थारु पत्रकार संघ नेपालको केन्द्रीय अधिवेशनले गोरखापत्र दैनिकका पत्रकार लक्की चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।संघको उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षमा क्रमशः प्रदीप लेखी थारु (कान्तिपुर टिभी), सीताराम चौधरी (तराई टिभी), पार्वता चौधरी (रेडियो कान्तिपुर) र शैलेन्द्र चौधरी (हिमालय टिभी) चयन भएकाछन ।
सदस्यमा मदन चौधरी (नागरिक दैनिक), अजय पन्जियार (सगरमाथा टिभी), किशोरकुमार चौधरी (एभिन्यूज टिभी), सरला चौधरी (रेडियो भेरी), हिक्मत चौधरी (ललितपुर) छन । यसैगरी अधिवेशनले सन्तोष दहित (मध्यपश्चिम), रामचन्द्र कुश्मि (सुदूरपश्चिम) र राज चौधरी (रुपन्देही) लाई पश्चिमाञ्चल इन्चार्जमा सर्वसम्मत चयन गरेको छ ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघको अनामनगरस्थित कार्यालयको सभाकक्षमा भएको कार्यक्रमको उद्घाटन संघको संस्थापक अध्यक्ष स्वर्गीय पत्रकार जयप्रकाश चौधरीकी धर्मपत्नी गीता थारुले गरेकि थिईन । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि थारुले थारु पत्रकारहरुलाई सक्रिय भएर थारुको मुद्दामा कलम चलाउन आग्रह गरिन । कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघका केन्द्रीय सल्लाहकार तथा निवर्तमान अध्यक्ष राजकुमार लेखीले थारुलाई सरकारले सदियौंदेखि उपेक्षामा राखेकाले पत्रकारहरुलाई सक्रियतापूर्वक कलम चलाउन आग्रह गरे
। थारुको पहिचान मेट्ने षडयन्त्र भइरहेकाले सोप्रति पत्रकारहरु एक भई संघ मार्फत् पहल थाल्न सुझाव दिए । पूर्व सभासद तथा संघका सल्लाहकार महेश चौधरीले नेपालमा मधेस कहीं नभएपनि थारुलाई मधेसी बनाउने षडयन्त्र भइरहेकाले आफ्नो पहिचान र अस्तित्वका लागि पत्रकारहरुलाई सचेत हुन सुझाव दिए । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव गजुरधन राईले आदिबासी जनजातिहरुको समग्र लडाई अहिले राज्यसँग रहेकाले राज्यलाई दवाव दिन सबै आदिबासी जनजातिहरु सक्रियतापूर्वक लाग्नुपर्ने धारणा राखे ।
संघकी अध्यक्ष विनिता चौधरीको सभापतित्वमा भएको कार्यक्रममा निवर्तमान महासचिव कृष्णराज सर्वहारीले महासचिवको प्रतिवेदन प्रस्तुत गरेकाथिए । निवर्तमान अध्यक्ष चौधरीले संगठनको आर्थिक अवस्था र समग्र आफ्नो कार्यकालको गतिविधिबारे जानकारी गराएकाथिए । निर्वाचन मण्डलका अध्यक्ष सियाराम चौधरीको संयोजकत्वमा ११ सदस्यीय नयाँ समिति चयन गरेको हो । संघका निर्वतमान उपाध्यक्ष लक्की चौधरीले स्वागत गरे भने धन्यवाद ज्ञापन सदस्य चन्द्रप्रसाद चौधरीले गरे । कार्यक्रममा तीन जना पूर्व पत्रकारहरुलाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।
थारु पत्रकारिताको जग हाल्ने पूर्व पत्रकार महेश चौधरी, पश्चिमा थारु भाषाको रेडियोमा पहिलो समाचार वाचक नेमनारायण चौधरी तथा पूर्वीया थारुभाषाका समाचार बाचक भुदेव भगतलाई सो अवसरमा सम्मानित गरिएको थियो । संघको उपत्यका लगायत आठ जिल्लामा कार्यसमिति गठन भएको भएपनि तीन जिल्ला कञ्चनपुर, दाङ र रुपन्देहीबाट प्रतिनिधिहरु सहभागि थिए । कार्यक्रममा ४० जना पत्रकारहरुको सहभागिता थियो । संघको कार्यकाल २ वर्षको रहने व्यवस्था छ । संघ २०६७ चैत १६ गते काठमाडौंमा दर्ताभएको थियो ।
लक्की चौधरी