हितानको थाकेको पृथ्वी

Read Time:5 Minute, 5 Second

–त्रिलोकसिंह थापा मगर

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काँइलाले गत शुक्रबार राजधानीमा आयोजना गरिएको एक समारोहमा बेलायतका प्रवासी स्रष्ठा साहित्यकार विजय हितानका कथासंग्रह “थकित पृथ्वी” पुस्तकको विमोचन गरे । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले प्रकाशन गरेको विजय हितानको कथा संग्रह “थकित पृथ्वी”मा आदिवासी जनजाति, विज्ञान प्रविधी, जलवायु तथा पर्यावरण आदि विषयमा जम्मा १२ वटा कथाहरू समावेश छन् । लघु आकारमा कथाहरूको संकलित संग्रह विषयगत र संरचनागत पक्षले हेर्दा अन्य कथा संग्रहबाट केही फरक देखिन्छ । यी कथाहरू एउटा नया चिन्तन र नौलो सोच लिएर अगाडी बढेको पाइन्छ । साथै यी संग्रहित कथाहरूले नयाँ चेतना जगाउने एंवम नौलो विचारहरूलाई उजागर गर्ने प्रयास गरेको देखिन्छ । आत्मपरक शैली, आत्मवृतान्त, संस्मरण, अतीतका सम्झना आदिले संग्रहीत कथाहरूलाई रोचक, मनोरञ्जक र आकर्षक बनाएको छ ।


    विजय हितानको यो संग्रहको पहिलो कथा हो “ओलम्पिक ज्योति र सपनाहरू” । खेलकुदको बारेमा सम्भवतः पहिलो कथा हो । यस कथामा खेलकुदको महत्व तथा राष्ट्रको गौरव बढाउने बारे प्रकाश पार्ने प्रयास भएको छ । “सङघाई स्ट्रटिका दुई आखाँ” पूर्ण रुपमा मनोवैज्ञानिक कथाको रुपमा प्रस्तुत गरिएको छ । सम्बन्ध सम्पर्क तथा विच्छेदलाई नाटकीय ढङ्गबाट प्रस्तुत गर्दै स्वतन्त्र जीवन शैलीलाई आकर्षक एंवम मनोरञ्जक ढंगबाट चित्रण गर्न लेखक सफल भएका छन् । “सपनाको राजकुमारी” अति काल्पनिक कथा भएता पनि सत्य जस्तो अनुभव हुने गरेको छ । “वर्ष गाँठ” संस्मरणको चित्रण हो भनेर भन्न सकिन्छ ।
“विछोड अघिको रात” मार्मिक कथा हो । आम लाहुरे र लाहुरेनी साथै तिनका परिवार जनका अनुभवसँग गाँसिएको कथा हो । “गौरीको मलामी” पर्यावरणको परिप्रेक्ष्यमा लेखिएको कथा हो । यो कथा चेतना, सन्देश तथा सूचना मुलक हो । गोर्खा सैन्य जीवन र हङ्गकङ्ग शहरको परिवेशमा रचिएको “वान्याईमा फक्रेको सयपत्री फूल”को आफ्नै रोचक शैली छ । सैनिकको विदेशी केटीसँगको प्रेम प्रसंगले गाँसिएको घटना रोचक ढंगबाट चित्रण गरिएको छ । “नयाँ वर्षले जन्माएको वृक्ष” पर्यावरणको परिवेशमा लेखिएको कथा हो । लाहुरेको अवकास जीवनको झ–झल्को “आमाको माया” कथामा प्रस्तुत यो कथा भावुकताले भरिएको छ । “आलुको ढिँडो” एउटा शिक्षाप्रद कथा हो । दुई पुस्ता पिता र पुत्रको बीचको अन्तरसम्बन्धमा आधारित कथा हो । “व्यूँझिएर सपनाबाट” पर्यावरण परिवेशमा बनेको कथा हो  । रोचक तथा कौतुहलताले भरिएको कथा हो  । “प्रश्न भित्रको परखाल” राज्यको श्रृजनात्मक युवा शक्ति प्रति उपेक्षित रहेको राज्य माथि कटाक्षले बनेका कथा हो । पर्यावरणमा प्रदूषणबाट पर्ने क्षति एंवम् दुष्परिणामको चिन्ता यस कथामा अभिव्यक्त गरिएको छ ।
विजय हितानको संग्रहित कथाहरूले समाज तथा सामान्य जीवनका विविध पक्षलाई समेटियता पनि पर्यावरणीय चेतनालाई जगाउन विशेष पहल गरेको छ । यी कथाहरूले नेपाली कथा साहित्यमा केही नौलो आयाम तथा सम्भावनाहरूका संकेत गरेको देखिन्छ । नेपाली साहित्यको विकासमा सैनिक लाहुरेको योगदान यस कथा संग्रहले प्रतिविम्व गरेको छ ।
नेपाली कथा साहित्यमा नौलो दृष्टिकोण, नया ढ़ँगको उर्जा तथा एउटा नयाँ मोड थप्न यो कथा संग्रहको प्रयास रहेको छ । सरल, सहज, दैनिक र व्यवहारिक भाषाको प्रयोगबाट बनेका तथा कथेका यो कथा संग्रहले पूर्व सैनिक विजय हितानको साहित्यिक प्रतिभालाई छर्लङ्ग पार्दछ ।
(त्रिलोक थापा मित्रसेन प्रतिष्ठानका अध्यक्ष हुन ।)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %