हामी देशका लागि रोजा गर्छौ तर राज्य मुख लुकाउँछ

Read Time:8 Minute, 38 Second

१२ श्रावण

मुस्लिम धर्मालम्बीहरुको सबै भन्दा ठूलो पर्व इद उल फित्रको आगमन पूर्व मनाइने रमजानको रौनकले बांके उल्लासमय छ । मुस्लिम समुदायको बाक्लो बस्ती रहेको नेपालगन्ज शहरमा रमजानको छुट्टै रौनक र उत्साह हुने गर्दछ ।
    ईस्लामिक क्यालेन्डर अनुसार रमजान पर्व ९ महिनामा पर्छ । विश्वभरका मुस्लिम समुदाय सहित नेपालका मुस्लिम समुदायले पनि यो पर्व भब्यताका साथ मनाउने गर्छन् । विशेष गरी यो पर्व गरिबहरु जसले खान पाउदैनन् जसलाई भोको भेटको पीडा अनुभव हुन्छ, त्यस्तो गरिवीको अनुभव सबैले गरुन र दिनदुखीलाई सहयोग गर्ने भावना पलाओस र गरिबले पनि भोकको  अनुभव नगरुन भन्ने उद्देश्यले एक महिना व्रत बसी दुखी गरिबलाई रमजान पर्वको अवधिभर दान दिने चलन छ ।


चन्द्रमाबाट चल्ने क्यालेन्डरको आधारमा यो महिना गत वर्षको रमजान सुरु भएको भन्दा दश दिन अघि बाट सुरुभएको छ ।  दारुल उलुम फैज्जुन्नवी जामा मस्जिद ईदगाहाका प्रवक्ता भोला सिद्दिकी रमजान पर्वको बारेमा बुझ्नु भन्दा पहिला इस्लामिक धर्मको बारेमा बुझ्नु पर्ने बताउंछन् । उनका अनुसार इस्लामिक धर्म  सबै मानवकोलागि भएको र रोजाको महत्व मानव जातिले मानव जातिको सम्मान गर्नु हो ।
 श्रावण महिनामा गरिने हरेक राम्रो काममा धेरै पुन्य कमाउन सकिने धार्मिक विश्वास पनि रहिआएको छ । रोजा राख्ने दिन विहानै सूर्य उदाउनुभन्दा करिब डेढ घण्टा पहिल्यै केही खाएर खानपिन बन्द गरिन्छ । यसरी विहान खाने खानालाई सेहरी भनिन्छ । सेहरीपछि नजिकको मस्जिद गई वा आफ्नो घरमै विहानको (फजिर) को नमाज पढ्ने गरिन्छ । दिनभरि कुनै प्रकारको खानपिन, फलफूल, ध्रुमपान र चियापान गर्नु निषेध रहेको बताउंछन् भोला सिद्दिकी । रोजा राख्ने रोजेदारले कुनै प्रकारको झै झगडा, रिसराग राख्नु, झुट बोल्नु, कसैको अनुपस्थितिमा अरुको आलोचना र श्रीमतीसंग शारीरिक सम्बन्ध गर्न नहुने चलन छ ।
    प्रवक्ता सिद्धिकीका अनुसार मुस्लिम धर्ममा महिला दिदी बहिनीहरु मिलेर रोजा बस्ने गर्छन् । खानपानमा पनि निकै ध्यान दिएर अल्पाहार गर्नुपर्छ । ‘इङ्खतार ग्रहण गरेपछि नजिकको मस्जिदमा सामूहिक प्रार्थना (नमाज) अथवा आफू बसेकै ठाउंमा सांझको (मगरिब) नमाज पढ्ने गरिन्छ ।
मुसलमानहरुले यो महिना एक प्रकारले आत्मशुद्धिकरण, शारीरिक शुद्धिकरण एवं धार्मिक तालिमको रुपमा पनि लिने गरेकाछन् । एक महिनासम्म लगातार ईश्वरको भक्तिमा समय बिताए झुट, झै–झगडा, रिसराग र छलकपटबाट टाढा भएका ब्यक्तिमा यस्तै प्रकारको बानी सालभरि नै परिरहोस् भन्ने उद्देश्य रहेको पाईन्छ । रमजानको ३० दिनको ब्रत र विशेष प्रार्थना समाप्तिपछि आउने पहिलो दिनलाई नै इद भनिन्छ । इद मुस्लिम समुदायका लागि खुशीको दिन हुने गर्छ ।
यस दिन हुनेखानेले आफू र आफ्ना छोराछोरीलाई नयां लुगा लगाएर विशेष सामुहिक प्रार्थना (इदको नमाज) का लागि नजिकको इदगाह (इदको नमाज पढ्नै मैदान) वा जुन ठाउंमा मस्जिद छ त्यही ठाउंमा लैजाने गर्छन । इदको नमाज पढ्नु भन्दा अघिसम्म ब्यक्तिले एउटा निश्चित तौल बराबर गहुं अथवा त्यति बराबरको रकम अनिवार्य रुपमा गरिब र माग्नेलाई दान दिनुपर्ने धार्मिक मान्यता रहेको छ । यस्तो दान दिने रकमलाई ‘फितरा’ भन्ने गरिन्छ । इदको नमाजपछि मुसलमानहरु एकअर्कालाई अंकमाल गर्दै इद मुवारक भन्दै शुभकामना आदानप्रधान गर्ने गर्छन् ।
देशमा लोकतात्रिक गणतन्त्र आएपछि मुस्लिम समुदायकोलागि सरकारले दुई वटा पर्वकोलागि विदा छुट्टयाएको छ । तर मुस्लिम समुदाय भने यतिले मात्र मुस्लिम समुदायको पहिचान नहुने भन्दै राष्टपतिले समेत मुस्लिम समुदायको पर्वमा शुभकामना दिनुपर्ने बताए ।


