पाल्पा दरवारमा ‘मोहित’हरुको लुछाचुडी

Read Time:9 Minute, 23 Second

पहाडकी रानी, नेपालको दार्जिलिङ र पर्यटकिय गन्त्यब्य उपनामले प्रसिद्ध पाल्पा सरदमुकाम तानसेन २०६२ साल माघ १८ गते माओवादी छापामारको आक्रममा क्षणभरमै भग्नावशेषमा परिणत भएको थियो । घटनामा सय बर्ष पुरानो पाल्पा दरबार खरानी बन्यो । त्यसको सुन्दरता र काष्ठकलाको नमुना ईतिहासमा सिमित बन्यो । त्यति बेला ध्वस्त भएको पाल्पा दरबारको पुर्ननिर्माण कार्यत सम्पन्न हुन लागेको छ तर दरबारमा पहिले जस्तै कार्यालय राख्ने कि त्यसलाई संग्रहालय बनाउने भन्ने बारे आम पाल्पालीहरुमा मतभेद शुरु भएकोछ  ।
पहिले पाल्पाका सबै सरकारी कार्यालयहरु दरबारमै रहेकाले युद्धताका दरबार माओबादीको तारो थियो ।  दरबारलाई संग्रहालय बनाउने भन्ने बिषयमा प्राय सबैको एउटै मत भएपनि केहि दल र संघ संस्थाले ३ बर्ष सम्म दरबार भित्रै प्रशासन, मालपोत र जिबिस कार्यालय राख्ने  निर्णय गरेपछि विवाद शुरु भएको हो ।
बिशेषगरी तानसेनका ब्यापारी, पाल्पा उद्योग बाणिज्य संघ, नेपाली काग्रेस, एकिकृत नेकपा माओवादी दरबारमा ३ बर्षलाई सरकारी कार्यालय राख्न दिईनुपर्छ भन्ने पक्षमा छन्  भने नेकपा (एमाले) , नेकपा–माओवादी , राष्ट्रिय जनमोर्चा , राष्ट्रिय जनमुक्ति पार्टी  र नेकपा (एकीकृत) दरबारमा कार्यालय राख्नै नहुने अडानमा छन् । ३ बर्षलाई भनेर सरकारी कार्यालय दरबारमा सारिएमा त्यसपछि कार्यालय अन्त सार्न नसकिने उनीहरुको तर्क छ ।
दरबारमा कार्यालय राखिनुहुदैन भन्दै पत्रकार महासंघ पाल्पाले पनि जनमत तयार पारिरहेको छ । दरबारमा ३ बर्षको लागि कार्यालय राख्नु हुदैन यसलाई सिधै संग्रहालयको रुपमा लैजानु पर्छ, नेपाल पत्रकार महासंघ पाल्पाका सभापति भगवान भण्डारी भन्छन “ नेपाल सरकारले ति कार्यालयहरुको लागि भवन बनाउन तुरुन्त पैसा निकासा गर्नुपर्छ । ”
दरबारमा कार्यालय राख्न हुने र नहुने बिषयमा दुबै पक्षले दुबै पक्षले छुट्टा  छुट्टै कार्यक्रमको आयोजना गरिरहेका छन् ।

दरबार क्षेत्र परिसर विकासका लागि गुरुयोजना बनाउनुको साथै पाल्पा दरबारलाई  संग्रहालय बनाउने निर्णय भएपनि गत  जेष्ठ १३ गते भएको बैठकमा कार्यालयहरुको स्थायी व्यवस्था नहँुदा सम्म तीन वर्षको लागि दरबारमै राख्ने बिषयमा दलहरु बिचमै बिबाद भएको हो ।  नेकपा एमाले पाल्पाका उपाध्यक्ष देबी बस्यालका अनुसार पाल्पा दरबारलाइ पर्यटन केन्द्रको रुपमा बिकास गर्नुपर्छ ।
ठुला ठुला केन्द्रहरु सरेका छन् भने हाम्रो एउटा प्रशासनिक कार्यालयलाई सार्ने कुरामा यति ठुलो आपत्ति भनेको नयाँ युग लाई हामीले स्वागत गर्न तयार नभएको जस्तो लाग्छ, उनी भन्छन,  “पुरानो युगमा अडिन खोजेर अब सम्भब छैन, राणाको कालमा भएका दरबारहरुका भरमा हामीले कार्यालय चलाउनेहो भने हामीले केही पनि परिबर्तन  गर्न सक्दैनौ । “
सरकारी कार्यालयहरु सबै दरबार भित्रै भएकाले पनि समग्र तानसेको बिकास हुन नसकेकाले कार्यालयहरु तानसेनका नगर भित्र छरिएर रहनुपर्ने एक थरी ब्यवशायीहरुको माग  छ भने उता दरबारको पेरीफेरीमा रहेका कार्यालयहरु अन्यत्र सार्दा आफुहरुको ब्यवसाय सुक्ने हुनाले नसार्न दरबार नजिकका ब्यापारीहरुको तर्क छ ।
दरबारलाई संग्रहालयकै रुपमा बिकास गर्नुपर्छ भन्ने हाम्रो धारणा हो, नेपाली काग्रेस पाल्पा सभापति भन्छन,  “तर जिल्लाका सरकारी कार्यालयहरु जसको आफ्नै भवन छैन, तिनलाई ३ बर्ष सम्म भएपनि दरबारमै राख्नुपर्छ भन्ने हो । किनभने कार्यालय टाढा भए सेवाग्राहीले दुख पाउन सक्छन् । ”

दरबार परिसर भित्रनै जिल्ला बिकास, मालपोत कार्यालय र जिल्ला प्र्रशासन रहनुपर्ने माग गर्दे आएको पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष मधुदयाल सैजुका अनुसार  दरबार बाहिर रहेका  सडक लाईनको टहरालाई दश फिट भित्र सारेर एउटा ब्यवशायी रुपमा टहराहरु बनाउनु पर्छ  र उपल्लो तलामा कार्यालयहरु बनाउनु पर्छ । सैजु भन्छन,
“त्यो सम्पन्न नभए सम्म ३ बर्षको लागी दरबारमा नै जिल्ला प्रशासन रहनु पर्छ भन्ने संघको धारणा हो । ”  
चार तलामा ६३ कोठा, २ बुर्जा र बैठक हल रहेको पाल्पा दरबार बिसं १९८४ सालमा प्रतापशमशेरले बनाएका थिए । अहिले सम्पन्न हुन लागेको पाल्पा  दरबार  पुरातात्विक, ऐतिहासिक र कलाकौशललाई कतै पनि नमेटि पुरानै शैलीमा पूनर्निर्माण गरिएको छ । पूनर्निर्माण भएको यो  दरबार कार्यालय मैत्री पनि नभएकाले सरकारी कार्यालय भन्दा तत्काल दरबारलाई  संग्रहालनै बनाउनुपर्छ भन्नेहरुको बहुमत बढी छ पाल्पामा ।  

दरबार आफैमा संग्रहालय  भएको भन्दै पाल्पाका ईतिहासबिद निर्मल श्रेष्ठ भन्छन, एउटा ईतिहास कोरेको दरबारलाई पर्यटनकेन्द्र बनाउनुपर्छ । उनका अनुसार दरबार पेरीफेरीमा ३ साचाहरु , तहबिल गणेश, सरकारी दशैघर, म्यागजिन, मछिन्द्रनाथ लेखिएको सेनकालिन झ्याली, निसानथान, ठुलो ढोकाहरु छ , त्यहाँ सापेथ्यकलाको एकदम नमुनाको रुपमा स्तम्भहरु छ । दरबारको महत्व नबुझ्नेहरुले कार्यालय राख्ने तर्क गरेका हुन्, श्रेष्ठ भन्छन, दरबारको जुन महत्व छ त्यसलाई हामीले बुझ्न सक्नुपर्छ । ”

माओवादी आक्रमणमा नेपालको सबैभन्दा ठुलो खापा भएको बग्गी ढोका , बेलायतको बकिङ्घम दरबार शैलीमा निर्मित आठ बुर्जा भएको ऐतिहासिक  राणाकालिन पाल्पा दरबारपनि खरानी भएको थियो । मुलुकको सिंहदरबारसंग तुलना गरिने पाल्पा दरबार राणाशासनको अन्त्यपछि पाल्पाको मुख्य प्राशसनिक भवनको रुपमा प्रयोग गरिएको थियो । पाल्पा दरबारमा जिल्ला प्रशासन, जिल्ला बिकास समिति,सरकारी वकिल,राष्ट्रिय अनुसन्धान केन्द्र,नेपाल स्काउट,अफिसर्स क्लब, कोष तथा लेखा नियन्त्रक कार्यालय, क्षयरोग नियन्त्रक आदि कार्यालय संचालित थिए । प्रमुख जिल्ला अधिकारीको सरकारी निवास पनि दरबारमै थियो । दरबारको चार तलामा ६३ कोठा, २ बुर्जा र बैठक हल छ  ।
दरबार निर्माण गर्दा छड र सिमेन्टको प्रयोग नगरि पुरानो इट्टाको सुर्की र चुनाको प्रयोगले बनाईएको थियो । अहिले पनि काठैकाठ र इट्टाबाट निर्माणाधीन यो दरबारलाई पुरानै स्वरुपमा ढालिएको  छ । चुना, सुर्की, र ईट्टाकै गिट्टी मिसाएर दरबारको ढलान गरिएको छ । पुरानै शैली र स्वरुपमा निर्माण भएको दरबारकालागी  शान्ति तथा पुनः निर्माण मन्त्रालयले सुरुमा ४ करोड ९२ लाख र पछि बढाएर ६ करोड ३५ लाख छुट्याएको थियो । भवन तथा शहरी विकास डिभिजन कार्यालय, पाल्पाका इन्जिनियर दीपक श्रेष्ठका अनुसार पुर्ननिर्माण भएको दरबार कार्यालय मैत्री छैन ।

देब पचभैया,  पाल्पा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %