पोखरा, २४ साउन
अन्तराष्ट्रिय नेपाली साहित्य समाज अमेरीकाले प्रत्येक दुई वर्षमा प्रदान गर्ने ‘उत्कृष्ट पुस्तक पुरस्कार’ लोकसंस्कृतिविद् डा.कुसुमाकर न्यौपानेले पाएका छन् । न्यौपानेले अनुसन्धान गरि २०६९ सालमा प्रकाशन गरेको दसावतार बालन लोकनाटक पुस्तकलाई यो पुरस्कार दिइएको हो । पाल्पा रामपुरमा प्रचलित यो लोकनाटक लोपोन्मुख अवस्थामा छ । डा।न्यौपानेले अनुसन्धान गरी पुस्तक प्रकाशन गरेपछि लोकनाटकले निकै चर्चामा पाएको थियो ।
भगवान्का दस अवतारको अभिनय भएको लोकनाटकलाई डा.न्यौपानेले सङ्कलन गरी विश्लेषण समेत गरेकाछन् । ‘यो पुरस्कारले मलाई अनुसन्धान र सिर्जनात्मक काम गर्न प्रेरणा दिनेछ’ डा. न्यौपानेले भने, ‘वर्षौदेखि गाउँगाउँ डुलेर अनुसन्धान गर्दाका कष्टलाई पुरस्कारले बिर्साइदिएको छ ।’ न्यौपानेले लेखेको बाग्लुङका मगर समुदायमा प्रचलित ‘गोपीचन लोकनाटकले पनि दुई वर्ष अगाडि अन्तराष्ट्रिय नेपाली साहित्य समाज अमेरीकाले नै उत्कृष्ट पुस्तक पुरस्कार पाएको थियो ।