तमु ह्युला छोज धी (गुरुङ राष्टिय परिषद ) – केन्द्रिय अध्यक्ष
– तपाईको संस्थाबारे संक्षिप्त केहि बताईदिनुहुन्छ कि ?
यो संस्था ०४९ मा स्थापना भएको हो । तत्कालिन तमु छोज धी र ०५७ मा स्थापना भएको गुरुङ राष्ट्रिय परिषदबिच एकता भए पश्चात् ०६५ पश्चात तमु ह्युला छोज धी (गुरुङ राष्ट्रिय परिषद) रहेको छ । यो आदिबासि जनजाती महासंघको संघिष परिषदको सदस्य संस्था हो । साथै आदिबासि जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक बोर्डको सदस्य संस्था हो । जसको देशभरी ५८ जिल्लामा कार्य समिति छ । यसमा ४० संस्थाहरु आबद्ध छन् । देश विदेशमा सयांैको संख्यामा यस संस्थासंग सम्बन्धन प्राप्त संस्थाहरु छन् । यो गुरुङहरुको साझा संस्था हो ।
– तमु कि गुरुङ के ले सम्बोधन गर्दा राम्रो । यी दुईबीच के भिन्नता छ ?
भिन्नता छैन । राष्ट्रिय आवश्यकता अनुसार एकिकरण भयो । तमु र गुरुङबिच भिन्नता छैन । तमु गुरुङ भाषा हो । गुरुङ खस भाषामा भनिएको हो ।
– तमुहरुको सबभन्दा ठूलो चाड अर्थात नयाँ बर्ष अर्थात पुष १५ आँउदैछ, यसबारे केहि बताईदिनुहुन्छ कि ?
गुरुङहरु संख्यामा गन्ति नगनेर ल्होको (बर्ग चक्र) मा गन्ति गर्ने र शुभ अशुभ कुरामा विश्वास गर्ने जाति हुन् । यो चाड सूर्यको किरण या प्रकृतिसंग सम्बन्धित छ । ल्होसार सबैभन्दा लामो दिनको अन्त्य र छोटो रातको प्रारम्भ हुने दिन हो । त्यही अबसरमा मनाउने गरिएको हो ।
– यसको ऐतिहासिक मान्यता के हो ? कहिले देखि शुरु भयो ?
ल्होसार परापूर्व कालदेखी मनाउन थालिएको हो । हिन्दु र खसकरणको कारणले गर्दा कम मानिसले मात्र मनाएको देखिएको हो । गुरुङको उत्पत्ति देखी नै मनाउन थालिएको थियो । ‘लो’ भनेको बर्ग ‘सार’ भनेको फक्रनु । यो हाम्रो जिबन पद्धतिसँग सम्बन्धित छ । विवाह, मृत्यु हरेक संस्कार यसमै आधारित छ ।
– यो पर्व धार्मिक कि सांस्कृतिक–जातीय ?
यो सामाजिक र साँस्कृतिक पर्व हो ।
– नेपालमा विशेषगरि तमु बहुल क्षेत्रमा यो सालको नयाँ बर्ष कसरी मनाउने योजना छ ?
०६४ देखी नेपाल सरकारले सार्बजनिक रुपमा १ दिन विदा दिने गरेको छ । हामीले ३ दिन विदा हुनुपर्छ भनेका छांै । तमु बाहुल्य क्षेत्रमा मात्र नभएर अरु क्षेत्रमा पनि यो चाड मनाउने तयारीमा छौं । सबै गुरुङहरु एक ठाउँमा जम्मा हुने सामुहिक भोज गर्दै मनाउने योजना छ । १५ गते प्रधानमन्त्रिलाई बोलाएर टुँडिखेलमा कार्यक्रम गर्ने र १२ गते राष्ट्रपति निवासमा चियापान गर्नेछौं । र, देशका अरु भुभागमा बिभिन्न कार्यक्रम गर्नेछौं । देशै भरी ४ दिन सम्म धुमधामसँग मनाईदैछ ।
।
– तर यो नयाँ बर्ष पनि २ चोटी मनाईन्छ नि, यसको खास कारण के हो ?
खासमा ल्होसार चार प्रकारको हुन्छ । ग्याल्बो, सोनाम, तोला र तमु । ग्याल्बो, सोनाम, तोला ल्होसार तिथीमा आधारित छन् । जुन तामाङ र शेर्पाहरुले मनाउछन् । तमु ल्होसार चाही गुरुङहरुले मनाउछन् । जुन मितीमा आधारित छ । सबैभन्दा पहिला गुरुङको ल्होसार आउछ । र, यो सूर्यको किरणसंग सम्बन्धित छ ।
– यसपालि हङकङमा नयाँ कार्यक्रमलाई सम्बोधन गर्न जाँदै हुनुहुन्छ रे, तपाईंलाई थाहा छ त्यहाँको तमुहरुबीचको समस्या ?
हो, म डिसेम्बर १२ तारेखमा हङकङ जाँदैछु । २६ तारेखमा फर्किन्छु । त्यहाँ दुइटा कुराको समस्या छ । एक थरी समय अनुसार बदलिनुपर्छ भन्ने तप्का छ, अर्कोथरी आफ्नो परम्परा र संस्कारमा आधारित भएर हाम्रो चाड मनाउनुपर्छ भन्ने तप्का छ । राम्रो र हाम्रोबीचको मतभेद हो । यस बाहेक अरु समस्या छ भन्ने हामीलाई लाग्दैन । अरु सबै राम्रा कुरा छन् । शुभकामना दिन जान लागेको हँु। यहाँ आफ्नो देशकाे तमु र तमु नयाँ बर्षको बारेमा बताउने छु ।
– लामो समय देखि छुट्टा छुट्टै १५ पुष मनाईरहेका तमु ट्यो ह्युल र तमु प्हे लु संघ एक ठाँउमा भेला भएर यो पर्व मनाउन नमानेपछि तिनलाई मिलाउन जाँदै हुनुहुन्छ रे नी ?
नमानेको भन्ने हैन । केही मतभेद होलान् । सबैलाई बुझ्न र बुझाउन जान लागेको हुँ ।
– तपाईंलाई यस कामको लागि कसले बोलाएको हो ?
हाम्रो समुदायको साझा निम्तो हो ।
– के तपाई त्यहाँ गएर सम्झाएपछि हङकङका तमुहरु एक ठाँउमा भेला भई नयाँ बर्ष मनाउलान् त ?
सबै एकै ठाउमा नआउने कुरै छैन । हामी फरक समुदायका होइनांै । रहनसहन, साँस्कृतिक सबै प्रकारले एउटै हौं । पराई भूमीमा बसेका हामी एक ठाँउमा आउनैपर्छ । यस कुरामा म विश्वस्त छु ।
प्रस्तुती ः नरेन्द्र रौले, काठमाण्डौ
एथ्निक भ्वाईससंगको सहकार्य