असार १८ काठमांडू
संविधानसभा चुनाव नजिकिदै गर्दा सबै खाले विभेदको अन्त्य गर्न सक्ने शसक्त राष्ट्रिय शक्तिको आवश्यक्तालाई महशुस गरिएको भन्दै ६ राजनीतिक दल ‘संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी, नेपाल ताम्सालिङ् राष्ट्रिय दल, आदिवासी जनजाति पार्टी नेपाल, नेपाल समता पार्टी र ताम्सालिङ् राज्य परिषद सम्मिलित राजनीतिक मोर्चा ‘राष्ट्रिय शक्ति निर्माण तथा एकता अभियान’ र राष्ट्रिय जनमुक्ति पार्टी बीचमा एकीकरण भएको छ । आजै एक औपचारिक कार्यक्रमको आयोजना गरी सर्वोच्च अदालत स्थित नेपाल बार एशोसिएशनको सभा हलमा एकता घोषणा गरिएको हो । पार्टी एकीकरण घोषणा कार्यक्रममा एकता घोषणा पत्रलाई राष्ट्रिय जनमुक्ति पार्टीका प्रथम उपाध्यक्ष शिवलाल थापाले वाचन गरेकाथिए ।
एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमुक्ति पार्टी, संघीय परिषदका अध्यक्ष एम.एस. थापाले राष्ट्रिय जनमुक्ति पार्टी अब मूलुकको वैकल्पिक राष्ट्रिय शक्ति बन्ने बताए । उनले चार दलीय सिन्डीकेटले गर्दा मूलुक धराशायी बन्दै गएको र संविधान सभा (पहिलो) बाट प्राप्त उपलब्धीहरु समेत खतरामा पर्दै गएकोले न्यायप्रेमी सम्पूर्ण नेपाली जनसमुदाय साथै त्यस्ता शक्तिहरु यथाशिघ्र गोलबन्द हुँदै अगाडि बढ्नु पर्नेमा जोड दिए । यसका लागि पार्टीले हरदम पहल गरीरहेको उनको कथन थियो ।
यस्तै गरी ६ दल सम्बद्ध राजनीतिक मोर्चा ‘राष्ट्रिय शक्ति निर्माण तथा एकता अभियान’ का तर्फबाट संयोजक डि.के.बुद्धिष्ट तामाङ्गले संघीयता मूलुकको आवश्यक्ता भएको र नेपाली जनताका आकाँक्षालाई सम्बोधन गर्ने शक्ति निर्माणका लागि आफुहरु राष्ट्रिय जनमुक्ति पार्टीमा एकीकृत भएको बताए । जनमुक्ति पार्टी स्थाइ समिति सदश्य एवं प्रचार विभाग प्रमुख टोप अस्लामीले निकट भविष्यमै अन्य दलहरु समेत राष्ट्रिय जनमुक्ति पार्टीमा समाहित हुन वार्ता भैरहेको जानकारी गराएकाथिए ।
एकता घोषणापत्रमा संघीयता, धर्म निरपेक्षता, गणतन्त्र एवं सबै जातजातिहरुको सामाजिक, राजनीतिक एवं आर्थिक अधिकारको सुनिश्चित्ताका लागि प्रतिबद्ध रहने प्रण गरिएको छ । यसका साथै एकीकृत सबै सात दलले राष्ट्रिय जनमुक्ति पार्टीको नाम, झण्डा, विधान र घोषणा पत्रलाई स्वीकार गर्ने बताईएको छ । संघीय परिषदको ११औं बैठकले राजनीतिक मोर्चा ‘राष्ट्रिय शक्ति निर्माण तथा एकता अभियान’ लाई राष्ट्रिय जनमुक्ति पार्टीमा समाहित गर्ने निर्णय गरेको हो । सो राजनीतिक मोर्चाका केन्द्रीय नेताहरुलाई पार्टीको केन्द्रीय तहमा चालु ११औं बैठकबाटै मनोनित गरी असार १६ गते नै शपथ ग्रहण गराईएको छ ।
देशलाई राष्ट्रिय समस्याबाट निकास दिन भन्दै राष्ट्रिय जनमुक्ति पार्टीले असारको अन्तिम साता ‘सर्वपक्षीय राजनीतिक सम्मेलन’ आयोजना गर्ने भएको छ । यही असार १४ गते देखि १६ गते सम्म धोबीघाट, ललितपुरमा बसेको पार्टी संघीय परिषदको ११औं बैठकका निर्णयहरु प्रेष विज्ञप्ति मार्फत जानकारी गर्दै पार्टी महासचिव केशव सुर्यवशीले उक्त जानकारी दिएकाहुन् ।
आगामी संविधान सभा निर्वाचनलाई सुनिश्चित र पारदर्शी बनाउनको लागि संविधान सभा (पहिलो) ले प्राप्त गरेका उपलब्धीहरुको रक्षा गरिनु पर्ने
निर्माण गरी दबाव दिन साझा राष्ट्रिय मोर्चाको अवधारणलाई बृहत्तर रुपमा अगाडि बढाउन लागिएको समेत विज्ञप्तिमा जनाइएको छ । ‘सर्वपक्षीय राजनीतिक सम्मेलन’ को आयोजनालाई पार्टीले प्रारम्भिक कदमको रुपमा लिएको छ । केन्द्रीय तहमा काठमाडौंमा व्यापक रुपमा सो सम्मेलनको आयोजना गरीसकेपछि त्यसलाई जिल्ला जिल्लामा समेत सञ्चालन गरिने बताईएको छ ।
यथास्थितिमा संविधान सभाको र्निवाचन सम्भव नभएकोले राष्ट्रिय सहमतिको विकल्प नभएको सो पार्टीले ठहर गरेको छ । यथास्थितिवादीहरुको विरुद्धमा ब्यापक जनमत निर्माण गर्न आवश्यक भएकोले प्राप्त उपलब्धीहरुको रक्षाका लागि र थप उपलब्धी प्राप्त गर्न पार्टीले साझा राष्ट्रिय मोर्चा निमार्ण गरेर अगाडि बढ्ने भएको छ ।
गत बैशाखको ६ र ७ गते तानसेन, पाल्पामा बसेको १०औं बैंठकले साझा राष्ट्रिय मोर्चाको अवधारणमा अगाडि बढाउने निणर्य गरेको थियो । विशेष गरी संघीयताको सुनिश्चित्ताको लागि साझा मोर्चा निर्माण गर्नुपर्ने निष्कर्षमा पार्टी पुगेको सो पार्टीका नेताहरुले बताएका छन् । ११औं बैठकले प्रस्तावित मोर्चामा पार्टीले अगाडि सारेका मुद्दाहरुमा सहमत हुने राजनीतिक दल, न्यायका पक्षधर विभिन्न व्यक्तित्वहरु, पेशागत, जातीय, धार्मिक, भाषिक संघसंगठनहरु सम्मिलित रहने निर्णय गरेको छ ।
त्यसै गरी असार पहिलो साता अविरल रुपमा परेको वर्षातका कारण पीडितहरुलाई सरकारले प्रदान गरेको राहत अपर्याप्त रहेको बैठकले निष्कर्ष निकालेको छ । वर्षाका कारण अकल्पनीय क्षति व्यहोर्न परेका जनता र क्षेत्रको सहयोगको लागि राष्ट्रिय जनमुक्ति पार्टीले सक्दो राहत प्रदान गर्ने निर्णय समेत गरेको छ ।
रवि कुमार बुढा