घरपरिवारले नाबालक अवस्थामा बिहे गरिदिएपछि बांके उदयपुरकी अनिता पतिले भोग्न शुरु गरेको मानसिक र शारीरिक त्राणको कथा भनि साध्य छैन । उनले पारिवारीक दुखदायी पीड़ा मात्र भोगेनन् त्यसले मुद्दा मामिला सम्मको रुप लियो । अहिले उनी आफुले भोगेको पीड़ा अरुले भोग्न नपरोस भन्दै समाजमा जागृति फैलाउँदै हिडिरहेकिछन् । नाबालक अवस्थामा विहे गरेपछि केटाले केटीलाई मन नपराउने, झगडा हुने जस्ता समस्याले गर्दा घरबार राम्रो नहुने अनुभव बाँड्दै आफ्नो वरपरका गाँउघरमा नाबालक विहे नगर्न भन्दै हिंडिरहेकिछन् । उनी भन्छिन्,’ मैले त दुःख पाएं पाएं अन्य किशोरीहरुले दुःख नपाउन । विहे भनेको आफ्नो मनको हुनु पर्छ ।’ अनिताको भनाईमा बालविवाह भएकाहरुलाई गाउंघरमा हेला गर्ने, आमा बुवाले माया नगर्ने, छोरालाई पढ्न पठाउने र छोरीलाई विहे गरी पठाई दिने पढ्न नदिने तथा छोरीको नागरिकता समेत नबनाईदिने समस्या छ ।उनी भन्छिन् मधेशी महिला तथा बालबालिकाहरुमा चेतनाको कमि छ । शिक्षा लिन चाहेर पनि शिक्षा पाउन सकिराखेका छैनन् । अहिलेपनि मधेशी समाजका महिलाहरु घर भित्रै सिमित हुने गर्दछ । प्रौढ शिक्षा हुन सके केही चेतना आउन सक्छ ।
तराईका अधिकांश जिल्लामा अनिता जस्ता सयौं किशोरीहरुले नाबालक अवस्थामा विहे गरी दुःख पाएको उदाहरण छन् । हुन त विगतका दिन भन्दा हाल आएर बालविवाहमा कमि आएको भएतापनि यस्ता घटनाहरु समाजमा अझै घटेका छैनन् । बांके जिल्लाका मधेशी समुदायमा अहिलेपनि नाबालक अवस्थामा विहे गर्ने चलन छ । जसले गर्दा ति नाबालक महिलाहरुले अनिताले जस्तो पीडा भोग्न परिरहेको बताईन्छ । संस्कारमा बांधिएका मधेशी समुदायहरुले अहिलेपनि आफ्ना छोरीहरुलाई नाबालक अवस्थामा विहे नगरे समाजले कुरा काट्ने हुंदा बाध्य भएर विहे गर्नु परेको जवाफ फर्काउँछन् । कतिपय पहाडी समुदायमा पनि बालविवाह रहेको पाईन्छ ।
नेपालगन्ज तथ्यांक शाखाको २०६८को रेर्कड हेर्दापनि १० देखि १४ वर्ष उमेरमा विहे गर्नेहरुको संख्या विगतका दिनमा ३६ हजार पुगेको देखिन्छ । तर उक्त रेकर्ड हालको भएपनि त्यो तथ्यांक ‘ तिम्ले कति बर्षमा विवाह गरेकाथियौ ?’ भन्ने प्रौढहरुसंग सोधिएको प्रश्नको आधारमा तयार पारिएको हो । तथ्यांक शाखाका सुचना अधिकारी लंक बहादुर बमका अनुसार बालविवाह सम्बन्धी २०६८ सालमा सोधिएको तथ्यांकमा केन्द्रित हुंदै पहिलो विवाह कति वर्षमा भएको थियो भन्दा उत्तरदाताले १०देखि १४ वर्षमा भएको उत्तर दिएका थिए । हाल ति ब्यक्तिको उमेर ४० देखि ६० वर्ष सम्म पुगिसकेकोछ ।
तथ्यांक शाखाको उक्त प्रतिबेदन अनुसार बांकेमा १० वर्ष मुनिका बालविवाह भएकाहरु १८ सय ५४ मध्ये पुरुष २ सय ६५ र महिला १५सय ८९ जना रहेको छ । त्यसैगरी १०देखि १४ वर्ष उमेरका ३२ सय ७६, पुरुष ६४ सय ११, महिला २५ हजार ६सय ६५ जना रहेको तथ्यांक सार्वजनिक गरेको छ । त्यसमध्ये पनि पहाडी समुदाय भन्दा मधेशी समुदायमा नै बढी बालविवाह भएको तथ्यांक छ । सुचना अधिकारी बमका अनुसार १० देखि १४ वर्ष मुनिका ३४ हजार किशोरी मध्ये २५ हजार ७ सय मधेशी किशोरीको बालविवाह भएको थियो ।
लामो समय महिला तथा बालबालिकाको क्षेत्रमा विशेष गरि मधेशी र मुस्लिम समुदायमा काम गरिरहेकि समाजसेवी सपना भट्टराईका अनुसार केहीहदसम्म बालविवाहमा कमि आएको बताउंदै मधेशी समाजमा आजभोलि कम्तीमा २०वर्ष पुगेपछि विहे गर्नुपर्छ भन्ने चेत पलाउन थालेकोछ । बालविवाह निर्मूल पार्न राज्यले नीति बनाएपनि ब्यवहारमा कार्यान्वयन नहुंदा यस्ता खालका कुरिती समाजमा घटिरहने बताउंदै बालविवाहलाई रोक्न राज्य स्वयं गम्भीर हुनुपर्ने बताँउछिन, समाजसेवी भट्टराई ।
मुलुकी ऐन विवाहबारीको महलले १४ वर्षमुनिका किशोरकिशोरीको विवाह गराई दिनेलाई ३ महिनादेखि १ वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना हुने वा दुवै हुन सक्ने ब्यवस्था गरेको छ । बांके प्रहरीका अनुसार यो आर्थिक वर्ष एउटा मात्र बालविवाहको उजुरी आएको छ । प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद वलीका अनुसार बांकेमा बालविवाहको उजुरी नआएको हुनाले बाल विवाह नै नभएको बताउँछन् । उनी भन्छन् बालविवाह भए त उजुरी आई हाल्थ्यो नी ।
तर उनले सिधा हिसाबले भने जस्तो सामाजिक अवस्था भने सिधा छैंन । बांके लगायत तराईका विभिन्न जिल्लामा अहिलेपनि बालविवाह गर्ने संस्कार छ तर यसलाई सामाजिक मान्यता प्राप्त हुनु, कतिपयलाई कहां गएर उजुरी दिने भन्ने थाहा नहुनु र भएपनि मुद्दा मामिलाको झन्झटमा फंस्न नचाहनुका साथै अशिक्षितका कारणले यो प्रथाले जरो गाडेर बसिरहेकोछ । यसको अर्थ अहिलेपनि समाजमा यो अपराध हो भनि हेरिदैन । किनकी यसलाई सामाजिक बैधता दिईएकोछ ।
दिपा आले, नेपालगन्ज