‘हेर्नुस त, यो देश सिक्किमीकरण हुँदैछ । सिक्किमीकरण बनाउने काममा तपाँइहरु लाग्नु भएको छ भन्ने बुझ्नुस । फिजीकरणसम्म बनाएको भएपनि त हेर्नुस मान्नु । तपाँइहरुले त पुरै छलाङ हान्नु भयो भनेदेखुन सिक्किमीकरणको दिशामा गयो भन्ने हाम्रो ठम्याईलाई बुझ्नुस् । तपाइले जुन चुनाउ रच्दै हुनुहुन्छ त्यसले तपाइलाई लेण्डुपे र नेपाललाई सिक्किम बनाउँछ भनेर बुझ्नुस ।’
भवानी बराल
मथिका हरफ कामरेड मोहन वैद्य किरणले हालै प्रचन्न निवास लाजिम्पाटको एक भेटमा एमाओवादी अध्यक्षसंग बोलेको कुरा हो । ढिलोगरी प्राप्त समाचार अनुसार उनी हालै प्रचन्न निवास अर्का नेता देव गुरुङका साथमा पुगेका थिए । पातलो कदकाँटीका तर, हक्कि स्वभावका वैद्यले प्रचन्नलाई भन्नु नभन्नु भनेको विश्वस्त स्रोतले वताएको थियो । तर, पत्रकारिताको मूल्यमान्यतालाई ख्याल गर्दै सार्वजनिक गर्न सकिने कुरामात्र यहाँ संक्षेपमा प्रकाशित गरिएको छ ।
ए र बी माओवादी नेताको वार्ता चलिरहेको थियो । वार्तामा वैद्य, देव गुरुङ र प्रचन्नको अलावा त्यहाँ भित्तो मात्र थियो । प्रचन्न झण्डैझण्डै मान्छे नै डुब्ने कुवा जस्तो सोफामा गजधम्म विराजमान थिए । दुबै हत्केला तिघ्रामाथि राखेर हत्केलाका पञ्जा जोडेर दुबै हातका बुढी औंला एकअर्का दिशामा घुमाउँदै गुरु वैद्यका कुरा सुन्दै थिए ।
वैद्य, विचारोत्तेजक सौन्दर्य शास्त्रीय माक्र्सवादी ऋचा फलाकी रहेका थिए । देव गुरुङ एक टंकार सुनिरहेका थिए । प्रचन्नलाइ हुनसम्म बैचनी भैरहको थियो । उनको ‘बडी लेँग्वेज’ले योे टोप्पा, पाखाली, ग्वाँच बुढोसंग एका विहानै भए नभएको शास्त्रार्थ गर्नु पर्दा प्रचन्न उकुसमुकुस थिए । आँफैले बोलाएर केही नभनी पठाउँदा लोकलाज नढाकिने भएकोले एकाध प्राविधिक कुरामात्र खोकेर ग्वाँच बुढासंग पिण्ड छुटाउने उनको हाउभाउले देखाउँथ्यो ।
अनि विस्तारै दुबै हातका बुढी औंला विपरित दिशा तिर घुमाउँदै पाल्सी भाषामा खोक्न थाले, ‘हेर्नुस गुरु बा ! कुरो ‘तेसो’ पनि हैन, ‘एसो’ पनि होइन मने खास कुरो चैं ‘उसो’ हो । हामी फुण्टीबाङबाट चुनबाङ हुँदै पालुङटार आउँदा बालुवाटार खाली भैसकको थियो । पालुङटारको गोरुले धोबीघाटको पानी खाएर बालुवाटारको बिउ खायो । पालुङटारको गोरुलाई धोबीघाटको पानी तपाँइहरुले नखुवाएको भए ‘तेसो’, ‘एसो’ नभएर ‘उसो’ हुने थियो । मने संविधानसभाको बाली नष्ट हुन्थेन । तर, जनयुद्ध लडेको पार्टीको अध्यक्ष हुनुको नाताले, महान तथा गौरवशाली ठूलो पार्टीको नेता हुनुको नाताले, शान्ति सहमतिको हस्ताक्षरकारी हुनुको नाताले, गिरिजाप्रसाद स्वर्गीय भएपछि एकमात्र वारिस हुनुको नाताले मैले पहलकदमी लिएको हुँ । गुरु बा सिलगुडी जेलमा हुनुभएकोले अगाडिको ‘इपिसोड’ हजुरलाई पत्तो भएन । ‘कास्टीङ’ थाहा नपाएर तपाई रनभुल्लमा हुनुहुन्छ । यसर्थ मने ‘तेसो’ पनि होइन, ‘एसो’ पनि होइन ‘उसो’ गरेको हुँ ।’
बुढा वैद्यको कन्पारो तात्तिदै गयो । ओठको दुबै छेउबाट झर्न खोजेका थुक औंलाले पुछे । गलबन्दी मिलाए । पावर चस्मा नाकको डाँडीमाथि सारे । अनी सौन्दर्यशास्त्रीय छन्दमा माक्र्सवाद–लेनिनवा–माओवाद(मालेमा)का छन्दोबद्ध सिलोक तोप्न थाले, ‘कुरा बुझ्नुस् । के हो ‘तेसो’ पनि हैन, ‘एसो’ पनि हैन ‘उसो’ हो भनेको ? यतिका वर्ष मैले मालेमावादको शिक्षा दीक्षा दिएको सबै पोली खानु भो ? मालेमावादमा कहाँ तेसो, एसो, उसो भन्ने शब्दावली छ ? तपाँइ मालेमावादबाट च्युत हुनुभएको छ भन्ने बुझ्नुस । ठोस परिस्थितिको ठोस विश्लेषण गर्नु पर्नेमा भनेर भनदेखुन होस खुस्केको जस्तो बेहोस विश्लेषण गर्नु भएकोले तपाइ बेहोसी संसोधनवादी हो भन्ने बुझ्नुस ।’
‘सोरै आना मुनासिव !’ यतिन्जेल चुपचाप बसेका देव गुरुङले वैद्यले झोसेको मुडामा तेल थप्ने उपक्रम गरे ।
रिस उठेपछि बाहुनले पनि वेद पढ्दैन भनेझैं प्रचन्नलाई नउठ्नु रिस उठनु स्वभाविकै थियो । चेला चिनी हुन खोज्दा उनको भक्कानो मै लाग्यो । अनी एकै सासमा शक्तिशाली रिस सहित पड्किन थाले, ‘तपाँइ मन्त्री नपाएर ‘एता’, ‘उता’ गर्नु भा हो । ‘एता’, ‘उता’ मात्रै त गर्नु भा हुन्थ्यो ‘तेता’ पनि गर्नु भो । म महान तथा गौरवशाली पार्टीको एकमात्र नेता, शान्ति सम्झैताको एकमात्र जिवित हस्ताक्षरकारी हुनुको नाताले म तपाइलाइ चुप लाग्नुस त भन्न सक्तिन यो लोकतन्त्रमा तर जनमुक्ति सेनाको निवर्तमान सुप्रिम कमाण्डर हुनुको नाताले ‘उसो’ भन्नुस ‘तेसो’ चैं नभन्नुस भनेर धङधङीपूर्न आदेश दिन्छु ।’
यसरी एकै सासमा हप्काउन खोजेपछि गुरुङको छोरो पनि तात्तेको भावभंंगीमामा उत्रे । कालो हेण्ड बेगलाई काखमा च्यापे, अलिकति जिउ मिलाए, आँखिभौं तन्काए र बोल्न मुख ‘आँ’ मात्र गर्न खोज्दै थिए, वैद्यले बायाँ हातले इशारा गर्दै चुप लाग्न संकेत गरे । यस्तो लाग्थ्यो दायाँ हातले इशारा गरेको भए उनी चुप मरेकाटे लाग्दैन थिए । खाँटी बामपन्थी न परे बायाँ हातको इशारा उनका लागि काफी भयो ।
बहस, तर्क, तरंग चल्दै गयो । सौन्दर्यशास्त्री वैद्यले मालेमावादका एक एक ऋचा वाचन गर्दै प्रचन्नको हुर्मत लिँदै थिए । वैद्यका ऋचा प्रचन्नलाई गरुड पुरान सुने सरह भैरहेको थियो । वातानुकुलित कोठामा प्रचन्न असिनपसिन भैसकेका थिए । ग्वाँच बुढासंग पिण्ड छुटाउन भित्रभित्रै गम्दै थिए । यतिकैमा एकथोक खोकेर फुत्किने विचारले उनले झटारो हान्ने मुड बनाए ।
‘मने कुरो चैं क्लियर कट छ । हामी छलाङ दर्शनका अनुयायी हौं । फ्युजन सिद्धान्तका पक्षपाती हौं । जंगलबाट कंक्रिटमा आयौं । हिजो चन्दा उठाउथ्यौं आज उत्पादन बृगेड बनाका छौं । जनमुक्ति सेना वाइसियलमा परिणत भएको छ । हिजो गोलीसंग खेल्थ्यौं आज गुलेली खेलाउँछौं । हिजो सुरुङ खन्थ्यौं आज सिक्किम जप्छौं । यी सबै छलाङ र फ्युजन कलाको कमाल हो ।
तर, तपाइहरुसंग पुरानो मोडेल मात्रै छ । राजासंग मिल्ने कुरा गर्नु हुन्छ । राजासंग मिल्नु भनेको देशलाइ भुटानीकरण गर्नु हो । जहाँ प्रजातन्त्र तातो पिँडालु जस्तो छ, कोक्याउने मात्र होइन हजम गर्दा तालु नै खुइलिने डर हुन्छ । बरु पूर्नपर्जातन्त्र भएको सिक्किमीकरणको मोडेल नै बेस ।’
वैद्यले दिक्दार मान्दै ओठ लेप्राए । देव गरुङले हिँड्न इशारा गरे । प्रचन्न जुरुक्क उठेर सयन कक्ष तिर लागे । ए र बी माओवादीको आजको दन्तबजान निश्कर्षहिन तुरीयो । नोगेन ।
bhawanibaral@gmail.com