आँखा भा’का भन्दा अब्बल सापकोटा सर

Read Time:13 Minute, 21 Second

चञ्चले स्वभाव । रेडियो सुन्न रुची राख्ने । समाचारहरु कण्ठ पार्ने खुबी थियो श्रीकान्त सापकोटाको । विसं. २०४३ साउन ६ गते थुमाकोडाँडा–७ सिन्दुरचौर, कास्कीमा जन्मिएका उनी गाउँघरमा सबैका प्रिय थिए । डिल्लीराम र  राधिका सापकोटाका छोरा उनी पाँच वर्ष टेक्न नपाउँदै  आँखामा समस्या आयो ।

 

 

अशिक्षित घरपरिवारले गाउँकै जडिबुटिको उपचार गरे । रतन्धोले सताईएका श्रीकान्तको आँखामा चुक मात्र हैन, पुरौनीको झोल समेत हालियो । त्यही कारण उनले पूर्ण रुपमा दृष्टि गुमाईसकेका थिए । घरको आर्थिक अवस्था निकै कमजोर भएका श्रीकान्तले समयमै उपचार पाउन सकेनन् ।
ठुली आमा र मामाको सहयोग गर्ने भएपछि श्रीकान्तका मुहारका खुसी छायो । आँखाको उपचार गर्न उनी भरपुतर आँखा अस्पतालमा पुगे । तर, त्यहाँ संभव भएन । चारदिनपछि उनलाई काठमाडौं विर अस्पताल लगियो । १३ दिनको बसाईपछि आँखामा दृष्टि आउन नसकिने डाक्टरले बताए । डाक्टरले भारतको सितापुर लगेमा सञ्चो हुन सक्ने सुझाव दिए । ‘रकम अभावका कारण भारत जाने अवस्था भएन, कहिल्यै आँखा देख्न नसक्ने भएको थाहा पाएपछि म निकै रोएँ’ श्रीकान्त विगत सम्झिदै भन्छन् ।
मनभरी दुःखको पोको बोकेर उनी पोखरा फर्किए । आँखामा दृष्टि नभए पनि शिक्षाको दृष्टि भर्ने रहर पलायो उनमा । तर, आँखा नदेख्ने छोरोलाई उनकी आमाले पोखरा राख्न मानिनन् । रोइकराइ गरेपछि श्रीकान्तको जीत भयो ।
२०५२ भदौ २५ गते पोखराको कुँडहर प्रावि दृष्टिबिहिन शाखामा भर्ना भएका उनले १० दिनमै ब्रेल लिपी जाने । १५ दिनमा अक्षर पढ्न सिके । पढ्नमा निकै लगाव देखाएका उनी खुब तेजिला थिए । त्यही भएर उनी अमरसिंह उच्च माविमा कक्षा ६ मा भर्ना हुन चहान्थे । तर, आर्थिक अभावले फेरी सतायो ।
कुडहर प्राविका संस्थापक नेदरल्याण्डका ईञ्जिनियर ज्याक अबले सहयोग गर्ने वचन दिएपछि ढिलो गरि २०५४ सालमा उनी कक्षा ६ मा भर्ना भए । ‘एक त म कक्षा जम्प गएर आएको, त्यसमाथी ढिला भर्ना भएपछि बढी मेहनत गरे’ उनी भन्छन्‘खुसी भएर पढेकोले होला परिक्षामा म पाँचौ पोजिसनमा आए ।’
पढाइमा निकै मेहनत गर्ने उनी कक्षा ७ मा अंग्रेजी र नेपाली माध्यम दुवैमा होल फस्ट भए । त्यसपछि उनलाई पढाइमा अझ लगाव जाग्यो । पढाइका अतिरिक्त कविता लेखन, वक्तित्वकला, निबन्ध लेखन लगायतका क्षेत्रमा पोख्त उनी सँधै प्रथम भए ।
२०५८ सालको एस.एल.सी. मा ७२.६२ प्रतिशत अंक ल्याएर नेपालभरका दृष्टिविहीन विद्यार्थीमध्ये प्रथम भए । जसले उनलाई राष्ट्रिय अपाङ्ग प्रतिभा पुरस्कार दिलायो । ‘एसएलसी दिएर रिजल्ट कुर्ने सयममा पैसा नभएर म कति दिन त भोकै बसे । पाँच दिनसम्म भक्कु रोटी खाएँ’उनी भन्छन्‘एक हजार रुपैंयाले तीन महिना कटाएको हुँ ।’
एसएलसी उत्तिर्ण गरे पनि कलेज कसरी पढ्नेहोला भनेर उनी खुबै भौतारिए । तर, जहाँ इच्छा त्यहाँ उपाए भनेजस्तै उनलाई युवाका लागि अवसर नेपाल ले छात्रबृत्ति दियो । त्यसमा पुरस्कार राशि १० हजार पाउने भएपछि उनका साहास पलायो ।
त्यतिबेलै उनले पोखराको हिमचुली एफएममा हप्तामा एउटा कार्यक्रम चलाउने अवसर पाए । जसले उनलाई नेपालकै पहिलो रेडियोकर्मी बनायो । ‘पहिलो रेडियोकर्मी भएपछि खुब खुसी भए’ उनी विगतका दिन सम्झदै भन्छन्‘यसले मलाई झन् हौसला थप्यो ।’



