केन्द्रीय नेतृत्व चयनमा विवाद तीव्र भएपछि एमाओवादीले पुनः ललितपुरको खन्ना गार्मेन्टलाई रोजेकोछ । कुनै बेला प्रचण्डलाई पार्टी बाहिर पार्न चलेको आन्तरिक तयारीको साक्षी यो गार्मेन्टमा शुक्रबारबाट फेरि केन्द्रीय समितिको सातौं पहिलो विस्तारित बैठक सुरु भएकोछ। बैठकको उद्घाटन सत्रमा नेताहरुले साँगठनिक कार्यदिशा भन्दा पनि बढी राजनीतिक भाषण गरेर बिताए । भाषण बढिरहेको आन्तरिक विवादको सेरोफेरोमा केन्द्रित थियो ।
विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संगठन सुधारका लागि विस्तारित बैठकसम्म आउनुपरेको बताउदै भने, ‘हेटौंडा महाधिवेशनले जनतामा विश्वास पैदा गर्यो, अनतराष्ट्रिय समूदायलाई सकारात्मक सन्देश दियो, दुश्मनको घेराबन्दी तोड्यौं तर कार्याशैली र पार्टीको संगठनबारे समग्र कार्यदिशा विकास गर्न सकेनौं ।’ दाहालले एमाओवादीलाई एकताबद्ध गर्ने ताकत आफूहरुसंग रहेको उल्लेख गरे । दाहालले संविधानसभाको चुनाव तोकिएको मितिमा नहोस् भन्न प्रतिगामीहरुले षड्यन्त्र गरिरहेको बताए । उनले १२ बुँदे समझदारीका सहयात्रीहरु पुनः एकपटक एकताबद्ध हुनुपर्ने समय आएको बताएर नेताहरुलाई विवादको गहिराईबाट ध्यान मोड्न खोजे ।
उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका दाहालले तोकिएकै समयमा चुनाव गर्न आफूले पूरै बल लगाउने उल्लेख गरे । एमाओवादी नेता बाबुराम भट्टराईले पनि आफ्नो पदत्यागले ल्याएको समस्यालाई कुलडाउन गराउन खोजेकाथिए । उनले उपाध्यक्षबाट राजिनामा समस्या नभएर समाधान भएको जिकिर गरे। हामी क्रान्तिकारीहरु त्याग र बलिदानको तरिकाबाट जनताको विश्वास जितेर जानुपर्छ, उपाध्यक्षबाट दिएको राजीनामा पुष्टि गर्दै भट्टराईले भने, बृहतर जनवादको अभ्यास गरेर विश्वलाई चकित पार्ने गरि नयॉ आधारमा एकता कायम गरेर जानेछौ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी र्बुजुवा बन्ने खतरा रहेको बताए ।
उनले हेटौंडा महाधिवेशनपछि पार्टीमा कार्यदिशा र संगठनात्मक आचरणबीच अन्तरविरोध भएको बताए । उनले एमाओवादी कांग्रेस, एमालेभन्दा क्रन्तिकारी बन्नुपर्ने बताए । केन्द्रीय नेतृत्व चयनमा विवाद भएपछि थलिएको एमाओवादीले निकाशका लागि विस्तारित बैठक बोलाएको हो । हेटौंडा महाधिवेशनमा मनोनीत केन्द्रीय समिति विस्तारमा विवाद बढ्दै जाँदा उपाध्यक्ष बाबुराम भट्टराईले राजीनामा दिएपछि एमाओवादी संगठनमा विवादको ज्वरों फैलिएको हो । ब्यूरो ईञ्चार्ज, जिल्ला संयोजक, जनवर्गीय संगठनका प्रतिनिधिलगायत ४ सयको सहभागिता रहेको विस्तारित बैठकमा साझा धारणा राख्न अध्यक्ष दाहालले आज बिहान केन्द्रीय कार्यालय पेरिस डॉडामा दुईपटकसम्म छलफल गरेपनि सहमति हुन सकेको छैन ।
आनन्द गुरुङ,काठमाडौ
फोटो :प्रकाश दाहाल