पोखरा, असोज २०
माओवादीले २०५२ साल फागुनदेखि सुरु गरेको जनयुद्धले पारेको प्रभावलाई विषयवस्तु बनाएर निर्माण गरिएको फिल्म ‘सुराक’ को शनिबार पोखरामा तीन शो प्रर्दशन गरिएको छ । गैह्रापाटस्थित पोखरा उद्योग वाणिज्य संघको सभाहलमा दर्शकहरुको चाप अत्यधिक भएपछि बिहान, दिउँसो र साँझ गरि फिल्मको तीन शो प्रर्दशन गरिएको थियो । ६ सय जनाको क्षमता रहेको सहभाहल तीनै शोमा भरिभराउ भएको थियो ।रचनात्मक फिल्म बनाउने भनेर परिचय बनाएका माओत्से गुरुङले निर्देशन गरेको फिल्म ‘सुराक’मा माओवादी द्वन्दको भिन्न चित्र प्रस्तुत गरिएको छ ।
‘सुराक फरक शैलीमा बनेको फिल्म हो । अन्य फिल्भन्दा बढी कलात्मकता प्रयोग गर्न खोजेको छु’ निर्देशक माओत्से गुरुङले भने,‘पोखरेलीले अत्यन्तै माया गरेको दर्शकको भिडले नै बताउँछ । सबैले सकरात्मक प्रतिक्रिया दिनु भएकोले म हौसिएको छु ।’ ‘सुराक’मा जनयुद्धका बेला राज्य र माओवादी पक्षबाट दूरदराजका स्थानीय गाउँले कसरी दुवै चेपुवामा परे भन्ने कलात्मक तरिकाले पर्दामा उतारिएको छ । माओत्सले सुराकमा दाने (सोम गुरुङ) पात्र मार्फत द्वन्द्वकालमा स्थानीयले बेहोरेको तितो यथार्थ उतारेका छन् । फिल्मको सुरुमा माओवादीबाट अनाहकमा सुराकीको आरोपमा दानेलाई विभिन्न पिडा दिइन्छ । पछि त्यहि दानेलाई माओवादी भगाएको आरोपमा राज्य पक्षका सेनाले पक्राउ गरेर अनेकन दुःख दिन्छन् । सेनाले उसको घर जलाइदिन्छन् । उसकी पत्नीको मृत्यु हुन्छ ।
छोरी घाइते भइरहेका बेला दानेलाई सेनाले पक्राउ गरेर लगेपछि फिल्म सकिन्छ । यो बाहेक फिल्ममा द्वन्द्वकालका विविध पाटालाई पनि समेटिएको छ । फिल्मको मंगलबार पोखरेली रंग पत्रकारहरुमाझ प्रेस शो गरिएको थियो । त्यस अवसरमा फिल्म युनिटले न्यायका लागि द्वन्द्वपिडित समाजलाई १० हजार रुपैया सहयोग गरेको थियो । द्वन्द्वकालमा बेपत्ता भएकाहरुकै कथालाई फिल्म बनाएको भन्दै युनिटले समाजका सचिव जमुना शर्मालाई उक्त रकम हस्तान्तरण गरेको थियो । सन्तोष कोन्मेले छायाङ्कन गरेको फिल्म ‘सुराक’ को, जसु गुरुङ मुख्य सहायक निर्देशक हुन् । फिल्ममा सोम गुरुङ, पूजा राना, रजनी गुरुङ, मनोज घर्तीमगर, अस्मी गुरुङ, लक्ष्मी गुरुङ, रजनी गुरुङ, भेष गुरुङ, निरज पन्त, डिबी गुरुङ, गणेश कुमार श्रेष्ठ, सिद्धान्त ठकुरी लगायतले अभिनय गरेका छन् । यसअघि सुटिङ गरिएको ठाउँ तनहुँ भुजिकोटमा पहिलो पटक र असोज १२ गते लेखनाथ उद्योग वाणिज्य संघमा फिल्मको च्यारिटी शो भइसकेको छ । ६२ मिनेट लामो फिल्मको धेरैले प्रशंसा गरेका छन् ।