अन्तराष्ट्रिय सिमाना क्षेत्रबाट पांच किलोमिटर भित्र क्यासिनोहरु रहन नपाउने गरि सरकारले ल्याएको नीतिको बांके स्थित मधेश केन्द्रीत राजनीतिक दलहरुले बिरोध गरेका छन् ।सरकारले गत साउन ७ गते राजपत्रमा प्रकाशित गरी क्यासिनो नियमावलीमा अन्तराष्ट्रिय सिमानाबाट पांच किलो मिटर भित्र क्यासिनो संचालन गर्न नपाउने नियमावली सार्बजनिक गरेको थियो ।सिमा क्षेत्रको ५ किलोमिटरसम्म क्यासिनो सञ्चालन गर्न नपाउने गरि सरकारले नियमावली जारी गरेपछि मधेशवादी दलका नेताहरुले मधेश क्षेत्रको विकासमा असर पुर्याउने भन्दै नियमावली खारेज गर्न माग गरेका हुन् । हिजो नेपालगञ्जमा बसेको दर्जन बढी मधेशी दलका नेताहरुको संयुक्त वैठकले सरकारको संशोधित नियमावलीले तराई क्षेत्रको विकासमा बाधा पुर्याउने भन्दै दवाव दिने तयारी गरिएको मधेशबादी दलहरुले जानकारीदिए ।
तराई मधेश लोकतान्त्रीक पार्टीका केन्द्रिय सदस्य पशुपति दयाल मिश्रले भने, सरकारले जहिले पनि मधेश बिरोधी निती ल्याउछ यसको हामीले घोरभर्त्सना गर्दछौं । यदि सरकारले यस्तै मधेश बिरोधी अभियान संचालन गरि रहे भने कडा आन्दोलन गर्न बाध्य हुनेछौं । उनले भने,’सरकारले ब्यासिनो माथी प्रतिबन्ध लगाउनु छ भने देश भरी लगाउनु पर्छ एक देशमा दुई निती कहांबाट लागु हुन्छ! सरकारले सुरक्षाको कारण देखाई सिमा क्षेत्रको ५ किलोमिटर सम्म ब्यापार,उद्योग कलकारखानाहरु समेत हटाउनु पर्ने हुन्छ, त्यसको हामी कडा रुपमा निन्दा गर्दछौं ।प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद ओलीलाई ज्ञापन पत्र बुझाउदै मधेश केन्द्रीत दलहरुले मधेशलाई उपेक्षा गरिएको गुनासो गरे ।
ज्ञापन पत्रमा तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य पशुपति दयाल मिश्र, जिल्ला अध्यक्ष गिरीजा पाठक, तराई मधेश लोकतान्त्रिक पार्टी नेपालका केशवराम बर्मा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष हिरालाल लोनिया, सद्भावना पार्टीका लक्ष्मी नारायण बर्मा, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका मधई सिंह सरदार, संघिय सद्भावना पार्टीका हरदेव बख्स चौधरी, राष्ट्रिय मधेश समाजवादी पार्टीका फिरोज अहमद, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका फुलाराम थारु लगायतले हस्ताक्षर गरेका छन् ।
दिपा आले , नेपालगन्ज