एडभोकेसी पत्रकारिताका संघर्षशील पत्रकार दिवगंत युवराज लिम्बुको नाममा दश लाखको अक्षयकोषको घोषणा गरिएकोछ । लिम्बु पत्रकार संघले हिंजो राजधानीमा एक कार्यक्रमको आयोजना गरि सो अक्षयकोषको घोषणा गरेको हो । उक्त कोषबाट ५ लाखबाट लिम्बुकी छोरी निछाम फागो चोङबाङको शिक्षामा लगानी गरिनेछ । १ चैतमा लिम्बु पत्रकार संघको महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित युवराज लिम्बु सुनसरीमा ह्दयघात भई दिवंगत भएकाथिए ।
लिम्बुको स्मृति अक्षयकोषका लागि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), किरात राई पत्रकार संघ, गोरखा सन्चार सहकारी लगायतका संस्थाले सहयोग गरेको जनाइएकोछ । कार्यक्रममा प्रा. महेन्द्र लावती, सह–प्राध्यापक बालकृष्ण माबुहाङ लगायतले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएकाथिए । फोनिजका अध्यक्ष डण्ड गुरुङले अक्षयकोषका लागि आदिवासी जनजाति महासंघ लगायतका जातीय संस्थाहरुसंग अनुरोध गर्ने बताएकाथिए ।
पत्रकारितामा स्नातकोत्तर लिम्बु द गोर्खाज साप्ताहिकका कार्यकारी सम्पादक तथा एथ्निक मीडिया फाउण्डेसनका कार्यकारी सदस्य थिए । जनजाति मुद्दामा प्रष्ट र तार्किक पत्रकारको छवि बनाएका युवराज जनजाति मुद्दा उठाउन आफ्नै मीडिया हुनुपर्छ भन्ने बिचार राख्दथे । त्यसका निम्ति उनी हरप्रयत्न सहयोग गर्न तत्पर रहन्थे । लिम्बुको आर्थिक अवस्था राम्रो थिएन । तरपनि उनी आफ्नो मुद्दामा रातदिन खटिरहन्थे र अरुलाई पनि त्यसका निम्ति उद्देलित पार्थे ।
जनजाति पत्रकारको नाममा यो अक्षयकोष अहिले सम्मकै ठुलो हो । लिम्बु जस्तै एडभोकसेसी जर्नालिज्मका नक्षत्र देव पाटा मगरको नाममा फोनिज रुपन्देहीले पत्रकारिता पुरस्कार घोषणा गरेको छ भने उनको नाममा एउटा प्रतिष्ठान बनाइएकोछ । उनको दुर्घटनामा परि मृत्यु भएकोथियो ।