नेपालगंज नाका हुदैं भारत तथा खाडी मुलुकतर्फ तस्करी हुने महिलाहरुको संख्या बढिरहेकोछ । भारत छिर्ने खुला यस सिमानाबाट सहजै तरिकाले चेलीबेटी तस्करी गर्ने गरिएकोछ । माईती नेपाल बांकेको सर्वेक्षण अनुसार गत साल श्रम तथा यौन शोषणमा परेका महिला तथा बालबालिकाहरुलाई भारत तथा खाडी मुलुकबाट उद्धार गरिएको संख्या ७ जना मात्र थियो । तर त्यो संख्या बढेर यस बर्ष १५ पुगेकोछ । त्यसैगरी महिला तथा बालबालिका हराए भन्दै खोज तलास तथा उद्धारका लागि अघिल्लो वर्ष १ सय ८३ जनाले निवेदन दिएकाथिए भने यस वर्ष त्यस्तो निवेदन दिनेहरुको संख्या बढेर २ सय २९ पुगेकोछ ।
बैदेशिक रोजगारका लागि नेपालगन्ज नाका हुंदै भारत तथा खाडी मुलक जान लागेका महिला तथा बालबालिकाहरु गत साल १ सय ३२ जना रहेको थियो भने यो साल १ सय ९२ जनालाई माईती नेपालले उद्दार गरी घर पठाएको छ । यता जिल्ला प्रहरी कार्यालय बांकेको तथ्यांक भने अलिक भिन्न देखिन्छ । कार्यालय अनुसार मानव बेचविखनको मुद्धा ०६७/६८ मा १५ वटा मात्र थियो भने ०६८/६९मा घटेर ५ पुगेको भएतापनि यो आर्थिक वर्षमा बढेर मानव बेचविखनका १५ वटा मुद्धा दर्ता भएको छ । त्यति मात्र नभई घरेलु हिंसाको मुद्धा यो आर्थिक वर्षमा २ सय ६४ पुगेको छ । बहुविवाह सम्बन्धी मुद्धामा यो आर्थिक वर्षमा १३ जनाले उजुरी दिएकाछन् ।
माईती नेपाल क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार बांके जिल्ला एकातिर खुला सिमाना हुनु अर्को तिर यस जिल्लाका महिला बालबालिका मात्र नभई अन्य जिल्लाबाट पनि भारत तथा खाडी मुलुकमा रोजगारका लागि जाने तथा दलालले फकाईफुलाई गरी बेचविखनमा पार्ने हुनाले यो संख्या दिनहु बढिरहेकोछ ।
शुरुमा खाडी मुलुकमा महिला कामदारहरुका लागि नेपाली मार्ग अवैध भएकोले यस्ता चोरबाटो हुदैं लगिने गरिएकोथियो । तर अहिले नेपालबाटै जान पाउने प्रावधान भएतापनि तस्करी किन बढिरहेकोछ भन्ने राज्यसत्ता अध्ययन आश्चर्यमा पार्ने खालको थियो । नेपाल सरकारले खाडी मुलुक लगायतमा घरेलु श्रमिकको लागि काम गर्न जान महिलाको उमेर ३० वर्ष तोकिदिएपछि मानव दलालले कलिला र वयश्कहरुलाई नेपालबाट जान मिल्दैन भारतबाट जानु पर्ने भन्दै जोखिमपूर्ण यात्रा गराउने गरेकाछन् । त्यसरी अवैध रुपमा लगेपछि मनोमानी किसिमले तिनको दुरुपयोग गर्न मिल्ने र त्यहि अनुरुप पैसा ऐंठ्न पाईने हुनाले यस्तो चोरबाटो रोज्ने गरिएकोछ । विदेशमा रोजगारीमा जाने प्रायश कलिला युवतीहरु हुने हुदा तिनलाई प्रलोभनमा पारी र तिनका परिवारलाई कन्भिन्स गरि यसरी तस्करी गर्ने गरिन्छ ।
यति ठुलो मात्रामा यस्तो तस्करी भैरहदा पनि राज्य भने कानमा तेल हालेर र आंखा चिम्म गरेर बसेको जस्तो देखिन्छ । जिल्ला प्रहरी कार्यालय बांकेका डिएसपी प्रेम बहादुर बस्नेतका अनुसार नेपालगन्ज मात्र नभई मध्यपश्चिमका विभिन्न जिल्लाका महिलाहरु बेचविखनमा परिरहेकाछन् । शिक्षा र अज्ञानताले यस्तो भैरहेको उनको अध्धययन छ ।
लामो समय देखि महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्दै आएकी समाजसेवी सपना भट्टराई पनि बस्नेतका भनाईसंग केहि मात्रामा सहमत देखिन्छन् । भन्छिन्, देशको पछौटेपन, गरिबी र शिक्षाको कमीले गर्दा यस्ता खालका घटना भैरहेकोछ । उनका अनुसार देशमा रोजगार, अर्थतन्त्र र शिक्षाको विकास भयो भने मानव बेचविखन जस्ता जघन्य अपराध घटेर जानेछ ।
तर राज्यले न त स्वरोजगार श्रृजना नै गर्न सकेकोछ । न यस्ता तस्करी रोक्न कुनै प्रभावकारी काम नै गरिरहेकोछ । यस्तो लाग्छ राज्य नै यस्तो तस्करी मार्फत देशका महिला र बालबालिकाहरु खाडी मुलुकमा बेचिउन र राज्यले रेमिट्यान्स पाईरहोस् । तिनको खुनपसिनाबाट भित्रिएको त्यस्तो पैसाबाट तिनको ऐयासी मज्जाले चलिरहोस् ।
-दीपा आले,नेपालगन्ज