दिनकर नेपाल
पहिलोपल्ट बिदेसिँदा म १२ वर्षको थिएँ । स्याङ्जा वालिङको हाइस्कुलमा कक्षा सातमा पढ्थें । पुसबाट नयाँ सत्र सुरु भएको थियो । बुवा माघमा छुट्टी आउनुभयो लाहुरबाट र फागुनमा हामी ‘इन्डिया’ जाने कुरा चल्यो । एक दुई वर्ष उतै बस्ने, उतै पढ्ने । बैनी तीन कक्षामा पढ्थिन्, भाइको भर्ना आउँदो वर्ष गर्नुपर्ने थियो ।
मलाई रमाइलो लाग्न थालेको थियो- कुरा चल्न लाएदेखि नै । अब भारत घुम्न पाउने भइयो ! ‘आफूभन्दा ठूलो भड्डुमा पसेर मस्का लगाउँछन्,’ आमाले हामीलाई बेलाबेला भन्ने गर्नुहुन्थ्यो । भागेर जान्छन् कि भन्ने डरले भन्नुहुन्थ्यो होला । मलाई भने त्यही ‘भड्डु’ले कहिलेकाहीं साह्रै कौतूहल जगाउँथ्यो । कस्तो हुन्छ होला साँच्चै ?
वालिङबाट पूर्व पोखरा र पश्चिममा पाल्पासम्म लगभग सय किलोमिटर मात्रै थियो मैले देखेको नेपाल र मैले देखेको संसार । बुवाका केही तस्बिरहरू देखेको थिएँ, आर्मीका । रमाउँथें हेरेर । कश्मीरको बरफको सेतै पृष्ठभूमिमा ग्वाम्म ढाकिने लुगामा बुवाका थरी-थरी पोजका फोटोहरूले मलाई अर्कै संसारमा पुर्याउँथे । हातमा बोकेको बन्दुक र बरफमा लाउने भन्नुभएको सेता अग्ला बुटले लोभ्याउँथे । फोटो हेरेपछि लुकीलुकी बुवालाई हेर्थें । बुवाका हात-पाखुरा र जीउ फिल्मका हिरोका जस्ता लाग्थे ।
बुवा हामीलाई लिन आउनुभएको थियो । लाहुर जाने भयौँ हामी त । म कल्पनामा रमाउन थालिसकेको थिएँ । पहाडै नभएको देश-मधेस कस्तो हुन्छ होला ? कस्तो छ होला लाहुर ? त्यहाँ त हिन्दी पो बोल्नुपर्ने भयो अब । हुन त, घरनजिकै फिल्म हल बनेपछि हामी केटाकेटीहरू एउटै फिल्म दस-पन्ध्रपटक हेथ्र्यौं । त्यसरी अलिअलि हिन्दी मैले सिकिसकेको थिएँ ।
बुवाको पल्टन कश्मीरबाट देहरादून आएको रहेछ । हामी अब त्यहीं जाने । देहरादून भनेपछि हामी सबै खुसी थियौं, नेपालीहरू प्रशस्तै भएको ठाउँ, आफूले किताबमा पढेको ठाउँ । काँगडासम्म जितेका रहेछन् गोर्खाली सेनाले । देहरादून त धेरै वर रैछ । अब जान, हेर्न, घुम्न र बस्न पाइने भयो, मेरो खुसीको सीमा नै थिएन ।
‘स्कुल पनि राम्रा छन्, पढाइ राम्रो छ,’ बुवा भन्नुहुन्थ्यो । म मख्ख । स्कुलमा पनि जान लागेको घोषण्ाा गरिदिएँ । हामीलाई नेपाली पढाउने सरले भन्नुभयो, ‘अब इन्ले बिगार्ने भए पढाइ ।’ मलाई यो टिप्पण्ाीले घोच्यो- आफैं भारतको आसाममा पढ्नुभएको सरले किन त्यसो भन्नुभएको होला ?
एक दिन बिहान पाँच बजे हामी हिँड्यौं । बुवा, आमा र हामी तीन छोराछोरी । ट्रकको अगाडि सिटमा, हाम्रो पूरै परिवार । ‘बस ढिलो हुन्छ, रोक्दै रोक्दै लैजान्छ, ट्रकमा चाँडै पुगिन्छ,’ बुवाले भन्नुभएको थियो । लगभग छ घन्टामा हामी सुनौली पुग्यौं । पहिलोपल्ट मधेस देख्दा म दंग थिएँ । फागुनको भुइँले तातो बाफ छोडेर आपmनो परिचय दिंदै थियो । एकैछिनमा हामी पसिनाले निथ्रुक्कै भिजिसकेका थियौं ।
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भनेर सुनौली बोर्डरको गेटमा लेखेको थियो । अर्थ त थाहा थियो तर त्यति बेला भाव बुझिनँ । बोर्डरको गेट काटेर भारत पस्नेबित्तिकै अलिकति असजिलो लाग्न थाल्यो । सबै नौलो भएर हो कि किन हो ? साँघुरो बाटोमा ठूलाठूला ट्रकहरू लाम लागेर बसेका थिए, एकअर्कासँग टाँसिएर नेपालतिर मुख गरी । केहीका पछाडि हिन्दी सायरी लेखिएका थिए । कुनै कुनैमा कागती, खुर्सानी र थोत्रो चप्पल झुन्ड्याइएका थिए । बाटामा जति हेरे पनि नटुङ्गिने गरी लाम लागेका ती ट्रकहरूले छोडेको ठाउँ अनगिन्ती मान्छे, रिक्सा र पmयाट्ट-फुट्ट मोटरसाइकल-कारहरूले ओगटेका थिए ।
‘गोरखपुर, गोरखपुर ल यता आइए’ भन्दै दुईजना अग्ला काला मान्छेले बुवाको हात समातेर तान्दै लगे । मलाई पाखुरामा समातेर अर्को एकजनाले अर्कोतिर तान्न लाग्यो । आमा अल्मल्ल परेर बीचैमा उभिनुभएको थियो । भाइ-बैनी रुन थाले । बुवा ‘छोड् छोड्’ भन्दै झोला आफूतिर तान्दै चिच्याउँदै हुनुहुन्थ्यो ।
मलाई सबै आवाजहरू सुस्तसुस्त मबाट टाढा गइरहेजस्तो लाग्न थाल्यो । आँखाअगाडि धमिलो पर्दा लाग्यो । बुवाले दह्रो हातले पाखुरामा समातेर भित्र तान्नुभयो, एउटा बसमा । म सिटमा बस्दा भित्र र बाहिर सबैथोक घुम्न थालेको थियो । त्यसपछि अँध्यारोले मलाई छोप्यो । र, म हराएँ ।
धेरै वर्षपछि फेरि त्यही बोर्डर काट्न लाग्दा भैरहवाबाट सुनौलीसम्म बाटोमा टन्नै जाम लागेको थियो । रिक्सा मात्र चलेको रहेछ । रिक्साको पनि कछुवाकै गति थियो । घाममा त्यसरी रिक्सामा डढ्दा मेरो टाउको चड्कन थालिसकेको थियो । चल्दाचल्दैको रिक्सामा एउटी बूढी आइमाई चढिन् र बसेपछि बल्ल मतिर नहेरी भनिन्, ‘अलि परसम्म हो है भाइ ।’
उनी मेरो हजुरआमाको उमेरकी थिइन् ठ्याक्कै । म सरें । ‘बाबु, विदेश जान लाग्यौ ?’ घरबाट हिँड्दा आमाले अक्षता लगाएर, दुबो दिएर दही ख्वाएर पठाउनुभएको थियो । मधेससम्म पुग्दा अक्षता झरे पनि सिमि्रकको रातो निधारमा प्रस्ट थियो । चलन चल्तीको भाषामा विदेश भनेकै भारतबाहेक अरू देश । खाडी, कोरिया, मलेसिया, जापान, अस्ट्रेलिया, अमेरिका आदि । म अप्ठ्यारोमा परें । विदेश होइन भनौं भने भारत विदेशै हो, हो भनौं भने उनले भन्न खोजेको विदेश अर्कै पो हो कि ?
‘हजुर !’ मैले थपें, ‘म भारतमा जागिर गर्छु ।’
‘किन यस्तो हतारमा लाग्यौ त ?’ कस्तो हतार भनेकी हुन् ? बुभmन सकिनँ- जागिरे मान्छे, छुट्टी सकिएपछि हिँड्नै पर्यो ।
‘संविधानसभाको चुनाव आउनै ला छ नि त, बाबु !’ मैले बल्ल उनलाई राम्ररी नियालें । लगभग साठी पैंसट्ठीको उमेर । सत्तरी त काटेकी छैनन् । बोलीमा बौद्धिकता र उच्च शिक्षाको अहम् थिएन । कुनै दलको झोला, बिल्ला थिएन, संघ संस्थाको छाप लगाएको झोला-टोपी-रुमाल, केही पनि थिएन । म झनै अल्मल्ल परें । को हुन् यी आमा- मलाई यसरी प्रश्न सोध्ने ?
‘जागिर हो आमा, जानै पर्यो ।’
‘कति देश विदेशबाट मान्छे आउँदै छन्, यसैका लागि । यो त ठूलो घटना पो हो त, सानोतिनो सधैँ भइरहने चुनाव कहाँ हो र ?’ उनले त्यक्त स्वरमा एकै सासमा भनिन् र अर्कोपट्ट िफर्किइन् । म एकछिनसम्म टोलाइरहें । के जवाफ दिउँ ? तर मेरो जवाफ सुन्न उनी पर्खेर बसिनन्, बोर्डरअघि नै चल्दाचल्दैको रिक्साबाट केही नबोली ओर्लिइन् र लाम लागेका गाडीहरूको हुलमा हराइन् ।
म निकैबेर घोरिइरहें । यो रिक्सा चलाउने आपmनो ज्यान घरी दायाँ घरी बायाँ ढल्काएर पैडल ठेलिरहेको छ । काँधमा पसिनाका दाना टल्किरहेका छन् । यसले भोट हाल्छ कि हाल्दैन होला, म सोच्न थालें । एकपल्ट त झन्डै सोधिसकेको थिएँ । तर सोधिनँ । चुपचाप उसको पसिनाका हीराहरू हेरिरहें ।
मजस्तै निधारमा रातो टीका लगाएका मान्छेहरूको हूल अघि बढिरहेको थियो । गेटमा लेखिएको थियो सधैंझैं- जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी । छातीभित्र केही डल्लो परेजस्तो भयो र पछाडि फर्केर हेरिरहें । चेकपोस्टमा प्रहरी जवान नेपाल र्फकंदै गरेका मान्छेहरूको सामान चेक गर्दै थिए ।
जाम छिचोलेर बस पाउने ठाउँसम्म पुग्न निकै समय लाग्यो- म तिनै आमाको बारेमा सोच्दै थिएँ । जति धेरै सोच्यो उति उनको अनुहार भने नचिनिने हुँदै गयो मेरो स्मृतिमा । अलिअलि गरेर उनको रङ पनि ठम्याउन गाह्रो भयो । भर्खरै गहिरो नीँदबाट ब्युँझेजस्तो, सपनामा उनलाई देखेजस्तो भान भइरहेको थियो ।
केवल उनको पहिचानबिनाको अनुहार आँखामा नाचिरह्यो । उनैका शब्दहरू कानमा गुन्जिइरहे । को हुन् ती ? कहाँ छ त्यो भावनाको स्रोत- नेपाली हुनुको अपनत्व, जसले अरू कुनै पहिचान, अरू कुनै नाता खोज्दैन ? के हो त्यो नेपालीपन ? कहाँ छ त्यो, नेपाल ? यी प्रश्नहरूको भेल र भुमरी मैले धान्दै थिएँ, रिक्सा भने आपmनै सुस्त चालमा ढुक्क ओरालो लागिरहेको थियो । भारतीय सुरक्षा गार्डले हात दियो, र रिक्साको ह्यान्डलमा लौरोले ठ्याङ्ग हान्यो । मैले छाती छाम्न थालें ।
थाहै नपाई मैले नेपाली नागरिकता थन्क्याएर भारतीय सेनाको परिचयपत्र घाँटीमा झुन्ड्याइसकेको रहेछु । परिचयपत्र निकालेर उसलाई देखाएँ । मजस्तै एउटा मान्छेको फोटो थियो- भारतीय सेनाको पोसाकमा । काँधमा थिए दुवैपट्ट-ि अशोकको चिन्ह । गार्डले सलुट ठोक्यो । मेरो अनुहार सुस्तसुस्त परिचयपत्रको मान्छेको अनुहार बन्दै गयो । र, म खुम्चिँदै खुम्चिँदै सानो भएर छातीमा लुकें । उसको छाती दम्भले फुल्दै गयो, र भित्र म निस्सासिन थालें । फुत्कन खोजें । आँट गरेर हामफालेको त फुर्र उड्न सक्ने भएँछु- उडेँ माथि माथि । गेटभन्दा धेरै माथिबाट छिरें नेपाल । कुनै चेक-पोस्ट थिएन । ती ‘आमा’लाई खोजें निकै बेर तर भेटिनँ । आपmनै घरतिर लागें ।
भर्खरै बनाएको चारतले घर ठडिएको थियो एक्लै, वरिपरिका घरहरूलाई होच्याउँदै । तीन चार चक्कर लगाएँ, विमानले अवतरण्ा गर्न लाग्दा जस्तो । छतमा कंक्रिटको थुप्रो थियो- खेर गएको । आमा ‘किचेन’मा काम गर्दै हुनुहुँदो रहेछ । आमालाई बोलाएर भन्न मन लाग्यो- म आएँ आमा, म फर्कें । मरेको मान्छेको हंस कस्तो हुन्छ कुन्नि, जिउँदो मान्छेको हंस भने साह्रै कमजोर हुँदो रहेछ । न आफ्नो बोली छ, न शरीर ।
बुवा त बैंक जानुभयो होला । बल्ल सम्झें, आज घरको किस्ता बुझाउने दिन । अनि सम्झें, भाइको पढाइका लागि पुना पैसा पनि पठाउनुपर्ने थियो, आजै । तुरुन्तै फर्केर मैले परिचयपत्रको मान्छेलाई भेटाएँ । मोबाइलमा सिम चेन्ज गरेर भारतीय नम्बर एक्टिभेट भयो ।
टाढा कतैबाट आएजस्तो परिचयपत्रको मान्छेको आवाज सुनिँदै थियो- ‘हेलो, मेजर नेपाल हियर । हाउ आर यु, केप्टन विनय ?’
उतापट्टकिो कुरा सुनिनँ । ‘या, आई विल रिच टुमारो । गाडी भेज देना । और, वो जो बन्दा है मेरे साथ- क्या नाम है उसका रामबहादुर, श्यामबहादुर हाँ, उसको भी भेज देना ।’
परिचयपत्रको मान्छेले नचिनेजस्तो गरे पनि मैले चिन्थें उसलाई । बाग्लुङतिरका त थिए उनी ।
(हामीलाई गज्जब लागेको यो लेख शिर्षक बाहेक सबै कान्तिपुरबाट कपीपेस्ट गरिएकोहो ।)