यसपालि डबल भए समानुपातिकमा लड्ने दल

Read Time:6 Minute, 40 Second

निर्वाचन आयोगमा १२२ राजनीतिक दलले समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी,राष्ट्रिय जनमुक्ति पार्टी , राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल लगायतका दलले आयोगमा उम्मेदवारको बन्दसूची बुझाएका हुन् । बन्दसूची बुझाउन एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड स्वयम् उपस्थित थिए ।

 दल दर्ताका लागि निवेदन दिएका दलहरूमध्ये चारवटा दलले बन्दसूची बुझाएनन् । बन्दसूची नबुझाएका दलहरूमा संयुक्त राष्ट्रवादी मोर्चा नेपाल, नेपाल पिछडावर्ग निषाद दलित जनजाति पार्टी, नेपाल प्रजातान्त्रिक प्रगतिशिल पार्टी र राष्ट्रिय शिवसेना पार्टी छन् । आयोगमा एकसय २४ वटा दलले दल दर्ताको निवेदन दिएका थिए । अघिल्लो संविधानसभामा ५७ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची बुझाएका थिए भने २५ वटा दलले संविधानसभामा प्रतिनिधित्व गरेका थिए । कुल ६ सय १ सदस्यीय संविधानसभाका ३ सय ३५ सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने छन् ।

निर्वाचन सम्पन्न भएपछि सम्बन्धित दलले प्राप्त गरेको मतका दलकै सिफारिसमा निर्वाचन आयोगले समानुपातिक सदस्य चयन गर्नेछ । यसअघिको संविधानसभामा ५४ दलले समानुपातिक निर्वाचनमा भाग लिएकोमा २५ दलको मात्र प्रतिनिधित्व भएको थियो । निर्वाचन कार्यातालिकाअनुसार भोलि उम्मेदवारको बन्द सूची सच्याउन निर्वाचन आयोगले दलहरुलाई सूचित गर्नेछ । ३० असोजमा दलहरुले बन्दसूची संशोधन गरी आयोगमा पेश गर्नुपर्नेछ । जसमाथि कात्तिक ७ मा दावी विरोध गर्न पाइनेछ । आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने दलहरुको हिजो नामावली प्रकाशन गर्दै निर्वाचन चिन्हसमेत प्रदान गरेको थियो । असोज २० गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, २१ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २२ गते उम्मेदवारले नाम फिर्ता लिने, २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २४ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।

यसैबीच बन्दसूची पेश गर्ने क्रममा प्रमुख तीन ठूला दलले प्राविधिक त्रुटी गरेकाले केहीबेर सूची दर्तामा अवरोध भएको थियो । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूची दर्ता गर्ने क्रममा प्राविधिक त्रुटी देखिएको थियो । महिला, दलित, मधेसी, उत्पीडितलगायतको कोटा मिलाएर बन्दसूची पेश गर्नुपर्नेमा प्रमुख तीन दलले कोटा नमिलाएपछि समस्या भएको थियो । समस्या देखिएपछि प्रमुख दलका प्रमुख नेताहरूबीच निर्वाचन आयोगमै छलफल भएको थियो । छलफलपछि बाहिरिने क्रममा शीर्ष नेताहरूले केही प्राविधिक समस्या आएपनि छलफलबाट समाधान गरिएको बताए । निर्वाचन आयोगका प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले राजनीतिक दलहरूले आयोगले तयार पारेको सफ्टवेयरअनुसार नामावली तयार नगरेकाले केही प्राविधिक समस्या आएको र छफलबाट समाधान गरिएको बताए ।

फरक प्रसंगमा उप्रेतीले संविधानसभाका उम्मेदवारको सुरक्षाका लागि सरकार सतर्क हुनुपर्ने भन्दै बाराका उम्मेदवारमाथि भएको गोली प्रहारको घटनाको भत्सर्ना गरे। उनले आयोगले सबै उम्मेदवारलाई सुरक्षा दिन र घाइतेको उपचारमा आवश्यक प्रवन्ध गर्न सरकारलाई निर्देशन दिइसकेको बताए । उता बिहिबार संविधानसभा निर्वाचनका लागि काठमाडौंका १० निर्वाचन क्षेत्रमा ३७३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । काठमाडौं जिल्ला निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार प्रकाशन गरेको उम्मेदवार मनोनयनको सूचीमा ३७३ जनाको नाम समावेश गरिएको छ ।

३७३ मध्ये स्वतन्त्रमा ९४ जनाले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत अच्युत विष्टले जानकारी दिए । काठमाडौं क्षेत्र नम्बर १ मा ४७, २ मा ४७, ३ मा ३१, क्षेत्र नम्बर ४ मा ४३ क्षेत्र नम्बर ५ मा ४३ जनाले उम्मेदवारी दिएका छन् । यस्तै क्षेत्र नम्बर ६ मा ३५ जना, क्षेत्र नम्बर ७ मा ३२, क्षेत्र नम्बर ८ मा २८, क्षेत्र नम्बर ९ मा ४२ र क्षेत्र नम्बर १० मा ४० जना उम्मेदवारले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काठमाडौं क्षेत्र नम्बर २ मा सबैभन्दा धेरै १३ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । प्रमुख आयुक्त उप्रेतीले निर्वाचनको यात्रा अब नरोकिने भन्दै मंसिर ४ मै संविधानसभाको निर्वाचन हुने दृढता व्यक्त गरे ।

आनन्द गुरुङ,काठमाण्डु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %