एनआरएन नेताको देश बनाउने चुनावी भाषण

Read Time:4 Minute, 11 Second

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए—आइसीसी) का सचिव टिबी कार्कीले आगामी महाधिवेशनका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकाछन् ।
राजधानीमा आज घोषणासभामा कार्कीले १७ बुँदे प्रतिबद्धतासहित विश्वभर छरिएका नेपालीहरुको साझा मञ्चका रुपमा रहेको एनआरएनको अभियानलाई अझ शसक्त, सबल, सुदृढ र संस्थागत विकासका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।
नेपालमा एनआरएनको विधिवत दर्ताको सुनिश्चितता, देशमै एनआरएनको सुविधा सम्पन्न सचिवालय भवन निर्माण, १० हजार भन्दा बढी नेपाली बसोबास रहेको राष्ट्रमा महावाणिज्य दुतावास तथा दुतावासको स्थापना, एकपटकको नेपाली सधैंको नेपाली सुनिश्चत गराउन नागरिकताको निरन्तरताको अभियान चलाउने कार्कीको चुनावी एजेण्डा छ ।
गैरआवासीय नेपालीहरुको मताधिकारको व्यवस्था सुनिश्चिता, एनआरएन राष्ट्रिय समन्वय परिषदहरुको राष्ट्रियस्तरमा पहुँच बृद्धि, संघले गरेका निर्णयको कार्यान्वयन र एनआरएनको सांगठानिक ढाँचालाई समेत समयसापेक्ष बनाउने कार्कीको चुनावी नारा थियो ।
एनआरएन वैदेशिक रोजगार टाक्स फोर्सका अध्यक्ष समेत रहेका कार्कीले आफ्नो कार्यकाल निकै सफल भएको दाबी गरे । ‘मेरो कार्यकालमा बहराइन र ओमनमा नेपाली दुतावास स्थापना हुँदैछ, विदेशमा रहेका नियोगहरुमा गैरआवासीय नेपाली डेक्स स्थापना भइसकेको छ । एमआरपी राहदानी लागू गर्ने क्रममा भएका राज्यका झन्झटिला नियमलाई सरलीकरण गर्न सफल भएका छौं ।’
कार्कीले भने — ‘एनआरएन राष्ट्रिय समन्वय परिषद थप ८ वटा देशमा स्थापना भइ ६५ वटा देशमा विस्तार भएको छ । नेपालमा लगानी भित्राउनका लागि एनआरएन इन्भेष्टमेन्ट कम्पनी संचालनमा आइसकेको छ, परोपकारी कार्यलाई निरन्तरता दिंदै आगामी कार्यकालमा एक अर्ब भन्दा बढी रकम परोपकारी कार्यमा लगाउने प्रतिबद्धता ब्यक्त गर्दछु ।’
उनले गैरआवासीय नेपालीको संख्या बढाउने भन्दा देशमै स्वरोजगारलाई बढवा दिने खालका कार्यक्रम प्रोत्साहन गर्नुपर्ने भन्दै गैरआवासीय नेपालीहरुलाई सामूहिक लगानी र सुरक्षित आप्रवासनको व्यवस्था मिलाउन आगामी कार्यकालमा महत्वपूर्ण भूमिका खेल्ने घोषणा गरे । नेपाललाई बुद्धको जन्मदेश, अपार पर्यटकीय गन्तव्यको देश, विश्वको शिर सगरमाथा र अपार जलसम्पदाको देशको रुपमा नेपालको चिनारी गराउँदै विदेशमा नेपालको प्रबद्र्धन तथा कला, संस्कृति, पर्यटन, भाषा, साहित्य, खेलकुद र चलचित्र क्षेत्रलाई प्रवद्र्धन गर्ने उनको थप घोषणा थियो ।

खाडी राष्ट्र कतारमा निर्माण सम्बन्धी व्यवसायमा संलग्न कार्की यसअघि राष्ट्रिय समन्वय परिषद कतारदेखि अन्तर्राष्ट्रिय समन्वय परिषदको विभिन्न जिम्मेवारी बहन गर्दै सचिवको जिम्मेवारी निर्वाह गरिरहेकाछन् । एनआरएनको छैंटौ विश्व सम्मेलन आगामी अक्टोबर १९ देखि २२ तारिखसम्म राजधानी काठमाडौमा हुँदैछ ।

आनन्द गुरुङ,काठमाण्डु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %