(म जुद्धबहादुर पुनमगर अर्थात भावेश भुमरी , मेरो कवितासङ्ग्रह ‘भोक इल्टा नाघेर सेलाउँछ’को भूमिका मेरा कवि मित्र प्रोल्लास सिन्धुलीयले लेखेको हो । प्रोल्लास मैले प्रवीणता प्रमाणपत्र र स्नातकोत्तर (एम्. ए.) तह अध्ययन गर्दाको साथी । यही कारणले पनि मलाई मनग्य बुझेको कवि हो, अझ काठमाडौँमा सँगै पढेको मध्ये मेरो प्यूठान घर पुगेको एक मात्र साथी । यसैले भूमिका अलि नयाँ शैलीको फरक छ । मेरै कारणले कहीँकतै कार्यक्रम नभएको, कतै केही नलेखिएको, चुपचाप कोठामा थुप्रिएको यो किताब चाँडै बजारमा उपलब्ध हुँदै छ ।)
भावेश भुमरी
प्राक्कथन
— प्रोल्लास सिन्धुलीय
हतारहतार कक्षाकोठामा पसेँ, क्लास लिजर रहेछ । केही अपरिचित मित्रहरू थिए । ब्ल्याकबोर्डमा बडो जतनसाथ चार हरफ लेखिएको थियो । पढेँ । विश्वस्त थिएँ, ती सूरासुन्दरीका घटिया डाइलोग हुने छन् । होइन रहेछ । सारै मनछुने त थिएनन्, तर जे थिए, मेरो सोचाइभन्दा बिल्कुलै पृथक् थिए । अर्थात्, साहित्यिक पाराका । सोधेँ, ‘कसले लेखेको ?’ डेस्कमा बसेको केटोले हत्तपत्त भन्यो, ‘थाहा छैन ।’ ‘जसले लेखेको भए पनि राम्रो लेखेछ ।’ यत्ति भनेँ । अर्कोले औँल्याइदियो, ‘उसले लेखेको ।’ उसले अर्थात् जसले ‘थाहा छैन’ भन्यो, उसैले । हात बढाएँ । नाम भन्यो, जुद्धबहादुर पुनमगर । भावेश भुमरीले पहिलोचोटिको भेटमा मसँग बाबुले राखिदिएको नाम भन्यो । यो नामसँग त परिचित नै थिएँ, उसले त्यो चैँ भन्दै भनेन । मैले आफ्नो नाम भनेपछि उसको आँखा चम्क्यो । सोचेँ, एउटा कविको नाममा चासो राख्ने मान्छे पक्कै कवि हुनुपर्छ, त्यसैले उसलाई कवि मानिदिएँ । साँच्चै भन्ने हो भने म जुद्धबहादुर पुनमगरलाई कवि मान्न पटक्कै इच्छुक थिइनँ । भन्न त भनिनँ, तर उसले आफू भावेश भुमरी हुँ नभनुन्जेल मैले उसलाई कवि मान्दै मानिनँ ।
‘इतिहास मूलतः रातकै हो
अँध्याराको
अझ सकेसम्म पूर्ण औँसीको ।
’(मान्छेको इतिहास, पृ.५१)
झन्डै दुई दशकपछि म उसको कविताको पाण्डुलिपिको अघिल्तिर उभिएको छु । उसैले जबरजस्ती घचेटेर आफूसँगै स्नातकोत्तर तहको पढाइमा लगाएको नाताले म उसको यो सङ्ग्रहको प्राध्यापकीय शैलीको समालोचना गर्ने हैसियत पनि राख्दछु । तर त्यो बदमासी यहाँ गर्दिनँ । करिब डेढ सय गीत रेकर्ड भइसकेको, चार गीतिसङ्ग्रह र तीन एकल एल्बम निकालिसकेको मान्छेलाई निसन्देह मान्छेले गीतकार भनेरै चिन्लान् । त्यसबाहेक गरेकै के छ र उसले ? कविता…….??? गीतकार श्रीमती र दुई छोराछोरी उसका कवितालाई विस्फारित नेत्रले हेर्छन्, पाठकले कहाँबाट पत्याउनु ? एउटा म छु बेवकुफ । बेवकुफै रहन मन्जुर, उसलाई कविबाहेक केही मान्दिनँ ।
कवि भएकैले साढे आठ दशक खाएका बूढा बाउ उसको आश गर्दैनन् । कवि भएरै नचलेका हुन् उसका चल्नुपर्ने गीत । उसले पुरस्कार, सम्मान र स्याब्बासी नपाएको कवि भएरै हो । ऊ पैसामा नबिकेको पनि कवि भएरै हो । कवि भएरै ऊ आर्थिक सङ्कटमा छ । त्यसो त म उसलाई प्यूठानको दुर्गम गाउँको सोझो मगर मान्दिनँ । सोझो भइदिया भए आफ्नो एसएलसीको सिम्बोल नम्बर छापिएको गोरखापत्र काखी च्यापेर गाउँभरि लड्डू बाँड्दै हिँड्थ्यो होला । जाँदैनथ्यो दिदीकहाँ, र भन्दैनथ्यो, ‘दिदी, आज म तिम्रो हलीबाट मुक्त भएँ ।’
काठमाडौँ आएर ऊ बाठो भएको होइन । बाठो हुनलाई काठमाडौँ आउनुपर्ने खालको मान्छे ऊ हुँदै होइन । अक्षर नचिनेका बाउआमा या धित मरुन्जेल किताब नपल्टाएका दाजुदिदीले कान समातेर लगेका होइनन् उसलाई १० वर्षको उमेरमा कक्षा एकमा भर्ना हुन । फेसबुक एकाउन्टमा हलो समाएको उसको फोटोमाथि आश्चर्य मानेर लाइक र कमेन्ट हान्नेहरूलाई पत्तै छैन, त्यही हलोको वरिपरि छन् उसका साथीसङ्गी, घरपरिवार, आफन्त–नातागोता । त्यो सर्कलबाट उसले एक्लै उछिट्याएको हो आफूलाई । यो साहस उसले कवि भएकैले गर्न सकेको हो ।
अहिले उसले चिन्ने र उसलाई चिन्नेको समूह धेरै ठूलो छ । ठूलाठूला समालोचक, वरिष्ठ साहित्यकार, चल्तापूर्जा गायकगायिका, सङ्गीतकार कसलाई चिनेको छैन उसले ? यो किताबको भूमिका लेख्न समकक्षी कविलाई गुहार्नुपर्ने हैसियत उसको हुँदै होइन । कवितासँगै उसको भूमिका मैले पाएको हुँ । जसमा उसले लेख्दै नलेखेको यो भूमिकालाई यस कृतिको पाठकीय साँघु मानेको छ । यो अन्दाज उसको सामर्थ्यको झलक हो ।
‘यो शहरको अफाप विध्वंशपछि
कुनै पछुतोबिनै उन्मत्त बाँदरहरू
कर्तव्यका साधु फाइलहरू बोकेर
लामबद्ध निस्कन्छन् मान्छेका भान्छाहरूबाट’
(पशुपतिका बाँदरहरू, पृ.१५)
अहिले उसलाई रुखो, टर्रो, अप्ठ्यारो ठान्ने कवि–साहित्यकारहरूलाई ऊ कुनै दिन भगवान् मान्थ्यो । तिनको छेउमा उभिन पाउँदा ऊ गद्गद् हुन्थ्यो । सुन्थ्यो मात्र, सकभर बोल्दैनथ्यो, बोल्दा कतै अपमान पो हुने हो कि झैँ गरेर । उसको मान्छेलाई मन पराउने शैली उद्दण्ड थियो । अहिले पनि ऊ त्यस्तै छ । त्यस्तै अराजक, त्यस्तै भङ्जाहा, त्यस्तै जिद्दी । ड्याङ्गै मन पराउने, ड्याङ्गै घृणा गर्ने । खराब नियतकाहरू उसको छेउछाउ दुई मिनेट टिक्न सक्दैनन् । र, उसको खेदो खन्दै हिँड्छन् । भाषाविद् म कसैलाई मान्दिनँ । उसलाई पनि मान्दिनँ । तर, मनग्गे दक्षता कमाएको छ उसले भाषामा । कहिलेकाहीँ दीर्घ हुने अक्षरलाई ह्रस्व बनाएर ल्याउँछ । सच्याउन खोज्यो भने उल्टै टोकसो गर्छ, ‘ह्रस्वै लेखेको हुँ ।’ ‘दीर्घै हुन्छ’ भन्दा भन्छ, ‘फिटिक्कै सुहाएन, त्यै भएर ह्रस्व लेखेको हुँ, राम्रो देखिएन त ?’
