काठमाण्डु संवाददाता
एनआरएनएले दार्चुला लगायत विभिन्न स्थानमा गएको बाढी पहिरो पिडितहरुको सहयोगार्थ रु. ५० लाख रुपैंया सहयोग दिएकोछ । आजै गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेको नेतृत्वमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो तथा संघका पदाधिकारीहरु सम्मिलित एक प्रतिनिधि मण्डलले मन्त्रि परिषदका अध्यक्ष खिलराज रेग्मीलाई प्रधानमन्त्री दैवी उद्धार कोषको खातामा जम्मा हुने गरी पहिलो चरणमा उपलब्ध ५० लाख रुपैंयाँकाे दुई चेक हस्तान्तरण गर्यो ।
संघका अध्यक्षले सो अवसरमा गैरआवासीय नेपालीहरुलाई मतअधिकार,संघ दर्ता, गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपालीहरुका समसामयिक बिषयहरुमा प्रधानमन्त्रीको ध्यानाकर्षण गरेकाथिए ।
अध्यक्ष रेग्मीले गैरआवासीय नेपालीका सरोकारका बिषयहरु प्रति नेपाल सरकार सचेत र संवेदनशील रहेको बताएकाथिए । सो अवसरमा नेपाल सरकारका मूख्य सचिव लीलामणि पौड्यालको समेत उपस्थिति रहेको थियो । सन् २०१३ जुन २१ देखी २३ सम्म स्वीजरल्याण्डको जुरीच शहरमा आयोजना गरिएको छैठौं गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय वैठक तथा चौंथो युरोप क्षेत्रीय महिला वैठकले बाढी पिडीतलाई सहयोग दिने निर्णय गरेकोथियो ।