रमजानको महिनामा कुरान ग्रन्थको पाठ सुन्नु पर्ने गरी विशेष नमाज (प्रार्थना) को आयोजना मस्जिदहरुमा गरिएको हुन्छ । नेपालगन्जको प्रायः आफूहरुलाई पायक पर्ने मस्जिदहरुमा गएर नमाज पढ्ने चलन छ । यो पाठ दिनको अन्तिम नमाज (ईशा) संगै हुने गर्छ । रोजा पालनाको जिम्मेवारी ब्रतालु स्वयंमाथि हुन्छ । किनभने उसले लुकेर खाए त्यो हेर्ने ईश्वर बाहेक अरु कोही हुंदैनन भन्ने विश्वास रहेको छ । त्यसैले रोजेदारहरु ईश्वर प्रसन्नताका लागि उनको आदेश पालना गर्ने उद्देश्यले रोजा राख्ने गर्छन् ।

नेपालका मुस्लिम
 मुस्लिम मोहमद कादीर अन्सारीका अनुसार नेपालमा मुस्लिम समुदाय वर्षौ अगाडिदेखि बसोबास गर्दै आएकाहुन् । उनका अनुसार नेपालको विभिन्न जिल्ला लगायत नवलपरासीमा  १२ सय वर्ष पहिला नै मुस्लिम धर्म गुरुहरु आएर बसोबास गरेकाहुन् ।  पृथ्वी नारायण शाहको पालामा बारुदखाना र तोपखानामा सेनापति र विर समेत मुस्लिम समुदाय भएको बताए । सयौ वर्षदेखि मुस्लिम समुदायको बसोबास र देशकोलागि त्याग गरेपनि अहिलेसम्म राज्य र पार्टीले नहेरेको उनको भनाई थियो । उनी भन्छन्, तर अब पनि राज्यले मुस्लिम समुदायकोलागि हक अधिकार नदिए  आन्दोलनमा उत्रने छौं।
    दारुल उलुम फैज्जुन्नवी जामा मस्जिद ईदगाहा सचांलक समितिका अध्यक्ष अब्दुल रहमान मियांका अनुसार बांकेमा मुस्लिम समुदायको संख्या १ लाख भन्दा धेरै छ । त्यसैगरी डेढ सय भन्दा बढी मज्जिद रहेको छ ।      समितिका अध्यक्ष रहमान मियाका अनुसार मुस्लिम समुदायको चाड ईद र बक्रईदको बिदा दिएकोमा खुशी ब्यक्त गर्दै नेपालमा बसोबासगर्ने सम्पूर्ण जातजातिहरुका चाडपर्वलाई पनि बिदा दिनुपर्ने बताए । नेपालगन्जमा विगतका दिनमा मुस्लिम र हिन्दु समुदायमा आपसी मतभेद भएतापनि केही वर्ष यता भने शान्ति सद्भाव कायम भएको  र आउंदा दिनमा पनि सधै शान्ति हुने उनले कामना गरे । उन। भन्छन्, मुस्लिम समुदाय समाज र देशकोलागि सधैं शान्ति चाहन्छ । मुस्लिम समुदाय  ईश्वरसंग आफ्नो समाज, देश र जनताको भलोकोलागि रोजामा प्रार्थना गर्ने गर्छन् ।

दीपाआले, नेपालगन्ज

सम्बन्धित लेख

 

शुद्ध हुदैं गरिब पोस्ने पवित्र रमजान


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %