तनहुँ
तनहुँ जिल्लामा जन्मेका दुई आदिकवि मध्ये आज एउटाको जन्मदिन हो भने अर्कोको स्मृति दिवस । नेपालीलाई खस भाषाका माध्यमबाट जोड्न खास रोल खेलेका आदिकविको उपमा दिइएको भानुभक्त आचार्यको आज २ सय औं जन्मजयन्ती हो । त्यस्तै मगर भाषामा कलम चलाएर सब भन्दा पहिले मगर भाषामा कविता संग्रह निकालेका र मगर समाजले आदिकविको सम्मान दिएको रेख बहादुर थापा सारु मगरको १०औं स्मृति दिवस पनि आजै हो ।
नेपाली खस भाषाका आदिकवि आचार्यको जन्म विक्रम सम्वत १८७१ साल असार २९ गते दिन तनहुँको चुदी रम्घामा भएको थियो । सरल र सहज खस भाषामा कविता लेखन सुरु गर्ने नेपालकै पहिलो व्यक्ति भएका कारण भानुभक्तलाई आदिकविको उपमा दिइएकोहो । भानुभक्तले संस्कृत भाषामा लेखिएको रामायण नेपालीमा भावानुवाद गरी नेपाली खस भाषाको विकासमा महत्वपूर्ण योगदान गरेका थिए । भानुभक्तका रामायण बाहेक बधुशिक्षा, भक्तिमाला, प्रश्नोत्तरी, रामगीताका साथै थुप्रै फुटकर कविताहरुले नेपाली साहित्यलाई समृद्ध तुल्याएको मानिन्छ ।
त्यस्तै, मगर भाषाका आदिकवि सारु मगरको जन्म विक्रम सम्वत २००१ साल भाद्र २८ गते तनहुँको भिर्कोट आर्चल्दीमा भएको थियो । मगर भाषामा कलम चलाएर सब भन्दा पहिले मगर भाषामा कविता संग्रह “मगर भाषाङ ल्हिङ र टुड्कौ किताब”निकालेर मगर भाषाको विकास उत्थानमा जग हल्ने प्रथम ब्यक्ति उनै रेख बहादुर थापा सारुको आज देहावसान भएकोथियो । उनले लेखन मार्फत मगर समाजमा रहेका कुरिती हटाउन र शिक्षामा जोड दिने गर्दथे । लेखेर चेतना छर्ने मात्र हैन गाँउ गाँउमा त्यस्ता परिवर्तनकामी कविता वाचन गर्ने सारु पछि स्वयं भने भारतीय सेनामा भर्ती भएकाथिए । सुवेदार पदमा सेवानिवृत भएका उनी पछिल्लो समय नवलपरासीको माकरमा बसोबास गर्थे । युवाकालका समाज परिवर्तन अभियानमा संलग्न सारु संगै उनका सहकर्मी स्याग्जांका अर्का ब्यक्ति थिए जित बहादुर सिंजाली मगर, हाल उनी जिवितै छन् । सिंजालीलाई पनि मगर समाजले आदिकविको सम्मान दिएकोछ ।
सारुले जिवनको अन्तिम समय सम्म पनि आफ्नो समाजलाई लेखेर चेतनशील बनाउने अभियानलाई थाँती राखेनन् ।शिक्षाले चेतना दिने र चेतनाले आफ्नो अस्तित्व र पहिचानप्रति सजग गराउने बिचार राख्ने उनी अन्तिम समयतिर पक्षघातको बिरामीका बावजूद गाँउ गाँउ पुगी चेतना दिने गर्दथे । चेतना पश्चात समाजलाई सत्तामा नपुर्याए त्यो जातिको मुक्ति हुदैन भन्ने बिचारले उनी जनमुक्ति पार्टी मार्फ़त आफ्नो समुदायलाई सत्तामा पुर्याउने सपना बोकेर हिडेकाथिए । बिचारले भानुभक्त र उनमा ठुलो फरक थियो । समाजलाई स्वर्ग नर्क जस्ता हिन्दु धर्मका मान्यतामा फँस्न दिईनु दुदैन त्यसले समाजलाई पछाडी फर्काउछ भन्ने उनी भानुभक्तले कट्टर विश्वास गर्ने मनुवादी मान्यताका घोर विरोधी थिए । भानुले महिलालाई दमन गर्न सिकाउने कट्टर पुरातन सँस्कारबाट दिक्षित वधु शिक्षा जस्ता पुस्तक लेखे तर सारुका कविता सदा पुरातन मान्यताका खराब पक्षका बिरुद्ध हुने गर्दथे । अत्यन्त मृदुभाषी, सरल र लेखनमा तिक्ष्ण ब्यग्यँ भएको सारु अधिकारका निम्ति मर्नुपरे मरौला भन्दै हिंड्थे ।
पन्चायतकाल जस्तो कालरात्रीमा प्रहरीको नज़र छल्दै मातृभाषामा जातीय जागरण फैलाएकै कारण आज उनको समाज यहाँ सम्म आईपुगेकोछ । आफ्नो जाति सत्तामा पुगेको हेरेर मात्र मर्छु भन्ने उनको सपना त जिवनकालमा पूरा भएन तर उनको त्यो सपना पुरा हुने क्रममा छ ।उनले जिवनकालको पछिल्लो समय “फुन्च थालाके” लगायत मगर भाषाका थुप्रै लेख रचना र कविता संग्रहहरु लेखेका छन । तिनै मगर भाषाका आदिकवि सारु मगरको देहावसान मितिः२०६१ साल असार २९ गते भएको थियो, आजकै मितिमा । तर खस भाषा र हिन्दु साहित्यलाई पोसेका आदिकवीलाई राज्य प्रमुख नै सार्वजनिक थलोमा गै तिनको शालिकमा माल्यार्पन गर्छन तर मगर भाषाका आदिकवीको अ पनि उच्चारण गरिएन । त्यसै भनिएको होईन, जनता हैन यो राज्य नै साम्प्रदायिक छ !
–खडक आले मगर तनहुँ