सञ्चारकर्मीहरुले समाचार लेख्दा जिम्मेवार र उत्तरदायी बन्न नसके सम्म पेशागत सुरक्षा हुन नसक्ने पुर्वाञ्चलमा भएको पत्रकारहरुको भेलाले निष्कर्ष निकालेकोछ । । धनकुटाको भेडेटारमा सम्पन्न भएको जिम्मेवार उत्तरदायी पत्रकारिता कार्यशालामा सहभागी पत्रकारहरुले पेशागत सुरक्षाको लागि सञ्चारकर्मीहरुको भुमिका महत्वपुर्ण हुने बताए । पत्रकार एवं प्रशिक्षक यज्ञ शर्माले सञ्चार माध्यममा प्रकासन र प्रशारण हुने सामग्रीहरुले सामाजिक सद्भाव कायम गर्नुपर्ने बताए । समाचारकै कारण समाज विभाजित हुने र पत्रकारहरु असुरक्षित भईरहेको उनको भनाई थियो । आदिवासी जनजातिको आन्दोलनमा काठमाण्डौका केही संचारमाध्यामले नियोजित रुपमा गलत तरिकाले समाचार र अन्र्तवार्ता प्रशारण गरेर सामाजिक सदभाव विथोल्न खोजेको कुरालाई जोड्दै उनले त्यस्तो बताएकाहुन् । पत्रकारितामा पार्टी कारिता हावी वढेको कारण पत्रकारले समाजमा विभाजन ल्याउने उनको तर्क थियो ।
कार्यशालामा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले सञ्चार माध्यमले प्रकासन र प्रशारण गर्ने समाचारलाई विश्वासनिय बनाउनुपर्ने बताए । अहिले पत्रकार बन्ने र पत्रिका प्रकासन गर्ने प्रतिस्पर्धा चलिरहे पनि गुणस्तरमा समस्या रहेको र पत्रकारिता पेशाप्रति विश्वास गुम्दै गएको उनले बताए । बरिष्ठ पत्रकार एवं प्रशिक्षक मोहन मैनालीले पत्रकारहरुको लेखाई क्षमता विकास नभएकै कारण समाचारको विश्वसनियता हुन छाडेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्वाञ्चल संयोजक मोहनकाजी न्यौपाने, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष गणेश पोखरेल, मोरङका अध्यक्ष विक्रम निरौला, सुनसरी अध्यक्ष केशव घिमिरे, सप्तरी अध्यक्ष धिरेन्द्रप्रसाद शाह, धनकुटाका सचिव नगेन्द्र राई, अग्रज पत्रकार शिवबहादुर कार्की, सञ्चारिक समुहका पुर्वाञ्चल अध्यक्ष निलिफा सुब्बा लगायतले आफुले लेखेका र प्रशारण गरेका समाचारमा जिम्मेवार र उत्तरदायी बनाउनको लागि जिल्ला तहमा छलफल गर्ने वताएका थिए ।
भैरब आङ्ला, धरान