उसकाजस्ता गीत बजारमा बिक्दैनन् भन्ने राम्ररी बुझ्दाबुझ्दै ऊ कविताजस्तै गीत लेखिरहेको छ । मैले सोधेको छैन, नसोधी यत्ति भन्ने हिम्मत राख्छु, यस सङ्ग्रहका कुनै कविता उसले बिना भावुकता, बिना आँसु लेखेको छैन ।
‘पत्याउनुहुन्न भने हिँड्नुहोस्
मभित्र समय हराएको
तर आफैँ नहराएको
एउटा सङ्लो विचारको फुर्सद छ
म त्यही विचारको फुर्सदले आँक्ने
दुर्गम गाउँ देखाउने छु ।
’(माटो मुछेर बाँच्ने गाउँ, पृ.२१)
म उसलाई सजिलो मान्छे भन्दै भन्दिनँ । आफ्नो असली स्वभाव खर्लप्पै छोपेर जो मान्छे चिनेजानेकाको नजरमा ‘अप्ठ्यारो’ परिचय बनाउन सक्छ, ऊ साँच्चै अप्ठ्यारो हो । उसकोजस्तो व्यवहार अहिलेका मान्छेले मन पराउँदैनन् भन्ने बुझ्दाबुझ्दै ऊ मान्छेसँग त्यस्तै व्यवहार गरिरहेको छ । एकदमै नजिकबाट नियालेपछि मात्र देखिन्छ उसभित्रको कोमलता । अन्यथा ऊ कठोर देखिन्छ, हाडे ओखरजस्तो । मैले यी कविताहरूमा ऊ खुलेको देखेको छु । सामान्य व्यवहारमा उसले लुकाउन चाहेको उसभित्रको बौद्धिक भावुकता यस सङ्ग्रहका कवितामा बग्रेल्ती आएका छन् ।
‘थोरै मन्टो घुमाएर
म यो देशको सिमानाबाट
मेरै नागरिकताको कपाली तमसुकले आँसु पुछ्दै
तिमीलाई एकोहोरो हेरिरहेछु ।
’(यही माटामा बर्जित छ्यौ बहिनी, पृ.७६)
धमिरो राम्रो किरो हो कि होइन म कन्फ्युज्ड छु । माटोको सुन्दर देवल बनाउँदा लाग्छ, त्यो महान् हो । घरको धुरीखाँबो ध्वस्त पार्दा लाग्छ, त्यो सबभन्दा खराब हो । मलाई भावेशको राष्ट्रवाद र धमिराको देवल उस्तै लाग्छ । मैले उसलाई प्रशस्तै दुःख खेप्दै गरेको देखेको छु । अभावको कहालीलाग्दो खाडीमा रङ्मगिएर सपनाका कैयौँ पत्रहरू जलाएको देखेको छु । तर, कहिल्यै देशलाई गाली गरेको, धिक्कारेको सुनेको छैन । त्यही भएर मलाई उसको राष्ट्रवादसँग असाध्यै डर लाग्छ । उसले पहिलोचोटि कसैलाई विश्वास नगरेको पनि मलाई थाहा छैन, र दोस्रोचोटि कसैलाई पुनः विश्वास गरेको पनि थाहा छैन । झट्ट भरोसा गर्ने र त्यो टुटेपछि सदाका लागि सम्बन्धविच्छेद गर्ने उसको अकाट्य स्वभावको ठिक विपरीत ऊ देशप्रति भरोसा गरिरहेको हुन्छ । कुकुरले पनि तैँलाई टोक्ने, गोरुले पनि तैँलाई लखेट्ने, चराले पनि तेरै टाउकोमा बिस्ट्याउने भनेझैँ गरी हण्डर, गोत्ता खाँदा पनि देशप्रति उत्तिकै वफादार बनिरहन उसले कसरी सकेको होला ?
‘घोप्टे पहाडहरू देख्दा
मेरा बहुवाहकहरू
अल्झिने छन्
टिस्टामा धोएका खुकुरीहरूभन्दा परै
या नालापानीमा गाढेका पाइलाहरूभन्दा उतै ।
’(पहिलो ध्रुवका बहुवाहकहरू, पृ.५६)
यतिका वर्ष कविताइतरमा बरालिएर ऊ कविताकै मियो समात्न फर्केको छ । फर्किंदै गर्दा उसले यो भन्न भ्याएको छ, जहाँ थिएँ, कविताकै चुरोमा थिएँ । हो, भावेश भुमरी चुरो भएको कवि हो । गीत लेख्छ, त्यसभित्रको चुरो कविताकै हुन्छ । कठोर बन्छ, चुरो कोमलताकै बोकेर । मान्छेका अघिल्तिर आँसु देखाएन भन्दैमा कसरी नजरअन्दाज गर्न सकिन्छ उसभित्रको अराजक भावुकतालाई ?
‘पहिलो दिन हुलाकघरमा
खामलाई खोलेँ बिस्तारै जोगाएर
साँच्चै ढुकढुक–ढुकढुक गरिरह्यो मुटु
चलमल–चलमल गरिरह्यो मन
अक्षरविहीन चिठी
शब्दविहीन चिठी
पढिरहेँ धेरैबेर ।
’(खाली चिठी, पृ.२६)
यो सङ्ग्रहले ऊ कति अब्बल कवि रहेछ, पक्कै देखाउँछ । फुटकर रूपमा उसका कविता पढ्दै आएकाहरूले अवश्य महसुस गर्ने छन्, ऊ आफ्ना कविताको राम्रो सम्पादक पनि रहेछ ।
२०७० असोज १०, बागबजार, काठमाडौँ