संविधानसभा-२ भित्र जनजाति छिर्न नदिने राजनीति

Read Time:17 Minute, 33 Second

यदि रामहादुर थापा (बादल) क्षेत्री र केबी गुरुंग जनै लगाउने जातको भा’को भए उनीहरु जमानामै सरकार प्रमुख बनिसक्नेथिए । यी हक्की र खुबीवानहरुसंग पुर्खा भीमसेन थापा मगर जस्ता  ३२ बर्षसम्म मुख्तियारी चलाएका र देशलाई नमूना बनाएका दूरदर्शी राजनीतिज्ञको विरासत प्राप्त छ । 

जहानिया राणा शासन  बिरुद्ध आन्दोलन छेडेर नवबिहानी ल्याउन हांसीहांसी शहादत दिन सक्ने प्रथम शहिद लखन थापा मगर र सुपति गुरुगं जस्ताहरुको  गौरवपुर्ण ईतिहास छ । तर बिडम्बना  !
रौतहत ६ मा देबेन्द्र प्रसाद पटेल  र काठमान्डु २ मा झक्कु प्रशाद सुबेदीसंग चुनाव हार्ने र पछि जनजाति सीट हडपेर प्रधानमन्त्री चप्काउने   माधवकुमार नेपाल ( माकुने)हरुले राज गर्ने देशमा यस्तै हुन्छ । जनताको भाग्य लेख्ने सभासद भवन राजदुत पदसंग साटि श्रीलंका उड्ने ललितपुरका लठुवा शुशिलकुमार अमात्यका कारण त्यस थलोमा पुग्न सक्ने माकुनेहरुकै कारण जनजातिहरुको दुर्दिन चलिरहेकोले तत्काल यो संभावना प्राप्तका निम्ति ठूलो संघर्ष चलिरहेकोछ ।
 
जनजाति शल्यक्रियाका जानकार माकुने, जातीय सपनाका बिशेषज्ञ पुकडा (पुष्पकमल दाहाल) र जनजाति तह लगाउन सिपालु जेठो दलका ठुला सुको (सुशिल कोईराला) नेतृत्व रहेको दलका तामझामबीच उपेक्षितहरुकै भाग्य कोर्ने युगमा एकपटक आउने पर्व संविधानसभा  शुरु हुन गैरहेकोछ तर यहि चुनावमा जनजातिहरुको कम्ताबिजोग उस्तै छ । प्रमुख दलका उम्मेदवार सुचीमै ति छिर्न सकेका छैनन ।  नसकेपछि ति चुनावी मैदानमै छैनन ।  हतियारको बलमा दश बर्ष लडी  पुकडालाई सिंहदरवारको सिंहासनमा बसाली फेरि मोहन पोखरेललाई सिंहदरवार चढाउन अर्धभूमीगत भएका बहुसंख्यक  बाँदर सेनाहरु चुनावी मैदानमा नभएपछि जनजाति टन्टा त्यसै साफ़ हुने नै भो !
संविधानसभा -१ मा चितवनबाट सिंहदरवार उक्लेका बादल , मनांग र कास्कीबाट देबप्रसाद गुरुंग,तनहुं २ बाट सुरेश आले मगर लगायत करिब ५ दर्जन सभासदहरु प्युठानका पोखरेल बाजेलाई बोकेर हिंडेकाछन्, जसमध्ये  अधिकाँश जनजातिनै छन् । त्यसैले पनि प्रमुख दलबाट  टिकट हात पार्नेमा जनजातिको साटो जनै लगाउनेहरुको हालीमुहाली हुने नै भो । पहिलो संविधानसभामा जनजाति ककस बनाई सामुदायिक मुद्दामा दलको ह्विप समेत उल्लंघन गर्ने सभासदहरुलाई यसपालि टिकट नै दिईएन । दिईएपनि तिनलाई हार्ने संभावना भएका ठाँउमा पुर्याईएकोछ । पहिलो संविधानसभामा सबैभन्दा बलिया र एकजुट जनजातिहरु भएको देखेका ठुला दलहरुले प्रभावशाली  जनजातिहरुलाई त्यहाँ छिर्नै  नदिन यसपटक गर्नु प्रपन्च गरेका छैनन र !

किनकी त्यतिबेला जबजब संविधानसभा  भवनमा  जनजाति सभासदका आवाज एक स्वरमा घन्किन्थ्यो ३ दलका ९ जना बाहुन नेताहरुका दिमाग़ त्यसै चर्कन्थ्यो । त्यसैको रिस संविधानसभाको हत्या गरेर साधे- न रहे बाँस, न रहे बाँसुरी । त्यतिबेला यि पात्रहरु  बादल , कुलबहादुर गुरुंग र स्व० भीमबहादुर तमांगलाई  प्रधानमन्त्रिको कुर्ची देखाई जनजाति सभासदहरुलाई थुम्थुम्याउन लगाई संकटमोचनको रुपमा उपयोग गरियो ।तर अहिले यी पात्रहरु नै  संबिधानसभाको चुनावी दौडमा छैनन् । बादल बहिस्कारबादी, गुरुंग समानुपातिकमा छन् भने तामांगको देहान्त भैसकेको छ । गएको चुनावमा भारी मतले विजयी बादलको ठाँउ  यसपालि बिश्वभक्त दुलालले   लिएकाछन् ।

 नेकाका महामन्त्री रहेका कुलबहादुर गुरुंग राजनीतिक र उमेरको हिसाबले निकै पाका र अनुभवी हुन । जीवनभर  बिसेश्वर प्रसाद कोइरालाको अनुयायी भई समाजबाद र जय नेपालको वकालत गर्दै हिंडेका उनले आफ्ना नेताले जातिय राजनीति गरेको  अहिलेसम्म  भेउ पाएका छैनन् । उनि सदा जातिय राजनीति देखि टाढै बसे । गुरुंगले नेपाली कांगेसले लिएको बहुपहिचान र ६ प्रदेश नितिमा अडान छाडेनन् । बाहुनहरु भन्दा एककदम अगाडी निक्लिएर आफ्नै जातिहरु बिरुद्धमा ठुलो स्वरमा जेहाद छेड्न सम्म पछि परेनन् । उनै गुरुंगलाई अहिले कांग्रेसले चुनावीमैदानमा प्रबेश दिएन । गएको चुनावमा ईलाम क्षेत्र नं ३ बाट १६२८६ मत ल्याई एमालेका प्रत्याशी धर्म प्रशाद उप्रेतिलाइ २ हजार मतले पछि पारेका थिए । सोही जिल्ला एमालेको तर्फबाट झलनाथ खनाल १ नं र क्षेत्र नं २ बाट सुबास नेम्बांगले बिजय हात पारे र दुबैजना क्रमश प्रधानमन्त्री र सभामुख बन्न सफल भएका थिए । जबकि ति दुई भन्दा सीनियर  गुरुंगलाइ उनका नेताले नेकाभित्र फनफनी घुमाई राखे । अन्त्यमा टिकटबाट बन्चित गरियो । अब उनको थोरै आशा भनेको समानुपातिक हो, जिते त पाए, नत्र गुरुंगको राजनैतिक जिवन गुमनाम पथमा लम्किरहेको प्रत्यक्ष देखिन थालेकोछ  ।

जनजाति चेलीहरुको बिजोग
यदि रोल्पा रुकुमका मगर चेलीहरु जनयुद्धमा नलागेकोभए माओवादी युद्ध आजको अवस्था सम्म आईपुग्थेन । स्वयं पुकडाले कुनैबेला बोलेकाछन्, यो कुरा । तर ति मगर चेलीहरुका हालत बेहाल छ ।  ४ मगर चेलीहरु रोल्पाका अखिल महिला क्रान्तिकारीकी केन्द्रिय अध्यक्ष जयपुरी घर्ती मगर,सास्कृतिक फांट पाल्पाका लिलाकुमारी बगाले सोमै मगर, क्षेत्र नंबर १ गोर्खाका पार्बती थापा मगर र सिन्धुलीकी नरकुमारी पुलामी मगरको राजनैतिक जीवन यात्रा  कम्तिको दर्दनाक छैन । लिलाका श्रीमान पाल्पा,ठिमुरे गाबिस ढुस्टुंग नारायणी माविमा शिक्षक छदै माओवादी राजनीति गरेको आरोपमा रिब्दिकोट जंगलमा  सेनाले मारेको थियोे । अन्य चेलीहरुको हाल एउटै-   तिनको जनयुद्धकालमा शाहीसेनाको  गोलिले सिन्दुर पुछिदिएको थियो । आफ्ना श्रीमानहरुसंग देखेको सपना, “गरिब,उत्पीडित  दासत्वको जंजिर तोड्दै जनतालाई मुक्ति दिलाउन र कम्युनिस्ट सत्ता ल्याउन” काखमा दुधे बालकलाई दुध चुसाउदै  चारैजना लडाईको अग्रमोर्चामा होमिएका थिए । पहिलो संबिधानसभामा प्रत्यक्ष तर्फ बाट जयपुरी घर्ती मगरले रोल्पा १ बाट २६५०५ मत ल्याई कांग्रेसका माधव प्रशाद आर्चायलाई ४९९६ मतमै रोकेका थिए । झलनाथ मन्त्रीपरिषको कार्यकालमा पार्टीले घर्तीलाइ महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिएपनि महिलालाइ ३३ प्रतिशत सीट नदिईएको भन्दै हप्ता दशदिनको सिंहदरबारको यात्रालाइ लात हानेर निस्किएकि थिईन ।  
लीला बगालेले पाल्पा २ बाट एमालेका  हस्ति सोमप्रशाद पांडेलाइ करिब २ हजार मतको फरकमा १२७५० ल्याएर माओवादीलाई बिजय बनाएकी थिईन । त्यस्तै गोर्खा १ बाट पार्बती थापा मगर श्रेष्ठले माओबादीबाट ४०६०६ मत ल्याएर  नेपाली कांग्रेसका प्रभावशाली नेता चिरन्जिबी वाग्लेलाइ ९१४२मै थचक्कै बसालिदिएकि थिईन । सिन्धुली ३ की नरकुमारी पुलामी मगरलाई त पार्टीले उम्मेदवार नदिएपनि जितेर देखाईदिएकि थिईन । पार्टीले टिकट नदिएर बिश्वसधात गरि त्यो क्षेत्रमा जनमोर्चासंग तालमेल गरि एमाओबादीले लिलामणी पोर्खेललाइ उठाएको थियो । पुलामीले त्यस क्षेत्रमा पार्टीको बिरुद्धमा बागी उमेद्धवार दिदा पार्टीले कारबाही मात्र गरेन, उनको चुनाव प्रचार प्रशारका सामाग्रीहरु पनि जफत गरि दिएको थियो ।
 पुलामीले बच्चालाई काखमा राखी रातदिन घामपानी,भोक प्यास र निद्राको कुनै प्रवाह नगरि खाली खुट्टामा एक्लैले भोट माग्दै हिडेर नेकाकी दिप शिखा शर्मा ढकाललाइ ६५१२ मत र एमालेका सूर्य पाख्रिनलाई ६०४९ मतका बिरुद्ध १४९४४ मतले जितेकि थिईन  । उता पार्टीले उठाएको आधिकारिक उमेद्धवार लिलामणी पोखरेलको भने जमानत नै जफत भएकोथियो ।  यी मगर चेलिहरुको यो संबिधानसभाको निर्बाचनमा नामनिशान छैन । तर ब्रहामण समुदायका   धर्मशिला चापागाई जस्तालाइ भने दोहोर्याएर पुन: झापा ३ बाट उमेद्धवार बनाईएको छ ।

झर्ला र खाँउला भन्दाभन्दै सुक्यो

तैपनी यसपालि पनि झर्ला र खाँउला भन्दै ठुला दलका जनजाति नेताहरुले अन्त सम्म ज़ि हजुरी गर्दै बसे । तर अगुल्टोले हानेको कुकुर बिजुली चम्कदा किन तसिर्सियोस – जनजाति तह लगाउन सबै हतकन्डा अपनाइयो । यो पटक छानि छानि जनजाति अगुवाहरुलाइ चुनावमा टिकट दिईएन । एमालेले जनजातिलाई फसाउन यो पटक काइदाको फर्मुला प्रयोगमा ल्यायोे । एमालेले समानुपातिकमा सबै नयां मापदण्ड अनुसार भन्दै बिगतमा प्रत्यक्षबाट सभासद् भएकादेखि चुनाव हारेका नेताहरुलाई समानुपातिकमा राखेको छ । यो फर्मुलाभित्र चुनाव अघिसम्म कुनै जनजातिले बिद्रोह नगरोस र धेरै मत संकलन गर्न सकियोस भन्ने अभिस्ट छिपेको प्रस्ट देखिन्छ । पछि चुनाव हार्ने या अन्य प्रभावशाली नेतालाई यी सीट आँवटन गरिनेछ ।
प्रत्यक्षतर्फ उमेदवार बनाईएका लम्जुंगका पृथ्बीसुब्बा गुरुंग, सिन्धुलीका दलबहादुर सुनुवारलाई चुनाव जित्न सहज छैन । गुरुंग जनजाति सभासद ककसको संयोजक हुंदा पहिचान र संघियतामा उग्ररुपमा आवाजबुलन्द गर्नेमा पर्थे । त्यहि आवाजले एमाले र कांग्रेस भित्र ठुलै भूकम्प मात्र गएन , अशोक राई जस्ता नेताहरुले जातिय मुक्तिको लागी संघियता , बर्गीय मुक्तिकोलागी साम्यबाद भन्दै सामाजबादी पार्टी र डा० चैतन्य सुब्बा, पासांग शेर्पा, डा० कृष्ण भट्टचन,कुमार राइ लगाएतले लोकतान्त्रिक समाजबादी पार्टी र्निमाण गरेर नयाँ प्लेटफर्म बनाउदै छन । उनै पृथ्बीसुब्बा गुरुंगको पदचांपमा पाल्पाका दलबहादुर राना मगर , स्यागंजाका हितकाजी गुरुंग , कास्कीका तुलबहादुर गुरुंग ,तनहुंका किरण गुरुंग र नेकाका ईन्द्रबहादुर गुरुंगहरुलाइ प्रत्यक्षमा टिकट नदिएर भोट बैंकको लागी समानुपातिकको बन्दसुचिमा राखिएको छ ।  यिनलाई  समानुपातिक बाट सभासद बनाईन्छ,बनाईदैन समयलेनै देखाउला । तर यी नेताहरु जनजाति मुद्दामा यसअघि पृथ्वी जतिको कडा नेता नभएकोले एमालेलाई डर नहुनसक्छ ।

यो चुनावमा दलहरुबाट अधिकाधिक जनजाति सभासद कसरी निकाल्न सकिन्थ्यो त्यसमा योजना बनाई दवाव दिईनुपर्नेमा हुन सकेन । दलका जनजाति नेताहरु पनि टिकट काटिदेलान् भनि चुं बोलेनन् । जनजाति महासंघकाे रोल प्रभावकारी भएन ।
तथापि ८ आश्विन  २०७०का दिन नेपाल महासंघका अध्यक्ष नगेन्द्र कुमालको नेतृत्वको टोलीले  संबिधानसभा निर्बाचनमा आफ्ना मूद्धा घोषणपत्रमा समेट्नु पर्ने भन्दै दलहरुको ध्यानाकर्षण गराएको छ । महासंघले ११ बुंदे पत्र तत्कालीन संबिधानसभामा प्रतिनिधित्व गर्ने ठुला दलहरु ,उच्चस्तरीय राजनीतिक समिति ,अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष र निर्वाचन आयोगलाई बुझाएको छ ।
ज्ञापनपत्रमा जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व तथा न्यूनतम एक जाति एक प्रतिनिधि सुनिश्चित गरिनु पर्ने , सर्बोच्च अदालतको फैसलाअनुसार संबिधानसभामा प्रतिधित्वि गर्ने सभासद् सम्बन्धित जातीय संस्थाको सिफारिसलाई राज्यले मान्यता दिनु पर्ने उल्लेख छ । प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट प्रतिनिधित्व हुन नसकेका आदिबासी जनजाति समुदायलाइ उनीहरुकै आधिकारिक तथा परम्परागत संस्थाको सिफारिसमा प्रतिनिधित्व गराउनु पर्ने माग राखिएको छ ।
बिगतमा नेपाल आदिबासी जनजाति महासंघ र नेपाल सरकार बीच दुईपटक भएको २० बुंदे र ९ बुंदे सम्झौता पालना गर्नुपर्ने कुरा पनि छ । तर यो ज्ञापनपत्र बुझाएपछि कुनै फलोअप गरिएको छैन ,बरु महासंघका नेताहरु आ- आफ्ना पार्टीको झन्डा बोकी गाउंगाउ  भोट माग्न पुगेकाछन् । यसले के देखाउछ भने आँउदो संबिधानसभामा जनजाति सभासदको न्युन उपस्थित भयो भने ककस त बन्ला तर बनिहाले पनि पहिला जस्तो आवाज निकाल्न सकस हुने देखिन्छ ।

जनजातिहरुका निम्ति अहिलेको यस्तो जटिल अवस्थामा  जनजाति दलहरु,राष्ट्रिय जनमुक्ति पार्टी, संघीय समाजवादी पार्टी,तामसालिगं पार्टी लगायतका  दलहरुले संभव भए एकिकरण नभए समिकरण वा चुनावी मोर्चावन्दी गरेर गएको खन्डमा जनजातिको सिट पहिला भन्दा धेरै आउन सक्ने अवस्था छ । त्यसो हुन गए भोलि बन्ने जनजाति सभासदको ककसले राम्रो रोल खेल्न सक्छ । तर यो सबै कार्यको संयोजन गर्नुपर्ने नेपाल आदिबासी जनजाति महासंघलाई नै चटारो नदेखिएकोले यसमा आशलाग्दो उपलब्धि प्राप्त हुन सकिरहेकोछैन  ।

– हुमबहादुर थापा पचभैया मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %