नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय समन्वय समिति, साउदी अरबियाले १० अगष्ट, शनिबारको दिन रियाद शहरको रमाद होटेलको सभा हलमा अन्तरक्रिया गरि आदिवासी दिवस मनायो ।
महासंघ साउदी अरबियाका अध्यक्ष हुम सुनारी मगरको सभापतित्वमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङ काजी शेर्पाको प्रमुख आतिथ्य थियो । कार्यक्रममा सहभागीहरुबाट एकल जातिय पहिचान सहितको संघियताको बिषयमा उठेका प्रश्नहरुको उत्तर दिदै प्रमुख अतिथि आङ काजी शेर्पाले आदिवासी जनजाति महासंघले लिएको आधिकारिक धारणाको बारेमा प्रष्ट पार्दै राज्यको पुन संरचनामा एकल जातिय पहिचान सहितको संघियताको बारेमा स्पष्ट हुन आम नेपाली समुदायलाई अनुरोध गरे ।
आधुनिक नेपालको निर्माण हुनु भन्दा अगाडी नेपालमा बसोबास गर्दै आएका आदिवासी जनजातिहरु राष्ट्रियता हुन् । त्यसैले, एकल जातिय पहिचान सहितको संघियता कायम गर्दा त्यो जातिय राज्य स्थापित हुने नभई त्यो राष्ट्रिय संघियता राज्य स्थिपित हुने र मुलुक अग्रगामी दिशा तिर उन्मुख हुने उनको भनाई थियो ।
या कार्यक्रमका सभापति अध्यक्ष हुम सुनारी मगरले आदिवासी जनजाति महासंघ उत्पीडित र उपेक्षित डेढ करोड नेपालीहरुको साझा संस्था भएकोले कसैले पनि यो संस्थाको आकार र यसको क्षमतालाई अन्य संघ संस्थाहरुसंग बराबरीको रुपमा नहेर्न आग्रह गरे ।
सिंगो डेढ करोड उत्पीडित र उपेक्षित समुदायहरुको मुक्तिको खातिर नेपाल आदिवासी जनजाति महासंघले चालेको आदिवासी जनजाति आन्दोलन सफल पार्न मुलुक तथा मुलुक बाहिर बस्ने सबै आदिवासी जनजातिहरु एकजुट हुनुपर्ने धारणा ब्यक्त गरे । अन्तरक्रिया कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय समन्वय समितिका वरिष्ठ उपाध्यक्ष खेम गुरुङले संचालन गरेका थिए ।
नेपाल आदिवासी जनजाति महासंघ, क्षेत्रीय समन्वय समिति, जेद्दाको आयोजनामा पनि आङ काजी शेर्पाकै प्रमुख आतियमा जेद्दाका अध्यक्ष ङ्गिमा शेर्पाको सभापतित्वमा आदिवासी दिवस सम्पन्न भयो । जेद्दाका सचिव नबराज घिसिङ्गले कार्यक्रम संचालन गरेका थिए ।