चुरा जो कहिल्यै टुटेन, फुटेन

Read Time:9 Minute, 45 Second

१ जुलाई १९९७ मा बेलायतबाट हङकङ स्वतन्त्र भएको स्वतन्त्रता दिवसको अवसर पारि समाजमा विशेष योगदान पुर्याएका हरुलाई दिईने सम्मान र पदक पाउनेमा यसपालि नेपाली समाजबाट चुरा थापा मगर परेकाछन् । चीफ एक्जक्युटिभद्धारा विशेष समारोह आयोजन गरि  दिईने यस्तो सम्मान पाउने ३३७ जनाको नामावली १ जुलाईका दिन सार्वजनिक गरिएकोथियो । हङकङ सरकारको ग्याजेट ( यहां क्लिक गर्नाेस ) मा थापा मगरले सामाजिक कार्यमा विशेष योगदान दिएवापत यो सम्मान प्रदान गरिएको उल्लेख छ ।

सन १९९६ मा त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट विएड सकिनासाथ आईडीका कारण हङकङ छिरेका उत्तर गंगा मावि बुर्तिवाङ  बागलुङबाट एसएलसी गरेका चुराले यहां आएपनि औसत नेपालीले जस्तो पैसा कमाउने ध्याउन्नमा आफ्नो अध्ययनलाई रोकेनन् । स्थानीय बाप्टिस्ट विश्वविद्यालयबाट अग्रेंजीमा एमएड गरेका उनले हङकङ इन्स्टिच्युट अफ एजुकेशनबाट शिक्षा संकायबाटै पोष्ट ग्रयाएजुसन गरे । त्यहां उनले सबैलाई उछिनेर पदक समेत जिते । हाल उनी हङकङमा एथ्निक मायनोरिटिज विद्यार्थीको शिक्षा सम्बन्धमा हङकङ विश्वविद्यालयबाट पूर्ण छात्रबृत्तिमा पिएचडी गरिरहेकाछन् । स्थानीय नेपाली समुदायबाट यसरी पिएचडी गरिरहेका उनी एक्लो ब्यक्ति हुन् ।  बाग्लुङबाट बुटवल बहुमुखी क्याम्पस पढ्न झरेका उनले त्यहांबाट आइएड गरि काठमाण्डु उक्लेकाथिए । त्यहांबाट हङकङका लागि उडेका उनी त्यसयता यतै छन् ।

अध्ययन संगसंगै सन २००४ देखि २०१२ सम्म यहांको स्थानीय विद्यालयहरुमा प्राध्यापन कार्य थालेका चुराले २००७ देखि २०१२ सम्म पाक काऊ कलेजमा शिक्षण पेशा गरे । उनले ऊमा इटंरनेशनल स्कुल ( २००४–२००५) र बुद्धिस्ट विङ वान ( २००५–२००७) मा समेत पढाए ।
 चुराले २००८ देखि हङकङको गृहमन्त्रालयद्धारा प्रायोजित कार्यक्रम आरटिएचके रेडीयोमा  ‘साप्ताहिक सन्देश’ चलाँउछन् । हङकङमा अनलाईन र पत्रपत्रिका स्थापना गर्न प्रमुख रोल खेलेका उनी यहांका प्रमुख सामाजिक संघसंस्था स्थापना गराउन प्रमुख रोल खेल्ने बौद्धिक ब्यक्तित्व हुन् । विशेष गरि यहांको प्रमुख संस्था हङकङ नेपाली महासंघका योजनाकार तथा संस्थापक सचिव उनले यहां स्थित सरकारद्धारा मान्यता प्राप्त एक मात्र एनजिओ हङकङ एकिकृत नेपाली समाजलाई यहां सम्म ल्याई पुर्याउन प्रमुख भूमिका निर्वाह गरेकाथिए । पहिलो नेपाली संस्था फियोनाका उनी कुनैबेला खास ब्यक्ति हुने गर्दथे । यहांको पहिलो अनलाईन एचकेनेपाल डटकमका उनी संस्थापक हुन् ।  अविराम, संवाद म्यागेजिनका उनी संस्थापक सम्पादक रहिसकेकाछन् । हङकङ नेपाली डटकम पनि उनकै नेतृत्वमा शुरु भएको हो ।

भाषाका कारण एथ्निक मायनोरिटज बच्चाहरुले हङकङका विद्यालयहरुमा राम्रो गर्न नसकिरहेका र  अभिभावकहरु पनि  यहांको शिक्षा नीतिका कारण विद्यालय छनौटमा अन्यौलग्रस्त हुने यहांको प्रमुख समस्या मानिन्छ । त्यसका कारण अधिकांश विद्यार्थीहरुले बाटो बिराउने गरेकाछन् । त्यस्ता अनभिज्ञ अभिभावक र विद्यार्थीहरुलाई निशुल्क सल्लाह दिने एथ्निक मायनोरिटिजबाट चुरा एक मात्र काउन्सलर हुन् । त्यसैले विद्यार्थी, एकाडेमिसियन र बौद्धिकहरुबीच उनी एथ्निक मायनोरिटजका रोलमाडल कहलाईन्छन् । विशेषगरि यहां पढिरहेका नेपाली विद्यार्थीहरुका निम्ति चुरा रोलमाडल हुन् ।
सरकारी विद्यालयमा पढेर हङकङ जस्तो विश्वविद्यालय पाउन फलामको च्यूरा चपाउने ठांउमा उनले आफुलाई सावित गरेर देखाएकाछन् । भाषा भन्दा ज्ञानलाई महत्वपूर्ण ठान्ने उनले हङकङ छिरेर अग्रेंजी भाषा यति ठूलो फड्को मारे कि अग्रेंजीभाषी विद्यार्थीहरुलाई नै उछिनेर डिस्टिङ्सन समेत गरेर देखाए । अग्रेंजी समाचारपत्र, टेलिभिजन समाचार, बच्चाहरुका निम्ति बनाइएका भाषिक पुस्तक र अडियो पढ्न र सुनेर भाषिक ज्ञान बढाएका उनले अरुलाई पनि त्यो उपाय बांडिरहेकाछन् ।
आउनासाथ अन्यले जस्तै उनले पनि यहां निर्माणकार्यमा ७ बर्ष लगातार काम गरेकाहुन् । तर फरक के थियो भने अरु पैसा कमाएर टन्न खाने र नेपालमा घर बनाउनतिर समय ब्यतित गर्छन्, उनी भने कमाएको पैसाले पढ्न थाले । यहां सरकारबाट पाईने शैक्षिक लोनमा उनले अध्ययनलाई बढाएकाथिए । उनी भन्छन्, दिनभर बेल्चा खनेर लखतरान परेर आईन्थ्यो, राती आएर नसुती पढ्थे ।’ उनको मेहनतले फल दियो पनि । उनले राम्रो अंक ल्याई सबैलाई चकित पारिदिए ।
चुरा गरे असंभव केहि छैन भनि देखाईदिने यस्ता पात्र हुन् जसले आफ्नो सफलताको रेकर्ड आफैले उछेनिरहेकाछन् ।
कतिपय बेला आफ्नो राजनीतिक आस्थाका कारण सामाजिक संस्थाहरुमा निभाएका भूमिकाका कारण उनले विरोधको सामना पनि गर्नुपर्यो, त्यसै कारण हुनसक्छ हिंजोआज उनी त्यस्तो राजनीतिक सक्रियताबाट क्रमशः एकाडेमिक अभ्यासमा केन्द्रित देखिन्छन् । हिजोआज जनजाति आन्दोलनमा बौद्धिक सहयोग दिएका जस्तो देखिने उनी पिएचडीकै क्रममा विश्वमा भैरहेका पहिचानको राजनीति र सिद्धान्त सम्बन्धि गहन अध्ययनतर्फ पनि मोडिएकाछन् । उनले कन्स्ट्रक्सन वर्करहरुका निम्ति पनि संस्थागत रुपमा काम गरिरहेकाछन् ।

अध्ययन सकाएपछि आफ्नो बौद्धिकता स्वदेशमै लगानी गर्न आतुर चुरा नेपालको शिक्षा क्षेत्रमा केहि गर्ने चाहना राख्छन् । सरकारको सम्मान घोषणा पश्चात उनले आफ्नो फेसवुकको भित्तामा आफ्नो कामको बारेमा स्वंयले गरेको मुल्यांकन यस्तो थियो – ‘हंगकंग आएर अनवरत संघर्ष र नेपाली समुदायको सेवामा आफुलाई समर्पित गरियो । हिजो जस्तै लाग्छ हंगकंग आएको, तर बिभिन्न नेपाली संघसंस्था स्थापना गर्ने, नेपालीहरुलाई बिभिन्न रुपमा सचेत गराउने, हंगकंग सरकारसंग नेपालीका समस्याहरुलाई उठाउने, पत्रपत्रिकाहरुमा, र रेडियो मार्फत नेपालीको हितको लागि आवाजहरु उठाउने, सचेत गराउने र पछिल्लो चरणमा नेपाली नानीहरुको उज्वल भविष्यको लागि उनीहरुको शिक्षा बिकासमा प्रत्यक्षरुपमा पढाउने तथा बाबुआमा र अविभावकहरुलाई शिक्षा सम्बन्धी सल्लाह सुझावहरु दिंने गर्दा गर्दै सत्र बर्ष बितेछ । यस्तो लाग्दैछ, नेपाल गएर देशको सेवा गर्छु भन्दा भन्दै जिन्दगी यतै बितिसकेको छ । नेपालको चिन्ता धेरै गरियो, आवश्यक थियो वा अनावश्यक शायद समयले बताउला । तर यता यो सत्र वर्षको अवधिमा यहि संघर्ष र सेवा गरेवापत आज हंगकंग सरकारबाट एउटा सम्मान प्राप्त भएको छ । यस क्षणको यो खुशियाली मेरा सम्पूर्ण नेपाली लगायत अन्य मित्रहरुसंग नसाटी रहन सक्दिन । नेपाली समुदायमा शुरुका दिनदेखि यो वा त्यो रुपमा नेपाली समुदायको हितको लागि बिभिन्न कोणबाट सहमत वा असहमत हुंदै साथ दिनुहुने मेरा सम्पूर्ण मित्रहरुमा, हंगकंग सरकारमा र बिशेषत हंगकंगबासी समग्र नेपाली समाजपर्ति आव्हार व्यक्त गर्न चाहान्छु ।’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %