माओवादीको सशस्त्र द्वन्दका बेला रुकुमको नाम सुन्ने बित्तिकै सबैको ज्यान सिरिङ्ग हुन्थ्यो । सायद, धेरैले जीवनको कुनै कालखण्डमा त्यहाँ जान नपरोस् भन्दै कामना पनि गर्थे होला । राज्यको सौतेनि व्यवहार सहँदै आएको रुकुमले पिडा खप्न नसकेपछि जनयुद्धको विकुल फुक्यो ।
मनोज घर्तीमगर
सिंहदरबारले नामै सुन्न नचाहेको रुकुम १० वर्षे जनयुद्धकै कारण देश–विदेशमा चर्चित बन्यो । भलै हिंसात्मक तरिकाले परिचित भयो । रुकुमेलीहरु जनयुद्धमा सामेल हुनुको मुल कारण नै सिंहदरबारले गरेको सौतेनी व्यवहार हो ।
१० वर्षे जनयुद्धपछि अहिले रुकुम शान्त छ । द्वन्दकालको ‘लालकिल्ला’ अहिले पूरै शान्तिकिल्लामा बदलिएको छ । जनयुद्धले थिलथिलो बनेको रुकुममा युद्धका घाउ मात्रै छैनन्, मन बहालाउने अत्यन्तै सुन्दर गन्तव्यहरु पनि छन् । पर्यटन वर्ष चलिरहेको बेला रुकुमलाई पर्यटकीय गन्तव्य बनाउन यहाँका मानिसहरु हर प्रयास गरिरहेका छन् । अहिलेसम्म व्यवस्थीत हुन नसके पनि प्रकृतिले उपहार दिएको विभिन्न रुप हेर्न रुकुम उत्कृष्ट पर्यटकीय गन्तव्य हो । रुकुमेलीहरु अब सरकारको मुख नताकि आफै तम्सिदैछन् ।
रुकुमलाई अझैसम्म १० वर्षे सशस्त्र द्वन्दको उद्गम थलोको रुपमा चिन्दैछन् मानिसहरु । यो मानक बदलेर उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा चिनीन बामे सर्दैछ रुकुम । धेरैलाई लाग्दो हो, विध्वसं मच्चाउने रुकुमका के छन् होला हेर्न योग्य स्थानहरु ? मुलकुलाई परिवर्तनको घडिमा ल्याउन युद्ध सुरुवात गर्ने रुकुम प्रकृतिको अनुपम उपहारका रुपमा रहेको छ । भौगोलिक विशालता र सुन्दरताले ठूलो छ । अहिलेसम्म कुमारी रहेको सिस्ने हिमाल (४८८२ मि.) यही छ । पुथा हिमाल, हिउँचुली, सामझाङ हिउँचुली, चित्रेपाटन हिमाल पनि यंिहका सम्पदा हुन् ।
स्यार्पूताल (ठूली दह) र सानी दह रुकुमका हिरा हुन् । यो हिरालाई चिन्न अब कस्सीनुपर्छ । छिनछिनमा भईरहने मौसम परिवर्तनले स्यार्पू तालले एकै दिनमा चार रंग फेर्छ । यसले पर्यटकलाई छुट्टै आनन्द दिन्छ । तालमा खेल्ने जलेवाको हुलले पर्यटकलाई फोटो खिच्न बाध्य बनाउँछ । तालमा बल्छी थाप्दै माछा मार्ने र डुंगा सयर गर्न सकिने सुविधा छ । तालबाट ४५ मिनेट उत्तर जाने हो भने सिमै छहरा, बौलाहा खोला, कोप्रा झरनाको सुन्दर दृश्य देख्न पाईन्छ । यहाँ कमल दह, छिर्पीदह, आँखीदह, सुपेदह, मेलचौर दह लगायतका दहहरु त छन् नै पवित्र धार्मिक क्षेत्र, शक्तिपिठले रुकुमलाई उचाईमा पु¥याएको छ । कालिका मन्दिरको जिल्ला भनेर पनि चिनिन्छ रुकुमलाई । ¥याफ्टिङ्ग गर्नका लागि धेरै मात्रामा ¥यापिड भएको नदि सानो भेरी छ । धार्मिक रुपले प्रशिद्ध मन्दिरहरु मात्रै हैन, विभिन्न गुफा पनि छन् यहाँ ।
पर्यटन वर्ष सन् २०११ चलिरहँदा रुकुमलाई यसले खासै छोएन । देशका विभिन्न क्षेत्रमा पर्यटक भित्र्याउन अनेका कार्यक्रम भईरहेका छन् अझै पनि । तर रुकुमका यी पर्यटकीय क्षेत्रमा आक्कल झुक्कल बाहेक पर्यटक पुग्न सकेका छैनन्, त्यसैले अहिलेसम्म रुकुम पर्यटनका हिसाबले भर्जिन छ । रुकुम, बाग्लुङ र म्याग्दीमा पर्ने ढोरपाटन शिकार आरक्षामा देशी विदेशी पर्यटक निकै धाउँछन् । रुकुमतिरबाट पनि यहाँ धेरै मान्छे छिर्छन् । तर, नजिकै रहेको स्यार्पूताल, सिस्ने हिमाल, पुथा हिमाल सुनसान हुन्छ ।
कम्तिमा ढोरपाटनसम्म पुग्ने पर्यटकलाई रुकुमका अन्य पर्यटकीय स्थलको बारेमा सुुचना प्रवाह हुन जरुरी छ । डोल्पा जाँदा पर्ने दवारी भञ्ज्याङ, पुपाल भञ्ज्याङ यही छन् । धर्ममा विश्वास गर्ने पर्यटकदेखि लिएर सिस्ने र पुठा हिमाल आरोहण गराउन पहल गर्नुपर्छ । यहाँ विभिन्न ट्रेकिङ रुट बन्नयोग्य स्थल छन् । यतैबाट जानसकिन्छ डोल्पा ट्रेकिङ्गमा । सल्यान र रुकुमको सिमाना खौला, खारा, सिम्रुत, खलंगाबजार, गिल्बाङ, बाँफिकोट, स्यार्पू, पीपल, पोखरा, रुकुमकोट, महत, काँक्रि, तकसेरा, दाम्चन, ढोरपाटन हुँदै बाग्लुङको बोबाङलाई उत्कृष्ट ट्रेकिङ रुट बनाउन सकिन्छ । त्यो बाहेक हाईकिङ्ग (एकदिनमा गरिने यात्रा)का लागि चाहिने स्पट त कति हो कति । प्राकृतिक सम्पदा, स्वच्द्ध जलस्रोतको नरित्तिने भण्डार नदि, खोला, जलासय, सदाबहर जंगल, विभिन्न प्रजातिका चराचुरुङगी, दुर्लभ वन्यजन्तु जैविक विविधताको खानी हो रुकुम । यसका लागि स्थानीयको चासो र राजनितिक प्रतिबद्धताको खाँचो छ ।
संसारको सबैभन्दा उच्च गुणस्तरको यार्सागुम्बा उत्पादन यही हुन्छ । तातोपानी मुल, डिग्रे साईकुमारी मन्दिर, गादिघर बुरालमष्ट मन्दिर, राडिज्यूला भगवति मन्दिर, बिउबिजन केन्द्र पनि यही छ । स्यार्पूतालबाट बगेको दहि खोला, पौराणिक भनाई अनुसार भीमसेनले बासोले ताछेको बासताछे पहरा, भीमसनले नै छेलो हानेको ढुृंगा हेर्नलायक र रमणीय छन् । रुकुमकोट, मुसिकोट, बाँफिकोट, आठबिसकोट, जहारीकोट, गोतामकोट, मैकोट, हुकाम, लगायतका बाईसे–चौबिसे राज्यहरु रहेको स्थान र तिनका भग्नावशेष पनि हेर्न सकिन्छ ।
रुकुममा आफ्नै खाले लोकसँस्कृति, परम्परा चालचलन र रीतिरिवाज विद्यमान छन् । विविध जातजाति, भाषाभाषाी ,भेषभुषा यस जिल्लाको विशेषता हो । मगरको झ्याउरे, सारङ्गे, पैसेरु, सिंगारु, टप्पा, झाँक्री, भूमे लगायतका नाँच देख्न पाउँदा पर्यटकको मन भुल्छ । मेला पर्व हराउँदै गएका बेला रुकुममा अझै पनि विभिन्न क्षेत्रमा महिनामा सदरदर ३ वटासम्म मेला लाग्छन् । ती मेलाको मजा पनि लिन सकिन्छ । यहाँको पूर्वि भागमा रहेको मगर भाषीहरुको क्षेत्रले पर्यटकलाई तान्न सक्छ । काँक्रि, तकसेरा, लुकुम, प्वाङका मगर भाषिहरुको सँस्कृति हेर्दा पर्यटकको बसाई लम्ब्याउन सकिन्छ । रुकुममा वार टुरिजम, इको टुरिजम, एग्रो टुरिजम, कल्चर टुरिजम, हर्वल टुरिजमको अवधारणा ल्याउन सके अझ राम्रो ।
हिमाली, लेकाली, पहाडी भाग मात्रै हैन बेसी र टार पनि छन् यहाँ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने हिमाली भूमभाग करिब ४८७४ मिटरदेखि ६००० मिटरसम्मको उचाईमा छ । करिब २५०० मिटरदेदि ४८७८ मिटरको महाभारत पर्वत श्रृङखलासँग जोडिएको भुभाग यो क्षेत्रमा पर्दछ । यस क्षेत्रमा जाडो मौसममा हिउँ पर्छ । यहाँ मानव वस्ती न्यून छन् । यस क्षेत्रमा रमणीय सुन्दर फाँटहरु छन् । जसलाई बुकी लेक भनिन्छ । जाङेथला लालपाटन, ढोरपाटनसँग जोडिएको पश्चिमी भाग निसी लेक, चित्रीपाटनको तल्लो भाथ हिरनेटा आदी फाँटहरु यही पर्छन् । बन्यजन्तुहरु रतुवा, घोरल, थार, बँदेल, बाघ, भालु, कस्तुरी, झारल, ब्वाँसो, हरिण पन्छिमा डाँफे, मुनाल, लगायत पाईन्छन् । औषधीको रुपमा प्रयोग हुने विभिन्न जडिबुटी, पाँचऔले, सतुवा, पाँच औले, समायो, पदमचाल्नो, पाङग्रो, कुरीलो, टिमुर , तिते, बोझो, हर्रो, बर्रो, अमला, घोडपाते, चिराईतो, यार्सागुम्बा, हलहले, भलायो, गुच्छिच्याउ, शिलाजित यहाँ पाईन्छ ।
समुद्र सतहदेखि ९ सय मिटरदेखि २५०० मिटरसम्मको क्षेत्र यस भूभागमा पर्छ । धेरैजसो मानववस्ती यही छ । नदि नाला, ताल तलाउ , झरनाले यस क्षेत्रलाई काटेका छन् । यस क्षेत्रमा मगर, गुरुङ, थकाली, छन्त्याल, कामी दमाई सुनारको बसोबास बढी छ भने ब्राह्मण नेवार ठकुरी पनि छन् । समुद्र सतहदेखि करिब ७५४ मिटरदेखि ९ सय मिटरसम्मको भूभाग बेसी र टारमा पर्छ । ठूली भेरी र सानी भेरीका साथी यीनका साखा नदिहरुको किनारमा रहेको समथर भूभाग यस क्षेत्रमा पर्छन् । चौरजहारी, राडि ज्यूला, खोलागाउँ, सिम्ली, सोलाबाङ, माछ्मी, सानचौर, छिन्खेत, भेडाखेत, जस्ता उर्बर बेसी र टारहरु यस भेगमा पर्दछन् । यहाँ प्रशस्त तरकारी धानबाली र तोरी उत्पादन हुन्छ ।
२०१८ सालमा नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएपछि यस जिल्लाको निश्चित सिमा निर्धारण भएको हो । २०१८ सालपूर्व यस जिल्लाको केही भाग सल्यान र केही भागमा जाजरकोटले प्रशासन चलाएका थिए । १८ सालमा सल्यान, जाजरकोट र रोल्पाबाट केही भाग झिकी रुकुम जिल्लाको हालको सिमाना भएको हो । जिल्ला सदरमुकाम २०३० सालमा रुकुमकोटबाट मुसिकोट खलंगामा सारिएको हो । ४३ गाविस, ११ इलाका र २ संसदीय निर्वाचन क्षेत्र छन् यहाँ ।
हावापानीका हिसाबले रुकुम अत्यन्तै राम्रो स्थान हो । समुद्रसतहको ७५४ देखि ६००० मिटर उचाईसम्म रहेको रुकुमको तापक्रम अर्धउष्ण, समशीतोष्ण र शीतोष्णमा विभाजन गर्न सकिन्छ । जिल्लाको अधिकतम तापक्रम ३४.४० डिग्री सेल्सीयस र न्यूनतम माईनस ५ डिग्री सेल्सीयससम्म छ । वार्षिक औषत वर्षा १६०० देखि २४०० मिलि सम्म छ । विविधतापूर्ण भूप्राकृतिक संरचनाका कारण कतै नरम पत्रे चट्टान, कडा आग्नेय चट्टानयुक्त माटो पाईन्छ भने कतै चिम्टयाईलो माटो, पाँगो र बलौटे माटो पाइन्छ । माटो अनुसारको कारणले विभिन्न स्थानमा फलफूल बाली बोटविरुवा वनस्पती जडिबुटि उपयुक्त मानिन्छ । कम उचाई भएको क्षेत्रमा सिसौ, साल, सिज , चिउरी र सिमल पाईन्छ । बिच भागमा सल्लो, उत्तिस, ओखर, पाङग्रो, टुनी, चाँफ काफल, गोब्रेसल्ला, भोजपत्र, लालिगुरासँ, बाँज, खर्सु, दुधिलो, पैयु प्रजातिका बोटविरुवा पाईन्छन् ।