सभाषद हुने कि नेता ?

Read Time:11 Minute, 57 Second

बलदीप प्रभाश्वर चामलिङ

 

सम्यक दृष्टि

आवश्यकता छ नेपालामा कुशल नेताहरुको । तर हरेक पार्टीमा लाग्नेहरु नेता होइन, पद र कुर्सीधारी बन्नुमा नै राजनीति गरेको उपलब्धि ठान्ने संस्कारको विकास भएर गएको छ । नेताको परिभाषा र नेतृत्वको चमत्कारीलाई पुरै नजरअन्दाज गरिदै गइएको छ । राजनीति निहित स्वार्थको लागि प्रयोजन हुदैछ । सभाषद बन्ने कि नेता ? पादाधिकारी बन्ने की नेता ?

ठूला दल काग्रेसदेखि लिएर साना दल जनमुक्ति पार्टीसम्ममा सभाषद छान्न ठूलै सकस पर्यो । पार्टीका मान्छेहरुमा सभाषद नभै नछाड्ने मनोवृतिले शिकार बनाएको देखायो । दिलो ज्यान दिएर सभाषद हुनु नै राजनीतिको उत्कर्ष हो जस्तो सन्देश दिइयो । सभाषद पाउने हर्षित देखियो भने नपाउने कतिपयले पार्टीमा रहिरहनुको समिक्षा गरिरहेका छन् । कति पार्टीमा दरार आएको छ । पार्टीमा खट्दै आएकाहरुमा मात्र होइन, राजनीति भन्दा वाहिरको संसारमा रमेका अभिनेता देखि साहित्यकर्मीसम्मलाई पनि सभाषद हुने भूत सवार नभएका होइन ।

राप्रपा नेपाल जस्तो पार्टीमा त नौटंकी नै देखियो । निर्वाचनको प्रकृया नसिद्धिदा नै पार्टी फुटको पत्र लिएर निर्वाचन आयोगमा पुगे । तर फेरि अहिले ती पार्टी फुटाउने भन्नेहरु संस्थापन पक्षमै फर्किएका छन् भने कोही फिर्दैनफिर्ने भन्नेहरु पनि छन् । काग्रेस र एमालेले ठूलै कसरत गरे । एमाओवादीले पनि धाधलीको कारण देखाएर संविधानसभामा नजाने कुरा घुर्की नै भयो । अन्ततः उसले पनि नाम पठायो । हिजो संविधानसभाको निर्वाचन गराउदा निर्वाचन आयोगलाई धाधली गरेको आरोप लगाउनेले आफैले सभाषदको नाम पठाउदा त्यसमा धाधली भएको कुरा पार्टी भित्रकै अर्को खेमाले लगाइरहेका छन् । एमालेले आफुलाई सभाषद नबनाएकोमा एक सिनेकर्मी रन्थनिए । त्यसै गरी सभाषद पाउनको लागि बाउको हात भन्दा सुशिल कोइरालाको हातलाई पवित्र मानी उनैको हातबाट टिका लगाउदालगाउदै पनि काग्रेसले सभाषद नबनाएको गुणासो एक कवीले पोखिहिड्दैछ । कसैले आफ्नी श्रीमति र आफन्तहरुलाई सभाषद बनाएका छन् । कतिपय युवा खेमाहरु आफु सभाषद नभएकोमा रोष र आक्रोश पोखिरहेका छन् । कति त सभाषद हुनसकेकोमा आफुले लिएको ऋण तिर्न नसकिने भो भनेर भावावेशमा कुरा फुत्काइरहेका छन् । 

यसले के देखाएको छ भन्दा नेपालमा राजनीति व्यवसायिककरण तर्फ उन्मुख भैराखेको छ । अब मान्छेहरुले राजनीतिलाई जीविका धान्ने साधनको रुपमा लिन थालेको छ । विशुद्ध व्यपारीहरुले पनि राजनीतिमा नै व्यपार गर्न खोजेका छन् । यो हुर्कदै गरेको संस्कारले नेपाली राजनीतिमा विकृति नल्याउला भन्न सकिन्न ।  नेता भनेको राज्यलाई एक निश्चित आकार प्रदान गर्ने शिल्पकार हुन् । जस्ले माहोल सृजना गर्दछ, त्यसलाई एक निश्चित दिशातर्फ नेतृत्व दिन सक्छ । हो, त्यही नेताको अभावमा विगतको संविधानसभा तुहन पुग्यो । त्यो ६ सय १ जना सभाषद हुनुको कुनै अर्थ रहेन । संविधान बन्न नसकी संविधानसभा नै विघटन भयो र पुन नया संविधानसभाको निर्वाचन हुनपर्ने भो ।

