इन्जुरी टाइममा युवा स्ट्राइकर विमल घर्ती मगरले गोल गरेपछि नेपालले राजधानीमा जारी साफ च्याम्पियनसीप फुटबलमा पाकिस्तानसँग बराबरी खेलको छ ।
दशरथ रंगशालामा मंगलबार भएको खेलमा पाकिस्तानले १३ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । हसन बसिरले डिबन्स नजिकबाट हानेको शसक्त प्रहारले जाली चुमेपछि नेपाली टिम स्तब्ध बनेको थियो । त्यसपछि नेपालले बराबरी गर्न गरेका दर्जनौ प्रयास सफल हुन सकेनन् । १६ औं मिनेटमा भोला सिलवालको उत्कृष्ट क्रसलाई पाकिस्तानका गोलकिपरले पन्जामा लिदै कुनै खतरा हुन दिएनन् । यस्तै नेपालका सन्दीप राईको फ्रिकिकलाई पाकिस्तानका गोलकिपरले जोगाए ।
३४ औं मिनेटमा पाकिस्तानले अग्रता दोब्बर पार्ने सुन्दर अवसर खेल फाल्यो । हसन बसिरले गोलकिपर किरण चेमजोङ बिट भैसकेको अवस्थामा हानेको प्रहार आकासियो । त्यसअघि कप्तान सागर थापा र किरणबीच तालमेल मिल्न नसक्दा बसिरले बल पाएका थिए । दोस्रो हाफमा भारत खवासको क्रसलाई पाकिस्तानी डिफेन्स्ले क्लियर गरिदिए । ६० औं मिनेटमा सन्दीपको पासमा भारतले सिक्स यार्ड भित्रबाट गरेको हेडले पनि पोस्ट दिशा लिन सकेन । पटक–पटकको प्रयासपछि गोल हुन नसकेपछि प्रशिक्षक ज्याक स्टेफोनोस्कीले युवा स्ट्राइकर बिमललाई मैदान छिराएका थिए । त्यसअघि जगजित श्रेष्ठ घाइते अवस्थामै सब्सिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।
प्रशिक्षकको निर्णयलाई सहि साबित गर्दै १६ बर्षे स्ट्राइकर बिलमले इन्जुरी टाइममा नेपालको लागि बराबरी गोल फर्काए । कर्नरबाट आएको बल हुलमुलमा फर्किएपछि डिबक्स भित्र रहेका बिमलको प्रहारले जाली चुम्दा रंगशालामा उपस्थित हजारौ समर्थकले ठुलो खुसि मनाए । बिमलले पहिलो अन्तर्राष्ट्रिय गोल गरेसँगै नेपालको सेमिफाइनल यात्रा बलियो बनाएका हुन् । पाकिस्तान विरुद्ध गरेको गोलस“गै विमल घर्तिमगर नेपाली टिमको जर्सीमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बने । यसअघि बंगलादेश विरुद्धको मैत्रिपूर्ण खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका घर्तिमगर प्रतियोगिताको सूरुआती खेलमा नेपालले बंगलादेश विरुद्ध जीत हात पार्दा मैदानमा थिएनन् । बराबरीसगै नेपाली टिम दुई खेलबाट ४ अंक बटुल्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समूह एमा समान ४ अंक बटुलेको भारत नेपालभन्दा गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा छ । अन्तिम खेलमा भारतसंग बराबरीमात्रै खेल्न सकेपनि नेपाल सेमिफाइनल पुग्नेछ ।
१३ वर्षमा एन्फा एकेडेमी (बुटवल)बाट खेल्न थालेका विमल नवलपरासी भुताहा निवासी हुन्। घरमा आमा र बहिनी छिन्। बुबा छैनन्। प्रहरीमा काम गर्थे उनका बुबा। दुर्घटनामा मृत्यु भयो।
डेढ वर्षदेखि ललितपुरस्थित एन्फा एकेडेमीको होस्टेलमा बसिरहेका छन् उनी। कक्षा १० मा पढिरहेका विमलले उमेर समूहका खेलाडी भएकाले तलब पाउँदैनन्, तर होस्टेलमा खान–बस्न पैसा पर्दैन। सबै एन्फाले व्यहोरेको छ।
साफ जिते टिमका सदस्यका रुपमा उनले पनि काठमाडौँमा अपार्टमेन्ट र आजीवन मासिक १० हजार रुपियाँ पाउन सक्छन ।
आनन्द गुरुङ