पृथ्वीनारायण क्याम्पसमा बि.एड.दोस्रो वर्षका विद्यार्थीलाई शिक्षा मनोविज्ञान पढाउँदै दृष्टिविहीन प्राध्यापक श्रीकान्त पौडेल । तस्वीर ः छवि मगर

 

 

 

        अंग्रेजी मुख्य विषय लिएर पढेका उनले २०६१ सालमा आइ.एड टप गरे । त्यसपछि उनले स्ववियूले गर्ने सम्मान, फण्डिन्द्र स्मृति सम्मान पाएपछि झन् हौसला मिल्यो । त्यसपछि उनले बिए.एड मा पनि मुख्य विषय अंग्रेजी लग्ने योजना बनाए । तर, धेरै गाह्रो हुने भन्दै धेरै सजिलो विषय पढ्न सल्लाहा दिए । उनले हिम्मत हारेनन् ।
        धेरैजसो दृष्टिविहीनले नेपाली विषय लिएर पढेको हुँदा उनलाई अंग्रेजी विषय पढ्न मन लाग्यो । कारण श्रीकान्त सँधै चुनौती मन पराउँथे । बि.एड पनि २०६४ मा प्रथम श्रेणीमै पास गरे । ए.एड पनि अग्रेजी पढ्ने योजना थियो तर, सकनेनन् ।
        पृथ्वी नारायण क्याम्पसमा अंग्रेजी विषय लिई भर्ना भए पनि फोनेटिक्स र फोनोलोजी दृष्टिविहिन मैत्रि विषय नभएको पुस्तक र सन्दर्भ सामाग्रीमा पहुचको अभाब, नयाँ प्रविधि ,प्राविधिकको अभाव र आर्थिक अभावका कारण सहयोगीको व्यवस्था गर्न पनि असहज भएकाले भर्ना भएको ९ महिना पछि शैक्षिक योजना तथा व्यवस्थापन विषय परिवर्तन गरे ।
    ‘अंग्रेजी विषय पढ्न खोज्दा १० वटा किताब हुन्छन्, पढ्न मुस्किल हुन्छ भन्ने सल्लाहा पाएँ’ उनी भन्छन्‘हुन पनि ठिकै हो, फेल भए ने यत्रो मेहनत खेर जान्छ भनेर शैक्षिक योजना तथा व्यवस्थापन विषय रोजे ।’ उनले २०६८ कात्र्तिकमा एम.एड पास गरे । एउटा विषयमा पढाइ सकाए पनि उनी रेडियोकर्मीका रुपमा थिए ।
        पृथ्वीनारायण क्याम्पसमा २०६९ जेठ ३१ गते शैक्षिक योजना तथा व्यवस्थापन विषयका लागि केही आंशिक शिक्षक माग गरिए अनुसार श्रीकान्तले पनि आवदेन हाले । १३ जनाले परिक्षा दिएकोमा उनले एक नम्बरमा नाम निकालेका हुन् । २०१७ सालमा स्थापित पृथ्वी नारायण क्याम्पसमा श्रीकान्त नै पहिलो दृष्टिविहिन प्राध्यापक हुन् ।
     आफू पढेकै क्याम्पस पढाउन पाएपछि निकै उत्साही छन् । हेला होचो गर्नेहरुका अगाडी उनी गतिला उदाहरण बनेका छन् । ‘पढाउनु भनेको धेरैलाई शिक्षा दिनु हो, आफ्नो हेर्ने आँखा नभए पनि संसार देख्ने आँखा शिक्षा हो’ उनी भन्छन्‘विश्वास गरेपछि दृष्टिविहीनले पनि संसार देख्न सक्छन् ।’
गरे नहुने के छर भन्ने कुराको प्रमाणित गर्न पाएकोमा श्रीकान्त निकै खुसी छन्, तर यत्तिमा उनी सन्तुष्ट छैनन् । धेरैले उनलाई अविश्वास गरे पनि यतिबेला विश्वासको वातावरण गराउँदै गएका छन् उनी । ‘एकदुइदिनसम्म त विद्यार्थीहरु पनि दोधार भए, आँखा नदेख्नेले कसरी पढाउँला भनेर’ उनी भन्छन्‘तर, अहिले सबैले विश्वास गरेका छन्, मेरो कक्षामा विद्यार्थीहरु बढिरहेका छन् ।’
        शरिमा चिटिक्क परेको सर्ट र पेन्ट । पाउमा लेदरका जुत्ता । आँखामा कालो चस्मा । एक हातमा सेतो छडि अर्को हातमा ब्रेल लिपिको पुस्तक लिएर उनी दैनिक क्याम्पस जान्छन् । आँखाको ज्योति छैन उनीसँग । तर, ज्ञानको ज्योतिका भण्डार छन् ।
