मान राना मगर, महासचिव मगर संघ अमेरिका
मेरो जन्म खोटाङ जिल्लाको सालकटेरीमा १७ डिसेम्बर, १९८२ मा भएको हो । गाउँ देखि प्रावि र निमावि मावि खोटाङ बजारबाटै एसएलसी सम्म पढियो । उच्च शिक्षाको लागि काठमाडौ आए । पाटन कलेजमा आइकम गरे । त्यस पछि नेपाल कर्मश क्याम्पसमा विविएस पढ्दै थिए । डिभी पर्यो अनि सन् २००६ मा अमेरिकाको न्युयोर्कमा आएको हो । काम गरिरहेको छु । पढ्ने इच्छा त छ तर समय मिलेको छैन । समय मिलाएर पढ्ने योजना बनाइरहेको छु ।
अमेरिकामा सन् २००४ को मार्चमा लाङघाली परिवार युएसए भनेर गठन गरिएको संघ अहिले मगर संघको रुपमा फेरिएको हो । म अमेरिका आए देखि नै संघमा रहेर काम गरिरहेको छु । मगर संघ स्थापना गर्नेमा दलबहादुर बुढाथोकी मगर हुनुहुन्छ । उहाँ अहिले युकेमा हुनुहुन्छ । दुई बर्ष जति उहाँ अध्यक्ष हुनु भयो । अहिले क्यापटेन दलबहादुर रोका मगर हुनुहुन्छ । उहाँ २०१० देखि २०१२ सम्म उपाध्यक्ष हुनुहुन्थ्यो ।
यहाँ मगरहरुलाई मगर संघ मार्फत एकिकृत गर्ने, भाषा संस्कृति संरक्षण गर्ने काम गरिएको छ । मगरको पहिचानलाई कसरी संरक्षण गर्ने भन्नेमा सचेतना पनि दिएका छौ । अमेरिकामा आएका दोस्रो पुस्ता नेपाली जनजातिहरुले मगरको भाषा र संस्कृति कस्तो रहेछ भन्ने देख्न र बुझ्न पाउन् भनेर हामीले विभिन्न कार्यक्रम गरिरहेकाछौ । यसका साथै मगर समुदायका व्यक्तिहरुलाई विभिन्न समयमा आइपरेका समस्या समाधान गर्न पनि संघले भूमिका खेल्दै आएको छ ।
हामीले परिर्वतन आवाज भनेर युटुव मार्फत् इन्टरभ्युहरु बाहिर ल्याउने काम पनि गरिरहेका थियौ । त्यसबाट केही कुरा सिक्यौ अहिले त्यो कार्यक्रम स्थगित गरेका छौ । अमेरिकाको इमिग्रेसन सिस्टम त्यति राम्रो छैन त्यस कारण त्यसलाई व्यवस्थित गर्नु पर्दछ भनेर हामीले दवाव पनि दिदै आएका छौ । यसका लागि केही समय अगाडि प्रर्दशन पनि गरिएको थियो ।
नेपालमा पनि विभिन्न कार्यक्रम र सामाजिक संघसस्थाहरुलाई सहयोग गरिरहेका छौ । महावीर पुनले चलाउनु भएको वायरलेस इन्टरनेट कार्यक्रमलाई सहयोग गरेका थियौ । नेपाल विद्यार्थी संघको कार्यालयका लागि कम्प्युटर र कार्यालय सामग्री सहयोग गरेका थियौ । अरुलाई पनि हामीले सक्दो सहयोग गरिरहेका छौ । हामीले हरेक बर्ष मगर दिवस र प्रथम सहीद लखन थापा मगरको स्मृति दिवस मनाउदै आइरहेका छौ । २००८ देखि नै हामीले लखन थापा स्मृति दिवस मनाउदै आएका हौ । पहिले मगरले मात्रै यो दिवस मनाउदै आएका थियौ । तर २०१० तिर लखन थापा नेपालकै प्रथम सहीद हुन् उनलाई मगर जातिमा मात्रै सिमित गरिनु हुन्न । यो कार्यक्रमलाई सबैले मनाउनु पर्दछ अरुले पनि लखन थापालाई सम्मान गर्नु पर्दछ भन्ने सोचले सबै संघसंस्थाहरु र बुद्धिजिवीहरुलाई बोलाएर कार्यक्रम गरेका थियौ । त्यस पछि जनजाति महासंघले पनि यो कार्यक्रम सबैले मनाउनुपर्ने महशुस गर्यो । २०१२ मा जनजाति महासंघ र मगर संघ मिलेर मनायौ । भर्खरै जनजाति महासंघले नै यो कार्यक्रमको संयोजन गदै आएको छ । महासंघको कार्यक्रममा हाम्रो पनि साथ र सहयोग रहदै आएको छ ।
मगर दिवस र लखन दिवस पहिले एकै दिन मनाउथ्यौं तर अहिले मगर दिवस भिन्न दिन आयोजन गर्छौ । नेपालमा जहिले मगर दिवस मनाइन्छ अमेरिकामा पनि मगर संघले त्यहि दिन मनाउँछ । माघेसंक्रान्ति पनि नियमित मनाइरहेका छौ । अमेरिकाको विभिन्न सहरमा गएर कम्तीमा दुई तिन वटा शहरमा रहेका मगरहरु भेला भएर यो पर्व भव्य रुपमा मनाउँछौ । हामीले सन् २००६ देखि मगरहरुको कला संस्कृतिलाई जगेर्ना गर्नका लागि बार्षिक सांस्कृतिक तथा लाइभ दोहोरी साँझ भनेर कार्यक्रम गदै आएका छौ । यो बर्ष पनि २२ जुनका दिन सो कार्यक्रम मा नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायिका रीता थापा मगर, वरिष्ठ गायक जग्दिश समाल मगर, चर्चित लोकगायकद्वय सुमन बुढा मगर र राजेश थापा मगरको बिशेष प्रस्तुति न्युयोर्कमा गर्ने योजना बनाएका छौ । दोहोरी गीतलाई प्रर्वद्धन गर्ने र मगर जातिको भेषभूषा(संस्कृतिलाई जगेर्नाका लागि यो कार्यक्रम गदै आएका हौ ।
राष्ट्रिय कलाकारहरु अरुण थापा र राम थापाको नाममा पनि कार्यक्रम गर्ने सोच छ, तर अहिले चलिरहेको कार्यक्रमको नाम फेर्न पनि हामीलाई अप्ठ्यारो छ । म नेपालमा रहदा मगर संघको केन्द्रिय तहमा नरहे पनि मगर संघको प्रारम्भिक कमिटिमा रहेर काम गरेको थिए । मगरहरुको मुद्धालाई कसरी अगाडि बढाउने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुन्थ्यो । नेपालको ७५ जिल्लामा मगरको बाक्लो जनसंख्या छ । खोटाङ्गमा २०५० सालमै मगर संघको स्थापना भएको थियो । मेरो बुवा नरबहादुर मगर संघ खोटाङ्गको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । मगरहरुको उत्थानका लागि मगर संघ साझा मञ्च हो भन्ने मैले त्यति बेला देखि नै बुझ्ने मौका पाए । मगर संघको केन्द्रिय पदाधिकारी हितबहादुर मगर पनि मेरा काका हुनु हुन्छ । उहाँबाट पनि धेरै कुरा सिक्ने मौका पाए ।
मगरहरुको परम्परागत धर्म बौद्ध हो भन्ने भनाइ पनि छ । यो कुरा मगर संघले धेरै पहिले अन्र्तराष्टिय सम्मेलन मार्फत् भनिसकेको छ । नेपालमा हिन्दु धर्म आउनु भन्दा पहिले बौद्ध धर्म थियो । त्यस कारण हाम्रा अग्रजहरुले बौद्ध धर्म अगालेको हुन सक्छ । त्यसैले हाम्रो धर्म बौद्ध नै थियो भन्नेमा कसैको शंका नै छैन । तर धर्म व्यक्तिको इच्छा अनुसार मान्न पाउनु पर्दछ भन्ने मेरो मान्यता छ ।
मगर संघको तर्फबाट जनजाति महासंघको कार्यक्रममा सहभागी रहदै आएको छु । महासंघमा जनजातिको मुद्धा भन्दा पनि पदलाई बढी महत्व दिएको हो कि भन्ने आभास भैरहेको छ । अमेरिका जस्तो ठाउँमा कामको व्यस्तता हुन्छ नै पदका लागि आफ्नै दाजुभाई बीच लडनु उचित होइन भन्ने लाग्छ । महासंघ २००५ सालमा गठन भएको हो । जनजातिहरुको साझा संस्था हो महासंघ । तर निर्वाचनको बेलामा अध्यक्ष र ठूलो पदमा बस्नु पर्दछ भन्ने भावना अगाडि सारिन्छ त्यो बेला महासंघको गतिविधि प्रति दिक्क लाग्छ । दुई बर्षको कार्यकाल यति समय यसले चलाउने भनेर सहमति गरेर चलाउदा राम्रो हुने थियो ।
अमेरिकामा जनजातिहरुको बाक्लै संघसस्थाहरु छन् । मगरसंघ अमेरिका चाहि अमेरिका भरिको मगरहरुको साझा संस्था हो । अमेरिकामा विभिन्न ठाउँमा रहेका मगरहरु विभिन्न पेशामा आवद्ध छन् । कोही लेक्चरर छन् । विके राना मगरले हार्वार्ड विश्वबिश्यालय बोस्टनमा अध्यापन गराइरहनु भएको छ । भर्जिनियाकोको एक विश्वविद्यालयबाट पिचडी सिध्याउनु भएको छ गंगा पुनले । उहाँ पनि अध्यापन गर्नुहुन्छ । मेडिकल क्षेत्रमा धेरै हुनु हुन्छ । रेखा रोक्काले यहिको एक अस्पतालमा काम गरिरहनु भएको छ । त्यस्तै टोमल राना मगर, डा. देउ पुन लगायत हुनुहुन्छ । रजिष्टर नर्सहरु पनि धेरै छन् । मिडिया क्षेत्रमा प्रदिप थापाले राम्रै गरि रहनुभएको छ ।
राज्यसत्ताले पहिलै देखि जनजातिका मुद्धालाई समाचार मार्फत सशक्त रुपमा अगाडि बढाएर लगेको छ । अझ यसलाई देशका ग्रामिण तहसम्म हेर्न र पढ्न सकिने बनाउनुपर्ने मेरो सुझाव छ । त्यसो भएमा गाउँ तहसम्मका जनजातिहरु आफ्नो आवाज र अधिकारबारे सचेत हुने थिए ।
(राज्यसत्ताका हुम थापाले न्युयोर्कमा गरेको कुराकानीको आधारमा तयार पारिएको आलेख)