त्रिलोक सिंह थापा मगर
१) प्रख्यात संगीतकार एवं साहित्यकार मास्टर मित्रसेन थापामगरको ११८ औं जन्मजयन्तीको शुभउपलक्ष्यमा “मास्टर मित्रसेन र उनका सिर्जना” शीर्षक पुस्तक प्रकाशनमा आएको छ । नेपाली साहित्य, संस्कृति एवं सांगीतिक क्षेत्रमा आदिवासी, जनजाति तथा पूर्व सैनिक समुदायमा पनि यस्ता प्रतिभाशाली विभूतिहरु फेला पर्दछन् भन्ने कौतुहलता र जिज्ञासा यस पुस्तकले उठाएको देखिन्छ । वास्तवमा ओझेलमा परेका कतिपय विलक्षण व्यक्तित्वहरुको खोजी नीति र उनकाद्वारा श्रृजना गरिएका कृति एवं रचनाहरु माथि चर्चा परिचर्चा निरन्तर भई राख्नु पर्दछ ।
२) मास्टर मित्रसेन थापामगरको जीवन झाँकी, गद्य तथा पद्य विधामा श्रृजना गरिएका रचना, ओझेलमा परेका कृति तथा केही हस्तलिखित पाण्डुलिपी समेतको संकलन र संग्रह यस पुस्तकमा समावेश गरिएको छ । उनका द्वारा गायन गरिएका सदाबहार गीत, भजन, कव्वाली तथा झ्याउरे आदि रचनाहरुले यस पुस्तकमा विशेष स्थान ओगटेको छ । उनका सारगर्भित, ओजपूर्ण लेख, निबन्ध अनुवाद, दैन्दिनी तथा समयसमयमा प्रकट गरिएका उद्गार र मन्तव्य जे जस्ता थिए त्यस्तै यस पुस्तकमा समावेश गरिएको छ ।
३) मास्टर मित्रसेन मूलतः केवल गायक हुन् । गीत गायनका अतिरिक्त उनका अन्य योगदान शुन्य छ । केही विद्वान लेखकहरुको उक्त धारणा अथवा भनाईलाई यस पुस्तकले पूर्ण रुपमा अस्वीकार गरेको छ । मास्टर मित्रसेन थापामगर आफ्नो गीत भजन र गायनका रचनाकार, सङ्गीतकार तथा गायक आफै थिए भन्ने तथ्यलाई यस पुस्तकले स्पष्ट रुपमा प्रस्तुत गर्ने प्रयास गरेको पाइन्छ ।
४) “मास्टर मित्रसेन र उनका सिर्जना” शीर्षक पुस्तकलाई साधारणतः पाँच भागमा विभाजित गर्न सकिन्छ । उक्त पुस्तकको पहिलो भागमा मास्टर मित्रसेनको जीवनयात्राको ओकाली र ओरालीको विषयमा विस्तृत एवं खोजपूर्ण विवरणहरु छन् । “दुई कुरा”, मगन पार्थक तथा दिगविजय सेनको ओजपूर्ण लेखहरुबाट मास्टर मित्रसेनको जीवनयात्रा बारे प्रशस्त जानकारी प्राप्त हुन्छ । पुस्तकको दोश्रो भागमा मास्टर मित्रसेनका गद्य तथा पद्य विधामा श्रृजना गरिएका रचना माथि प्रा.डा. मधुसुदन गिरीका गहकिलो एवं विश्लेषणात्मक लेख समावेश गरिएको छ । सो लेखबाट अथक साधक मित्रसेनका साहित्यिक योगदान विषयमा नौला तथ्यहरु प्रकाशमा आएको पाइन्छ ।
५) सो पुस्तकको तेश्रो भागमा मित्रसेनका रेकर्डिङ्ग भएका र नभएका जम्मा ६८ वटा गीत, भजन, गजल, कव्वाली र झ्याउरेहरुका संगालो एवं संग्रह प्रकाशित गरिएको छ । उनकाद्वारा रचना गरिएका सदाबहार गीतहरुको अध्ययन गर्दा एक प्रकारको अनौठो आनन्दको अनुभूति हुनु स्वभाविक नै हो । उदाहरणका लागि “धानका बाला झुल्यौ हजुर देशै रमाइलो ”।
६) उक्त पुस्तकको चौथो भागमा गद्य विधामा लेखिएका रचना “मित्रको डायरी” “बुद्ध वाणी” “गीताको संक्षिप्त” रुपान्तरण “निबन्ध माला” तथा “कथाहरु” को संकलन प्रकाशित गरिएको छ । उक्त रचनाहरुमध्ये केही दार्शनिक एवं गम्भीर प्रकृतिका छन् भने केही अत्यन्त मनोरञ्जक छन् । केही लेख शिक्षाप्रद छन् भने केही ऐतिहासिक पृष्ठभूमिमा लेखिएका रचनाहरु छन् । उदाहरणका लागि “द्रव्य शाह भारी पुरुषार्थी हुनाले गोरखा राज्यसम्म सिमा विस्तार गरे ।” मित्रसेनले केही लेखमा उर्दुका उक्तिहरु पनि उल्लेख गरेर मनोरन्जन प्रदान गरेका छन् जस्तो “हकीकत मे इन्साँ वही एक है, जिसकी जुवाँ और दिल एक है ।” उक्त पुस्तकको सोही भागमा उनका चर्चित नाटक “कृष्ण जन्म” का केही अंशहरु पनि प्रकाशन गरिएको छ । नेपाली साहित्य र साङ्गीतिक क्षेत्रमा मास्टर मित्रसेनको बहुआयामिक प्रतिभा एवं व्यक्तित्वको झलक यस पुस्तकमा प्रतिविम्बित हुन गएको छ ।
७) पुस्तकको अन्तिम भागमा मित्रसेनलाई सम्झिने विद्वान लेखकहरुका संक्षिप्त टिप्पणी, अभिव्यक्ति, केही पाण्डुलिपी, गीत गायनका स्वरलिपी मित्रसेनका केही पुस्तक तथा उनका बारेमा प्रकाशित पुस्तकको नामावली सन्दर्भ ग्रन्थको रुपमा समावेश गरिएको छ । नेपाल र भारत सरकारबाट जारी गरिएका संस्मरणात्मक हुलाक टिकट र केही फोटोहरुले पुस्तकलाई सजीव एवं अत्यन्त आकर्षक बनाएको छ ।
८) “मास्टर मित्रसेन र उनका सिर्जना” शीर्षक पुस्तक विविधताले भरिएको छ । विभिन्न प्रकारका रुचि राख्ने पाठकहरुलाई सोही प्रकारको सामग्री पस्कन यो पुस्तक सफल भएको छ ।
९) निबन्ध, लेख, दैन्दीनी, मन्तव्य, अनुवाद, गीत गजल आदिलाई एउटै पुस्तकमा समेटेर प्रकाशन गरिएको छ । जसलाई जे रुचि छ सोही पढेर आनन्द प्राप्त गर्न सक्दछन् । यस पुस्तकको विविधता नै यसको विशेषता हो । अतः “मास्टर मित्रसेन उनका सिर्जना” शीर्षक पुस्तक खोजी खोजी पढौं र अरुलाई पढ्न दिउँ ।
धन्यवाद ।
www.mastermitrasen.org
मो. ९८४१८०३३४६