन बुढा मगर र राजेश थापा मगरले नेपालबाट भर्खरै न्यू योर्क आई पुगेकी चर्चित लोक गायिका निशा सुनारसंग मिलेर ‘झिम झिम सानु नझिम्काउ परेली” भाखामा लोकदोहोरी गीत प्रस्तुत गरेका थिए ।

तारादेवी चिडी मगर र रुकु राना मगरले मगरहरुको लोकप्रिय कौरा नृत्य प्रस्तुत गरेका थिए भने यशोदा खालिङ राईले नेपाली लोकनृत्य प्रस्तुत गरेकी थिईन् । उता बसन्त डान्स सेन्टरका नृत्य निर्देशक बिजयमान नकर्मी र झन्कार डान्स सेन्टरका न्रित्य निर्देशक धरमवीर लामा ह्योल्मोको आकस्मिक नृत्य प्रस्तुतीले पाहुनाहरुलाई अचम्ममा पारेको थियो।

 

माघे संक्रान्ती पर्वमा संक्रान्तिको दिन मगर पुरुषहरुले आफ्ना चेलीबेटीहरुलाई परम्परागतरुपमा बन तरुल र दक्षिणा (पैसा) दिएर पुजा गर्ने चलन छ । यसलाई निश्रो दिने या खुवाउने भनिन्छ । बिहे भईसकेका चेलीहरुले पनि निश्रो खान माइत आउँदा बाराको रोटी, शिकार, रक्सीको कोशेली लिएर आफ्नो दाजुभाईलाई भेट्न आउने प्रचलन छ।

पाल्पाकी मृगौला पीडित सीता थापा मगरको सहयोगार्थ ६ सय ५७ डलर संकलन

 यसैबीच, सोही कार्यक्रममा पाल्पा जिल्लाको फोक्सिङ्ग-१, आर्यभञ्ज्याङ्ग निवासी १९ बर्षिय मृगौला पीडित सीता सिंजाली थापा मगरको सहयोगार्थ ६ सय ५७ डलर अनुदान संकलन गरिएको छ। कार्यक्रममा मृगौला पीडित थापा मगरबारे तयार पारिएको भिडियो प्रदर्शन गरिएको थियो।

यु.एस नेपाल डट्कमको सहकार्यमा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %