विश्वभरका मगरलाई एक ठाँउमा भेला पार्ने योजना छ

Read Time:29 Minute, 20 Second

दुत पुन मगर, अध्यक्ष मगरसंघ बेलायत

बेलायतमा   चिरपरिचित हस्ताक्षर दुत पुन मगरको बहुआयामिक ब्यक्तित्व छ । नेपालमा छँदा शिक्षक त्यसपछि  बेलायती गोर्खा सैनिक ,साहित्यकार र दर्जनौ संघ संस्थामा आबद्ध भई समाजसेवी छवि बनाएका पुन अहिले मगरसंघ बेलायतका अध्यक्ष हुन्।

 मगरहरुको शिक्षामा पहुच  पुर्‍याउनु आफ्नो कार्यकालको प्रमुख एजेन्डा रहेको बताउने पुनले गरीब तर जेहेन्दार बिद्यार्थीहरुको लागि छिटै ‘ठुलै’ छात्रबृति  कोष खडा  गर्ने योजनामा छन् । सरकारको मुख ताक्नुको साटो बिदेशमा बस्ने नेपालीहरुले स्वदेशमा यस्ता परोपकार कर्म गर्नुपर्ने बिचार राख्ने यी चिमखोले कांईला ( साहित्यिक नाम) संग राज्यसत्ता डटकमका डा.चजिन्द्र रानाले गरेको कुराकानी –

राज्यसत्ता :-तपाईको व्यक्तिगत जीवन बारे छोट्करीमा बताइदिनोस न

दुत पुन :- मेरो जन्म बि स २०१८  सालमा धौलागिरी अञ्चल ,म्याग्दी जिल्ला अन्तर्गत चिम खोला गाँउमा बुबा स्व शेर बहादुर पुन र आमा जनिमाया पुनको काेखबाट भएको हो ।  प्रारम्भिक शिक्षा नजिकैको  प्राविबाट सुरु भएको हो  भने  एक दिनको पैदल हिंडेर पुगिने मुक्तिराम माविबाट  बि स  २०३६ सालमा एसएलसी उत्तिर्ण  गरे । करीब दुई बर्ष गाँउकै स्कुलमा अध्यापन पेशामा आबद्ध भए ।

हाम्रो गाँउमा  लाहुरे हुने प्रचलन रहेकोमा त्यही परम्परालाई पछ्याउदै सन १९८२ मा बेलायती सेनामा भर्ती  भइयो र सन २०० २ मा अवकास पाँए ।  अहिले म एमओडि नामक एउटा निकायमा कार्यरत छु ।  म श्रीमती जमुना  र  दुई छोरी प्रिया  र  प्रियन्काका साथ बेलायतमा बसोबास गरिरहेकोछु ।  

राज्यसत्ता :- अहिले  मगर संघ युकेको अध्यक्ष हुनुहुन्छ ,अध्यक्ष नहुँदा के के कमी-कमजोरी  देख्नु भएको थियो, के कस्ता योजना बुन्नु भएको थियो र अहिले के कति कार्य गर्न भ्याउनु भयो ?

दुत पुन :–   म मगरसंघ युकेमा पहिला देखिनै कुनै न कुनै रुपमा  आबद्ध  थिए । एक साल  कार्यक्रम संयोजकको भूमिका निर्वाह गरे भने दुई कार्यकाल महासचिव भएर काम गरे । १ कार्यकाल वरिस्ठ उपाध्यक्ष पदमा रहेर काम गरे  ।  मगर संघमा रहेर धेरै कुरा जान्ने र बुझ्ने मौका पाएको छु । अध्यक्ष पदको जिम्मेवारीलाई मैले गौरव र अवसरको रुपमा लिएको छु ।

 समाजसेवा भन्ने कुरा  बेतलबी काम हो त्यसकारण म भन्दा अघिका पदाधिकारीहरुले गल्ती गरेको भन्न चाहन्न । यो एउटा बिसुद्ध जातिय संस्था हो र आफ्नो जातिलाई   दिन सक्ने योगदान दिन भनेर नै सबै साथीहरु यहाँ आउनु हुन्छ वा संघमा लाग्नु हुन्छ, त्यही अनुरुप उहाँहरुले आ-आफ्नो ठाउँबाट योगदान दिनुभएकोछ जस कारण म सबैलाई सम्मान  गर्छु ।  म मगर संघ युकेमा आबद्ध भएर ११ बर्ष जति काम गरे ,जति पनि साथीहरुसँग काम गरे उहाँहरुले गरेको कृयाकलापलाई सधैं भरी सम्मान नै गरेकोछु । जिन्दगीमा काम गर्दै जाँदा सानातिना कमी कमजोरी ,झै- झगडा जस्ता कुराहरु त हुन्छन् नै तर म त्यस्लाई  ठुलो इस्यु बनाएर यो गलत भयो ,चुनौती पूर्ण थियो आदी इत्यादी आरोप प्रत्यारोप कसैलाई पनि लगाउन चाहन्न ।

 मेरो कार्यकलको योजना  भन्नुपर्दा मैले अध्यक्ष पदको उम्मेदवारी दिदाका वाचाहरुनै पुरा गर्ने कोशीस रहने छ जुन म यहाँ छोट्करिमा बताउन चाहन्छु । जस्तै – मगर संघको भवन हुनु पर्दछ ,चिठ्ठी पत्र आदान प्रदान गर्ने ठेगाना हुनुपर्दछ भन्ने सबैको चाहना रहेको छ ।  युकेको भवन भए सम्पूर्ण युके वासी मगरको मात्र नभएर सम्पूर्ण संसार भरिका मगरहरुको नै गौरवको बिषय बन्नेछ । यसको सुरुवात पहिलाको अध्यक्ष ज्युहरुबाट भएको हो अहिले मेरो कार्यकालमा चाँही पक्का किनेरै छोड्ने भन्ने मेरो १ नम्बरको एजेन्डा हो।

 दोश्रो नम्बर चाँही जति पनि हाम्रा मगर बिभुतिहरु छन्-  मगर साहित्यकार जित बहादुर सिन्जाली ,मास्टर  मित्रसेन थापा मगर ,प्रथम शहीद लखन थापा मगर लगायतका नाममा भएका प्रतिस्ठान जो हाम्रो गौरवसंग जोडिएकाछन्- सबैलाई मेरो कार्यकालमा अक्ष्यकोष खडा गरिदिन पहल गर्नेछु । मेरो यो ३ सालको कार्यकाल भित्र ति सबै प्रतिस्ठानहरुमा  एक एक लाखको अक्षयकोष खडा  गरिदिने योजना छ ।

 तेस्रो, जति पनि नेपालका बिकट ठाउँमा रहेका जेहेन्दार तर गरिव  मगर बिद्यार्थीहरुको निम्ती अहिले सम्मकै ठूलो  अक्षयकोष   खडा  गरिदिने योजना छ, यसले ति गरिव तर जेहेन्दार बिद्यार्थीहरुको लागि केही न केही गर्ने छ भन्ने ठानेको छु । हामी मगरहरु पछाडि पर्नुको कारण  शिक्षामा पहुच कम भएर हो , हामीले अहिले सम्म बिभिन्न राहत संकलन कार्यमा धेरै सहयोग गरेका छौ तर यस्तो योजनामा हामीले अहिले सम्म कार्य गरेका छैनौ त्यसैलेपनि  यो बृहद योजना निक्कै प्रभावकारी  हुनेछ भन्ने मैले आशा राखेको छु । यसले धेरै नानीहरुको भविष्य उज्जवल बनाउने छ । 

 क्षमता र ज्ञानले भ्याए सम्म मेरो कार्यकालमा मगर संघ युके तथा संसार भरी छरिएर बसेका मगरहरुलाई सक्दो सामाजिक ,नैतिक ,भौतिक र परी आएको अवस्थामा मेरो औकातले भ्याएसम्म आर्थिक सहयोग पुर्याउनेछु । देश  बिदेशमा छरिएर रहेका आम मगरहरुको भाषा ,धर्म,परम्परा ,संस्कार ,संस्कृति ,भेषभुषा आदी कुराहरुको संरक्षण र प्रबर्दन गर्ने र लोप हुन लागेका पक्षहरुलाई जगेर्ना गर्ने साथै भावी पुस्ताहरुलाई हस्तान्तरण गराउदै लैजाने कुरामा सक्दो कृयासिलता र प्रयास गर्ने मेरो योजना अन्तर्गत पर्दछन ।

राज्यसत्ता :- बेलायतमा मगरहरु कति छन् र तिनको अवस्था कस्तो छ  ?

दुत पुन :-   मगरको थरहरु धेरै रहेको हुँदा जनगणनामा तलमाथि परिरहेकोछ ।  ति थर हरु अन्य जाति सँग मेल खाएकोले नेपालमा मगर जाति अन्य थरमा राखिदिएर मगरको संख्या कम परेको कुरा त हामीले सुनेको देखेकै छौ । यहाँ पनि मगर भित्रको थर बारे गणकले  गल्ती लेखिदिदा अन्योल भई रहेको छ । अन्य जाति जस्तै गुरुङको गणना गर्न सजिलो हुन्छ र जनसंख्या प्रस्ट आँउछ तर मगरको मगर नलेख्नेको मगरमा नगनिने सम्भावना बढी छ र भई रहेको पनि छ, तर हामी मगरको सात (७ ) प्रमुख थरहरुको हिसाब गर्दा लगभग ३०हजारको हाराहारिमा हुनु पर्दछ । अहिले युके मगर संघको ११ वटा शाखाहरु छन् । यसले के जनाउँछ भने हामी युकेमा सबै भन्दा धेरै जनसंख्यामा छौं  ।

मगरहरुको अवस्था समग्रमा राम्रै छ भन्नु पर्दछ । यो देशमा गर्न सक्ने बच्चाहरुको भविस्य राम्रो छ । हामीले नसकौला ,हामीले अवसर पनि पाइएन तर अहिलेका नानीहरुका लागि चाँही निक्कै राम्रो सुबिधा उपलब्ध छ । उनिहरु डाक्टर ,इन्जिनियर, वकिल  ठुल- ठुला ओहदामा जागिरे  हुन सक्छन । यहाँको शिक्षा र सुबिधाको सदुपयोग गर्न सके निकै राम्रो छ ।

समस्या पनि छ ।  अहिले जति पनि बृद्ध  बाबा आमाहरु आउनु भएको छ जसको छोरा छोरी वा आफन्त यहाँ हुनु हुन्न  उहाँहरुलाई अलिकति समस्या होला ,भाषाको समस्या ,औषधी उपचारमा समस्या आदी इत्यादी । हामीले उहाँहरुलाई चाहे जस्तो सहयोग दिन सकिएको छैन । सबैले यहाँ काम गरेर खानुपर्ने भएकोले समय मिलाउन कठिन छ। त्यसैले केही हाम्रा मगरहरुले असुबिधाको सामना गर्नु भएको छ यो स्विकार्नु पर्दछ तर पनि यहाँको सरकारले उहाँहरुलाई राम्रै हेरेको छ जस्तो लाग्दछ, हाउजिङ सुबिधा ,पेन्सन सुबिधा आदी उपलब्ध गराइदिएको छ ।

राज्यसत्ता :-  जनसंख्याको हिसाबले नेपालको तेश्रो नम्बर र आदिवासी जनजातिमा प्रथम स्थान ओगट्ने मगर नेपालको प्रशासनिक लगायतका हरेक क्षेत्रमा न्युन उपस्थिती हुनाको कारण के होला ?

दुत पुन :- मेरो बुझाईमा  शिक्षामा कमी हो जसले गर्दा हाम्रो उपस्थिती न्युन हुन गयो ।  हामीले शिक्षामा जोड दियौ भने  छिट्टै माथि उठ्छौ र यसको लागि हामीले ठुलो लगानी शिक्षामा गर्नु पर्दछ । अर्को कारण हिजो राज्यले लिएकाे जातीय नीतिले ठुलो सानो जातमा बिभाजन गरियो ।  अलि हुनेखाने मगरहरु जात फेरेर उपल्लो जातमा उक्लिए ।  अब उनीहरुलाई अहिले मगर बन भन्न मिल्दैन अनुहार र वनावट सवै फरक भई सक्यो । जो गरिव निमुखा मगर थिए ति मात्र मगर मै सिमित भएर बसे । ती अधिकांश गरिव मगरले शिक्षित हुने अवसर पाउन सकेनन त्यसैले हाम्रो उपस्थिती राज्यमा न्युन हुन गयो।

 त्यसमाथि मगरहरुमा पढ्ने भन्दा लाहुरे हुने परम्पराले पढाईमा खासै ध्यान जान सकेन तर अब हामी सबै सचेत भईसकेका छौ । हामीले शिक्षामा ध्यान दियौं भने अवस्य पनि हाम्रो उपस्थिती राम्रो हुनेछ ।

राज्यसत्ता :- मगर संघ संस्थाहरु अहिले देश बिदेशमा फैलिएको छ।  यी संसार भरी खुलेका मगर संघसंस्थाहरुको एक अर्कामा कस्तो समन्वय रहेको छ ? यी संघ नेपाल मगर संघ मातहत हुन् कि आफ्नै बिधि बिधानले चलि राखेकाछन ?

दुत पुन :-मेरो घोषणापत्रमा उल्लेख गरेको थिए कि संसार भर छरिएर रहेका आम मगरहरुलाई सकेसम्म नेपाल मगर संघको छत्रछायामा रही एक आपसमा माया ममता ,सद्भभाव ,मेलमिलाप ,सह-सम्बन्ध  र भाईचाराको बिकास गर्दै एकताको गाँठोमा उन्न पर्येत्न गर्नेछु । नेपाल मगर संघलाई मुलघर मान्नु पर्दछ र यसैको छत्रछायामा बसेर काम गर्नु पर्दछ भन्ने मेरो मान्यता हो । संसारभर रहेका मगरसंघ संस्थासँग समन्वयको पहल हाम्रा उपाध्यक्ष  नेम थापाजीबाट भई रहेको छ ।

 भर्खर ५ महिना जति भयो मेरो कार्यकालको । ३ साल भित्र शायद यो आउने साल वा अर्को साल युरोप वा अमेरिकाका मगरहरुको युकेमा कन्फरेन्स गराउने चाहना छ। यो कुरा म हाम्रो बार्षिक भेलामा पनि राख्ने छु । सम्भवत : अर्को साल बिदेशमा रहेका  सम्पूर्ण मगर संघ संगठन नेपालमा गई बृहत कार्यक्रम गर्ने योजना छ । शायद यो पनि पुरा हुनेछ, मेरो कार्यकाल भित्रै ।

राज्यसत्ता :-नेपाल मगर संघले बिदेशमा रहेका मगर संस्था र मगरहरुबाट आर्थिक लगायतका सहयोग माग्ने र लिने गरेको तर  बिदेशमा रहेका मगर संघलाई मान्यता नदिने गरेको गुनासो सुनिन्छ । साथै मगर संघलाई बिभिन्न राजनीतिक दलले भोट बैंकको रुपमा प्रयोग गरेको भनिन्छ,यसबारे के भन्नु हुन्छ ?

दुत पुन :- मैले पहिले नै भनि सके मुलघर भनेको मुल घर नै हो यस्लाई सबैले स्विकार्नु पर्दछ र यो नै बैधानिक हो । तर त्यसभित्र बिगतका बर्षहरुमा मैले नकारात्मक कुराहरु पनि सुने । त्यस्ता घट्नाहरु घटे बिकृत कृयाकलाप  देखिन थाले हामीले सचेत गराउनु पर्दछ । यो हामी सबैको कर्तव्य पनि हो ।   ‘सबै बिराला बाहिर गए मुसाले घर भित्र तास खेल्छ’भन्ने उखान छ त्यसरी तास खेल्न दिनु हुन्न भन्ने मेरो मान्यता छ ।

राज्यसत्ता :- अहिले  केही पुनहरु ‘हामी मगर होइनौ हाम्रो संस्कृति,रहनसहन ,खानपिन , भेषभुषा आदी अन्य मगर भन्दा  फरक छ’ भन्दै उहाँहरु पुनलाई छुट्टै जातिको रुपमा आदिवासी जनजातिमा सुचिकृत गराउन पनि कोशिस गरीरहेको सुन्नमा आएको छ । तपाईं पुन मगर पर्नु भो, त्यस्मा पनि बिशेष गरी तपाईकै म्याग्दीका केही पुनहरुले नै यस्तो बिवाद उठाएको भन्ने आरोप छ । यस बारे तपाईंको के राय वा बुझाई  छ,  समाधानको बाटो के होला ?

दुत पुन :-यो मैले पनि सुनेको छु वास्तविकता के हो थाहा भएन । तर पुनहरु पक्का मगर नै हुन् यसमा कुनै विवाद नै छैन । पुन मगर होइन भन्ने झुठ हो । हो केही एक थरी पुन मगरहरु हामी मगर होइनौ भन्ने पनि छन भनेको सुनेको छु अर्को थरि मगरहरुले  चाँही पुनहरु भैंसी खान्छन ,पायो भने गाई पनि खान्छन यिनिहरु मगर होइनन भन्ने पनि कता कता हल्ला अरुबाट सुनेको छु । मेरो अगाडि प्रत्यक्ष कसैले भनेको  सुनेको छैन । यी यस्ता कुराहरु गैर जिम्मेवारी कुराहरु हुन । जथाभावी बोल्ने हरुलाई पक्कै पनि ईतिहासले दन्डित गर्ला नै तर यस्ता कुराहरु हामीले चाँही बोल्नु हुन्न ।

 मगर आदिवासी जनजाति मध्ये सबै भन्दा धेरै ठुलो सन्ख्यामा रहेकाे जाति हो ।  मगरहरु नेपालको प्रायश: भूभागमा छरिएर रहेका जाति हुन् । अन्य जातिहरु जस्तै गुरुङहरु कुनै निस्चित भूभाग ओगटेर  बसोबास गरेका देखिन्छन । त्यस्तै राई लिम्बुहरु  पुर्व तिर  निस्चित भुभाग ओगटेर बसेका छन ।  फलस्वरुप उनिहरुको  भाषा, संस्कृति चालचलनमा एकरुपता पाईन्छ ।

तर हाम्रो मगरहरुको संघसंस्था पोहोर परार सम्म ६५ वटा जिल्लामा फैलिएको थियो अहिले शायद ६६ / ६७ जिल्लामा पुग्यो होला ।  हामी मगरहरु ७५ जिल्लामा नै छौ भन्ने बुझिन्छ । अब यसरी  ७५ जिल्लामा छरिएर रहेका मगरहरुको भाषा संस्कृति र पहिचान निश्च्य पनि समयकाल परिस्थिती अनुसार परिस्कृत हुँदै जाँदा एउटै जात भएपनि फरक हुन गएको छ । जुन भूभाग वा भुगोलमा पुग्यो त्यहिको वातावरण संग घुलमिल हुँदै जादा कतिले आफ्नै नयाँ सभ्यताको  बिकास गरे । कतिले त्यहिंका रैथानेहरुका मिश्रित रितिरिवाज अंगाल्न पुगे । जस्तै राइ लिम्बुको बाहुल्य रहेको पुर्वमा केहीले उनिहरुको अनुशरण गरे भने  केहीले आफ्नो संस्कृति उता दिए ।

यसरी फरक फरक भुगोल र फरक फरक समाजसंग घुलमिल भएर बसेका मगरहरुको भाषा संस्कृति आदी फरक फरक भए वा चालचलन र संस्कृतिमा केही भिन्नता रहेपनि मुल परम्पराहरु वा पहिचान   समान वा एउटै छ । चाहे त्यो पुर्वको मगर होस् वा पश्चिम वा कुनै पनि ठाँउको  मगरले हकै लाग्ने गरी मामाको छोरी बिहे गर्नु जुन अन्य समुदायसंग मेल खान्न, मिल्छ । मामा, चेला र फुपु चेलीको सम्बन्ध मामा भान्जी हुनु- जुन यो साइनोमा कुनै समुदायमा बिहेबारी चल्छ त कसैले दिदी भाईको सम्बन्ध मान्छन । मगर समाजमा बिहे बारे एकैतर्फी हुनु वा साईनो एकतर्फी मात्र लाग्नु छोरी चेली दोहोरो लेन्देन नहुनु ,मगरहरुले पूजा आदी  तिते पातिले पुज्नु ,मगरहरुको भाषा चाहे त्यो ढुट होस् वा खाम धेरै समानता हुनु यी यस्ता अनगिन्ती समानता  पुर्व या  पश्चिम सबै मगरको एउटै छ।

   यदि एउटै वंशका नभए त पश्चिमका मगरहरुको बिहेबारी गुरुङ्को जस्तै हुनुपर्ने फुपु छोरी बिहे गर्ने गुरुङ र फुपु छोरीलाई भान्जी भन्ने मगर बिच  फरक छ । मामाको छोरी बिहे गर्ने पुर्वको मगर र मामाको छोरीलाई दिदी बहिनी साईनो लगाउने राई लिम्बुको किन एकै साइनो भएन ? त्यसकारण हामीले एक अर्कालाई हामी मगरै होउ भन्ने कुरामा जोड दिनु पर्दछ र एक अर्का प्रति आदर गर्नु पर्दछ । सहयोगी  भावनाको बिकास गर्नु पर्दछ ।  तिनिहरुको बिकासमा एक अर्काले सहयोग गर्नु जरुरी छ ।

पुर्वमा मगरहरु हुर्रा नाच्छन तर पश्चिमका मगरहरुलाई यसबारे थाहा छैन वा ज्ञान छैन । मगरहरुले नाच्ने सोरठी धेरै मगरहरुले नाच्छन तर यसमा पनि ठाउँ अनुसार फरक छ,जस्तै म्याग्दीका पुनमगरहरुले अन्य मगरहरुले भन्दा अलिक फरक ढंगले नाच्छन जुन पुर्वका मगरले नजान्लान ।  त्यसकारण यसको संरक्षण पुर्वको मगरले गर्न गार्हो हुन्छ ,हुर्रा नाच्ने मगरले हुर्रा नाचको जानकारी भएको कारण उसले यसको संरक्षण राम्ररी गर्न सक्छन । यसबारे अन्यलाई थाहा होला तर जगेर्ना गर्न/नगर्न सक्छन । कौरा , घाटु आदी नाचबारे पनि जो यसबारे  जानकार छ उस्ले नै  जगेर्ना गर्न पहल गर्ने हो ।

अर्को कुरा आदिवासी जनजाति महासंघमा दर्ता गर्न गएको कुरा बारे त्यति जानकारी भएन त्यस्बारे धेरै बुझेको पनि छैन ।

राज्यसत्ता :-यो विवाद बारे तपाईंको कस्तो भूमिका वा पहल रहन्छ त ?

दुत पुन :- मगर संघको अध्यक्ष भएको नाताले मेरो पहिलो प्राथमिकता हामी मगर हौ भन्नेमा जोड हुनेछ र हामी मगर एकतामा विश्वास गरी अगाडि बढ्नुपर्दछ भन्ने नै हुन्छ । यो नै मेरो शक्ति हो ,हामी सम्पूर्ण मगरहरुको शक्ति हो । यो विवादबारे सत्य के हो भन्ने कुरामा म मगर संघको अध्यक्ष भएको नाताले  बुझ्नेछु ,मेरो मुल भनाइ चाँही हामी मगरहरु एक आपसमा आदर सम्मान गरी मिलेर बस्नु पर्दछ , मगरहरुको प्रमुख थर हरु राना ,थापा ,आले ,पुन ,बुढा ,घर्ती ,रोका  जे सुकै भए पनि एकता हुनु पर्दछ , एकले अर्कोलाई होच्याँउदै त रोका होस् !त पुन होस् !त थापा होस् !भन्ने गर्नु हुन्न एक आपसमा मिलेर बस्नु पर्दछ ।

एक अर्कामा विषवमन भयो भने मगर संघलाई राजनीतिक दलको मतियारको आरोप लागे जस्तै भोलि मगर थर भित्र पनि यो नलाग्ला भन्न सकिन्न । हामीले  मगर हौ भन्नेमा गौरव गर्नु पर्दछ  यदि  मगर होइन भन्छ भने त्यस्तालाई वास्ता गर्नु भएन ।

  मगर होइन भन्छ भने उ मगर होइन कुरै सकियो तर जसले म मगर हुँ भन्छ भने उसलाई तैले सुङुर खान्छस वा भेडा खान्छस  ,मैले जस्तो बोलिनस आदी इत्यादी आरोप लगाउदै त मगर होइनस भन्न मिल्दैन ।  

राज्यसत्ता :-नेपाली समाजको रुपान्तरन्को निम्ति ठुलो योग्दान दिनु भएको समाजवादी नेता गोरे बहादुर खपागीं  दुर्घटनामा परेर अत्यन्त सिकिस्त अवस्थामा सिगांपुर अस्पतालमा खर्चको अभावले उपचारमा कठिनाई भई रहेको अवस्थामा मगर संघ युकेले ठुलो रकम जोहो गरिदिएको सुनियो, यो कसरी सम्भव भयो ?

दुत पुन :-यो सम्भव चाँही उहाँको योगदानले गर्दा नै भएको हो । उहाँको मगरसंघ प्रति ,सम्पूर्ण आदिवासी जनजाति , दलित लगायत सम्पूर्ण नेपालीको लागि गर्नु भएको त्याग र बलिदानले  गर्दानै यो सम्भव भएको हो । म मगर संघ यु केको अध्यक्षको हैसियतले फाईदा लिएको वा मेरो पहलमा भएको भन्दिन र दावी गर्दिन यो उहाको ठुलो योगदान मगर संघ लाई लगाएको कारणले सम्भव भएको हो ,पैसा चन्दा त सबैलाई उठाउन सकिन्छ तर यति ठुलो मात्रामा उठ्न गार्हो हुन्छ वा उठ्न सम्भव होला जस्तो लाग्दैन । देश बिदेशका मगर दाजु भाई तथा आदिवासी जनजाति लगायतका धेरैले ठुलो भूमिका खेल्नु भएको छ उहाको उपचारको निम्ति । उहाँलाई हामीले जहिले पनि सम्मान, आदर गर्नु पर्दछ।

 उहाँ समाज सेवामा निरन्तर कुनै स्वार्थ बिना हिंड्नु भयो । जीवन भर कुनै धन सम्पत्ती जोड्नु  भएन  । यदि उहाँ आफ्नो स्वार्थको लागि हिंड्नु भएकोभए कुनै सरकारी कर्मचारीको उच्च ओहदामा पुग्नु हुन्थ्यो वा कुनै धनाद्य  व्यक्तिमा गनिनु हुन्थ्यो होला । तर  मगर,आदिवासी जनजाति लगायत सम्पूर्ण उत्पिडित वर्ग समुदायको  निम्ती रात दिन लडी रहनु भयो जसको फलस्वरुप अहिले तपाईं हामी यसरी बोल्न पाएका छौ । मिडिया चलाऊन पाएका छौ ।

गत बर्ष हामीले गोरे बहादुर खपागीं ज्युको जीवनी निकाल्ने कार्यका लागि केही रकम संकलन गरेकाथियौं । त्यसपालि उहाँको दुर्घतना भएको खबर सुन्दासाथ नेम थापा जिको संयोजकत्वमा आर्थिक संकलन कार्य अगाडि बढायौ त्यसको ४ दिन पछी नेपाल दुतावासमा गै नेपाल सरकारसंघ शिघ्र उपचार खर्च मिलाईयोस भनि ज्ञापनपत्र बुझायौ । त्यसको लगत्तै आदिवासी जनजाति महासंघ बेलायतलाई पत्रचार गर्यौ – महासंघले ११ सय ४५ पाउन्ड संकलन गरीदियो । एन आरएन युके लाई पनि पत्राचार गरिएको छ ।

 अध्यक्ष नेम थापाजी लगयातका महानुभावहरुले पनि रकम संकलन कार्यलाई निरन्तरता दिई रहनु भएको छ ।  सिंगापुरमा पैसा नपुगी नाजुक अवस्था हुँदा मगर संघ युकेले १० हजार पाउन्ड ऋण दिएर सफलता पुर्वक सल्यकृया गरी नेपाल फर्किनु भएको छ । अहिले उहाँको अवस्था बारे एकदमै खुशी लागेको छ र आफुलाई निक्कै भाग्यमानी पनि ठानेको  छु-  मगर संघ युकेको अध्यक्ष पद लिएको बेला यसरी वहाँको योगदानलाई हामीले यहाँबाट थोरै भए पनि सहयोग गर्न पाउदा ।

राज्यसत्ता :- तपाईंको पहिचान एउटा सामाजिक व्यक्तित्व मात्र नभैकन तपाईले आफ्नो स्थान पत्रकारिता , कला, साहित्यमा  पनि बनाउनु भएको छ- कसरी लाग्नु भयो यतातिर ?

कला साहित्य मेरो रुची हो ।   यसमा प्राय जसो फुर्सद्को समयमा व्यतित गर्छु । सामाजिक,घरायसी कामबाट बचेँको समय मैले साहित्यलाई दिने गरेको छु । फुर्सदको समय कहिलेकाहीं आफ्नो जिन्दगीको पानाहरु केलाउदै बस्दा त्यही मनबाट उब्जेका भावनाहरु पोख्ने ठाउँ मैले साहित्यलाई पाएको छु । गीत ,कविता ,गजल मार्फत मेरा मनका भावनाहरु अभिव्यक्त गर्दछु । अहिले सम्म मैले दुई वटा कविता संग्रह निकाले । पहिलो सुन्दन्ते जसमा हङ्कङ्मा रहंदा त्यहिको परिवेशको सेरोफेरोमा केन्द्रित पल्टन घरको जिन्दगी ,त्यहाँको तिता मिठा घट्ना आदिलाई कविताको माध्यम बाट अभिव्यक्त गरेको छु । लन्डनको कोसेली गिती संग्रह,  युके तिर जाउली दोहोरी गिती एल्बम लगायतका फुट्कर कविता , गीत ,गजल आदि प्रकाशित छन ।

पत्रकारिताको कुरा गर्दा म अहिले युकेबाट प्रकाशित साप्ताहिक पत्रिका एभरेष्ट टाइम्सको प्रबन्ध निर्देशकको रुपमा छु । यो सुरु गर्दा यहाँ १/२  वटा पत्रपत्रिका थिए  ।हामीले  आफ्नो आवाज लाई बाहिर ल्याउनुपर्छ भन्ने सोचेर  सन्चालनमा ल्याएका हौ । अहिले सम्मको मेरो अनुभवमा  यसलाई एक प्रकारले भेडा गोठालोको काम जस्तै हो भन्दछु, किन भने यो पत्रीका चलाऊनु पनि गोठालो जस्तै हो भन्छु । घाम पानी नभनीकन सधैं खटी रहनुपर्ने । खर्च ठुलो  तर आम्दानी त्यति राम्रो छैन । तर पनि यसको महत्व भन्नु पर्दा हाम्रो विचार राख्न पाएका छौ, त्यही नै   उपलब्धी ठानेका   छौं  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %