स्टार टीम वर्क प्रालिको आयोजनामा भएको मिस डायनामिक –२०७० को उपाधि सानिया सुनारले जितेकी छिन् । शनिबार राति पोखरा सभागृहमा भएको अन्तिम प्रतिस्पर्धामा १३ जनालाईपछि पार्दै पोखरा एयरपोर्टकी २० वर्षिय सुनारले उपाधिसहित हाडर्फार्ड फेन्सिङ स्कुटर पुरस्कार पाइन् । उनले भाषणकलासहित दुई सबटाइटल पनि आफ्नै पोल्टामा पारिन् ।
लेखनाथकी अनु गहतराज फस्ट रनर अप र स्याङ्जा फेदिखोलाकी सुजता परियार सेकेण्ड रनर अप भइन् । उनीहरुले क्रमशः १० हजार र पाँच हजारसहित विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार पाए । प्रतियोगिताको निर्णायक पूर्वमिस नेपाल निलिमा गुरुङ, डान्स कोरियोग्राफर महेश गोदार, सञ्चारकर्मी सञ्जय मल्ल र बिमला भण्डारी थिए । देशको विभिन्न स्थानबाट छनौट भएका १४ युवती सहभागी भएको कार्यक्रममा फिल्म निर्देशक तुलसी घिमिरेसहित पाँच जना सम्मानित भए । नेपाली फिल्ममा उल्लेख्य योगदान पुर्याएको भन्दै घिमिरेलाई प्रालिले सम्मानपत्रसहित सम्मान गरेको हो । त्यसैगरी, कास्कीका प्रहरी प्रमुख एसपी केदार रिजाल, समाजसेवी चमेली खाती, कृष्ण कार्की र जानकी खड्का पनि सम्मानित भए ।