विगतको संविधानसभा भिडमात्र थियो त्यहा निकास  थिएन । त्यो संविधानसभामा बाहुन–क्षेत्री मात्र थियो, नेता थिएन । जनजातिमात्र थियो, नेता थिएन । मधेशीमात्र थिए, नेता थिएन । दलितमात्र थिए, नेता थिएन । महिलामात्र थिए, नेता थिएन । परिणामस्वरुप त्यसले नया संविधान दिन सकेन । यो पालीको संविधानसभामा पनि त्यस्तै कुराको पुनरावृति नहोला भन्न सकिन्न ।

हरेक कुराको निश्चित नियम हुन्छ र त्यही अनुसार कुनै प्रणाली चलिरहेको हुन्छ । सौर्यमण्डलदेखि एक भुसुनाको जीवन प्रकृयामा पनि एक नियम लागुभएको हुन्छ । तर त्यस्तो नियम र अनुशासन नेपाली राजनीतिमा देखिएन । न आफु नेतृत्व दिन सक्ने न अरुको नेतृत्व स्वीकार्ने प्रवृतिको विकास हुदै गएको छ । र नेतृत्व दिन्छु भन्नेहरुले पनि न जनताको भावनाहरुको प्रतिनिधित्व गर्नसकेको छ । यस्तो भद्रगोल परिवेशमा निकास कसरी निस्किएला ?

हो, यस्तै नेताहरुको अभावमा विदेशी सल्लाह र इशाराहरु आन्तरिक राजनीतिमा आयात हुन्छ । विदेशी प्रभुत्व प्रवेश गर्दछ । नेपालको आवश्यकता भनेको नेपाली राजनीतिले कुशल राजनेताहरु  जन्माउनु हो । नेपालजस्तो सामाजिक विविधता भएको मुलुकमा राजनेताहरुको निर्माण अनिवार्य कुरा हो । नेता कसरी बन्ने र नेता बन्न चाहिने योग्यताहरुको पहिचान खोज्ने हो अवको राजनीतिकर्मीहरुले । राजनीतिमा पैसा कामउने र जीविका धान्ने मनोसायले कोही पनि प्रवेश गर्न भएन । त्यो गर्ने हो भन्ने अन्य विशुद्ध व्यवसायका विकल्पहरु छन् । कुनै व्यपारीले करडौ रुपैयाले सभाषद पद खरिद गरिसकेपछि संविधानसभामा गएर उस्ले कुन कुराको प्रयत्नमा लाग्छ होला ? भनिरहनु पर्दैन । त्यसमा पनि यो संविधानसभा संविधान लेख्नमात्र नभएर सरकारपनि चलाउने हो ।

संविधानसभा आआफ्नो स्वार्थ पुरागराउन सक्नेहरुको भर्ती केन्द्रजस्तो भएको छ । आफ्नो गुट, समुह र खेमालाई प्रवर्धन गर्नसक्ने व्यक्तिहरुलाई सभाषदमा छानेर लगिएको छ । वास्तवमा भन्ने हो भने प्राज्ञिक दक्षता भएकाहरु कम मात्रमा छन् । संविधानसभामा गएर तलवभत्ता मात्र खाने होइन कि नया संविधान कसरी लेख्ने र लेखिएको संविधानले नेपालको वस्तुस्थितिलाई कसरी सम्बोधन गर्दछ भन्ने कुरामा पनि केन्द्रीत हुनु पर्ने आवश्यकता छ । अब बन्ने संविधानले कम्तिमा एक शताब्दीसम्मको युग धान्ने हुनुपर्दछ । पटकपटक संविधानको हेरफेरमै अल्मलिनु मुुलुकको लागि सकारात्मक कुरा होइन । अब राजनीतिक अन्योलताबाट मुक्त भएर मुलुकले आर्थिक क्रान्ति र प्रगतिमा अगाडी बढ्नुपर्ने हुन्छ । त्यो दिशा तर्फ देशलाई मोड्ने भनेको कुशल राजनीतिक नेतृत्व चाहिन्छ । त्यो त कुशल नेताले मात्र प्रदान गर्न सक्दछ । वास्तवमा राज्यसंयन्त्रको पदाधिकारीहरुको क्रियाकलाप राजनीतिक नेताहरुकै नियन्त्रणमा रहन्छ । लेनिन र स्टालिन राज्यको कुनैपनि पद धारक होइन । तर पनि उनीहरुसंग शक्ति थियो । किनकी उनीहरु नेता थिए । राजनीतिक गतिविधि उनीहरुकै इच्छामा चलेको थियो, किनकी जनताको विश्वास उनीहरुमा नै थियो ।

विभिन्न निजी स्वार्धधारीहरुको कारण समानुपातिक प्रणाली नै बेठीक हो जस्तो जनतामा भ्रम पर्न थालेको छ । तर यो नाच्न नजान्नेहरुको लागि आगन टेढो जस्तो मात्र हो । हुनत प्रत्यक्षमा टिकट दिदापनि यस्तै भएको हो । ठूलालाई रिझाउन सक्ने र सेवा दिन सक्नेले नै प्रत्यक्षमा पनि टिकट लिएर गएका हुन् । सिद्धान्ततः समानुपातिक सभाषदहरुलाई पार्टीले चुन्ने र प्रत्यक्ष  सभाषदहरुलाई जनताले चुन्ने भन्ने हो । तर वास्तवमा दुवै पार्टीले नै चुन्ने हो । किनकी प्रत्यक्षमा लड्न जानेलाई पनि पहिले पार्टीले नै चुनेर टिकट दिएर पठाएका हुन्छन् । जनताले आफैले छानेको र  मनपराएको उम्मेदवारलाई भोट हालेका हुदैनन् । पार्टीहरुले टिकट दिएर उठाएकाहरुलाई नै भोट हाल्ने हो ।  जस्तो, कुनै पार्टीका समर्थकले आफ्नो पार्टीले टिकट दिएर पठाएको जोसुकै व्यक्तिलाई मनपरेपनि नपरेपनि नैतिकता र वाध्यताले उसैलाई भोट हाल्नु पर्ने हुन्छ । यसरी चाहे समानुपातिक होस् वा प्रत्यक्ष सभाषद, उनीहरु वास्तवमा पार्टीले नै चुनेका हुन्छन् । यो स्वभाविक हो  । किनकी बहुदलीय प्रजातान्त्रिक व्यवस्था हामीले मानेका छौ । यो व्यवस्था भनेकै दलहरुको राजनीति हो ।

देश बनाउन राजनीति गर्ने हो । पद धारण गरेर कमाउन र ऐस आरम गर्न राजनीति गर्ने होइन । राजनीति गर्नेको लागि पदमात्र नै उत्कर्ष विन्दु हो भन्ने छैन । पार्टीका कार्यकताहरुले आफ्नो नेतृत्व विकास गर्ने हो । जनता सामु राजनीतिक खुवी प्रदर्शन गर्ने हो । नेता बन्ने हिम्मत गर्ने हो । नेता भन्ने वितिक्कै पार्टीको अध्यक्ष र महासचिव नै हो भन्ने मान्यतालाई पनि हामीले भत्काउनु पर्दछ । नेतासंग शक्ति हुन्छ तर अधिकारीसंग पद हुन्छ । पद त शक्तिले सृजना गर्दछ । तसर्थ हरेक पार्टीका युवा पंक्तीहरुले पनि अहिले नै सभाषद हुने अभिलाषा नराखी पहिले नेता बन्ने प्रयत्न गर्ने हो । त्यसपछि त्यो पद, कुर्सी र सुविधा त स्वतः आहारा बनेर आउछ अजिंगाररुपी नेताहरुलाई ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %