दुई बर्षअघि औसत नेपाली जस्तै पैसाको जोहो गरि परिवारको पेट पाल्न साउदी हानिएका पाल्पा गल्धाका लीलाराम सारु मगरले कल्पना पनि गरेका थिएनन्, एक दिन उनी स्वंयलाई अरुको आश्रितमा मृत्युसंग पैठेजोरी खेल्नुपर्छ भन्ने कुरा । सकाकाको एक कम्पनीमा काम गर्दागर्दे बढी पैसा कमाउने लोभमा साथीहरुको भाँउतोमा लागी भागेका लीलारामका दिन त्यसपछि विग्रन शुरु गर्यो । अरब जस्तो देशमा अवैध कामदारको लुकिछिपी दैनन्दिन चर्याले अकस्मात उनी थलिए । केहि दिन सम्म त आफन्त चेतबहादुर मगरले उनलाई छत उपलब्ध गराईदिए तर त्यो सुखद सहयोग लामो चलेन । उनको मालिकले अवैध कामदार पालेको थाहा पाउनासाथ सारुलाई तुरुन्त निकाल्न आदेश दिए । त्यसपछि चेतले आफ्नै घरपछाडि रहेको खुला आकाशमुनी पुराना टिनको पाटाले छेकेर उनको बसोबास मिलाउन बाध्य हुनुपर्यो । अशक्तलाई अस्पताल लगि उपचार गर्ने उनीसंग क्षमता थिएन । सारुलाई रोगले दिनपरदिन च्याप्दै लग्यो ।
विदेशभूमीमा काल पर्खेर बसिरहेका सारुका निम्ति समाजसेवी मोहन बानिया दैव बनि टुप्लुक्क आईपुगे । साख्खैले गर्न नसक्ने उनलाई आफ्नै कोठामा लगि दैनिक १० घण्टा ड्युटी सकेर फर्किएपछि एक अपरिचित मनुको स्याहारसुसारमा सम्पूर्ण समय दिन थाले । दिशापिसाब गराईदिने, कपडा धोईदिने, नुहाईदिएर चिरिच्याट्ट पार्ने काम बानिया स्वंयले गर्थे । उनी ड्युटी जाँदा मित्र परशुराम मिश्र र नारायण रानाले त्यो जिम्मेवारी बहन गर्थे । उनलाई अस्पतालपनि तिनैले पुर्याएर जाँच गराईदिए । त्यसपछि थाहा भो, लिलाराम ब्रेन ट्युमरका रोगी पो भैसकेका रहेछन् । तर अस्पतालले अवैध बसोबास गरिरहेका सारुको उपचार गर्न मान्दै मानेन । कुनै अस्पतालले त्यो रिस्क नमानेपछि उनी झन थला पर्दे गए । अब उनलाई जसोतसो नेपाल फर्काउनुको अर्को विकल्प थिएन । त्यसका निम्ति ओमन एयरलाईन्स मात्र सहमत भयो । उनलाई स्टेचरमै सुताएर स्वास्थ्य कर्मचारीहरुको साथमा काठमाण्डौ पुर्याउन १६ हजार रियलको माग गरियो । त्यहि ब्यवस्था गर्न
बानियाले सारुका लागि एउटा ह्विल चियर किनिदिई छुट्टीका दिन नेपालीको जमघट हुने ठाँउमा लग्दै चन्दा उठाउन थाले ।
त्यसै क्रममा अर्का समाजसेवी हुम सुनारी मगरको जम्काभेट चेतबहादुरसंग भो र लिलारामको ब्यथा सुन्ने सुनाउने काम भयो । सुनारीको सल्लाहमा लिलालाई रियाद स्थित नेपाली दुतावासमा ल्याउन भनियो । सुनारीको पहलमा दुतावासले असक्तलाई हवाई टिकटका लागि चाहिने रकम जम्मा गर्न सहयोग गर्ने र त्यतिन्जेल सम्मका लागि उनलाई एउटा सरकारी अस्पतालमा राखिदिन सहयोग गरिदियो । रोगी यतिन्जेल लगभग अचेत अवस्थामा पुगिसकेकाथिए ।
त्यसपछि अनलाईन पोर्टल, मीडिया र सामाजिक संजाल मार्फत भएका लिलाराम बचाऊ अभियानले राम्रो परिणाम देखायो । सहयोगीहरुका हात खुल्न थाले र उनलाई बचाउन आर्थिक सहयोग आउन थाल्यो । क्याम्पेनबाट ५ लाख ४२ हजार ३सय ७ नेरु जम्मा हुन आयो । त्यहि रकमबाट ब्रेन ट्युमरको दुई पटक शल्यक्रिया पनि भैसकेपछि यहि १२ जुलाई शुक्रवारका दिन उनलाई विशेष ब्यवस्था भएको स्टेचरमा राखी ओमन एयरलाईन्सबाट स्वदेश फर्काइदैछ । उनलाई अस्पताल र एयरलाईन्सको समन्वयमा विशेष ब्यवस्था सहित स्वास्थ्य कर्मचारीहरु सहित यात्रा गराईदैछ । उपचार र हवाई खर्चबाट बचेका केहि रकम सारुका सहोदर काका मित्र सारुलाई त्यहां स्थित विशिष्ट ब्यक्तिहरुको रोहबरमा हस्तान्तरण गरिएको सुनारी बताउँछन् ।
विदेश भूमीमा मृत्युसंग लडिरहेका लिलारामलाई यो अवस्था सम्म ल्याई पुर्याई परिवारसंग मिलन गराउन सक्रिय रोल खेल्ने बानिया,हुम सुनारी, नेपाली दुतावास लगायतका समाजसेवीहरुको भूमिका स्यालुटयोग्य छ ।