जातीय चक्रब्यूहमा हराएका घले राजाको कथा

 

–मनोज घर्तीमगर

 

{youtube}https://www.youtube.com/watch?feature=player_detailpage&v=CE6A7NztPhA{/youtube}

जब म 


यी भोकमा डुबेका चोकहरुमा


यी वैलाएका कलीजस्ता गल्लीहरुमा


हेर्छु एक–दुई दिन बसेर बास


तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास


यो मेरो सत्य इतिहास ।

 




कवि भूपि शेरचलने ‘गलत लाग्छ मेरो देशको इतिहास’ कविता त्यसै लेखेका होइनन् । गलत इतिहासलाई बिम्ब बनाएर लेखिएको यो कवितामा भूपिको भावुकता मात्रै हैन, सत्य पनि थियो । भूपिको दाविमा सहमत हुने इतिहासकार, अनुसन्धाता, लेखक र समाजशास्त्री पनि छन् । तर, तीनले गलत इतिहासलाई सहि बनाउने हिम्मत गरेनन् । उनीहरुले गलत इतिहास सच्याउने तथ्य खोज्न सकेनन् वा यसबारे टाउको दुखाउन चाहेनन् । अझै पनि नेपालका थुप्रै गलत इतिहासलाई सहि बनाउने तथ्यपरक लेखक जन्मिएका छैनन् । 

अफ्रिकि उपन्यसाकार एवं कवि चिनुवा अचिवी भन्छन्, ‘के तिमीलाई अरुले लेखेको मन पर्दैन ? त्यसो हो भने आफै लेख्न थाल ।’ भूपिले लेखेको अविता फलाक्दै ‘हाम्रो इतिहास गलत छ’ भन्दै हामी खुब कुर्लिन्छौं । तर, अचिविले भनेझै ‘आफै लेख्न’ कहिल्यै कस्सिएनौं । लेख्ने भन्दैमा जे पायो त्यही र भावुकतामा लेखेर इतिहास बन्दैन । गलत भनिएका इतिहासलाई सहि प्रमाणित गर्ने तर्क र अनुसन्धानसहित बाहिर ल्याउन जरुरी छ । जसले गलत भन्छ–त्यसले सहि देखाउने ल्याकत राख्नुपर्छ । हैन भने, कसैले अनुसन्धान गरि (भलै गहिरो अनुसन्धान र सबै सहि नहुन सक्छ) लेखेका इतिहासलाई तत्थ्य र तर्कविनाको खण्डन गर्नु पनि बेकार छ ।

नेपालको इतिहासलाई यहाँका इतिहासकार, बुद्धिजिवी र लेखकले कि आध्यात्मकरण गरिदिएका छन् कि राजतन्त्रकरण । अझ सत्य भन्ने हो भने शाह, राणाकरण । यी दुई धुव्रमा केन्द्रित भएर यहाँको इतिहास लेखिएको छ । इतिहास सहि होस् वा गलत । हामीले नेपालको इतिहासका पाना पल्टाउँदा राजामहाराजाको गाथा पढिरहेका छौं । यस्ता फगत इतिहास ब्यहोरेका भूपिले देशको इतिहास साँच्चै गलत देखे । र त कविता लेखे । इतिहासै गलत लेखिएपछि भूपिले देख्ने इतिहास कसरी सहि होस् ? 

भूपिले जस्तै मैले पनि पाइलापाइलामा मेरो देशको इतिहास गलत देखिरहेको छु । कहिलेसम्म निरन्तर गलत इतिहास देखिन्छ यहाँ, यसै भन्न सकिन्न । म यस्तै गलत इतिहासको प्रसंग कोट्याउँदै छु– दौडेर बिजयी हुने गोरखा लिङलिङकोट (हाल लिगलिगकोट) का घलेमगर राजाबारे । घले राजाको इतिहास सानैमा पढेको थिए । किताबमा घले मगर त लेखिएको थिएन । तर, हामीलाई सामाजिक पढाउने सरले दौडेर बिजयी हुने राजा ‘घलेमगर’ थिए भन्दै पढाउनुहुन्थ्यो । म पढाइमा सानैदेखि अब्बल र जिज्ञासु थिएँ । त्यसैले कक्षामा सरको प्रिय विद्यार्थी थिएँ । मगरसँग जोडिएकाले घलेमगरबारे थप जान्न सरलाई प्रश्न सोधे । उहाँले गोरखाको लिगलिगकोटमा दौडेर बिजयी हुने राजा घलेमगर हुन् भन्ने बाहेक अरु थाहा नपाएको उत्तर दिनुभयो । यस्तो उत्तरले मेरो जिज्ञासा कहाँ मेटिनु ? घलेमगर राजाबारे म झन् उत्सुक भएँ । त्यतिबेलादेखि घलेमगर राजाबारे केही न केही जान्ने रहर पालेर बसे । यसबारे धेरै सोधिखोजी गरे पनि विसं २०६७ सम्म खासै जानकारी पाइन । 
घलेमगरबारे लेखिएका केही किताबमा  घले को हुन् भन्ने प्रष्ट किटान गरिएको थिएन । जसले लिङलिङकोटका घलेमगर राजाबारे खोज्न मलाई झन् उत्प्रेरणा दियो ।

सानैदेखि गोरखाको लिङलिङकोट पुगेर घलेमगर राजाबारे जान्ने तिव्र इच्छा थियो । यसबारे सोधीखोजी गर्ने चहाना पनि । मनले चाहेका सबै इच्छा कहाँ सजिलै पूरा हुन्छन् र ? लामो समयको योजनापछि विसं २०६९ सालको असोजमा झोलीतुम्बा बोकेर घलेमगर राजाबारे सोधीखोजी गर्न लिङलिङकोट हिँडे । घलेमगर राजाको इतिहास खोज्न र मगरको बांगिएको इतिहास स्थलगत अनुसन्धान गर्नलाई २०६९ साला म तीन पटक लिङलिङकोट पुगें ।  २०६९ को असोज ३ गते म पहिलो पटक लिङलिङकोट पुगे । यतिबेला तीन दिन त्यहाँ बसे । दोस्रो पटक असोज २६ गते गएर दुई दिन बसे । तेस्रो पटक रानु थापासँग कात्तिक १९ गते गएर चार दिन बसेर लिङलिङकोटबारे अध्ययन÷अनुसन्धान गरे । तीन पटकसम्म पुग्दा मैले लिङलिङकोट धेरै नयाँ कुरा जान्न पाएँ ।

समुद्री सतहदेखि चार हजार सात सय ९० फिट उचाइमा रहेको लिङलिङकोट आँपपिपल गाविसमा पर्छ । लिङलिङकोटकोटमा कालिका माई, भुमे, भीमसेन र द्रव्यदेवीको थान, मूलकोटसहित पाँचवटा गढी, बुझ्न नसकिने केही शिलालेखहरु र बस्ने एउटा पाटी छ । तर, यी लथालिङग र भताभुङग छन् ।

पहिलेजस्तो गाह्रो छैन लिगलिगकोट पुग्न । तनहुँको डुम्रे–बेसीसहरतिरबाट गोरखाको पालुङटार हुँदै जान सकिन्छ । गोरखा सदरमुकामतिरबाट छेपेटार–खोप्लाङ–लुइटेल– बरडाँडा (हाल बडडाँडा) हुँदै गए पनि हुन्छ । जताबाट गए पनि आँपपिपल–४ बिजुलीडाँडाबाट करिब आधाघन्टा हिंडेपछि लिङलिङकोट डाँडोमै पुगिन्छ । 

लिङलिङकोटको विशेषता बडादशैंसँग जोडिएकाले दशैंताका यहाँ जानु उत्तम थियो । त्यसैले म २०६९ को दशैंमा त्यहाँ पुगे । सधंै घरपरिवारसँगै मनाउने दशैं त्यो वर्ष  मनाइन । अरुले बडादशै मनाउने सुरसार गरिरहेका बेला म घलेमगरहरुले राज्य गरेको लिङलिङकोटबारे खोजबीन र अनुसन्धानमा व्यस्त थिएँ । मलाई सधंैका दशैं भन्दा यो दशैं नितान्त फलदायी भयो । स्थलगत अध्ययन र अनुसान्धनबाट मैले लिङलिङकोटबारे धेरै कुरा बुझें । थुपै्र नयाँ तत्थ्य पनि फेला पारे । यसको पहिलो तत्थ्य हो लिगलिगकोट भनिने डाँडाको नाम मगर भाषाबाट रहनु । मगरभाषाको लिङलिङ, लिखलिख, लिलि, लिलिगबाट अपभ्रंश हुँदै त्यो डाँडाको नाम लिगलिगकोट रहन गएको हो । मगरभाषामा लिङलिङ भन्नाले स्निग्ध, सफा, कञ्चन, छयाङ्ग प्राकृतिक दृश्य देखिनु भन्ने बुझिन्छ । यो डाँडाबाट अहिले पनि उत्तरतिरका हिमालदेखी चारैतिर सुन्दर दृश्य देखिन्छ ।

‘लिगलिग’ शब्द ‘लिखलिख’ बाट अपभ्रस भई बनेको भन्नेहरु पनि छन् । ‘लिखलिख’को अर्थ सीमाना हो । 

घलेमगरले राज्य गर्ने ऐतिहासिक लिङलिङकोटबारे त्यहाँ भाषिक, साँस्कृतिक, सामाजिक र ऐतिहासिक तत्थ्य भेटिन्छन् । यसका अवशेष अहिले पनि कायमै छन् । इतिहास लेख्नेहरुले यति गहन तत्थ्यलाई किन केलाएनन् ? किन बंग्याइयो मगरको स्वर्णिम इतिहास ? बुझि नसक्नुको छ ।  हामी मगरले हाम्रो इतिहास कहिल्यै लेखेनांै । लेखिएका इतिहास राम्रोसँग केलाएर पढेनौं । पढेका इतिहास कहिल्यै गहिरिएर खोतलेनौं । त्यसैले त अरुले मगरको इतिहास (चाहेर÷नचाहेर) बंग्याईदिए । ‘अब मगरको इतिहास हामी आफैले लेख्नुपर्छ । मगर समुदायका इतिहासलाई दस्तावेजीकरण गर्नुपर्छ’ मगरका यस्तै बांगिएका इतिहास पढेर चित्त दुखेपछि मैले धेरै ठाउँमा यस्तै भन्ने गरेको छु । घलेमगरले राज्य गरेको लिङलिङकोटको इतिहास पनि बांगिएको छ । अझै बंग्याइदैछ । मगर राजाले राज्य गरेको लिङलिङकोटबारे एक त थोरै लेखिएका छन् । लेखिएका ती थोरै कुरा पनि सत्य रहेनछन् भन्ने जानकारी लिङलिङकोट पुगेर अध्ययन र अनुसन्धान गर्दा थाहा पाएँ ।

एकदशक भन्दा बढी समय अखबारी लेखनमा सक्रिय मेरा हातलाई मगरको इतिहास केलाउने काममा लगाउने जमर्को गरे । सहि वा गलत के गरे भविश्यले बताउँला । तर, मगर समुदायका केही दिग्गज र विद्वानले दिएको हौसालाले म फुरुङ्ग छु ।

त्यतिबेला लाग्यो–एक बर्ष दशैं नमानेर केही हुँदैन । हजारौं बर्षसम्म बाँकी रहने मगरसँग सम्बन्धित दस्तावेज तयार पार्नु ठूलो उपलब्धी हो । मेरो लागि योभन्दा ठूलो दशैं के होला ? लिङलिङकोटमा मगर भाषाका अवशेष, मगर भाषामा लेखिएका शिलालेख । मगरका साँस्कृतिक चलन, धार्मिक आस्था अहिले पनि भेटिन्छन् । 

लिङलिङकोट डाँडोमा पुग्ने तिनतिर बाटो छ । एकातिर डरलाग्दो पहरो भएकाले जाने ठाउँ छैन । म तीनतिरबाट घण्टौ लाग्ने उकालो हिडेर लिङलिङकोट डाँडोमा पुँगे । योबाहेक लिङलिङकोटको फेदबाट पूरै फन्को लगाएर पनि हेरे । यसको दुरी झण्डै आठ किलोमिटर छ । लिङलिङकोटको मुनिपट्टी खोल्ली गाउँका बयोबृद्ध ८५ वर्षिय ज्ञानेन्द्र रानामगरले लिङलिङकोटबारे यति गहिरो सोधीखोजी गर्ने, पूरै लिङलिङकोटको फन्को लगाएर अध्ययन गर्ने युवा पहिलो पटक देखेको बताउँदा म अत्यन्तै खुसी भएको थिए । जो लिङलिङकोटबारे जान्नेसुन्ने एक स्रोत व्यक्तिमा पर्छन् । 

मगरको स्वर्णिम इतिहास बोकेको लिङलिङकोट एउटा प्रतिनिधी ठाउँ हो । यहाँ राजा हुने परम्परा विश्वकै नौलो र ऐतिहासिक थियो । जुनसुकै जातजाती, भाषा, धर्म, वर्ग, लिङ्गका व्यक्ति राज्य संचालनमा प्रक्रियामा सहभागी हुन पाउने हक अधिकार थियो । विसं १६०४ को बडादशैेंदेखि दौडेर जसले जित्छ उ एक वर्षका लागि राजा हुने चलन थियो ।  यसरी राजा छान्ने प्रथालाई ‘लिङलिङे दौड’ भनिन्थ्यो । कालान्तरमा अपभ्रंश भएर ‘लिगलिगे दौड’ भएको छ । राजा छान्न पहिलोपटक भएको दौडमा १९/२० बर्र्षका ठिटा दलसुर घलेमगर पहिला भई लिङलिङकोटको पहिलो राजा भएका थिए । उनले विसं १६०४ देखि १६१५ सम्म त्यहाँ राज्य गरेका थिए ।

 

यस्तो ऐतिहासिक शासन व्यवस्था भएको लिङलिङकोटमाथी लमजुङका राजा यशोब्रह्मका कान्छा छोरा द्रव्य शाहले विसं १६१६ भदौ मा (गते अहिलेसम्म एकिन भएको छैन) छलछाम गरि कब्जा जमाएपछि मगरहरुको स्वर्णिम इतिहास विलुप भएको थियो । द्रब्य शाहलाई उनका शुभचिन्तक भगीरथ पन्त, सर्वेश्वर खनाल, गंगाराम रानामगर, गजानन्द भट्टराई, मुरली खवास, मुख्य योजनाकार गणेश पाण्डे र नारायण अर्यालले सहयोग गरेका थिए । लिङलिङकोटपछि द्रब्य शाहले यीनै शुभचिन्तकको साथ लिएर गोरखाका खड्का मगर राजालाई (२३ सेप्टेम्बर १५५९)  विसं १६१६ भदौ ७ गते अष्टमी तिथी रोहीणी नक्षत्र बुधवारको दिन हत्या गरेपछि उनैले शाह बंशको राजकाज सुरु गरे ।


मगरका यस्ता गर्विला इतिहास खासै लेखिएका छैनन् । योबाहेक मगरसँग इतिहास बन्ने यति धेरै विषय छन् भनि साध्यै छैन । मगरबारे अध्ययन, अनुसन्धान र खोज गर्ने हो भने कहिल्यै सकिदैनन् । यी विषयमा मगरले कहिल्यै लेख्ने प्रयास गरेन । लेख्न खोज्ने मगर विद्वान, लेखक, इतिहासकार, पत्रकारलाई हाम्रै मगर समुदायले कहिल्यै सहयोग गरेन । बरु, उल्टै असहयोग गर्छन् । तर, पछिल्लो समय केही सचेत मगर विद्वान, अधिकारकर्मी, समाजसेवी, प्राध्यापक, पत्रकारहरुले मगरबारे बढी चासो दिनु स्वागतयोग्य छ । यति हुँदाहुँदै मगरले आफ्नो इतिहास नलेखेकाले नै हाम्रो इतिहास लिपिबद्ध हुन सकेन । मगरका इतिहास त केबल विदेशीले लेखिदिए । जसले मगर भाषा के हो भन्ने जानेकै छैनन् । उनीहरुले लेख्ने भाषा अंग्रेजी हो । अंग्रेजी भाषा मगरका लागि चौथो भाषा हो ।

मगर, खस, हिन्दी पछि आउने अंग्रेजी भाषासम्म पुग्दा मगरसंग सम्बन्धित कुरा यति धेरै बांगिएका छन् कि भनि साध्यै छैन । भाषागत समस्याले सहि लेख्ने मनसाय हुँदाहुँदै पनि बांगिएका छन् । नेपालका केही इतिहासकार र लेखकले पनि अंग्रेजी भाषामा लेखिएका तीनै कुरा पढेर त्यसलाई तलमाथी पारेर इतिहास लेखेजस्तो गरे । तर, त्यो इतिहास कति सहि हो भनेर तत्स्थानमा गएर खोज्ने दुःख कहिल्यै गरेरनन् र गर्ने छैनन् भन्ने गतिलो उदाहरण हो लिङलिङकोट । 

त्यसो त लिङलिङकोटबारे अहिलेसम्म गहन अनुसन्धान भएको छैन  । गोरखाको इतिहास चार भागसम्म लेख्ने इतिहासकार दिनेशराज पन्तले समेत यसबारे खुलेर लेख्न सकेका छैनन् । उनले लिङलिङकोटमा घलेले जातिले राज्य गरेको उल्लेख गरे पनि ती मगर थिए वा थिएनन् खुलाएका छैनन् ।

पन्तजस्तै अन्य इतिहासकार र लेखकले पनि यसबारे प्रष्ट लेख्न सकेका छैनन् । घले थर भएका मगर, गुरुङ, तामाङ र छुट्टै घले जाति हुने भएकाले लिङलिङकोटमा घले थरका जातिले राज्य गर्थे भनेर लेख्नु गलत हो । विवादमा नपर्न उनीहरुले घले मात्रै लेखेर बठ्याइँ गरे पनि यो आफैमा अल्पज्ञानी र सहि अनुसन्धान गर्न नसक्नुको उपज हो । लिङलिङकोटमा राज्य गर्ने घलेमगर थिए भनेर लेख्ने पहिलो व्यक्ति इतिहासकार/लेखक नरु थापा हुन् । यस्तै नेपालको पहिलो ऐतिहासिक फिल्म ‘सीमारेखा’ लिङलिङकोटमा राज्य गर्ने घलेमगरबारे बनाईएको छ । यसको कास्टिङमा त्यहाँ घलेमगरले राज्य गरेको उल्लेख गरिएको छ । दलबहादुर बुढाथोकीमगरको प्रस्तुतिमा बनेको फिल्म ‘सिमारेखा’ को कथा नरु थापाले लेखेका छन् भने पटकथा एवं निर्देशन किशोर रानाले गरेका हुन् । मेरो अध्ययन र अनुसन्धानले पनि लिङलिङकोटमा घलेमगरले नै राज्य गरेको हुन सक्ने तत्थ्यसँग नजिक छ । किन कि लिङलिङकोटमा अहिलेसम्म मगरहरु कुनै न कुनै माध्यमबाट जोडिएका छन् । 



मगर बाहेक लिङलिङकोटमा अन्य जनजाति जोडिएको साँस्कृतिक, भाषिक र ऐतिहासिक प्रमाण भेटिदैन । ऐतिहासिक प्रमाण, साँस्कृतिक अवस्था र भाषिक कुराले कुनै पनि अनुसन्धान गरि तत्थ्य पत्ता लगायन महत्वपूर्ण अर्थ राख्छन् । बडादशैंका बेला यहाँ मगर र ठकुरी कुमार केटाले षष्ठीका दिन उपवास बसेर चेपेघाटबाट फूलपाती ल्याएर सत्तमीका दिन पस्र्याएपछि मात्रै दशैको टिका खुल्छ । लिङलिङकोटको मुनि खोल्लीका बयोबृद्ध ८५ वर्षिय ज्ञानेन्द्र रानामगरका अनुसार उनका बाबाको पालासम्म लिङलिङकोटमा मगर पूजारी थिए । लिङलिङकोटमा सानैदेखी हरेक दिन बिहान दमाह÷नगरा बजाउँदै आएका ४८ वर्षिय रामजी परियार पनि यहाँ घलेमगरले राज्य गरेको बताउँछन् । उनले आफ्ना बाबुआमाले यहाँ घलेमगरले राज्य भन्ने सुनाएको बताउँछन् । तीनै घलेमगर राजाका पालादेखि उनका पूर्खालाई नगरा बजाउँदै आएका छन् । जो अहिले पनि जारी छ । यस्तै कर्णाल बजाउँदै आएका ७१ वर्षिय सन्तोष परियारले दशैंका बेला लिङलिङकोटमा आफू १०/११ वर्षको हुँदा राँगा, सुङ्गुर, बोका सहितको पञ्चबली चढाउने चलन रहेको सुनाउँछन् । त्यतिबेला यहाँ मगरहरुले सुंगुर पूजा गरेर मगर पूजारीले नै काट्ने गरेको उनको दावी छ । उनले आजभोली यहाँ बाहुन र ठकुरी पूजारी भएपछि राँगा र सुँङ्गुरको बलि चढाउने चलन बिस्तारै हट्दै गएको बताए । तर, पनि यहाँ रांगाको बली भने अहिलेसम्म चढाउने चलन कायमै छ ।
कुल पूजा गर्नेदेखि हरेक पर्व र विविध अवसरमा सुङ्गुर र राँगा मगरका लागि नभइ नहुने महत्वपूर्ण जनावर हुन् । अर्को महत्वपूर्ण कुरा यहाँ भूम्याको थान पनि छ । मगरहरुले भूम्या पूजा विशेष महत्वका साथ गर्छन् । यीत साँस्कृतिक अवस्था अहिलेसम्म कायम हुनुले यहाँ राज्य गर्ने घलेहरु मगर हनुसक्ने तत्थ्यलाई थप बल पु¥याउँछ । लिगलिग कालिका मन्दिरमा २० वर्षअघिदेखी पुजारी कृष्णबहादुर हमाल र ५ वर्षअघिदेखी ठाकुरप्रसाद न्यौपाने पूजारी छन् । 

लिङलिङकोटमा घलेमगरले राज्य गरेका भाषिक,साँस्कृति, सामाजिक र ऐतिहासिक तथ्य हुँदाहुँदै धेरै इतिहासकार, लेखक तथा अनुसन्धादाताले लिङलिङकोटबारे भ्रम सिर्जना गर्ने काम गरेका छन् । उनीहरुले घले मगरले नै लिङलिङकोटमा राज्य गरेका थिए भनेर किटान गरेर भन्ने आँट गरेका छैनन् । जो आफैमा गलत र तीनैलाई अल्पज्ञानी देखाउँछ ।

घलेमगर, घले गुरुङ, घले तामाङ र यी तीनमध्ये छुट्टै जाति घले पनि हुने भएकाले लिङलिङकोटमा राज्य गर्ने को हुन् भन्ने किटान नगरेपछि भ्रम सिर्जना हुनु स्वभाविक हो । यसले सहि इतिहास त बोल्दैन, बोल्दैन मगरको इतिहास बंग्याउन मात्रै सहयोग गर्छ । केहीले लिङलिङकोटमा घले गुरुङले राज्य गरेको हुन सक्ने आशंका गर्छन् । कतिले त घले गुरुङले नै राज्य गरेको भ्रम पालेको छन् । तर, यो सत्यको नजिक छैन । केवल भ्रम मात्रै हो । लिङलिङकोट पुगेपछि ती सबै भ्रम निवारण हुन्छन् । 

गोरखाबारे केही न केही लेखेका इतिहासकार र लेखकले लिङलिङकोटको सत्य बाहिर ल्याउन सकेनन् वा टाउको दुखाउन चाहेनन् उनीहरुले नै जानुनन् । अहिलेको फास्टफुडे पुस्तालाई यसकारे पुनर्लेखन गर्ने सुद्धि फिरेकै छैन । इतिहासको पनर्लेखनले कसैलाई नोक्सान हुँदैन । यसले त झन् पछिल्लो पुस्तालाई असली इतिहास पढ्न पाउने भाग्यमानी बनाउँछ । पुनर्लेखन भन्दैमा गहिरो अनुसन्धान र खोज नगरि भावनामा लेखेर इतिहास हुन सक्दैन । इतिहास गलत भनेर कुर्लिनेहरु र चर्का भाषण सुनाउनेहरुले विवेक खर्च गरेर चिनुवा अचिवीले भने झै ‘अरुले लेखेको मन पर्दैन भने आफै लेख्न थाल’ बेला आएको छ । अनि भन्न पाइन्छ–‘यस्तो रहेछ मेरो इतिहास ।’ त्यसैले लिङलिङकोटबारे मेरो अनुसन्धान जारी छ । अझै केही चरणको अनुसन्धानले सत्य के हो ? बाहिर ल्याउनेछ । त्यसको लागि तपाइहरुले केही समय कुर्नैपर्छ ।



(लेखकले गोरखा लिगलिगकोटका घलेमगर राजाबारे अनुसन्धान गरिरहेका छन् ।)