        २०६९ असार १९ गतेदेखी श्रीकान्तले पोखराको पृथ्वीनारायण क्याम्पसमा पढाउन सुरु गरेका हुन् । आँखाको ज्योति नभए पनि उनले यतिबेला धेरैलाई ज्ञानको ज्योति बाँडिरहेका छन् । बि.एड दोस्रो वर्षका विद्यार्थीलाई शिक्षा मनोविज्ञान विषय पढाउँछन् उनी । कक्षामा दैनिक ६०/७० जना विद्यार्थी आउँछन् । उनले ब्रेल लिपीको पुस्तकबाट मजाले अंग्रेजीमा नोट लेखाउँछन् ।
        उनले पठाएको कुरा विद्यार्थीहरु खुब चाख मानेर सुन्छन् । थोरै विद्यार्थी भएको सेक्सनमा उनको पढाईका कारण अहिले विद्यार्थीहरु बढेका छन् ।  ‘चााहे मानिस ध्वनी विहिन होस, चाहे दृष्य विहिन होस वा स्पर्श विहिन नै किन नहोस ऊ संग दृढ इच्छा शक्ति छ भने जस्तोसुकै चुनौतिपूर्ण र काम पनि गर्न सक्छ’ उनी भन्छन्‘त्यसैले त मैले यो चुनौतीपूर्ण काम गरेको छु ।’
दृष्टिविहीन भन्ने बित्तिकै केही गर्न सक्दैनन् भन्ने भ्रम समाजमा कायमै छ । कतिले त अझ हेलाहोचो सहनु परेको छ । दृष्टिविहीनलाई धेरैले नकरात्मक नजरमा हेर्छन् । सहनै नसकिने जवाफ लगाउँछन् । तर, श्रीकान्त सापकोटाले समाजमा व्याप्त सबै भ्रमहरु मुक्त गरिदिएका छन्–पृथ्वीनारायण क्याम्पसको पहिलो प्राध्यापक भएर ।
‘सबैभन्दा ठुलो शिक्षा हो,समाजमा रहेर आलोचनालाई पनि सकारात्मक रुपमा स्वीकार्न सक्नुपर्छ’ उनी भन्छन्–‘ पढाईलाई त्यति महत्व नदिईएको अवस्थामा मैले आफ्नो यो पेशालाई चुनौति र अवसरको रुपमा लिएको छु ।’
        अझै पनि उनलाई समाजको डर कायमै छ । दृष्टिविहीले कसरी पढाउँछ भनेर कुरा काट्ने गरेकोले चुनौतिलाई उनले अवसर सम्झेका छन्  । उनको हरेक काममा सहयोग गरेकी छिन् श्रीमती शोभा पौडेलले । २०६१ बैशाख १ गते शोभा पौडेलसंग बिबाह गरेका श्रीकान्तको २०६२ बैशाखमा जन्मिएको छोरो उत्सब साथमा छन् । उनी कक्षा २ मा पढ्छन् ।
    क्याम्पस पढाउन सुरु गरे पनि धेरै गर्न बाँकी रहेको बताउँछन् श्रीकान्त । ‘समाजलाई केही न केही प्रेरणा दिनसक्छु की भन्ने लागेको छ, मैले अझ धेरै गर्नु छ’ उनी भन्छन्‘म यहि लाईनमा रहे भने त्रिभुवन विश्व विद्यालयमा अपाङग विभागको प्रमुख हुन चहान्छु ।’
अपाङ्गतासम्बन्धी विषयमा रिसर्च गर्न पन पराउने उनी शिक्षालाई मेरुदण्ड ठान्छन् । अपाङ्गगता सम्बन्धी धेरै संस्था र नेता भए पनि असल काम गर्ने थोरै भएकोमा उनी खिन्न छन् । आँखाभन्दा बलियो शिक्षा भएको दावी गर्ने उनले दृष्टिविहीनले हरेक क्षेत्रमा काम गर्न सक्ने बताउँछन् ।
श्रीकान्त अहिले आफै कम्प्युटर चलाउँछन् । सामाजिक संजाल फेसबुक अपडेट गर्छन् । गुगलमा आफूलाई चाहिने विषयवस्तु खोज्छन् । । ‘ ‘मैले भौतिक रुपमा अन्धकारमय जीबन व्यतित गर्नुपरेपनि प्रज्ञा चच्छुको सहायताले धेरै विद्यार्थी, भावि शिक्षक, सामाजिक कार्यकर्ता, समग्र समाजका अगुवा र सन्ततीहरुलाई शिक्षाको उज्यालो प्रकाशले प्रज्वलीत गर्न चाहान्छु’ उनी भन्छन्–‘सबभन्दा आफ्नो ईच्छा हुनुप¥यो, अगाडि बढ्न कसैले रोक्दैन ।’

मनोज घर्तीमगर,पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %