पाल्पाको बौघागुम्हामा जन्मिएका केहरसींह राना मगर राष्ट्रिय जनमुक्ति पार्टी पाल्पाका संस्थापक अध्यक्ष (२०५०) हुन् । अहिले पार्टीका संघिय सभा अध्यक्ष मण्डलका सदस्य राना पाल्पा जिल्लामै पहिलो मगर अधिवक्ताको रुपमा पनि परिचित छन् । आदिवासी आन्दोलनका अगुवा उनी मंसीर ४ गते हुन गैरहेको संबिधान सभाको निर्बाचनमा पाल्पा क्षेत्र नम्बर ३ का प्रत्यक्ष उम्मेदवार हुन् ।
राज्यसत्ताका देव पचभैयाले रानासंग गरेको चुनावी कुरा –
प्रश्न : चुनावी प्रचार प्रसार कस्तो चलिरहेकोछ ?
— चुनावमा भोट देऊ मात्रै भन्नु भन्दा पनि हामीले आम नागरिकको अधिकार, पछिल्लो राजनैतिक, सामाजिक, सास्कृतिक र समग्र मुलुककै अबस्थाको बारेमा जानकारी दिदै पार्टीको निति तथा सिद्धान्तको बारेमा जानकारी दिन घरदैलो कार्यक्रमलाई तिब्र पारेका छौ ।
निर्बाचन आचार संहिताको घेरा भित्र रहेर पर्चा, पम्प्लेट, माईकिङ्ग र आम संचार माध्यममा आफ्नो उपस्थितिलाई बलियो बनाउदै अघि बढेका छौ । मेरो क्षेत्रमा रहेका २२ गाबिसमै पुगेर जनतासंग भेटघाट र अन्तर्क्रिया गरिरहेको छु । अरु क्षेत्रमा पनि पार्टीका साथीहरु यसै गरी खटिरहनुभएको छ ।
प्रश्न : चुनावमा मात्रै खटिने अरु बेला लापत्ता हुने पार्टी हो भन्छन् नि तपाईको पार्टीलाई
?
त्यो होईन । हामी निरन्तर रुपमै जनता संग छौ । राज्यको हरेक निकायबाट पछाडी पारिएकाहरुको वकालत गर्दे आएका छौ । तैपनी जनतालाई अझै पनि संगठित गर्न नसकेको भने स्वीकार गर्नुपर्छ ।तर अहिले पहिले जस्तो छैन । हामीलाई सबैले बुझीसकेका छन् । हाम्रो पार्टी देशैभर झांगिएको छ । बिस्तारै बिस्तारै देशै जनमुक्तिमय बन्ने वाला छ । किनभने अबका पुस्ता अध्ययनशील छन् र पार्टीको बिचार र सिद्धान्तलाई राम्ररी बुझेर अघि बढ्नेछन् भन्ने हाम्रो बिश्वास हो ।
प्रश्न : खर्च कति गर्नुभयो, पैसा कसरी जुटाउनु भएको छ नि?
हाम्रो पार्टी पैसाले लड्ने पार्टी हैन । बिचारले लड्ने पार्टी हो । हामीले अरुले जस्ता झुक्याउने , ढाट्ने पनि कहिल्यै गदैनौ । जे हो त्यही भन्छौ ।
अब चुनाबमा प्रचार प्रसार , पार्टी कार्यकर्ताको खाजा नास्ता , गाडी भाडा लगाएतका कुराहरुले पैसा त अत्यावश्यक नै हो । तैपनी मैले साथी भाई , ईष्ट मित्र सबै संग सहयोग मागेर खर्चलाई मेन्टेन गरेको छु । अहिले सम्म दुई लाख बढी खर्च भएको छ । चुनाव आउन अझै केही दिन बाकी छ । प्रचार अभियानलाई अफ सशक्त बनाउदै छौ ।
प्रश्न : कतिले दिन्छन् रे नि तपाईलाई भोट, केही बुझ्नुभएको छ ?
— बिगतमा भन्दा यस पटक राष्टिय जनमुक्ति बिचार बुझेर भोट हाल्नेहरुको जमात बढेको छ । फेरी हामीले पनि पछाडि पारिएकाहरुलाई संगठित गर्ने, उनीहरुको अधिकारको वकालत गर्ने लगाएतका काम गरेकाले पनि जित्ने आधार देखिएको छ ।
प्रश्न : के भनेर भोट माग्दै हुनुहुन्छ नि ?
हामीले नयाँ नेपाल निर्माणको लागी , बिगत देखि अहिले सम्म भैरहेको हरेक किसिमको बिभेदको अन्त्यको लागी हामी लाई भोट दिनुस भनिराखेका छौ । एकल जातिय पहिचान सहितको संघियताको लागी मत दिनुस भनेर भनिराखेका छौ । मुलुकमा ब्याप्त भ्रष्टाचार अन्त्य र समग्र पाल्पाको बिकास संगै पहिचान सहितको मगरात प्रदेशको लागी भोट दिनुस भनिराखेका छौ । तर त्यो तपाईले बुझ्नुपर्छ मगरात मगरको प्रदेश होईन, मगरले मात्रै राज गर्ने भन्ने हैन । त्यो त एैतिहासिकताको निरन्तरताको नाम हो ।
पहिचानको नाम हो । अनि हामीले भनेका छौ २०६४ सालको संबिधान सभाको हत्यारा अहिलेका ठुला भनिएका चार दल र मधेसी मोर्चा हुन् । संबिधान सभाका हत्यारालाई मत दिनुभन्दा हामीलाई दिनुस भनेका छौ । मतदाता कन्भिन्स भएका छन् । मतदान तिम्रो लागी गर्नुपर्छ , भबिष्यको सन्ततीको लागी गर्नुपर्छ र समृद्ध नयाँ नेपालको लागी घर चिन्हमा मतदान गर्नुपर्छ भनेर भनीरहेका छौ ।
प्रश्न :यति भन्दैमा भोट देलान् र ?
हामीले बिचारले जितेर मत माग्ने प्रयासमा छौ । जति पनि नेपालमा पछिल्लो परिबर्तनहरु भैरहेका छन् ति परिबर्तनहरु राष्टिय जनमुक्ति पार्टीको बिचारले गर्दा भएका हुन् । अहिले उठेका संघियता, गणतन्त्र, अग्राधिकारका कुराहरु हाम्रो पार्टीले २० बर्ष अघि देखि निरन्तर रुपमा उठाउदै आएको कुरा हो । पहिचार र अग्राधिकारका आवाज हामीले उठाएका हौ । हाम्रो नारालाई अरु पार्टीले चोरेका मात्रै हुन् । हाम्रै बिचारले नेपालमा राज गरेको छ । हाम्रै नितिले राज्य चलेको छ ।
हो त्यही कुरा बल्ल नेपाली जनताले बुझ्दै गएका छन् । त्यही भएर पनि हामीले यस पटकको निर्बाचनमा जित्ने आधार बनेको छ भनेका हौ ।
प्रश्न : तपाईको पार्टी लाई त जातिवादी मगरको पार्टी भन्छन् नि,भनेपछि अरु जातिले कसरी भोट हाल्लान् त?
— हो त्यो नबुझ्ने हरुले लगाउने आरोप मात्रै हो । हामीले त जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको कुरा उठाएका छौ । नेपालमा जति जाति छौ त्यही सख्याको आधारमा समानुपातिक रुपमा राज्यको हरेकम अंगमा समानुपातिक सहभागिता रहोस भन्ने आवाज उठाउने पार्टी हौं ।
पछाडि पारिएकाहरुलाई हामीले संगठित गर्र्यौ , उनीहरुले कुरा बुझे र हामी संग आए । तिनिहरु भनेका मगर मात्रै हैन यहाका सम्पुर्ण आदिबासी जनजातिहरु, महिलाहरु लगाएतका छन् । जातिबादी भन्नेहरु आफै जातिवादी हुन् । त्यसरी आरोपै लगाउने हो भने त काग्रेसलाई उपाध्यायको पार्टी, एमालेलाई जैसीको र माओबादीलाई छ्यासमिसे बाहुनको पार्टी भने भैगोनि । हामीत अधिकार नपाएकालाई अधिकार दिने भन्दै हिडेका छौ । फेरी हाम्रो पार्टीमा बाहुन क्षेत्रीहरुपनि छन् । अरु जातिका पनि छन् । त्यसैले नबुझ्नेहरुले लगाएको आरोप मात्रै हो ।
प्रश्न :चुनाब जित्नुभो भने के गर्नु हुन्छ नि ?
चुनाब जितेमा संघियता बादीहरु संग मिलेर अघि बढ्ने हो । एकल जातिय पहिचान सहितको संघियताको मुद्धालाई संबिधानमै स्थापित गर्नको लागी आवाज उठाउने छु ।
प्रश्न : हार्नु भो भने नि ?
बास्तमा बिचार ठुलो हो। मान्छे मर्ला, चुनाबमा हार्ला तर बिचार मर्देन । सिद्धान्त, बिचार , नारा सही छ भने निर्बाचनमा हार्देमा केही फरक पर्देन । एक न एक दिन अवश्य जितिन्छ । किनभने सत्यको एक न एक दिन बिजयी भएरै छोडेको उदाहरण जहाँ पनि छ । हारेपनि पछाडि पारिएकाहरुलाई आफ्नो अधिकारको लागी आवाज उठाउन उत्प्रेरित गरिरहने छु ।